ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 11, 2009

गृहमन्त्रीको मनोमानी


सागर पण्डित/काठमाडौं (नयाँ पत्रिका)
संवेदनशील ठहर्‍याइएका २५ जिल्लामध्ये नौ जिल्लामा गृहमन्त्री भीम रावलले कनिष्ठ अधिकृतलाई पठाएर मापदण्ड मिचे

गृहमन्त्री भीमबहादुर रावलको ठाडो आदेशमा संवेदनशील मानिएका २५ जिल्लामध्ये नौ जिल्लामा मापदण्डविपरीत कनिष्ठ अधिकृतलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाएर पठाइएको छ । सरकार स्वयंले नै संवेदनशील ठहर्‍याएका सप्तरी, महोत्तरी, धनुषा, रौतहट, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा प्रथम श्रेणीका अधिकृतलाई पठाउनुपर्नेमा द्वितीय श्रेणीका अधिकृतलाई पठाइएको छ । 'यस्तो भएको गृहमन्त्रीको ठाडो आदेशले गर्दा हो, मन्त्रालयले हामीलाई सोहीअनुरूपको गलत परम्परासहितको सिफारिस गरेपछि हामीले यस्तो गर्न बाध्य भयौँ,' सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले नयाँ पत्रिकालाई बताए, 'शक्तिमा हुनेले जे गरे पनि हुने रहेछ ।'रौतहट, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा प्रथम श्रेणीका अधिकृतलाई पठाउनुपर्नेमा द्वितीय श्रेणीका अधिकृतलाई पठाइएको छ । 'यस्तो भएको गृहमन्त्रीको ठाडो आदेशले गर्दा हो, मन्त्रालयले हामीलाई सोहीअनुरूपको गलत परम्परासहितको सिफारिस गरेपछि हामीले यस्तो गर्न बाध्य भयौँ,' सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले नयाँ पत्रिकालाई बताए, 'शक्तिमा हुनेले जे गरे पनि हुने रहेछ ।'
त्यतिमात्र होइन, यस्ता संवेदनशील मानिएका अन्य जिल्लामा समेत गृहमन्त्री रावलले आफूअनुकूलका कम अनुवभी प्रजिअ पठाउने आन्तरिक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । सरुवा गरेर संवेदनशील क्षेत्रमा पठाउने तयारीमा परेका, पठाइसकिएका अधिकांश अधिकृत भर्खरै मात्र सहसचिवमा बढुवा वा कनिष्ठ अधिकृत नै रहेका छन् ।

गृहप्रशासनमा लामो अनुभव भएकालाई पाखा लगाई कम अनुभव भएकालाई प्रजिअ बनाउन थालिएको भन्दै मन्त्रालयभित्रै असन्तुष्टि व्यक्त गर्न थालिएको छ । प्रथम श्रेणीका अधिकारी प्रजिअ रहने अन्य जिल्लामा झापा, मोरङ, सुनसरी, सिराहा, सर्लाही, काठमाडौं, ललितपुर, बारा, पर्सा, मकवानपुर र चितवन हुन् । यसैगरी कास्की, रूपन्देही, सुर्खेत, कैलाली र कञ्चनपुरमा पनि प्रथम श्रेणीका प्रजिअ रहन्छन् ।

गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले मन्त्रालयमा सहसचिवको संख्या नै कम भएकाले प्रथम श्रेणीको दरबन्दीमा पनि द्वितीय श्रेणीका अधिकारी पठाउन आफूहरू बाध्य भएको जिकिर गरे । 'सहसचिव भएपछि कम अनुभव र बढी अनुभव भन्ने हुदैन, नयाँलाई पनि पठाउन सकिन्छ,' गृह मन्त्रालयका प्रवक्ता खनालले मन्त्रीको बचाउ गर्दै भने । सोर्सफोर्स र भनसुनमा गृहप्रशासन चलेको आरोपका सम्बन्धमा भने प्रवक्ता खनालले केही बताउन चाहेनन् । 'त्यो यहाँहरूले विश्लेषण गर्ने कुरा हो, हामीलाई थाहा भएन,' खनालले नयाँ पत्रिकासँग भने ।

मन्त्रालयका अर्का एक अधिकारीले भने भनसुन र पहुँचका आधारमा गृहप्रशासन सञ्चालन गर्न खोजिएको आरोप लगाए । नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने, 'प्रजिअ बनाउँदा बढी अनुभव भएका अनुभवीलाई पाखा लगाई कम अनुभवीलाई प्राथमिता दिन थालिएको छ ।' काठमाडौं जिल्लामा भएको प्रजिअ सरुवाको घटनाले यसलाई पुष्टि गरिदिएको उनले बताए ।



गृह मन्त्रालयले आफ्ना मान्छे भएपछि प्रशासन सेवाबाहेक अन्य सेवाका अधिकारीलाई पनि प्रजिअ बनाई पठाउन थालेको छ । मन्त्रालय स्रोतका अनुसार अनुभवीलाई पन्छाएर कम अनुभवीलाई प्रजिअ बनाएको प्रमाण राजधानी काठमाडौंमै देखिएको छ । गृहमन्त्रीले केही दिनअघि मात्रै काठमाडौंका प्रजिअ भोला सिवाकोटीलाई हटाई निकै कनिष्ठ अधिकृत लक्ष्मी ढकाललाई प्रजिअ बनाएका थिए । 'काठमाडौंजस्तो जिल्लामा वरिष्ठलाई हटाएर कनिष्ठलाई ल्याउनु नै गलत हो,' स्रोतले भन्यो । तीन महिनाअघि मात्रै चितवनको प्रजिअबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव रत्नराज पाण्डेलाई पुनः ललितपुरको प्रजिअमा पठाइएको छ । त्यतिबेला उनलाई चितवनबाट हटाई भर्खरै मात्रै सहसचिवमा बढुवा भएका कनिष्ठ सहसचिव महेश्वर न्यौपानेलाई चितवन पठाइएको थियो । पाण्डे अस्थिर गृहप्रशासनको सिकार भएको भन्दै मन्त्रालयभित्र सहानुभूति व्यक्त हुने गरेको छ । ललितपुरबाट काठमाडौं ल्याइएका ढकाल पाण्डेभन्दा निकै कनिष्ठ हुन् । वरिष्ठलाई ललितपुरको र कनिष्ठलाई काठमाडौंको प्रजिअ बनाइएको छ ।

मन्त्रालयका अनुसार केही समयअघि मात्रै भक्तपुरको प्रजिअ बनाइएका दीपकराज खनाल चार महिनाअघि मात्रै शाखाअधिकृतबाट फाइल बढुवा भई उपसचिव बनेका हुन् । उनी गृह मन्त्रालयमा शाखाअधिकृत रहँदा एमालेनिकट निजामती कर्मचारी संगठनका विभागीय अध्यक्ष थिए । उनीभन्दा वरिष्ठ उपसचिव हुदाहुदै उपसचिवमा बढुवा भएलगत्तै उनलाई भक्तपुरको प्रजिअ बनाइएको थियो ।

मन्त्रालयले पहुँचका आधारमा प्रशासन सेवाका अधिकारी रहँदा-रहँदै अन्य सेवाका अधिकारीलाई पनि प्रजिअ बनाएर पठाएको छ । मन्त्रालयका सहसचिव प्रेम राई प्रशासन सेवाका अधिकारी हुँदाहुँदै अन्य सेवाका अधिकारीलाई प्रजिअ बनाएर पठाउनु गलत भएको बताउँछन् । मन्त्रालयका अनुसार सुनसरीका प्रजिअ रामप्रसाद थपलिया, सिराहाका वीरेन्द्रकुमार यादव, रौतहटका कमलेश्वरप्रसाद सिन्हा, रूपन्देहीका नागेन्द्र झा, सुर्खेतका वासुदेव दाहाललगायतका प्रजिअ प्रशासन सेवाभन्दा बाहिरबाट ल्याइएका हुन् । 'पहिलेदेखि नै यसप्रकारको गलत परम्पराको विकास गरिँदै आइएको छ,' मन्त्रालय सहसचिव राईले भने, 'यस्तो परम्पराको अन्त्य हुन जरुरी छ ।' राईका अनुसार जिल्लाको शान्तिसुरक्षा कायम गराउन र ऐन-नियम पालना गराउन प्रशासन सेवाबाट आएकालाई जति सजिलो हुन्छ, अन्य सेवाबाट आएकालाई त्यति नै अप्ठ्यारो हुन्छ ।'

प्रथम श्रेणीका केही अधिकारी उपत्यकाभन्दा बाहिर जान अनिच्छुक हुने गरेका छन्, त्यसैले पनि मन्त्रालय प्रथम श्रेणीको दरबन्दीमा द्वितीय श्रेणीका अधिकारी पठाउन बाध्य भएको तर्क सहसचिव राई गर्छन् । 'के गर्ने जबर्जस्ती पठाउने कुरा हुँदैन, कतिपय उच्च अधिकारी जिल्ला जानै मान्दैनन्,' उनले भने ।


प्रथम श्रेणीका दरबन्दीमा द्वितीय श्रेणीका अधिकृत पठाइएका
जिल्ला र प्रजिअको नाम


सप्तरी - रामप्रसाद घिमिरे

महोत्तरी - सागरमणि पराजुली

धनुषा - वेदबहादुर कार्की

रौतहट - डा. कमलेश्वरप्रसाद शाह

कपिलवस्तु- शम्भुप्रसाद घिमिरे

नवलपरासी - बालकृष्ण पन्थी

दाङ - ऋषिराम ढकाल

बाँके - वीरेन्द्रबहादुर बानियाँ

बर्दिया - वेणीमाधव ज्ञवाली

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by