ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 9, 2009

साइबर अपराधका लागि छुट्टै युनिट


केपी ढुंगाना, काठमाडौं (नागरिक)- 

महानगरीय प्रहरी अपराध महाशाखाले सूचना तथा सञ्चारको प्रयोग गरिने गम्भीर अपराध अनुसन्धान गर्न छुट्टै युनिटको स्थापना गर्ने तयारी थालेको छ। यस्ता अपराधको संख्या बढ्न थालेपछि महाशाखाले सिआइटी नामको छुट्टै युनिट स्थापना गर्न लागेको हो। महाशाखाको पिलर-२ ले साइबरसम्बन्धी अपराध अनुसन्धान गर्दै आएता पनि प्रभावकारी हुन नसकेपछि विशेषज्ञसहितको युनिट निर्माण गर्न लागिएको महाशाखाका अधिकारी बताउँछन्। महाशाखा प्रमुख रणबहादुर चन्दले भने, 'विशेषज्ञ र भौतिक पूर्वाधारको अभावले अनुसन्धान प्रक्रिया प्रभावकारी बन्न सकेको थिएन, त्यसैले अब छुट्टै युनिट गठन गर्दैछौं।' चन्दका अनुसार थप गरिने सेलको भौतिक पूर्वाधार विस्तारको तयारी शुरु भइसकेको छ। उनले भने, 'अहिले हामी सेल गठनको अन्तिम चरणमा छौं।'
सूचना तथा सञ्चार प्रविधि सेललाई फोन र इमेलमार्फत दिइने धम्की, गम्भीर अपराधमा प्रयोग भएका मोबाइल र फोनको अनुसन्धान, इन्टरनेट फोनमार्फत हुने अपराध र एटिएममार्फत हुने अपराध अनुसन्धानको अधिकार तोकिने तयारी गरिएको छ।



सेलका लागि आवश्यक जनशक्ति प्रहरी प्रधान कार्यालयसँग माग गरिसकेको चन्दले बताए। उनले भने, 'सेलमा सात जनाको टोली हुनेछ। उनीहरूको काम प्राविधिक हो, अभियुक्तको खोजी र पक्राउका लागि महाशाखाको अन्य युनिटबाट सहयोग हुनेछ।' महाशाखाले अपहरण, धम्की, जबर्जस्ती रकम असुली जस्ता गम्भीर अपराधमा मोबाइल फोनको प्रयोग बढेकाले मोबाइल सेवाग्राहीको पूर्ण विवरण राख्ने र उच्चस्तरीय प्रविधि जिपिएस जडान गर्ने विषयमा मोबाइल सेवा प्रदायक कम्पनीहरूसित छलफल गरिरहेको छ।

हालको प्रविधिले मोबाइल फोनकर्ता रहेको क्षेत्र मोबाइल टावरको आधारमा मात्र पत्ता लाग्ने भएकाले तत्काल अनुसन्धानमा समस्या भएपछि जिपिएस प्रविधि जडान गर्न अनुरोध गरिएको एसएसपी चन्दले बताए। जिपिएस प्रविधि जडान भएमा अपराधमा प्रयोग भएको मोबाइल कहाँबाट सक्रिय छ, बेस स्टेशनभन्दा कति टाढा छ र कुन दिशाबाट कल भएको हो? भन्ने विवरण स्वचालित रूपमा रेकर्ड हुनेछ। महाशाखाले नेपाल टेलिकम, स्पाइस नेपाल, युटिएल र एसटिएम कम्पनीसँग जिपिएस प्रविधि जडानका बारेमा छलफल सुरु गरिसकेको छ।

महिला तथा बालबालिकाको छुट्टै सेल महिला तथा बालबालिकासम्बन्धी गम्भीर अपराधको संख्या बढ्दै गएको निष्कर्ष निकाल्दै महाशाखाले यससम्बन्धी अपराध अनुसन्धानका लागि समेत अलग्गै युनिट निर्माणको तयारी गरेको छ। प्रहरी निरीक्षकको कमाण्डमा रहने सेलमा सात जनाको टोली राख्ने तयारी गरिएको महाशाखाका अधिकारीले बताए। सेलका सबै सदस्य महिला राखिने छ। सेललाई महिला तथा बालबालिकासम्बन्धी गम्भीर प्रकृतिको घटना अनुसन्धान, अपराधमा संलग्न भएको अभियोगमा पक्राउ परेका महिला तथा बालबालिकासँग बयान र घटनाको अनुसन्धानलगायतका अधिकार क्षेत्र तोकिएको छ।

महिला तथा बालबालिकासम्बन्धी मुद्दाको अनुसन्धानका लागि कालिमाटीमा महिला तथा बालबालिका सेलसमेत छ। चन्दका अनुसार महाशाखाको सेलको काम कालिमाटीको सेलसँग समन्वय गरेर अनुसन्धान प्रक्रिया सहज बनाउने हुनेछ। महाशाखामा हाल महिला प्रहरी निरीक्षक नभएकाले प्रधान कार्यालयसँग माग गरिएको एसएसपी चन्दले बताए। टोलफ्री सञ्चार सुविधा, सवारीसाधनसहित २४ घन्टा अलर्ट हुने गरी सेल निर्माणको तयारी गरिएको छ।

महाशाखामा हाल चार वटा सेल र त्यसमा एक सय ७१ जनशक्ति रहेका छन्। महाशाखामा रहेको पिलर १ ले कर्तव्य ज्यान, जबर्जस्ती करणी, राज्यविरुद्ध अपराध, जीउ मास्ने-बेच्ने र लागूऔषधसम्बन्धी अपराधको अनुसन्धान गर्ने गरेको छ। पिलर २ ले डाँका, चोरी, साइबर अपराध र प्रतिलिपि अधिकार हेर्ने गरेको छ भने पिलर ३ ले ठगी र संगठितरूपमा हुने आर्थिक अपराधको अनुसन्धान गर्ने गरेको छ। पिलर ४ ले अपहरण, फरार अभियुक्तको खोजी, ब्ल्याकमेल र संगठित अपराधको अनुसन्धान गर्ने गरेको छ। २ सेल थपिएलगत्तै महाशाखाको जनशक्ति दुई सय पुर्‍याउने तयारी गरिएको छ। एसएसपी चन्दका अनुसार जनशक्ति थप गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय र प्रहरी प्रधान कार्यालयसँग छलफल भइसकेको छ। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by