ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 6, 2009

प्याराग्लाइडिङ एक्रोब्याट्समा नयाँ विश्वरेकर्ड

प्रेम नेपाली/पोखरा (कान्तिपुर) - 

प्याराग्लाइडिङ उडानमा सन् २००८ का विश्वच्याम्पियन स्पेनी होरासिओ लोरेनस फर्नान्डेजले शुक्रबार पोखरामा 'एक्रोब्याट्स' तर्फनयाँ विश्वरेकर्ड कायम गरेका छन् ।  सत्ताइस वर्षीय फर्नान्डेजले हेलिकप्टरबाट ५ हजार ३ सय मिटर उचाइबाट 'जम्प' गरी आठ मिनेटमा २ सय ८० पटक 'एक्रोब्याटिङ' गरेर पुरानो विश्वरेकर्ड भंग गरेका हुन् ।  उनले यसअघि एक्रोब्याट्स उडानतर्फसन् २००९ को जुलाईमा स्विट्जरल्यान्डमा एक  पाइलटले २ सय १० पटक 'एक्रोब्याट्स' गरेर उक्त रेकर्ड कायम गरेको बताए ।  सन् १९९७ देखि उडानको सुरुआत गरेका उनले नयाँ रेकर्ड कास्कीको हेम्जामा कायम गरेका थिए । उनको उडानका सहकर्मी भेसो ओभछारोभले हेलिकप्टरबाट छायाङ्कन गरेका थिए । नेपालमा प्याराग्लाइडिङ उडानबारेको वृत्रचित्र 'हिमालय इनफिनिटी' छायाङ्कनका क्रममा नयाँ रेकर्ड कायम भएको उनले बताए । 'प्याराग्लाइडिङका लागि यति सुन्दर ठाउ“मा नयाँ विश्वरेकर्ड कायम गर्न पाउँदा मेरो खुसीको सीमा छैन,' साँझ साथीहरूसँग खुसी साटिरहेका फर्नान्डेजले भने, 'नेपालसँगको मेरो पहिलो भेट सधैंभरि अविस्मरणीय रहिरहनेछ ।'

विश्वरेकर्डमा प्रमाण पुर्‍याउन आवश्यक छायाङ्कन र उडानमा साथ दिने सहकर्मीहरूलाई धन्यवाद दिंदै उनी भनिरहेका थिए, 'विश्वरेकर्डका लागि चाँडै प्रमाण लिएर र्फकनेछु ।'  नेपालमा प्याराग्लाइडिङ उडानबारे वृत्तचित्र बनाउने क्रममा उनले सराङकोट, मुस्ताङको जोमसोम, स्याङ्जालगायतका स्थानमा उडान गरिसकेका छन् । पेसाले प्याराग्लाइडिङ पाइलट रहेका उनले विश्वको विभिन्न स्थानमा उडान गरे पनि नेपालमा भने विशेष अनुभूति मिलेको 

बताए । 'हिमाल, हरियाडाँडा, ताल, नदी र हावाको गति सबै प्याराग्लाइडिङका लागि अनुकूल छन्,' उनले भने, 'प्याराग्लाइडिङका पाइलटहरूलाई यहाँको सुखद अनुभव साट्छु र आउन आग्रह गर्छु।' उनलाई उडानका लागि पोखराको लेकसाइडस्थित फ्रन्टियर प्याराग्लाइडिङले हेलिकप्टर, यातायातलगायतका सामग्रीको व्यवस्था गरेको थियो । पोखरामा साहसिक खेल प्याराग्लाइडिङको विकास गर्ने उद्देश्यले सन् १९९९ देखि प्रतियोगिता गर्दै आए पनि नेपालमा विश्वरेकर्ड कायम भएको यो पहिलोपटक हो ।  'नेपालमा प्याराग्लाइडिङमा नयाँ कीर्तिमान भएको यो पहिलोपटक हो,' फ्रन्टियर प्याराग्लाइडिङका कर्मचारी सुरेन गुरुङले भने, 'यसले प्याराग्लाइडिङको क्षेत्रमा नेपाललाई चिनाउन थप मद्दत गर्नेछ ।'

प्याराग्लाइडिङका लागि विश्वका आठ उत्कृष्ट स्थलमध्ये एकमा पर्ने सराङकोट स्वदेशी तथा विदेशी पाइलटहरूको गन्तव्य स्थल बनेको छ । अहिलेसम्म यहाँ स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरूले पनि उडान गरिसकेका छन् । पूर्वमन्त्री हिसिला यमी, पूर्वयुवराज्ञी हिमानी शाहलगायत साहसिक खेल मानिने प्याराग्लाइडिङमा रमेका थिए । प्याराग्लाइडिङको बढ्दो आकर्षापछि केही वर्षघिसम्म विदेशी पाइलटमात्र देखिने पोखरामा अहिले करिब ५५ नेपाली पाइलट पुगेका  छन् । सनराइज, फ्रन्टियर, ब्लु स्काई, सराङकोट, प्यारानोभा, अन्नपूर्ण र एभिया प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान गर्दै आएका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by