ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

लुटेरा समात्न 'महिला एम्बुस टोली’


काठमाडौं/ उपत्यकामा सिक्री लुटेराको बिगबिगी बढेपछि प्रहरीले लुटेरा पक्राउ गर्न सादा पोसाकमा महिला प्रहरी परिचालन गरेको छ । एकै दिन चारजनासम्मको सिक्री लुटिन थालेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाका २० स्थानको छनोट गरी महिला प्रहरी खटाएको हो । प्रहरीका अनुसार महिला प्रहरीलाई सहयोग गर्न एक सय सर्वसाधारण महिलालाई समेत उपयोग गरिएको छ । महिला प्रहरी र स्वयंसेवी महिला नक्कली गहना लगाएर शंकास्पद स्थानमा बसी लुट्न आएका लुटेरालाई पक्राउ गर्न सघाइरहेका छन् ।

मंगलबारै मात्र प्रहरीले यही सूत्र लगाई कलंकी र गौशालाबाट दुईवटा लुटेराको समूहलाई पक्राउ गरेको छ । प्रहरीले गौशाला पिंगलास्थानमा कालो पल्सरमा आएर महिलाको सिक्री थुतेर भाग्दाभाग्दै बा.२४प ७०६७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी घर भई काठमाडौं बस्दै आएका १८ वर्षे रविन तामाङ र सोही ठेगानाका १९ वर्षे सविन राईलाई पक्राउ गरेको थियो । पक्राउ अभियुक्तको बयानका आधारमा प्रहरीले मोटरसाइकलधनी प्रदीप लामासमेत पक्राउ परेका छन् । पक्राउ अभियुक्तहरूले प्रहरीसमक्ष आफूहरूले यसअगाडि १० जनालाई सोही तरिकाले लुटेको बयान दिएका छन् ।

उपत्यकाका बढी लुटपाट हुने स्थान पहिचान गरी एक सय महिलासहित दुई सय महिला प्रहरीलाई सादा पोसाकमा खटाइएको छ । प्रहरीका अनुसार बढी लुटपाट भइरहेका गौशाला, गोंगबु, बानेश्वर, कलंकी, कोटेश्वरलगायत २० स्थानमा ५/५ जनाको समूहमा लुटेरा फसाउने यस्ता एम्बुस टोली परिचालन गरिएको छ ।

सोही टोलीले मंगलबार तरकारी किन्न घरबाट बाहिर निस्केकी गृहणी शारदा खनालको दुई तोलाको सिक्री लुटेर भाग्दै गरेका दुई युवालाई पक्राउ गरिएको सिलवालले बताए । कलंकीको नागस्थान ओरालोबाट बा.२०प १४२६ को पल्सरमा आएका ज्याठाटोल बस्ने २१ वर्षे प्रकाश राई र स्वयम्भू बस्ने १९ वर्षे शक्ति पुजारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by