ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 10, 2009

फ्रान्सद्वारा सुपुर्दगी सन्धि प्रस्ताव

काठमाडौ (कांतिपुर)-
 
अपराधीलाई स्वदेशमै कारबाही गर्न फ्रान्सले नेपाललाई सुपुर्दगी सन्धि प्रस्ताव गरेको छ ।नेपालका लागि फ्रान्सका राजदूत गिल हेनरी गेराल्ट र कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहलाई गत भदौ १० गते सुपुर्दगी सन्धिको प्रस्ताव गर्दै त्यसको मस्यौदा बुझाएका थिए । दूतावासले परराष्ट्र मन्त्रालय र गृहमन्त्री भीमबहादुर रावललाई पनि मस्यौदा प्रतिलिपि प्रदान गरेको थियो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार फ्रान्समा अपराध गरी नेपालमा बसिरहेका र विभिन्न अपराधमा सजाय भोगिरहेका अपराधी फिर्ता लैजान सुपुर्दगी सन्धिको प्रस्ताव गरेको हो । त्यसबारे मन्त्री सिंहले भने, 'सुपुर्दगी सन्धि नगरी हामी फ्रान्सलाई उसको नागरिक फिर्ता गर्न र नेपालमै अपराध गरी भागेका हाम्रा नागरिक त्यहाँबाट फिर्ता ल्याई कारबाहीको दायरामा ल्याउन सक्दैनौं ।'हाल सुन्धारास्थित केन्द्रीय कारागारमा विभिन्न अपराधमा सजाय भोगिरहेका ४ फ्रान्सेली नागरिक छन् । त्यसमध्ये चाल्र्स गुर्मुख शोभराजलाई हत्या, हाए जाँ ज्याक र ओजोउ क्लाउडीलाई भिसा अवधि सकिएपछि पनि बसिरहेका (ओभरस्टे) र आयोसायो पार्यीलाई लागूऔषधको अभियोग छ । कारागारका एक अधिकारीका अनुसार जाँ ज्याक फ्रान्सका नामुद बाल यौन दुराचारी हुन् । फ्रान्समा कडा कारबाही हुने भएकाले उनी भिसा समयावधि सकिए पनि नेपालमै लुकेर बसिरहेका थिए । 'पक्राउ परेपछि ३५ हजार जरिवाना तिरेर जाँ ज्याक स्वदेश फर्किन मानेनन्,' ती अधिकारीले भने, 'फ्रान्समा उनलाई कडा कारबाही हुने भएकाले जरिवानाबापत जेलमै बस्न राजी भए ।'
ज्याक यसअघि नेपालमै बाल यौन दुराचारको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन् । उनले जिल्ला प्रशासन कार्यालयमा दर्ता नगरी छाउनीमा एसोसिएसन फर चिल्ड्रेन नामक बालगृह चलाएर बसेका थिए । गृहमा बाल यौन दुराचार गरेको पुष्टि भएपछि उनी २०५६ साउन २४ गते काठमाडौं जिल्ला अदालतको आदेशमा १० हजार जरिवाना तिरी मुक्त भएका थिए । एक नेपाली महिला विवाह गरेका उनी ओभरस्टेको आरोपमा पक्राउ पर्नुअगाडि गोकर्णमा बस्दै आएका थिए ।

कानुन कमजोर भएकाले विदेशी बाल यौन दुराचारी लगायत अपराधीका लागि नेपाल लुक्ने र अपराध गर्ने गन्तव्य बन्ने गरेको छ । नेपाल बाल अधिकार सहयोग संरक्षण केन्द्रका महासचिव अधिवक्ता बालकृष्ण मैनाली बाल यौन दुराचारकै लागि भनेर छुट्टै कानुन नबनेको र कानुन कार्यान्वयनको अवस्था कमजोर रहेकाले विदेशी अपराधी नेपाल आउने गरेको बताउँछन् । उनी भन्छन्, 'बाल यौन दुराचारीका लागि सार्वजनिक अपराधमा मुद्दा चलाएर १० हजार जरिवाना र छ महिना कैद सजाय गर्नुपर्ने अवस्था छ ।'
 
यसअघि फ्रान्सकै १९ वर्षीय एन सार्लो बाल यौन दुराचारको अभियोगमा पक्राउ परेकी थिइन् । पीडित पक्ष उपस्थित हुन नसकेपछि उनले पनि सफाइ पाएकी थिइन् । शोभराजको मुद्दा फैसला हुन ढिलाइ भएको भन्दै यसअघि पनि दूतावासले चासो देखाइसकेको छ । फ्रान्सले प्रस्ताव गरेको सुपुर्दगी सन्धिबारे अध्ययन भइरहेको मन्त्री सिंहले बताए । 'फ्रान्सले सुपुर्दगी सन्धिका लागि सैद्धान्तिक प्रस्तावको ड्राफ्ट बुझाएको हो' उनले भने, 'सन्धि गर्दा कस्ता असर पर्न सक्छन् भन्नेबारे अध्ययन भइरहेको छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by