ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 8, 2009

नाटकै गरे दलहरुले

मुलुक अनिर्णयको बन्दी
काठमाडौं, असोज २२ (दैनिकी)
लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका लागि दलहरुले आज पनि छलफल तथा बैठकहरुलाई निरन्तरता दिने भएका छन्। प्रधानमन्त्री माधव कुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनालले विहानै छलफल गरे। पछिल्लो समसामयिक राजनीतिक गतिरोधको निकास खोज्ने क्रममा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा माओवादीले तयार पारेको साझा संकल्प प्रस्तावको मस्यौदा, कांग्रेस र एमालेले तयार पारेको साझा सहमतिको प्रस्तावका बीचबाट सहमति खोज्नुपर्नेमा दुई नेताहरु सहमत रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो समयमा भइरहेका राजनीतिक बिकासक्रमका विषयमा छलफल, सरकार परिवर्तनको विषयमा चलेको हल्ला र पार्टी भित्रको असन्तुष्टिका विषयमा पनि भेटवार्तामा छलफल भएको थियो । दुई नेताहरुबीच आज बस्ने गरी तयारी भइरहेको शीर्ष बैठकको एजेन्डाको विषयमा पनि छलफल भएको बताइएको छ ।

यसैबीच, राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको प्रयासमा जुटिरहेका प्रमुख तीन ठूला दलका शिर्षनेताहरुको बैठक आज बस्ने भएको छ । एमाले मुख्य सचेतक भिमप्रसाद आचार्यका अनुसार साझा संकल्प प्रस्तावमा सहमति जुटाउन आज शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको हो ।

उनले बैठकका लागि आन्तरिक तयारी भइरहे पनि अहिलेसम्म समय र स्थान भने निश्चित भइनसकेको जानकारी दिए।

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे साझा सहमति बन्न नसक्दा राजनीतिक गतिरोध लम्बिरहेको छ। 

यसै सिलसिलामा आज प्रमुख ३ दलको बैठक बस्ने तयारी गरिएको छ।

साझा संकल्प प्रस्तावमा राष्टपपतिको कदमवारे उल्लेख गर्ने वा नगर्ने वारे प्रमुख प्रतिपक्षी दल एकीकृत ने.क.पा माओवादी र सत्ताधारी दलहरु कांग्रेस र एमालेबीच विवाद छ। यसले गर्दा सहमति कायम हुन सकेको छैन।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by