ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 10, 2009

नोटको कारोबार नेटबाट


ऋषिकेश दाहाल/काठमाडौं (नागरिक)-
 

बैंकमा नोट अभावले एटिएमबाट समेत पैसा झिक्न नसकेका उपभोक्ताले अब अभौतिक (भर्चुअल) रुपैयाँबाट किनमेल गर्न सक्ने भएका छन्। अहिले नेपाल बैंकको डेबिट कार्ड लिएका उपभोक्ताले यो सेवा पाउन थालिसकेका छन् भने लक्ष्मी बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका खातावालाले पनि छिट्टै भर्चुअल नोटबाट कारोबार गर्न सक्नेछन्।'नेपाल बैंकपछि सिद्धार्थ डेभलोपमेन्ट बैंकको पक्षण सफल भएको छ,' स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) का प्रमुख प्राविधिक अधिकृत समीर बज्राचार्यले भने, 'सिद्धार्थले केही दिनमै यो सेवा दिनेछ। लक्ष्मी बैंकमा पक्षण थालिसकेका छौं।'
सेवा सञ्चालनमा आएपछि उपभोक्ताले घरमै बसेर किनमेल गर्न र विल तिर्नेमात्र होइन, अरु कसैलाई तिर्नुपर्ने पैसासमेत 'ट्रान्सफर' गर्न सक्नेछन्। अहिले इबैंकिङमार्फत् सीमित बैंकहरुले 'युटिलिटी पेमेन्ट' को सुविधा दिँदै आएका छन्। यसले कारोबारको ज्यादै सानो हिस्सामात्र समेटै आएको छ। 'बैंकहरुले खोलेको एटिएम पैसा झिक्ने ठाउँमात्र भएको छ, तर यो सेवाले पैसै नझिकी कारोबार गर्ने अवस्था ल्याएको छ,' बज्राचार्यले भने।
बैंकहरुले उपलव्ध गराएकै डेभिड कार्डको प्रयोग गरेर घरबाटै किनमेल गर्न सकिने प्रविधि नेपालमा पहिलो पटक सुरु भएको हो। एसटीसीले अन्य बैंकहरुसँग पनि इ पेमेन्ट सञ्चालका लागि छलफल भइरहेको जनाएको छ।  'अहिलेसम्म अनलाइनबाट कारोबार गर्नेले इन्टरनेटलाई वर्गीकृत विज्ञापन दिने ढंगमै प्रयोग गरिरहेका थिए,' अनलाइन सुपरस्टोर मुन्चाहाउसडटकमका प्रमुख कायका अमृत तुलाधरले भने, 'यसको प्रयोगले भने साच्चिकै कागजको नोटविहीन कारोबार सफल हुने छ।' मुन्चाहाउस, ठमेलडटकम लगायतका अनलाइन पसलमा नेपालभित्रबाट किन्नेहरु खासै छैनन्। विदेशमा रहेका बैंकहरुबाटमात्र इ पेमेन्ट हुनसक्ने भएकाले यी अनलाइन पसलका ग्राहक विदेशिएका नेपाली नै हुँदै आएका छन्। यो सेवाले नेपालबाटै किनमेल गर्न सक्ने बनाएको छ।

कस्तो हुन्छ कारोबार?
एसटीसीको इ पेमेन्ट नेटवर्कमा रहेका बैंकबाट डेविट कार्ड लिने उपभोक्ताले इन्टरनेटमार्फत् किनमेल गर्न सक्नेछन्। कार्ड होल्डरले किनमेलका लागि खुलेका विभिन्न अनलाइन पसलहरुमा गएर आफूलाई चाहिएको वस्तु छान्छन् र इन्टरनेटबाटै त्यसको पैसा तिर्छन्। प्रत्यक्ष नोटको कारोबार नहुने यो प्रक्रियामा उपभोक्ताको बैंक खातामा रहेको रकम बिक्रेताको खातामा 'ट्रान्सफर' हुन्छ। त्यसको लागि एटिएमको पिनकोड जस्तै ६ डिजिटको कि थिच्नुपर्ने हुन्छ। १० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्ने हो भने थप सुरक्षा कोड प्रयोग गरेपछि मात्रै रकम 'ट्रान्सफर' हुन्छ र नोटको काम नेटबाटै पूरा हुन्छ।
 

इ रुपैयाँबाट अहिले नेपाल टेलिकमको विल पेमेन्टदेखि मुन्चाहाउसडटकममा गएर किनमेलसम्म गर्न सकिन्छ। एसटीसी डेभिड कार्ड भएका खातावालले एउटा खाताबाट अरु कसैको खातामा पैसा पठाउन भने केही समय कुर्नपर्ने हुन्छ। 'आगामी मार्चको मध्यबाट रकम पनि एउटा खाताबाट अर्को खातामा पठाउन सकिने छ,' बज्राचार्यले भने। उनका अनुसार यो नेटवर्कमा जति धेरै बैंक जोडिन्छन्, ती बैंकहरु फरक भएपनि रकम ट्रान्सफरको सुविधा रहने छ। एससीटीले आफ्नो नेटवर्कबाट धेरै बैंकको एटीएम सञ्चालन गराउन सकेको छ, त्यस नै इ पेमेन्टमा बैंकहरुलाई एक ठाउँमा ल्याउन भने आवश्यक छ। डीएसवाईएस पेमेन्ट गेटवेबाट यो सेवा सञ्चालमा रहेको एससीटीले जनाएको छ।

सुरक्षित कारोबार
नेपालका लागि पूर्णत नयाँ यो पद्धतिको कारोबारमाथि शंका गर्नेहरु थुप्रै छन्। एससीटीले कारोबार पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ। एटिएमको कोडबाहेक यो सेवा लिनेले ६ डिजिटको किबाट पैसा पठाउन/तिर्न सक्छन्। 'साइबरबाट पनि तिर्नुपर्ने अवस्था आउने भएकाले हामीले जाभा सफ्टवेयरको प्रयोग गरेर त्यसमा 'कि'हरु स्थिर नरहने बनाएका छौं,' कारोबारको सुरक्षाबारे बज्राचार्यले भने। उनका अनुसार किवर्डबाटै रकम पठाउँदा भन्दा माउसको क्लिकबाटै थिच्दा अरुले पासवर्ड चोर्ने सम्भावना रहन्न। त्यसमाथि कि फेरिरहने भएकाले चोर्न सकिन्न।

थप सुरक्षित पार्न १० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्दा सुरक्षा कोडको व्यवस्था गरिएको छ। १० हजारभन्दा बढीको रकम अर्को खातामा पठाउँदा अथवा किनमेल गर्दा थप सुरक्षा कोड थिच्नुपर्छ। सरका पेमेन्टका लागि पनि सुरक्षा कोड अनिवार्य राखिएको छ। 'यसबाट कुकिज ट्र्याप गर्न खोज्नेबाट जोगिन सकिन्छ,' उनले भने।
 

एससीटीले इपेमेन्ट गर्दा उपभोक्ताले थप खर्च गर्न नपर्ने जनाएको छ। अनलाइन किनमेलमा 'फिक्स प्राइस' रहने भएकाले मोलमोलाई भने हुँदैन। 'मानिसहरुले बैंक खातामा पैसा रहेसम्म किनमेल गर्न सक्छन्,' मुन्चाहाउसका तुलाधरले भने, 'डेलिभरी चार्जबाहेक थप खर्च पर्दैन।' यस्तो कारोबारले कागजी नोट बोकेर हिँडदा हुने सम्भावित डर कम रहन्छ भने बिक्रेताले कुनै 'आउटलेट' नभए पनि सामान बिक्री गर्न सक्छ। अनलाइनमा वस्तु डिस्प्ले गर्दै कम खर्चिलो स्टोरमा सामान राखेर किफायती कारोबार गर्न सक्छन्। रकम नै पठाउँदा, चेकको प्रयोग आवश्यक पर्दैन भने यसले दिने अरु झन्झटको सामना गर्न पर्दैन। 

उस्तै एसएमएस
पेमेन्ट इन्डियासँगको सहकार्यमा पेविलले नेपालमा एसएमएस बैंकिङ फैलाइरहेको छ। उपभोक्ताले नबिल, एभरेस्ट, माछापुछ्रे र लक्ष्मी बैंकबाट एसएमएसमार्फत् विल तिर्न सक्छन्। 'अनलाइन डाटावेसमा आधारित कम्पनीहरुको मात्र एसएमएसबाट विल तिर्न सकिन्छ,' पेविलका मनिष सुब्बाले भने, 'खानेपानी संस्थान र विद्युत् प्राधिकरणका ग्राहकको डाटावेस अनलाइनमा हुने हो भने एसएमएस गरेरै बिल तिर्न सकिन्छ।' उनका अनुसार एसएमएसबाटै भारतबाट नेपालमा रकम पठाउन सकिने तया भइरहेको छ। 'बैंकहरु र सेवाप्रदायकबीचको पुलमात्र हौं हामी,' पेविलका सुब्बाले भने। अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेरमात्र एसएमएस पेमेन्ट ल्याइएको कम्पनीको दावी छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by