ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 9, 2009

प्रभुसामु प्रधानमन्त्री अधिकृत र मधेशी नेता पियन सरह : मातृका

'प्रचण्ड विदेशी प्रभुसँग मिले'
अजित तिवारी/विराटनगर (नागरिक)- 

पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री अधिकृत र मधेशी नेता पियनसरह रहेको बताएका छन्। उनले प्रचण्ड विदेशी प्रभु र अवसरवादीसँग मिलेकाले आफ्नो कुरा नमिलेको दाबी पनि गरे। ‘विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री सेकेन्ड क्लास र मधेशवादी दलका नेता पियनसरह हुन्छ’, विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता मातृकाले भने- ‘नेपाल विदेशी प्रभुको चङ्गुलमा फसिसकेको छ, नयाँ नेपालको कल्पना पनि नगरे हुन्छ।’ नेपालका हरेक निर्णय, सहमति र सहकार्य काठमाण्डूस्थित एउटा दूतावासमा हुने गरेको मातृकाको आरोप छ। ‘सरकारमा बस्दा मुद्दा हल हुने र सरकारबाट बाहिरिँदा“ मुद्दा थाँती रहेको देख्ने मधेशी जनअधिकार फोरमको आन्दोलनको कुनै औचित्य छैन’, मातृकाले भने- ‘उपेन्द्रलाई एक नम्बरको उपप्रधानमन्त्री बनाइदियो भने तत्कालै मुद्दा हल हुन्छ।’ उनले मधेशी जनता अब कसैको भुलभुलैयामा नलोभिने दाबीसमेत गरे। हतियारधारी सङ्गठनमध्ये क्रान्तिकारी छवि भएको र मधेशका हितमा काम गरिरहेकासँग आफ्नो कुराकानी भइरहेको बताउँदै मातृकाले भने- ‘झिझाको डकैत, चोर र फटाहाले पनि सशस्त्र समूह खोलेका छन्, उनीहरुसित कुरा हुँदैन।’ धनुषाको झिझा गाउँका पासवान बस्तीका प्राय:को पेशा डकैती हो।

राजनीतिक दलहरुले भागबण्डा गरेर बेच्न लागेका जग्गा पार्टीका कार्यकर्ताले सुरक्षित गरिदिएको बताउँदै मातृकाले जनयुद्धको क्रममा कब्जा गरिएका जग्गालाई पनि पार्टीले सुरक्षित गरेको दाबी गरे। उनले भने- हामीले कसैको जग्गा कब्जा गरेका छैनौं। एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी प्रभु र अवसरवादीसित मिलेकाले आफ्नो कुरा नमिलेको मातृकाको भनाई छ। मातृकाको पार्टीले गठन गरेको बलको बन्द सत्र बुधबार विराटनगरमा जारी छ। बन्द सत्रमा बलका इन्चार्ज जगत यादवले कार्यनीतिक प्रतिवेदन प्रस्तुत गरेलगत्तै पार्टी संयोजक मातृकाले प्रशिक्षण दिएका थिए। ‘वाइसिएल र युथफोर्सहरुसित नभिड्न निर्देशन दिएको छु’, मातृकाले पत्रकार सम्मेलनमा भने- तर आइलाग्यो भने के गर्नुपर्छ, उनीहरुलाई थाहा छ।’

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by