ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

लोक्ताको व्यावसायिक खेती सुरु


सुरेन्द्र सुबेदी -संखुवासभा, २०६६ आश्विन १८ - 
मन्त्रिपरिषदले सरकारी कामका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णयसँगै हाते कागजको माग बढेको छ । यहाँका कृषकले मागअनुसारको हाते कागजको आपूर्ति गर्न नसकिएको जनाउँदै माग पूरा गराउन व्यावसायिक लोक्ता खेती सुरु गरेका छन् । तिनजुरे नेपाली हाते कागज उद्योगले व्यावसायिक रूपमा खेती सुरु गरेको हो । यहाँा अर्गेली र सनपाटको ३ हजारभन्दा बढी बिरुवा नर्सरी लगाइएको छ ।
जलजला १ मा रहेको भालुखोप हाते कागज उद्योगले पनि १ हजार बिरुवा रोपेको छ । उद्योगका सचिव पृथ्वी कार्कीका अनुसार लोक्ता अभाव हुन नदिन बिरुवा रोपिएको हो । विगतका वर्षमा सनपाट जंगलमा प्रशस्त रहे पनि मासिनेक्रम बढेको छ । माग बढेको र बिक्रीको समस्या नभएपछि खेतीप्रति आकर्षण बढेको सामुदायिक वन उपभोक्ता महासंघका सचिव गोविन्द कार्की बताउँछन् । २६ जिल्लामा हाते कागज उत्पादन हुन्छ । यसमा संखुवासभामा उत्पादनका दृष्टिले अग्रस्थानमा आउँछ । नेपालमा हाते कागजको उद्योग दिनानुदिन बढे पनि कच्चा पदार्थ अभाव भएपछि उद्योग सञ्चालनमा समस्या भइरहेको उद्यमी गुनासो गर्छन् । 

जिल्लामा व्यक्तिगत र सामुदायिकसमेत ५ हाते काजग उद्योग सञ्चालनमा छन् । १२ वर्षदेखि सिद्धकाली उद्योग सञ्चालन गर्दै आएका मिङमा शेर्पाका अनुसार माग धेरै भए पनि लोक्ताको अभावले पूरा गर्न धौधौ परिरहेको छ । सामुदायिक वन गठन गरी लोक्ताको संरक्षणको प्रयास गरिए पनि खासै प्रभावकारी नभएको उद्योगी मिङमा शेर्पा बताउँछन् । जिल्ला वन कार्यालयले लोक्ता संरक्षण नगरेको र कर मात्र उठाउने गरेको उद्यमी दुःख पोख्छन् । हाते काजगको प्रवर्द्धनमा सक्रिय केही गैरसरकारी संस्थाले काम भन्दा पनि रकम कमाउने लक्षले नाममात्रका क्रियाकलाप सञ्चालन गर्दा प्रभावकारी नभएको शेर्पाको आरोप छ । जिल्लामा नेपाली कागजको क्षेत्रमा कार्य गर्दै आएको द इस्ट फाउन्डेसनले भने १५ सामुदायिक वन उपभोक्ताको सञ्जाल गठन गरी हाते कागज उद्योग सञ्चालन गरेको छ । यसले नर्सरी पनि लगाएको छ । यो सञ्जालले सञ्चालन गरेका उद्योगमा ३ हजार परिवार लाभान्वित भएका छन् भने १ सयभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगार पाएको संस्थाका कार्यक्रम सहजकर्ता बिनोद गुरुङले बताए । 

सरकारले नेपाली कागजलाई सरकारी कार्यालयमा प्रयोग गर्ने निर्णय गरे पनि यस्ता उद्योग प्रवर्द्धनमा खासै चासो देखाएको छैन । यहाँका उद्यमी हाते कागज प्रवर्द्धनका लागि विशेष योजना माग गर्छन् । तत्काल नेपाली कागज सरकारी प्रयोजनमा ल्याइए माग अधिक हुने र आपूर्ति गर्नै नसक्ने अवस्था छ । 'यस्तो हुन नदिन संरक्षण र खेती विस्तार नै विकल्प हो ।' भालुखोप नेपाली काजग उद्योेगका सचिव पृथ्वी कार्कीले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by