ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 12, 2009

आजको कार्टून !





















आज 'बन्द’ छैन ? साँच्चै हो ?! 
एऽऽऽ... त्यसो भे सरी है, गुरुजी !

मेजर बस्नेत विमानस्थलबाटै गिरफ्तार

काठमाडौं (नागरिक) - 

मैना सुनुवार हत्याकाण्डका आरोपी नेपाली सेनाका मेजर निरन्जन बस्नेतलाई सैनिक प्रहरीले गिरफ्तार गरेको छ। संयुक्त राष्ट्रसंघीय मिसन चाडबाट काठमाडौं फर्कने क्रममा उनलाई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको नागरिकन्यूजकर्मी सुन्दर खनालले जनाएका छन्। चाड (अफ्रिका) मा शान्ति स्थापनाका लागि खटिएका बस्नेत शनिबार अपरान्ह नेपाल फर्केने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन्। सुनुवार हत्याकाण्डका चार आरोपितमध्ये बस्नेतलाई राष्ट्रसङ्घले जिम्मेवारीबाट मुक्त गरेपछि उनी काठमाडौं फर्कंदै थिए। मैनाकी आमा देवीले दोषीउपर कारबाही गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखेको साता दिन नबित्दै बस्नेत मिसनबाट फर्किएका हुन्। देवीले २३ मंसिरमा प्रधानमन्त्रीलाई पत्र लेख्दै दोषीउपर कारबाही गर्न माग गरेकी थिइन्। सन् २००४ मा काभ्रेकी १५ वर्षीया किशोरी मैना सुनारलाई सेनाको ब्यारेकमा लगी हत्या गरिएको घटना गम्भीर मानवअधिकार हनन मुद्दाका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासको विषय बनेको थियो।

राष्ट्रपति ओबामाको पत्र नेपाललाई (पत्र र तस्वीरसहित)

राजेन्द्र फुयाल/काठमाडौ (कान्तिपुर)- 



अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री माधबकुमार नेपाललाई पत्र लेखी राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल र नेपाली सेनाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघको ६४ औ महासभाका सिलसिलामा गत सेप्टेम्बर २३ मा राष्ट्रपति ओबामा र प्रधानमन्त्री नेपालबीच न्यूयोर्कमा भएको बैठकको स्मरण गर्दै ह्वाईटहाउसले पत्रका साथ तस्वीरसमेत पठाएको हो ।

दूरसञ्चार सेवा विस्तारमा नेपाल सबैभन्दा कमजोर


विष्णु पोखरेल/काठमाडौं (नयाँ पत्रिका)

सूचना प्रविधि विकासमा केही वर्षदेखि फड्को मारिरहेको नेपाल अझै पनि दूरसञ्चार सेवा विस्तारमा एसिया-प्रशान्त क्षेत्रमै सबैभन्दा पछाडि रहेको छ । एसिया-प्रशान्त क्ष्ाेत्रका मुलुकले विस्तार गरेको दूरसञ्चार सेवासँग तुलना गर्दा नेपालको अवस्था कमजोर रहेको दूरसञ्चारसँग सम्बद्ध संस्थाहरूले गरेको अध्ययनबाट पत्ता लागेको हो । केही वर्षदेखि सेवाप्रदायक संस्थाको संख्या वृद्धि भए पनि अझै ७५ प्रतिशतभन्दा बढी नेपाली दूरसञ्चार सेवाको सहज पहुँचबाहिर रहेका छन् ।

बहाना जलवायु परिवर्तन, उद्देश्य घुम्ने

श्रीमतीलाई प्रधानमन्त्रीको डेलिगशनमा राख्न मन्त्री बोहराको दौडधुप-
सुबोध गौतम/कोपनहेगन (नागरिक)- 

जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलनमा भाग लिन आएका सरकारी टोलीका १४ जना प्रतिनिधिले मात्र बहस र छलफलमा भाग लिइरहेका छन। बाँकी प्रतिनिधिका सम्मेलन केन्द्रमा अत्तोपत्तो छैन। वातावरण मन्त्रालयका पदाधिकारीबाहेक अरु प्रतिनिधि सम्मेलन केन्द्र भित्रका छलफलमा भेटिदैनन। परिवारका सदस्यसहित बिहीबार चार जना मन्त्री यहाँ आएपछि यहाँ नेपालका पाँच मन्त्रीको सहभागिता छ। सम्मेलनमा सहभागी एक सरकारी पदाधिकारीका अनुसार वातावरणबाहेक अन्य मन्त्रीको कुनै काम छैन। शुक्रबारको हिमाल बचाउ र्यालीमा भाग लिन अर्थ, पर्यटन, संस्कृति र वन गरी थप चार मन्त्री आएका हुन्। 'यी मन्त्रीको जलवायु परिवर्तन सम्मेलनमा कुनै पनि काम छैन', एक पदाधिकारीले नागरिकसँग भने। उनका अनुसार राष्ट्र प्रमुखको हैसियतले प्रधानमन्त्री र बिषयगत रुपमा वातावरणमन्त्री बाहेक अन्य मन्त्रीहरुको आउन आवश्यक छैन।

जनविद्रोहको सम्भावना बढ्दैछः गजुरेल

राजकुमार कार्की/सिन्धुली (कान्तिपुर) - 

माओवादी सचिव सीपी गजुरेलले जनविद्रोहको संभावना बढ्दै गएको बताएका छन् । सरकार पञ्चायती शैलीमा प्रस्तुत भएकाले जन बिद्रोहको संभावना बढ्दै गएको उनको ठहर छ । क्रान्तिकारी पत्रकार संघले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादीको माग पूरा हुने कुनै संकेत नदेखिएकाले एउटा जनबिद्रोह सम्पन्न गरेको पार्टी नचाहदा नचाहदै अर्को बिद्रोहमा जानुपर्ने बाध्यता आइपरेको बिष्लेषण गरे । माओवादीले उठाएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम सच्चिने संकेत नदेखिएकाले देश मुठभेडमा जाने समेत उनले बताए । माओवादी जिम्मेबार पार्टी भएकाले अहिलेनै मुठभेड र बिद्रोहमा नजाने तर सरकारको रबैयाका कारण परिस्थितिले त्यतै मोड लिएको समेत उनको भनाइ थियो । कांग्रेस र एमाले संविधानसभा बिघटन गराउने खेलमा लागेको सचिव गजुरेलले आरोप लगाए । संविधानसभा बिघटन गर्ने र आयोग गठन गरि संविधान बनाउने खेलमा कांग्रेस र एमाले लगायत सरकारवादी पार्टी लागेका उनले ठोकुवा गरे ।

नेपाल इतिहासमै सबभन्दा भ्रष्ट


सागर पण्डित/काठमाडौ (नयाँ पत्रिका)

नेपालले भ्रष्टाचारमा इतिहास ब्रेक गरेको छ । नेपाल यो वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुनेमध्येको एक देश बन्न पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा केही दिनअघि सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा बढी भ्रष्ट मुलुक भएको छ । टिआईले तयार पारेको एक सय ८० देशको सूचीमा नेपाल एक सय ४५औँ स्थानमा छ ।

Friday, December 11, 2009

आजको कार्टून !


'आफ्ना कार्यकर्ता नियन्त्रणमा राख्ने नसके अध्यक्ष पद त्याग'


मनोज बस्नेत/काभ्रे (कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न नसकेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष पद त्याग्न चुनौती दिएका छन । एमाले काभ्रे जिल्लाको सातौं अधिवेशन उद्घाटन गर्दै उनले पाँचखालमा उक्त चुनौती दिएका हुन । माओवादीले द्वन्दकालको अराजक गतिविधिलाई शान्ति प्रक्रियामा आएर पनि जारी राखेको आरोप लगाउँदै दाहालले आफ्ना कार्यकर्तालाई पार्टीको नियन्त्रणभित्र राख्न नसकाले अराजक गतिविधीहरु गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई संकटमा पारेको उनको भनाइ थियो । 'रुकुमकी पत्रकार टिका विष्टको औंला चिरिदिने, खुट्टा चिरिदने, उनका सामानहरुको लुटपाट गर्ने जस्ता क्रुर अमानवीय काम कसले गर्न सक्छ' उनले भने माओवादीका कार्यकर्ताले समाचार लेखेको कारण धम्की दिन्छन, बारम्बार मानसिक यातना दिन्छन त्यसैले यो काम माओवादीका कार्यकर्ताले नै गरेका हुन ।' 

'सत्ताको खेलले मुलुक गृहयुद्धतर्फ'

चितवन (नागरिक)- 

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ठूला दल सत्ता प्राप्तिको खेलमा लाग्दा मुलुक गृहयुद्धतर्फ जान लागेको बताएका छन्।  'काङ्ग्रेस, एमाले र माओवादी सत्ता प्राप्तिको खेलमा लागेका छन्', राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैठौँको १७ औँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन आयोजित सम्मेलनमा केसीले भने- 'सत्ताको खेलले मुलुक गृहयुद्धतर्फ जान थालेको छ।' नेता केसीले माओवादीले गणराज्य घोषणाको कुरा अगाडि सारेर जनताको सम्मानमा आँच पुर्‍याएको बताए। राष्ट्रलाई विखण्डनबाट बचाउन आफूहरू लागिपरेको उल्लेख गर्दै उनले जनगणतन्त्र र सङ्घीयताले देशमा जातीय दङ्गा भड्काउने तर्क राखे। यसैबीच सो पत्रकार सम्मेलनमा अखिल छैठौंका केन्द्रीय अध्यक्ष राजेन्द्र ढुङ्गानाले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा हुने राष्ट्रिय सम्मेलनमा देशभरका ७५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने जानकारी दिए।

विद्युत् लाइसेन्स ओगट्नेमा भारतीय कम्पनी धेरै • एउटाले पनि बनाएनन्

विकास थापा/काठमाडौ (कान्तिपुर)- 

ऊर्जाको हाहाकार भएको भारतका कम्पनीले समेत नेपालको जलविद्युत लाइसेन्स ओगटेर बसेका छन् । ऊर्जा मन्त्रालयले स्वदेशी र अन्य देशको तुलनामा भारतीय कम्पनीलाई धेरै लाइसेन्स दिएको छ । सय मेगावाटभन्दा माथिका मात्र १९ कम्पनीले लाइसेन्स पाएका छन्, तिनमा १४ वटा भारतीय छन् । विद्युत विकास विभागको सिफारिसमा मन्त्रालयले ४ हजार २ सय २८ मेगावाट बराबर विद्युत लाइसेन्स भारतीय कम्पनीलाई दिएको हो, तर एउटै निर्माण भएको छैन । भारतीयसहित स्वदेशी र अन्य देशका कम्पनी गरी मन्त्रालयले झन्डै १० हजार मेगावाट बराबरको लाइसेन्स जारी गरेको विभागको तथ्यांक छ । मन्त्रालयले उत्पादन अनुमतिपत्र भने अहिलेसम्म ७ सय मेगावाटको मात्र जारी गरेको छ । जारी उत्पादन अनुमतिपत्र सबै नेपालमा खपत गर्न हुन् । सर्वेक्षण लाइसेन्स लिएर अध्ययन पूरा गरी, वित्तीय व्यवस्थापन पूरा भएपछि मात्र निर्माणमा जान उत्पादन अनुमतिपत्र जारी हुन्छ । सर्भे लाइसेन्सको तुलनामा उत्पादन लाइसेन्स जारी हुन नसक्नु आयोजना ओगटेर मात्र बसेको प्रमाण हो ।

गृहमन्त्रीको मनोमानी


सागर पण्डित/काठमाडौं (नयाँ पत्रिका)
संवेदनशील ठहर्‍याइएका २५ जिल्लामध्ये नौ जिल्लामा गृहमन्त्री भीम रावलले कनिष्ठ अधिकृतलाई पठाएर मापदण्ड मिचे

गृहमन्त्री भीमबहादुर रावलको ठाडो आदेशमा संवेदनशील मानिएका २५ जिल्लामध्ये नौ जिल्लामा मापदण्डविपरीत कनिष्ठ अधिकृतलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाएर पठाइएको छ । सरकार स्वयंले नै संवेदनशील ठहर्‍याएका सप्तरी, महोत्तरी, धनुषा, रौतहट, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा प्रथम श्रेणीका अधिकृतलाई पठाउनुपर्नेमा द्वितीय श्रेणीका अधिकृतलाई पठाइएको छ ।

Thursday, December 10, 2009

आजको कार्टून !


चीनको सहयोगमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौ (कांतिपुर)-
अर्थ मन्त्रालय सम्बद्ध स्रोतका अनुसार उक्त रकम विमानस्थल निर्माणमा प्रयोग गर्ने प्रस्तावमा चीन सरकारले सैद्धान्तिक सहमति जनाएको छ ।
 
सरकारले चीन सरकारबाट लिइने ऋणबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । चीनको एक्जिम बैंकले नेपालललाई दिने करिब १५ अर्ब रुपैयाँ (२० करोड अमेरिकी डलर) मध्ये करिब साढे ६ अर्ब रुपैयाँमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागिएको हो । अर्थ मन्त्रालय सम्बद्ध स्रोतका अनुसार उक्त रकम विमानस्थल निर्माणमा प्रयोग गर्ने प्रस्तावमा चीन सरकारले सैद्धान्तिक सहमति जनाएको छ । 'हामीले पत्र पठाएका थियौं, सैद्धान्तिक रूपमा उनीहरू सहमत भएका छन्,' स्रोतले भन्यो, 'तर सम्झौता गर्न भने बाँकी छ ।' 

नक्कली प्रधानमन्त्री

इटहरी (नागरिक)-

मंगलबार साँझ इटहरीमा मनोरञ्जन कार्यक्रम भइरहेका बेला उद्‍घोषिका लता कार्कीले अचानक प्रधानमन्त्री माधव नेपाल कार्यक्रममा आएको जानकारी दिइन्। हास्य प्रस्तुति हेर्न बसेका दर्शक तब छक्क परे, जब अंगरक्षकसहित प्रधानमन्त्री मञ्चमा देखिए।दर्शकको स्वागत र फूलमाला लिँदै मञ्चमा आएका नेपाललाई केही सुरक्षाकर्मीले सलाम पनि गरे। उनी मञ्चमा पुगेपछि सुरु भयो अर्न्तवार्ता। प्रश्न र उत्तर सुनेपछि बल्ल दर्शकले थाहा पाए, यी त नक्कली प्रधानमन्त्री रहेछन्। कहिले पूर्व राजा ज्ञानेन्द्र त कहिले माओवादी अध्यक्ष प्रचण्ड बनेर हसाउने तिनै मनोज गजुरेल यहाँ उपस्थित थिए। 'म जनताभन्दा नेतालाई ठुलो मान्दछु किनभने म नेताले जिताएर नै प्रधानमन्त्री भएको हुँ, जनताले जिताएर हैन,' नक्कली प्रधानमन्त्रीका यस्ता जवाफले दर्शकलाई खुब हँसायो।

फ्रान्सद्वारा सुपुर्दगी सन्धि प्रस्ताव

काठमाडौ (कांतिपुर)-
 
अपराधीलाई स्वदेशमै कारबाही गर्न फ्रान्सले नेपाललाई सुपुर्दगी सन्धि प्रस्ताव गरेको छ ।नेपालका लागि फ्रान्सका राजदूत गिल हेनरी गेराल्ट र कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहलाई गत भदौ १० गते सुपुर्दगी सन्धिको प्रस्ताव गर्दै त्यसको मस्यौदा बुझाएका थिए । दूतावासले परराष्ट्र मन्त्रालय र गृहमन्त्री भीमबहादुर रावललाई पनि मस्यौदा प्रतिलिपि प्रदान गरेको थियो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार फ्रान्समा अपराध गरी नेपालमा बसिरहेका र विभिन्न अपराधमा सजाय भोगिरहेका अपराधी फिर्ता लैजान सुपुर्दगी सन्धिको प्रस्ताव गरेको हो । त्यसबारे मन्त्री सिंहले भने, 'सुपुर्दगी सन्धि नगरी हामी फ्रान्सलाई उसको नागरिक फिर्ता गर्न र नेपालमै अपराध गरी भागेका हाम्रा नागरिक त्यहाँबाट फिर्ता ल्याई कारबाहीको दायरामा ल्याउन सक्दैनौं ।'हाल सुन्धारास्थित केन्द्रीय कारागारमा विभिन्न अपराधमा सजाय भोगिरहेका ४ फ्रान्सेली नागरिक छन् । त्यसमध्ये चाल्र्स गुर्मुख शोभराजलाई हत्या, हाए जाँ ज्याक र ओजोउ क्लाउडीलाई भिसा अवधि सकिएपछि पनि बसिरहेका (ओभरस्टे) र आयोसायो पार्यीलाई लागूऔषधको अभियोग छ । कारागारका एक अधिकारीका अनुसार जाँ ज्याक फ्रान्सका नामुद बाल यौन दुराचारी हुन् । फ्रान्समा कडा कारबाही हुने भएकाले उनी भिसा समयावधि सकिए पनि नेपालमै लुकेर बसिरहेका थिए । 'पक्राउ परेपछि ३५ हजार जरिवाना तिरेर जाँ ज्याक स्वदेश फर्किन मानेनन्,' ती अधिकारीले भने, 'फ्रान्समा उनलाई कडा कारबाही हुने भएकाले जरिवानाबापत जेलमै बस्न राजी भए ।'

नोटको कारोबार नेटबाट


ऋषिकेश दाहाल/काठमाडौं (नागरिक)-
 

बैंकमा नोट अभावले एटिएमबाट समेत पैसा झिक्न नसकेका उपभोक्ताले अब अभौतिक (भर्चुअल) रुपैयाँबाट किनमेल गर्न सक्ने भएका छन्। अहिले नेपाल बैंकको डेबिट कार्ड लिएका उपभोक्ताले यो सेवा पाउन थालिसकेका छन् भने लक्ष्मी बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका खातावालाले पनि छिट्टै भर्चुअल नोटबाट कारोबार गर्न सक्नेछन्।'नेपाल बैंकपछि सिद्धार्थ डेभलोपमेन्ट बैंकको पक्षण सफल भएको छ,' स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) का प्रमुख प्राविधिक अधिकृत समीर बज्राचार्यले भने, 'सिद्धार्थले केही दिनमै यो सेवा दिनेछ। लक्ष्मी बैंकमा पक्षण थालिसकेका छौं।'

Wednesday, December 9, 2009

आजको कार्टून !


प्रभुसामु प्रधानमन्त्री अधिकृत र मधेशी नेता पियन सरह : मातृका

'प्रचण्ड विदेशी प्रभुसँग मिले'
अजित तिवारी/विराटनगर (नागरिक)- 

पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री अधिकृत र मधेशी नेता पियनसरह रहेको बताएका छन्। उनले प्रचण्ड विदेशी प्रभु र अवसरवादीसँग मिलेकाले आफ्नो कुरा नमिलेको दाबी पनि गरे। ‘विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री सेकेन्ड क्लास र मधेशवादी दलका नेता पियनसरह हुन्छ’, विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता मातृकाले भने- ‘नेपाल विदेशी प्रभुको चङ्गुलमा फसिसकेको छ, नयाँ नेपालको कल्पना पनि नगरे हुन्छ।’ नेपालका हरेक निर्णय, सहमति र सहकार्य काठमाण्डूस्थित एउटा दूतावासमा हुने गरेको मातृकाको आरोप छ। ‘सरकारमा बस्दा मुद्दा हल हुने र सरकारबाट बाहिरिँदा“ मुद्दा थाँती रहेको देख्ने मधेशी जनअधिकार फोरमको आन्दोलनको कुनै औचित्य छैन’, मातृकाले भने- ‘उपेन्द्रलाई एक नम्बरको उपप्रधानमन्त्री बनाइदियो भने तत्कालै मुद्दा हल हुन्छ।’ उनले मधेशी जनता अब कसैको भुलभुलैयामा नलोभिने दाबीसमेत गरे। हतियारधारी सङ्गठनमध्ये क्रान्तिकारी छवि भएको र मधेशका हितमा काम गरिरहेकासँग आफ्नो कुराकानी भइरहेको बताउँदै मातृकाले भने- ‘झिझाको डकैत, चोर र फटाहाले पनि सशस्त्र समूह खोलेका छन्, उनीहरुसित कुरा हुँदैन।’ धनुषाको झिझा गाउँका पासवान बस्तीका प्राय:को पेशा डकैती हो।

राजनीतिक दलहरुले भागबण्डा गरेर बेच्न लागेका जग्गा पार्टीका कार्यकर्ताले सुरक्षित गरिदिएको बताउँदै मातृकाले जनयुद्धको क्रममा कब्जा गरिएका जग्गालाई पनि पार्टीले सुरक्षित गरेको दाबी गरे। उनले भने- हामीले कसैको जग्गा कब्जा गरेका छैनौं। एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी प्रभु र अवसरवादीसित मिलेकाले आफ्नो कुरा नमिलेको मातृकाको भनाई छ। मातृकाको पार्टीले गठन गरेको बलको बन्द सत्र बुधबार विराटनगरमा जारी छ। बन्द सत्रमा बलका इन्चार्ज जगत यादवले कार्यनीतिक प्रतिवेदन प्रस्तुत गरेलगत्तै पार्टी संयोजक मातृकाले प्रशिक्षण दिएका थिए। ‘वाइसिएल र युथफोर्सहरुसित नभिड्न निर्देशन दिएको छु’, मातृकाले पत्रकार सम्मेलनमा भने- तर आइलाग्यो भने के गर्नुपर्छ, उनीहरुलाई थाहा छ।’

प्रधानमन्त्रीद्वारा गतिरोध अन्त्यका लागि पहल गरिदिन कोइरालालाई आग्रह

काठमाडौ (कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति गिरिजाप्रसाद कोइराललाई राजनीतिक गतिरोध अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका छन् । महारानगञ्जस्थित कोइराला निवासमा भेटवार्ताका लागि बुधबार साँझ पुगेका प्रधानमन्त्री नेपालले पाको नेता तथा अभिभावकको रुपमा गतिरोध अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका हुन् । 'सहमति र सहकार्यबाट नै सबै समस्याको समाधान निस्कन्छ भन्ने कुरामा उहाँहरु सहमत हुनुहुन्छ' भेटका बेलासंगै रहेका काँग्रेस नेता कृष्ण सिटौलाले संवाददाताहरुसंग भने, 'प्रधानमन्त्रीजीले गिरिजावावुलाई अभिभावकको रुपमा गतिरोध अन्त्यको पहल गरिदिन आग्रह गर्नुभयो ।' गत शुक्रबार कैलालीको डुडेझारीमा बन अतिक्रमण गरिबसेका सुकुम्वासीहरु हटाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनको ज्यान गएपछि राजनीतिक गतिरोध अन्त्यका प्रधानमन्त्रीले पहल थालेका छन् । यही क्रममा प्रधानमन्त्री नेपालले तीन पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरिसकेका छन् ।

साइबर अपराधका लागि छुट्टै युनिट


केपी ढुंगाना, काठमाडौं (नागरिक)- 

महानगरीय प्रहरी अपराध महाशाखाले सूचना तथा सञ्चारको प्रयोग गरिने गम्भीर अपराध अनुसन्धान गर्न छुट्टै युनिटको स्थापना गर्ने तयारी थालेको छ। यस्ता अपराधको संख्या बढ्न थालेपछि महाशाखाले सिआइटी नामको छुट्टै युनिट स्थापना गर्न लागेको हो। महाशाखाको पिलर-२ ले साइबरसम्बन्धी अपराध अनुसन्धान गर्दै आएता पनि प्रभावकारी हुन नसकेपछि विशेषज्ञसहितको युनिट निर्माण गर्न लागिएको महाशाखाका अधिकारी बताउँछन्। महाशाखा प्रमुख रणबहादुर चन्दले भने, 'विशेषज्ञ र भौतिक पूर्वाधारको अभावले अनुसन्धान प्रक्रिया प्रभावकारी बन्न सकेको थिएन, त्यसैले अब छुट्टै युनिट गठन गर्दैछौं।' चन्दका अनुसार थप गरिने सेलको भौतिक पूर्वाधार विस्तारको तयारी शुरु भइसकेको छ। उनले भने, 'अहिले हामी सेल गठनको अन्तिम चरणमा छौं।'

घरजग्गा कारोबार बढेपछि बैंकमा रकम अभाव

चितवन (नयाँ पत्रिका)

जिल्लामा सेवा दिँदै आएका बैंकहरूमा घरजग्गा खरिदबिक्री व्यवसाय बढेपछि रकमअभाव देखिएको छ । रकमअभावकै कारण चितवनका बैंकहरूमा खातामा भएको रकम निकाल्न दिनभर कुर्नुपर्ने बाध्यता छ । जग्गा कारोबारमा करोडौं रकम नगद कारोबार हुने भएकाले बैंकमा पैसा अभाव भएको जग्गा कारोबारमा संलग्न व्यवसायीले बताएका हुन् । बैंकहरूले तत्काल नगद प्रवाह गर्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय चितवनको तथ्यांकमा जिल्लामा दैनिक ३ करोड हाराहारी जग्गा कारोबार हुने गरेको देखिए पनि अधिकांश व्यवसायीले राजस्व छल्ने हुँदा चारगुणा बढी कारोबार हुँदै आएको स्रोतको दाबी छ । 'जग्गा कारोबारीलाई ठूलो रकम आवश्यक पर्ने भएकाले बंैकहरूले तत्कालै नगद प्रवाह गर्न सकेका छैनन्,' चितवन भूमि समन्वय समाजका अध्यक्ष दिनेश चुकेले भने, 'बैंकले तत्काल रकम दिन नसकेपछि व्यवसायीले नगद घरमै राख्न थालेका छन् ।'

Tuesday, December 8, 2009

आजको कार्टून !


'माओवादीको शिरदेखि तिरसम्म उग्रवाममन्थी र अराजक सोच'

दुर्गालाल केसी/दाङ (कान्तिपुर)-



'काँग्रेसभित्रको बुढो सोच र माओवादीको अराजकता यसका बाधक छन् । यि दुवै कुरालाई मिलाएर लैजाने चुनौती हाम्रासामु आएको छ ।' 

एमाले अध्यक्ष झलनाथ खनालले माओवादी शिरदेखि तिरसम्म उग्रबामपन्थी र अराजक सोचबाट ग्रस्त भएकाले सहमतिको राजनीति सफल हुन नसकेको बताएका छन् । माओवादीको 'जर्वजस्ती राजनीति'ले देशमा प्रतिक्रान्तिको खतरा बढेको पनि उनको आरोप छ । मंगलबार दिउँसो जिल्ला पार्टी कार्यालय घोराहीमा कार्यकर्तालाई सम्बोधन गर्दै खनालले मओवादी अपराधिक र हिंशाखोरी मानसिकताबाट ग्रसित भएकाले देशमा संकट सिर्जना गरिरहेको धारणा व्यक्त गरे । 'अर्काको सम्पत्ती कब्जा गर्ने र जहाँ पनि जर्वजस्ती गर्न खोज्ने माओवादी प्रबृत्तिले प्रतिक्रान्तिकारीलाई नै फाइदा पुग्छ,' उनले भने,'माओवादीले यसलाई क्रान्तिकारी काम ठानेको छ तर यो क्रान्ति होइन प्रतिक्रान्ति निम्त्याउने काम हो । यो युगमा जर्वजस्ती राजनीति चल्दैन । यस्ता जर्वजस्तीले प्रतिक्रान्तिकारीलाई नै एकजुट हुन बल मिल्छ ।' माओवादीले उग्रवामपन्थी र अराजक मानसिकताका कारण बेहोशीपूर्ण तरिकाले काम गरिरहेको खनालले बताए । 'माओवादीले बेहोशीपूर्ण तरिकाले काम गरेको छ,' खनालले भने,'यही कारणले उसले संबिधानसभामा गर्ने काम पनि जर्वजस्ती गरेको छ । एक्लै गणराज्य घोषणा गर्ने कामलाई कसैले पनि होशपूर्ण काम भन्न सक्दैन ।'

'उपेन्द्रप्रवृत्तिले मधेसी हक स्थापित हुँदैन'

काठमाडौं (नयाँ पत्रिका )

उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मधेसी अधिकारका लागि उठेको आवाजलाई उपेन्द्रप्रवृत्तिले समेट्न नसक्ने बताएका छन् । विभिन्न पार्टी परित्याग गरी फोरम प्रवेश गरेका नवआगन्तुकलाई स्वागत गर्न पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले भने, 'फोरम लोकतान्त्रिक राष्ट्रिय पार्टी हो, त्यसैले फोरमलाई मधेस, पहाड, हिमाल सबै क्षेत्रको प्यारो पार्टी बनाउनुपर्छ ।' तोकिएकै समयभित्रै संविधान घोषणा हुने वातावरण तयार गर्न जिम्मेवार दलहरू इच्छुक नदेखिएकाले मुलुक ठूलै राजनीतिक संकटतर्फ धकेलिने सम्भावनासमेत रहेको गच्छदारले बताए । गच्छदारले नेपाल सद्भावना पार्टीका संस्थापक केन्द्रीय सदस्य एवं केन्द्रीय सल्लाहकार समिति सदस्य दिलिपकुमार धाडेवा, कांग्रेस गौर नगर समितिका पूर्वसभापति मनोज शर्मा, फोरम संस्थापन पक्षका बारा जिल्ला सभापति सइद हवारीलगायतका नेतालाई सदस्यता प्रदान गरी आफ्नो पार्टीमा स्वागत गरेका थिए ।

कङ्ग्रेसको नेतृत्व अब म गर्छु : देउवा

झापा (नागरिक)- 

नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको नेतृत्व अब आफूले गर्ने बताएका छन्। मङ्गलबार झापामा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूले मात्रै कङ्ग्रेसलाई एकिकृत तुल्याउने दाबीसमेत गरे। 'गिरिजाबाबु उमेर र स्वास्थ्य दुवै दृष्टिले अशक्त हुनुहुन्छ', देउवाले भने – अब पार्टीको नेतृत्व मैले नै गर्ने हो। पार्टी विभाजनपछि कार्यकर्तामा निराशा छाएको उल्लेख गर्दै देउवाले उनीहरुको मनोबल उकास्न पनि सक्षम नेतृत्व चाहिएको बताए। उनले भने – 'अनुभव र इतिहास दुवैले म त्यसका लागि तयार छु।' नजिकिँदै गएको पार्टी महाधिवेशनले कङ्ग्रेसलाई पुरानो अवस्थामा पुर्‍याउनुपर्ने उनको भनाइ थियो। विभाजनको असर पार्टीको तल्लो तहसम्म कायमै रहेको बताउँदै देउवाले भने- त्यो मानसिकता अन्त्य गर्न म लाग्नेछु। माओवादी अराजकताले मुलुक जटिलताउन्मुख भएको देउवाले आरोप लगाए। त्यसका विरुद्ध सङ्गठित हुन उनले कार्यकर्तालाई आग्रह पनि गरे।

प्रधानमन्त्रीसँग दिक्क छन् यी मन्त्री


'यो त अति भयो, मलाई किन काम नदिएको होला, तपाईंले एकपटक प्रधानमन्त्रीलाई सोधिदिनुहोला है,' मन्त्री लक्ष्मीलाल कर्णले आशावादी हुदै भने
सागर पण्डित/काठमाडौं (नयाँ पत्रिका)

जनताका धेरै गुनासा छन् । तर, नेपाल न हो, मन्त्रीका गुनासा झन् ठूला छन् । मन्त्री भएको तीन महिनासम्ममा कुनै पनि जिम्मेवारी नपाएपछि लक्ष्मीलाल कर्ण आफँ दिक्क छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूर्तिमन्त्री छन् । दलहरूबीच मात्र होइन, दलहरूभित्रको समीकरण पनि मिलाउन प्रधानमन्त्री माधवकुमार नेपालले सद्भावनाका लक्ष्मीलाल कर्णलाई विनाविभागीय मन्त्री बनाइदिएका छन् । तर, तीन महिनासम्म पनि भूमिका नपाएपछि उनी आफैँ कुण्ठित भएका छन् । 

Monday, December 7, 2009

आजको कार्टून !


विश्वभर नेपालको ऐतिहासिक प्रचार • कालापत्थर बैठक

शिला पाण्डे/काठमाडौ (कान्तिपुर)-


करिब ११ वर्षपछि नेपाललाई एकैचोटि ठूलो संख्याका सञ्चारमाध्यमले प्रसारण गरेका हुन् । 

यो साता नेपाल विश्वमै चर्चामा आयो । माओवादी जनयुद्ध, आन्दोलनलगायत द्वन्द्वका कारण समाचार बन्ने गरेको यो मुलुक अहिले चर्चामा आउनुको कारण थियो सगरमाथाको फेदमा बसेको मन्त्रिपरिषद बैठक । यसलाई एकैचोटि एक सयभन्दा बढी श्रव्यदृश्य सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणमार्फत विश्वमाझ पुर्‍याएका थिए । बैठकको विश्वभरिका साना ठूला गरी १ लाख ७ हजार सञ्चारमाध्यमले स्थान दिएको व्यवसायीको दाबी छ । कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनको एक साताअघि विश्वव्यापी तापमानका कारण हिमाल फुट्ने खतरा बढेको भन्दै विश्वको धानाकर्षण गराउन सरकारले सोलुखुम्बुको कालापत्थरमा मन्त्रिपरिषद बैठक गरेको हो । यसले नेपाल र सगरमाथालाई फेरि एकपटक विश्वभरका मानिसको मस्तिष्कमा ताजा बनाएको पर्यटनसम्बद्ध व्यक्तिहरूको भनाइ छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने, 'यसले नेपाली पर्यटनमा पनि ठूलो सघाउ पुगेको छ । आगामी दिनमा यसको असर देख्न पाइन्छ ।' जलवायु परिवर्तन सम्मेलनले पनि यसमा थप प्रभाव पार्ने उनले बताए ।

कैलाली घटनामा मरेका भनिएका विक जिउँदै !

कलेन्द्र सेजुवाल, सुर्खेत (नागरिक)- 

जनमुक्ति सेना छैटौँ डिभिजनले कैलाली घटनामा मारिएको भनिएका नरेन्द्र विक जिउँदै रहेको जनाएको छ। उनलाई वीरेन्द्रनगरमा आजै सार्वजनिक पनि गरियो। कैलालीमा भेटिएको परिचयपत्र नं. ३६८२ का सक्कली व्यक्ति छैटौँ डिभिजनमै कार्यरत् रुद्रप्रसाद चपाईँलाई पनि सार्वजनिक गरियो। डिभिजनले सोमबार पत्रकार सम्मेलन गरी बिक र चपाईँलाई परिचयपत्रसहित सार्वजनिक गरेको हो। डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले डिभिजनमा सेक्सन भाइस कमाण्डरका रुपमा कार्यरत् सुर्खेत तातापानी–६ का नरेन्द्र बिकको परिचयपत्र नं. ३७९५ रहेको जानकारी दिए। साथै कैलालीमा सार्वजनिक गरिएको परिचयपत्र नं. ३६८२ का सक्कली व्यक्ति सुर्खेत साटाखानी–५ का रुद्रप्रसाद चपाईँ रहेको उनले बताए। डिभिजनका अनुसार चपाईँ डिभिजनको जीत स्मृति ब्रिगेडमा सेक्सन कमाण्डर छन्।

ज्वालासिंह फेरि निलम्बित

काठमाडौं (नयापत्रिका) 

जनतान्त्रिक मधेसी मुक्ति टाइगर्स तराई पार्टीका केन्द्रीय अध्यक्ष ज्वालासिंहलाई पार्टीको अध्यक्ष पदबाट आइतबार निष्कासित गरिएको छ । सो पार्टीको सप्तरीमा १९ र २० गते गरिएको कार्यकर्ता परिषद्बाट अध्यक्ष सिंहलाई हटाइएको पार्टीका नयाँ अध्यक्ष चुनिएका राजनप्रतापले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । राजनप्रताप नेतृत्वको मधेसी मुक्ति टाइगर्स र ज्वालासिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच गत १३ वैशाखमा एकीकरण भई जनतान्त्रिक मधेसी मुक्ति टाइगर्स, तराई पार्टी गठन भएको थियो । अध्यक्ष सिंहले व्यक्तिवादी नीति लिएर हिँडेकाले अध्यक्ष पदबाट हटाई नयाँ कार्य समिति चयन गरिएको विज्ञप्तिमा उल्लेख छ । पार्टीको अध्यक्ष राजनप्रताप र उपाध्यक्षमा सूर्यदेव सिंहसहित ३८ सदस्य पोलिटब्युरो गठन गरिएको छ ।

सरकारी सहयोगविनै अयोग्य लडाकु मंसिरभित्रै बाहिरिने

कलेन्द्र सेजुवाल/सुर्खेत (नागरिक)- 

अयोग्य लडाकु पुनर्स्थापना अनिश्चित भइरहेको बेला जनमुक्ति सेना छैटौँ डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले उनीहरुलाई मंसिर मसान्तभित्र शिविरबाट निकाल्न लागिएको खुलासा गरेका छन्। अनमिनद्वारा अयोग्य प्रमाणित लडाकुलाई सरकारी सहयोगबिना डिभिजनले आफैं घर पठाउन लागेको उनले बताए। शाहीका अनुसार छैटौँ डिभिजनमा करिब ६ सय अयोग्य लडाकु छन्। वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले अयोग्य लडाकु पुनर्स्थापनामा सरकारले आलटाल गरेका कारण जनसेनाले आफ्नै खर्चमा शिविरबाट 'सम्मानमूर्ण बिदाई' गर्न लागेको बताए। 'उहाँहरुलाई हामी चित्त बुझाएर तत्काललाई गाडी भाडा दिएर शिविरबाट निकाल्छौँ,' उनले भने- 'उहाँहरु फेरि पनि स्वयमसेवकका रुपमा बलिदानी दिन जनताकै बीचमा जानुहुन्छ।' शाहीले सरकारी नियतले फेरि भिडन्त निम्तिने सम्भावना बढेकाले जनसेनाले यस्तो कदम चालेको बताए। डिभिजन कमाण्डर शाहीका अनुसार अन्य डिभिजनले समेत पुस पहिलो साताभित्र सबै अयोग्य लडाकुलाई घरखर्चसहित शिविरबाहिर निकाल्ने गरी प्रक्रिया सुरु गरेका छन्। उनीहरुलाई कसैले दुरुपयोग गर्न नसक्ने शाहीले बताए।

मोष्ट वाण्टेड पक्राउ/वार्ता टोली सदस्य प्रहरी नियन्त्रणमा

देवनारायण साह/सिरहा (कान्तिपुर)- 

बिभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका हरकट्टी ५ कुण्डलपुरका हरिगोबिन्द यादवलाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक होमनाथ पन्थीको नेतृत्वमा खटिएको टोलीले यादवलाई सिरहाको पोखरिया चौकबाट पक्राउ गरेको सीमा सुरक्षा कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादव इलाका प्रहरी कार्यालय पतारीमा कार्यरत एक प्रहरीको हत्या, गाँजा तस्करी, हरकीमा एक महिलाको बलात्कारलगायतका घटनामा संलग्न रहेको प्रहरीको आरोप छ । यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा राजीव समूहका वार्ता टोली सदस्यसहित दुई जनालाई सिरहा सदरमुकाममा चन्दा संकलन गरिरहेको आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सिरहा नगरपालिका घर भएका मोर्चाका वार्ता समितिका सदस्य पारस मुक्ति भन्ने सोभित यादव र ठेगाना नखुलेका इन्द्रदेव मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । 

जनकपुर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाईने

विजेता सिंह/जनकपुर (दैनिकी)

नेपाल सरकारले भारत सरकारसंग पछिल्लो समयमा नयाँ सम्झैता गरे पश्चात जनकपुर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्नका लागि गृहकार्य शुरु गरेको छ। क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका लागि आवश्यक पुर्वाधार तथा सम्भाव्यता अध्ययनका लागि धनुषा तथा महोत्तरीका सभासदहरु सहितको टोलीको नेतृत्व गर्दै आइतबार नागरिक उडययन तथा पर्यटनमन्त्री शरदसिंह भण्डारीले विमानस्थलको स्थलगत निरिक्षण गर्नुभएको थियो। जनकपुरलाई म्यारेज टुरिज्म डेस्टिनेशनको रुपमा अगाडी बढाउन सके भारतबाट लाखौं पर्यटकहरु विहे गर्ने स्थलको रुपमा लिने भएपछि जनकपुरलाई करोडौं रुपैया फायदा हुने वताउनुभयो। जनकपुरदेखि पटना सम्मको हवाई सेवा सञ्चालन गर्नका निम्ति भारत सरकारले सम्झौंता गरिसकेको भएपनि जनकपुर विमानस्थलको पुर्वाधार निर्माणका लागि घावनमार्गको लम्बाई बढाउनुपर्ने नागरिक उडडयन विभागका डिई केशवराज खनालले वताउनुभयो।

४ हजार फिटको क्षमता भएको उक्त विमानस्थलको रनवे क्षमता कम्तिमा पनि ६ हजार ५ सय फीट सम्म विस्तार गर्नका लागि ८६ विग्हा जग्गा अघिग्रहण गरिने वताइएको छ। अघिग्रहण गरिने उक्त जग्गाको मुआब्जा दिनकै लागि कम्तिमा पनि ४६ करोड रुपैया नेपाल सरकारले अनुमान लगाएको र हाल त्यसका लागि ३ करोड रुपैया सरकारले छुटयाइसकेको खनालले बताउनुभयो। टर्मिनल भवन वाप्ात ११ करोड, घावन मार्ग विस्तारको लागि ६ करोड, अन्य प्राविधिक कार्य सहितका लागि गरी कुल ७० करोड रुपैया तत्काल लाग्ने विभागले अनुमान गरेको छ।

उक्त विमानस्थलको पुर्वाधारकै निर्माणको लागि बिल अपरेट ट्रान्सपोर्टका आघारमा नीजी कम्पनीले पनि सञ्चालन गर्न सक्ने भएको हुनाले निकट भविष्यमै सरोकारवालाहरुसंग सरोकार समिति पनि गठन गरिने मन्त्री भण्डारीले बताउनुभएको थियो। वुद्ध एयरका महाप्रबन्धक बिरेन्द्र बहादुर बस्नेतले जनकपुरबाट पटना उडान भर्न आघा घण्टा मात्र लाग्ने तर फर्कन सिमरा भएर आउनु पर्ने हुनाले भाडामा पनि समायोजन गरिनुपर्ने बताउनुभयो। सो अवसरमा धनुषा र महोत्तरीका मन्त्री र सभासदहरुको उपस्थिती रहेको थियो।

Sunday, December 6, 2009

आजको कार्टून !


डलर लुटपाट काण्डमा एआइजी

केपी ढुंगाना, काठमाडौं (नागरिक)- 

तीन लाख अमेरिकी डलर लुटपाट घटनामा संलग्न अभियुक्त र साक्षी डेढ महिना पछि प्रहरी सम्पर्कमा आएका छन तर, प्रमाणको अभावमा कारवाही प्रकृया कसरी अगाडि बढाउने प्रहरी अन्यौलमा छ। असोज ३१ गते लक्ष्मी पूजाको दिन क्षेत्रपाटीवाट खासा लैजान तयार पारिएको रकम २ जना प्रहरीले लुटेका थिए। अहिले लुटपाटमा संलग्न २ जना प्रहरी, गाडि चालक,रकमको बारेमा प्रहरीलाइ जानकारी दिने ब्यक्ति र लुटिएको रकमका धनी सबै प्रहरीको सम्पर्कमा छन। तर,पक्राउ परेका २ अभियुक्तलाई लामो समयसम्म आफ्नो नियन्त्रणमा राखेर ब्यत्तिगत तजवीजका आधारमा अनुशन्धान गरेका कारण अहिले अनुशन्धानमा जुटेको प्रहरीलाई प्रमाण जुटाउन हम्मे हम्मे परेको छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश केसी परिस्थितीजन्य प्रमाणहरु फेला परेपनि घटनालाई पुष्टी गर्ने ठोस प्रमाण फेला नपरेको स्विकार गर्छन। उनले भने...रकमको बारेमा जानकारी दिने ब्यक्तिको बयान र घटना भएको दिन अभियुक्तहरु ड्युटीमा नहुनुले केही प्रमाण जुटेको छ,तर अहिलेसम्म ठोस प्रमाण फेला पर्न सकेको छैन।'

खुल्ला सिमानाका कारण नेपाली अर्थतन्त्रमा प्रभाव

संजय सौगात/बुटवल (दैनिकी)

खुल्ला सिमानाका कारण नेपाली अर्थतन्त्र र राष्ट्रियता परनिर्भर बनेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन। उनिहरुले स्वाधिन अर्थतन्त्रको लागी असमान सन्धी संझौताको खारेजी र पुनरावोलकन आवश्यक रहेको बताए। पुरानो सन्धी संझौताहरुलाई खारेजी गर्दै गणतान्त्रिक नेपाल अनुकुलको नयाँ संझौता गर्नु पर्नेमा जोड दिए। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन नवलपरासीले परासीमा आयोजना गरेको खुल्ला सिमाना र यसले उद्योग व्यापारमा पारेको प्रभाव विषयक कार्यक्रममा बोल्ने राजनितिक दलका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा पत्रकारहरुले खुल्ला सिमानाले नेपाली अर्थतन्त्र र राष्ट्रियतालाई धरापमा पारेको बताए। कार्यक्रममा जुनसुकै राजनितिक पार्टीको सरकार बने पनि राष्ट्रियताको विषयमा गम्भिर नभएको बताउदै दलहरुलाई राष्ट्रियता र स्वाधिन अर्थतन्त्रको पक्षमा कदम चाल्न खवरदारी गरे। कार्यक्रममा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार कठपुतलीको सरकार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको पक्षमा नरहेको आरोप लगाए।

'माओवादीले उक्साएर घटना गरायो'

काठमाडौं (नागरिक)- 

एकीकृत माओवादीले जनता उक्साएर कैलाली डुडेझाडी घटना घटाई शान्ति प्रक्रियामा आघात पुर्‍याएको सरकारले आरोप लगाएको छ। कैलाली बलिया गाविसको घटनाको सबै जिम्मेवारी माओवादी हुने सरकारले बताउँदै गृहमन्त्रीले घटनालाई ढाकछोप गर्न नेपाल बन्दको आह्वान गरिएको आरोप लगाए। डुडेझाडी घटना बारे जानकारी दिन आइतबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री भीमबहादुर रावलले सत्य, तथ्य ढाकछोप गर्न माओवादीले नेपाल बन्द गरिएको बताए। 'शान्ति सम्झौतामा गरिएको प्रतिबद्धता र कानुन विपरित बन क्षेत्र अतिक्रमण गर्न सर्वसधारणलाई उक्साउनेहरू नै डुडेझाडीमा घटेको घटनाका लागि जिम्मेवार भएको स्पष्ट छ', रावलले भने- 'आफैँ उक्त प्रकारको स्थिति सृजना गर्ने र सत्य तथ्यमाथि ढाकछोप गर्न आफै नेपाल बन्द गर्ने कार्यले समग्र शान्ति प्रक्रिया नै आघात पुगेको छ।'

प्याराग्लाइडिङ एक्रोब्याट्समा नयाँ विश्वरेकर्ड

प्रेम नेपाली/पोखरा (कान्तिपुर) - 

प्याराग्लाइडिङ उडानमा सन् २००८ का विश्वच्याम्पियन स्पेनी होरासिओ लोरेनस फर्नान्डेजले शुक्रबार पोखरामा 'एक्रोब्याट्स' तर्फनयाँ विश्वरेकर्ड कायम गरेका छन् ।  सत्ताइस वर्षीय फर्नान्डेजले हेलिकप्टरबाट ५ हजार ३ सय मिटर उचाइबाट 'जम्प' गरी आठ मिनेटमा २ सय ८० पटक 'एक्रोब्याटिङ' गरेर पुरानो विश्वरेकर्ड भंग गरेका हुन् ।  उनले यसअघि एक्रोब्याट्स उडानतर्फसन् २००९ को जुलाईमा स्विट्जरल्यान्डमा एक  पाइलटले २ सय १० पटक 'एक्रोब्याट्स' गरेर उक्त रेकर्ड कायम गरेको बताए ।  सन् १९९७ देखि उडानको सुरुआत गरेका उनले नयाँ रेकर्ड कास्कीको हेम्जामा कायम गरेका थिए । उनको उडानका सहकर्मी भेसो ओभछारोभले हेलिकप्टरबाट छायाङ्कन गरेका थिए । नेपालमा प्याराग्लाइडिङ उडानबारेको वृत्रचित्र 'हिमालय इनफिनिटी' छायाङ्कनका क्रममा नयाँ रेकर्ड कायम भएको उनले बताए । 'प्याराग्लाइडिङका लागि यति सुन्दर ठाउ“मा नयाँ विश्वरेकर्ड कायम गर्न पाउँदा मेरो खुसीको सीमा छैन,' साँझ साथीहरूसँग खुसी साटिरहेका फर्नान्डेजले भने, 'नेपालसँगको मेरो पहिलो भेट सधैंभरि अविस्मरणीय रहिरहनेछ ।'

विश्वरेकर्डमा प्रमाण पुर्‍याउन आवश्यक छायाङ्कन र उडानमा साथ दिने सहकर्मीहरूलाई धन्यवाद दिंदै उनी भनिरहेका थिए, 'विश्वरेकर्डका लागि चाँडै प्रमाण लिएर र्फकनेछु ।'  नेपालमा प्याराग्लाइडिङ उडानबारे वृत्तचित्र बनाउने क्रममा उनले सराङकोट, मुस्ताङको जोमसोम, स्याङ्जालगायतका स्थानमा उडान गरिसकेका छन् । पेसाले प्याराग्लाइडिङ पाइलट रहेका उनले विश्वको विभिन्न स्थानमा उडान गरे पनि नेपालमा भने विशेष अनुभूति मिलेको 

बताए । 'हिमाल, हरियाडाँडा, ताल, नदी र हावाको गति सबै प्याराग्लाइडिङका लागि अनुकूल छन्,' उनले भने, 'प्याराग्लाइडिङका पाइलटहरूलाई यहाँको सुखद अनुभव साट्छु र आउन आग्रह गर्छु।' उनलाई उडानका लागि पोखराको लेकसाइडस्थित फ्रन्टियर प्याराग्लाइडिङले हेलिकप्टर, यातायातलगायतका सामग्रीको व्यवस्था गरेको थियो । पोखरामा साहसिक खेल प्याराग्लाइडिङको विकास गर्ने उद्देश्यले सन् १९९९ देखि प्रतियोगिता गर्दै आए पनि नेपालमा विश्वरेकर्ड कायम भएको यो पहिलोपटक हो ।  'नेपालमा प्याराग्लाइडिङमा नयाँ कीर्तिमान भएको यो पहिलोपटक हो,' फ्रन्टियर प्याराग्लाइडिङका कर्मचारी सुरेन गुरुङले भने, 'यसले प्याराग्लाइडिङको क्षेत्रमा नेपाललाई चिनाउन थप मद्दत गर्नेछ ।'

प्याराग्लाइडिङका लागि विश्वका आठ उत्कृष्ट स्थलमध्ये एकमा पर्ने सराङकोट स्वदेशी तथा विदेशी पाइलटहरूको गन्तव्य स्थल बनेको छ । अहिलेसम्म यहाँ स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरूले पनि उडान गरिसकेका छन् । पूर्वमन्त्री हिसिला यमी, पूर्वयुवराज्ञी हिमानी शाहलगायत साहसिक खेल मानिने प्याराग्लाइडिङमा रमेका थिए । प्याराग्लाइडिङको बढ्दो आकर्षापछि केही वर्षघिसम्म विदेशी पाइलटमात्र देखिने पोखरामा अहिले करिब ५५ नेपाली पाइलट पुगेका  छन् । सनराइज, फ्रन्टियर, ब्लु स्काई, सराङकोट, प्यारानोभा, अन्नपूर्ण र एभिया प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान गर्दै आएका छन् ।

पूर्वराजा दिल्ली प्रस्थान

काठमाडौँ (नागरिक)- 

पूर्व राजा ज्ञानेन्द्र शाह पारिवारिक विवाह समारोहमा सहभागी हुन आज अपरान्ह भारत प्रस्थान गरेका छन्। संविधानसभाले 'श्री ५' को उपाधि खोसिसकेपछि उनको यो दोस्रो भारत भ्रमण हो। उनी आज नयाँ दिल्ली पुग्ने शाह उडिसामा फुपूको छोराको विवाहमा सहभागी हुन भारत जान लागेका हुन्। समारोहमा सरिक भएपछि उनी राजस्थानमा नातेदारसित भेटघाटका लागि जाने छन्। उनको फर्कने मिति भने निश्चित छैन। हालै उनले कूटनीतिक राहदानीका लागि निवेदन दिएको र सरकारले पनि उनलाई रातो राहदानी उपलब्ध गराइसकेकाले भारतबाट उनी युरोप भ्रमणमा जानसक्ने अनुमान पनि गरिएको छ। काठमाडौँबाट ज्ञानेन्द्र पूर्व रानी कोमल र निजी सचिव सागरप्रसाद तिमल्सिनाका साथ नयाँ दिल्ली जाँदैछन्।

वनका कर्मचारी निलम्बनमा

रौतहट (नयापत्रिका)

जिल्ला वन कार्यालय रौतहटअन्तर्गत सिम्री रेन्जपोस्टमा कार्यरत तीनजना वन कर्मचारी निलम्बनमा परेका छन् । काठ तस्करलाई सहयोग गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो । गएको १७ गते काठ तस्करले लैजाँदै गरेको एक ट्याक्टर काठ बरामद गरेर पनि छाडेको भन्दै वन सहायक लक्ष्मण झा, वन रक्षक उपेन्द्र मिश्र र नन्दलाल पण्डितलाई निलम्बन गरेको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत राहेश कर्णले बताएका छन् । सो रेन्जपोस्टबाट नम्बर नलेखिएको ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको एकथान आपूर्ति समितिको टाँचा लगाएको र अन्य सातथान टाँचा नलगाएको करिब ६० क्युफिट गोलिया बरामद गरे पनि सो ट्याक्टर र काठ छाडेकाले कारबाही गरेको वन अधिकृत कर्णले बताए । बरामद गरेको ट्याक्टर र काठ छुटाउनका लागि काठ तस्करसहित १५/२० जना वनमै पुगेर ट्याक्टर र काठ छोड्न दबाब दिएकाले ट्याक्टर छाड्न बाध्य भएको निलम्बनमा परेका एक कर्मचारीले बताएका छन् ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by