सहमतिका नाममा राष्ट्रपतिबारे छलफल हुँदैन-
मनोज अधिकारी, पोखरा असोज २० - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई सहमतिमा ल्याउने नाममा राष्ट्रपतिको कदमबारे सदनमा छलफल हुन नसक्ने बताएका छन्। उनले बरु महाभियोग र अविश्वासको प्रस्ताव सामना गर्ने तर राष्ट्रपतिको विषयमा सदनमा छलफल नगर्ने अडान दोहोर्याए। 'राष्ट्रपतिका बारेमा कुनै हालतमा सदनमा छलफल हुँदैन' मंगलबार पोखरा विश्वविद्यालयको दशौं साधारणसभामा आएका प्रधानमन्त्री नेपालले सञ्चारकर्मीसँग भने- '(माओवादीले) महाभियोग ल्याउन्, सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउन्। बरु त्यो बाटो जान तयार छौं।'
लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिको कदमविरुद्व आन्दोलनरत माओवादीसँग सहमतिको प्रयास भईरहेका बेला प्रधानमन्त्री नेपालको उक्त अडान आएको हो। राष्ट्रपतिको कदम गलत भन्ने माओवादी आरोप भएकाले कसैको आरोपमाथि सदनमा छलफल नहुने उनको जिकिर थियो। त्यस्तो आरोपसहित महाभियोग प्रस्ताव सदनमा ल्याउन प्रधानमन्त्रीले माओवादीलाई सुझाब दिए।
राष्ट्रपतिको कदमविरुद्व छलफल नभए माओवादीले सदन चल्न दिँदैन नी? भन्ने प्रश्नमा प्रधानमन्त्रीले विद्यमान मुलुकका लागि माओवादीले विगतका जस्तै फेरी एकपटक लचकता अपनाउनुपर्ने बताए। माओवादीलाई सहमतिमा ल्याउन भईरहेको प्रयास निर्णायक बिन्दु नजिकै पुगेको उनले दावी गरे। 'हामीले सहमतिको मस्यौदा तयार गरेर माओवादीलाई पठाएका छौं' प्रधानमन्त्रीले भने- 'त्यसमा उहाँहरुले अध्ययन गरेर लिखितरुपमै प्रतिक्रिया दिने र त्यसपछि सहमतिलाई अन्तिम रुप दिने कुरा छ।'
नेपालले मुलुकलाई सहजतापूर्वक अघि बढाउन प्रमुख तीनदल माओवादी, काँग्रेस र एमालेबीच सहमति र सहकार्य अपरिहार्य रहेकोमा पटकपटक जोड दिए। हालैको भेटघाटका क्रममा त्यसबारेमा तीनदलै सहमत भएको पनि उनले बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सोमबारको भेटवार्तामा पनि यसबारे दुवैजना गम्भीर रहेको उनले बताए।
उनले संसदको बहुमत प्राप्त वर्तमान सरकारले कसैले भन्दैमा नढल्ने दावी समेत गरे। अहिलेको राजनीतिक सहमतिका लागि बहुमत प्राप्त वर्तमान सरकार परिवर्तन गर्नु नपर्ने उनको भनाई थियो। नेपालले माओवादी सहमतिमा आए अहिलेका केही मन्त्रीलाई बिदा गरेर थप अनुहारसहित मन्त्रीमण्डल पुनर्गठन मात्र गर्न सकिने बताए।
बहुमतको सरकार परिवर्तन गर्नुपर्छ भन्ने केही माओवादी नेताहरुको अभिव्यक्तिलाई प्रधानमन्त्री नेपालले 'बेकारको टाउको दुखाई' भनी टिप्पणी गरे। 'संसदीय प्रक्रियामा आएपछि (माओवादीले) यसका नियम स्वीकार गर्नुपर्छ' प्रधानमन्त्रीले भने- 'किन बहुमतको सरकार फेर्नुपर्छ भन्दै बेकार टाउको दुखाउनु हुन्छ? मैले बुझ्न सकेको छैन।'
No comments:
Post a Comment