सन्तोष पोखरेल, पोखरा असोज २३- प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी आन्दोलनले देशमा अनिष्ट आउन सक्ने संकेत दिएका छन्। माओवादीको बिद्रोह गर्ने र सत्ता कब्जा गर्ने धम्कीले देशमा अनिष्ट आउन सक्ने प्रधानमन्त्रीले बताए। 'माओवादीले सत्ता कब्जाको धम्की दिदैं जाने हो भने देशमा अनिष्ट नआउला भन्न सकिन्न' प्रधानमन्त्री नेपालले भने- 'अनिष्ट आउन नदिन माओवादी सबैभन्दा बढी जिम्मेबार हुनुपर्छ।' प्रधानमन्त्री नेपालले माओवादीलाई सबैलाई चिढाउने गरी आन्दोलन र बिद्रोहको धम्की दिंदै नहिड्न आग्रह समेत गरे।
आगामी दिनमा देशमा बिग्रहको अवस्था आए त्यसको सबै जिम्मा माओवादीले लिनुपर्ने प्रधानमन्त्रीको धारणा थियो। विभिन्न बहानामा माओवादीले आन्दोलन गरिरहेकोले आगामी दिनमा माओवादीकै हातबाट बिग्रह हुनसक्ने प्रधानमन्त्रीले बताए।
माओवादीलाई सहकार्य गरेर अघि बढौं भनेर पटकपटक आग्रह गर्दा समेत अटेर गरेको बताउँदै प्रधानमन्त्री नेपालले भने- 'सहकार्य गरौं भन्दा नमानेर आन्दोलन गरेकोले देशमा हुने कुनै पनि बिग्रहको कारक माओवादी नै बन्छ।' तर बिग्रहको अवस्था आउन अन्य दलले नदिने प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीले कसैले चाहँदैमा देशमा रक्तपात हुन नसक्ने पनि बताए। 'माओवादीले द्वन्द्व बढाउन खोजेको होला, उसले चाहँदैमा देशमा रक्तपात हुँदैन' एमाले कास्की जिल्लास्तरिय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले भने- 'देश माओवादीको मात्र होईन, यहाँ एमाले र कांग्रेस लगायत अन्य दलहरु पनि छन।'
उनले कसैले चाहदैमा देशमा कुनै अप्रजातान्त्रिक शासन लाद्न नसकिने बताए। 'माओवादीको काम दलहरु बिच किचलो निकालेर एक आपसमा लडाउने मात्र हो' प्रधानमन्त्री नेपालले भने- 'माओवादीको भूलभूलैयामा अब कोही पर्नेवाला छैन।' माओवादीले कांग्रेस र एमालेलाइ एक आपसमा लडाएर आफुले फाईदा लिन खोजेको प्रधानमन्त्री नेपालको आरोप थियो।
प्रधानमन्त्रीले डरधम्की र दवावमा सत्ता आफ्नो हातमा लिनखोज्नु माओवादीको भ्रम मात्र रहेको बताए। 'अहिले माओवादी कुर्लिनुको कुनै अर्थ छैन' प्रधानमन्त्रीले भने- 'अझ निर्वाचनमा बहुमत ल्याएको भए के हुन्थ्यो होला, धेरै सिट ल्याए भन्दैमा सत्ता उसले पाउनुपर्छ भन्ने छैन।'
आफ्नो सरकार २२ दलीय गठबन्धनको विश्वासमा बनेकोले नयाँ संविधान लेखेर अर्का निर्वाचन गरि नयाँ सरकार गठन भएपछि मात्र आफुले छाड्ने प्रधानमन्त्री नेपालले बताए। 'जब सम्म नयाँ संविधान बनेर नयाँ सरकार बन्दैन, तबसम्म यो सरकार विश्वासमा चल्छ' प्रधानमन्त्रीले भने- 'त्यसैले माओवादीले दवावको भरमा सत्ता हातमा लिन नखोजे हुन्छ।'
प्रधानमन्त्रीले संविधान लेख्ने काममा ढिलाई भईरहेको बताउँदै सबैको सहमति हुनेहो भने अझैपनि तोकिएको समयभित्र संविधान बन्न सक्ने दावी गरे। 'केही ढिलाई भएकै हो, तर सबै दल मिलेर जाने हो भने तोकिएको समयभित्र संविधान बन्छ' प्रधानमन्त्री नेपालले भने- 'संविधान बनाउनका लागि ढिला नगरी दलहरु बिच मिलनबिन्दु खोज्नुपर्छ।'
माओवादीले यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्न र अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने समयमा सदन चल्न दिएको स्मरण गर्दै प्रधानमन्त्री नेपाल माओवादीले बजेट पारित हुन दिनेमा विश्स्त छन्।
'यदी माओवादीले बजेट पास गर्नै दिएनन भने उनीहरुका लडाकु र सभासद्ले कहाँबाट तलब पाउँछन, त्यसैले उनीहरुलाई अप्ठेरो पर्ने भएपछि अवश्य सदन चल्न दिन्छन' प्रधानमन्त्री नेपालले भने।
माओवादीले बजेट पास गर्न समस्या ल्याएमा अन्य उपाय रच्ने प्रधानमन्त्री नेपालले बताए। 'खोलाको पानी कसैले रोक्न खोजेर रोकिदैन' प्रधानमन्त्री नेपालले भने- 'यदी खोला रोक्न खोजियो भने पानीले नै बिकल्प खोज्छ, हामीले पनि बजेटको विकल्प खोजौला।'
शुक्रबारदेखी पोखरामा सुरु भएको उच्चमाध्यमिक शिक्षक एशोसिएसनको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न आएका प्रधानमन्त्री शुक्रबार पोखरामै बास बसेका छन्। उनले यहाँस्थित अन्तराष्ट्रिय पर्वतिय संग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
No comments:
Post a Comment