२०४८ देखि सञ्चालन बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट पुनः सञ्चालनका लागि २६ लाख रुपैयाँ खर्चिई मर्मत गरिए पनि सञ्चालनमा आउन सकेको छैन । २६ लाख लगानी गरेर जीर्ण बनेको एयर कन्ट्रोलर भवन मर्मत गरेको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआउँदा भवन पुनः जीर्ण बन्दै गएको छ । गत वर्ष एयरपोर्टका लागि भवन मर्मत, तारजाली तथा ३६ पेलेट मर्मत गरिए पनि संरक्षण अभावमा भवन भत्किँदै गएको छ । जिल्ला विकास समिति बागलुङ-बलेवा सडक खण्ड पुनः निर्माण गर्ने र नागरिक उड्डयन मन्त्रालयले बिग्रेका भवन र भौतिक पूर्वाधार मर्मत निर्माण गरेको थियो ।
एयरपोर्ट मर्मत भएपछि बागलुङ-कुश्मिसेरा सडक खण्डमा पुल निर्माण सुरु गरिए पनि एयरपोर्ट सञ्चालनका लागि पहल नगरिएको स्थानीयको गुनासो छ । एयरपोर्ट सञ्चालन भएपछि सुनसान बलेवामा चहलपहल हुने आशा गरेका बलेवाबासीले तत्काल एयरपोर्ट सञ्चालनमा ल्याउन माग गरेका छन् ।
एयरपोर्ट सञ्चालनमा नआउँदा सो क्षेत्रका व्यवसायी विस्थापित भएको स्थानीय कृष्ण पाठकले बताए । 'एयरपोर्ट सञ्चालनमा आउने खबरले ठूलो उत्साह थपिएको थियो,'भकुन्डे गाविसका प्रेम थापाले भने, 'पर्यटनका लागि राम्रो सम्भाव्यता रहेका भकुन्डेको मूलाबारी, गाजाको दह, चापखर्कलगायत स्थानको मूल्यांकन हुने थियो ।'
धौलागिरी अञ्चलकै व्यापारिक केन्द्रको रुपमा रहेको बाग्लुङ बजार, कुश्मा बजार र म्याग्दीको बेनी बजारलगायत विभिन्न व्यापारिक क्षेत्रको बीचमा रहेको सो एयरपोर्ट सञ्चालनमा आए स्थानीय स्तरमा आर्थिक विकासमा टेवा पुग्ने दाबी उद्योग वाणिज्य संघका अध्यक्ष धु्रव गौतमको छ ।
No comments:
Post a Comment