ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, August 29, 2009

आजको कार्टुन !


Source:[http://www.nagariknews.com/modules/mod_junewsultra/img/img.php?src=../../../images/stories/cartoons/rajesh_kc_august28.jpg&w=292&h=0&q=100]

एडिएसएलका हप्तामै १ सय ५० ग्राहक

चाँदनी हमाल, चितवन भदौ १३- राजधानीबाहिर पहिलो पटक चितवनमा सुरु गरिएको अत्याधुनिक इन्टरनेट प्रविधि (एडिएसएल) सेवाका ग्राहक एक हप्तामै डेढ सय नाघेका छन्। गत ५ गते सुरु भएको यो सेवा लिनेको संख्या अझै बढ्दो छ। नेपाल टेलिकमले ल्याएको द्रुत गतिको आधुनिक प्रविधिमा आधारित यो सेवा एक हप्ताभित्रमा चितवनका एक सय ५० भन्दा बढीले जडान गरिसकेका छन्। सेवा जडानका लागि अहिलेसम्म ३ सय ५० जनाभन्दा बढीले फाराम दर्ता गराएको टेलिकमले जनाएको छ। राजधानी बाहिर पहिलो पटक चितवनमा सुरु भएको यसले सस्तो र भरपर्दो सेवा दिएकाले यसप्रति ग्राहकको आकर्षण बढेको नेपाल टेलिकम चितवनले जनाएको छ।

पहिलो चरणमा भरतपुरमा एक हजार १ सय ९२ वटा ब्रोडब्यान्ड लाइनको एडिएसएल सेवा जडान गर्ने लक्ष्य अनुसार भरतपुर नगरपालिकाभित्र सबैभन्दा धेरै एक सय बढीले यो सेवा लिएको टेलिकम चितवनका प्रमुख प्रकाशमान प्रधानले जानकारी दिए। त्यसैगरी टाँडी एक्सचेन्जबाट अहिलेसम्म ४० जनाभन्दा बढीले यो सेवा लिएको टेलिकम रत्ननगरका वितरण शाखाका सहायक रामचन्द्र लामिछानेले बताए। त्यसैगरी रामपुरमा दुई जनाले, गैंडाकोटमा दुईजनाले यो सेवा लिइसकेको नेपाल टेलिकम भरतपुरका सहायक इन्जिनियर रामजीप्रसाद वगालले जानकारी दिए। रत्ननगरमा ३ सय ९६ लाइनको अनुमति टेलिकमले दिएको छ। यो सेवा जडान गर्नेमा निजी संघसंस्था, स्थानीय संचार माध्ययम ,साइबर,विद्यार्थी, विद्यालय, व्यक्ति विशेषलगायत् छन्।
देशकै केन्द्रबिन्दुमा रहेको चितवनका आधुनिक संचारउन्मुख विद्यार्थी, उद्योगी व्यापारी एवं सर्वसाधारणका लागि अत्यन्तै उपयोगी हुने भएकाले यो सेवा शुरुवात् गरिएको टेलिकम प्रमुख प्रधानले जानकारी दिए।

बिदामा संसारकै धनी

किरण भण्डारी, काठमाडौं, भदौ १३- जलस्रोतमा संसारकै दोस्रो धनी देश नेपालले सार्वजनिक बिदामा अरू सबैलाई पछारेर पहिलो स्थान हासिल गरेको छ।

लोकतन्त्र स्थापनासँगै पर्व र विभिन्न दिवसमा सरकारी छुट्टी थपिएपछि नेपाल श्रीलंकालाई उछिनेर पहिलो स्थानमा पुगेको हो । पछिल्लो तीन वर्षमा नेपालमा २० दिन सार्वजनिक बिदा बढेको छ ।

श्रीलंकामा यस वर्ष ३२ दिन सार्वजनिक बिदा पर्छन् भने नेपाल सरकारले ४७ दिन बिदा दिने निर्णय गरेको छ । यीमध्ये ११ वटा बिदा क्षेत्र वा जाति विशेषसँग सम्बन्धित छन् ।

जातीय, धार्मिक वा क्षेत्रीय पहिचानलाई राष्ट्रिय हैसियत दिलाउने भन्दै गृह मन्त्रालयमा परेको मागअनुसार सरकारले निर्णय गर्दै जाने हो भने केही वर्षमै बिदा पाँच दर्जन नाघ्नेछ ।

'सबै जनजाति, भौगोलिक र क्षेत्रीय पर्वमा छुट्टी मागिएको निवेदनको खात लागेको छ,' गृहका प्रवक्ता रत्नराज पाण्डेले नागरिकसित भने । मन्त्रालय आन्तरिक व्यवस्था शाखाको अभिलेखअनुसार जैनहरूले पुज्ने भगवान महावीरको जन्मदिनदेखि गुरुङहरूको ल्होसारमा तीन दिन बिदा मागिएको छ । हरिततालिका तीज र ऋषिपञ्चमीमा समेत सबैलाई बिदा मागिएको छ ।

बिहीबार परेको गौरा पर्वमा देशैभरि सरकारी बिदा गराएरै छाड्नै सुदूरपश्चिमबासीको अठोट यसपालि पूरा हुन सकेन । यो चाडमा सुदूरपश्चिममा मात्र बिदा दिएर नहुने भन्दै उनीहरूले मुलुकभरि छुट्टी मागेका थिए । आफ्नै नेता भीम रावल गृहमन्त्री भएकाले पनि उनीहरू हौसिएका थिए ।

तर गृहले सुदूरपश्चिमबाहेक अन्यत्र यो पर्व नमानिने हुँदा राष्ट्रिय बिदा दिन नसकिने तर्क सारेर दबाब टारेको छ । 'कर्णालीपूर्व गौरा खासै मानिँदैन, त्यसैले बिदा जरुरी छैन भन्ने सरकारको धारणा हो,' पाण्डेले भने ।

सुदूरपश्चिमेली समाजको नाममा केही दिनदेखि मन्त्रालय धाइरहेकाहरूले भने 'आफूले सुन्दै नसुनेको पर्वमा देशभरि बिदा हुने तर गौरालाई किन सुदूरमा मात्र सीमित गर्ने' भन्ने जिकिर गरेका छन् ।

गौराभन्दा कैयौं गुणा कमले मान्ने जातीय वा क्षेत्रीय पर्वमा राष्ट्रिय बिदा माग गर्नेहरू दर्जनौं छन् । छुचो हुन नचाहने सरकारले कतिपयमा बिदा दिएको पनि छ ।

लोकतन्त्र स्थापनापछि चलेको समावेशीको लहर अन्यत्र जे भए पनि सरकारी बिदा दिने क्रममा भने निकै 'उपलब्धिपूर्ण' देखिएको छ । दुई वर्षको अवधिमा २० दिन सार्वजनिक बिदा थपिएका छन् । ती मध्ये दर्जनभन्दा बढी जनजाति, धार्मिक र क्षेत्रीय पर्व छन् ।
इद, छठ, बकर इद, उधौली, क्रिसमस, तमू ल्होसार, माघी, सोनम ल्होसार, सिरुवा पावनी -पूर्वी तराई), गुरु नानक जयन्ती -सिख धर्मावलम्बी), घ्याल्वो ल्होसार जातीय बिदा प्रमुख हुन् । यीमध्ये अधिकांश पर्व देशव्यापी रूपमा मनाइदैन । केही लाख वा हजारले मात्र मान्ने भए पनि जातीय पहिचानका नाममा राष्ट्रिय मान्यता दिएको सरकारले जनाएको छ ।

सरकारले राजपत्रमा यस्तो बिदा पनि प्रकाशित गरेको छ, जुन कुन दिन पर्छ भनी गृहकै सम्बन्धित अधिकारीहरूलाई थाहा छैन । धवथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा स्थानीय बिदा दिने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । तर त्यो कहिले पर्छ र कुन जिल्लामा मानिन्छ भन्ने सरकारी अधिकारीहरूलाई अत्तोपत्तो छैन ।

'मन्त्रिपरिषदमा ठाडो प्रस्ताव आएर निर्णय भयो, उतै सोध्नुपर्ला हामीलाई त थाहा छैन,' एक सहसचिवले नाम उल्लेख नगर्ने शर्तमा भने । पहाडीया बाहुन क्षेत्रीका पर्वहरूमा लस्करै राष्ट्रिय बिदा हुने, तर अरू जाति, जनजातिको संस्कृतिलाई राज्यले वास्ता गरेन भनी बिदा माग्न सुरु भएको हो ।


नौ वर्षअघि सरकारले काटेका हिन्दु धर्मावलम्बीका केही पर्व फेरि थपिएका छन् । 'अविकसित मुलुकमा सरकारी सेवा जतिसक्दो सुलभ हुनुपर्नेमा बिदाको खात मात्र थपेर सरकार उल्टो गतिमा हिाडिरहेको छ,' पूर्व गृहसचिव श्रीकान्त रेग्मीले भने- 'केही हजारले मान्ने पर्वमा राष्ट्रिय बिदामात्र हैन, बाहुन, क्षेत्रीको बिदा पनि थप्ने काम भइरहेको छ ।'

२०५७ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारले एक दर्जन पर्व बिदा कटौती गरेको थियो । तीमध्ये जनैपूणिर्मा, कृष्ण जन्माष्टमी, रामनवमी, वसन्त पञ्चमी, दशैको लामो बिदा फेरि पुनर्बहाली भएको छ । गृह स्रोतका अनुसार हिन्दु संस्कृति संरक्षणका नाममा राजाको प्रत्यक्ष शासनकालमा ती बिदा थपिएका हुन् ।

तीन वर्षअघिसम्म आधा दिन बिदा हुने सहिद दिवस र महिलालाई मात्र छुट्ट िहुने नारी दिवसमा पनि लोकतान्त्रिक सरकारले पूरै बिदा दिने निर्णय गरेको छ । सार्वजनिक बिदाको विषयमा दश वर्षअघि भन्दा पनि सरकार निकै 'प्रतिगामी' देखिएको छ । २०५७ सालमा दुई दर्जनमात्र सार्वजनिक बिदा भएकोमा दश वर्षको अवधिमा दोब्बर भएको छ ।
लामो समयदेखि कूटनीतिक सेवामा कार्यरत परराष्ट्रसचिव मदनकुमार भट्टराईका अनुसार युरोप, अमेरिकामात्र हैन, छिमेकी भारतमा पनि बिदा एकदमै कम छन् ।

जर्मनीको राजदूतबाट केही महिनाअघि मात्र फर्किएका भट्टराईका अनुसार त्यहाँ वर्षमा जम्मा आठ दिन बिदा हुन्छन् । साप्ताहिक छुट्टबिाहेक अमेरिकामा पनि सरकारी कार्यालय दश दिनभन्दा बढी बन्द हँुदैन ।

प्रजातान्त्रिक सरकारहरू जनताले पाउने सेवासुविधाका विषयमा कति गम्भीर हुन्छन् भन्ने प्रष्ट पार्न उनले जर्मनीको उदहारण दिएका छन् । 'जनतालाई असुविधा नहोस् भनी जर्मनीमा सबै तहको निर्वाचन बिदाको दिन मात्र गरिन्छ,' भट्टराईले भने ।
भारतमा पनि नेपालमा भन्दा धेरै जातजाति र धार्मिक समुदायको बसोबास छ । तर उनीहरूका केही पर्वमा मात्र केन्द्र वा राज्य सरकारले बिदा दिन्छ । आफ्नो जातअनुसारको पर्व मनाउन छुट्ट िबस्नुपर्दा कर्मचारीले आफ्नो सञ्चित बिदा खर्च गर्नुपर्छ । नेपाल सरकारले पनि कर्मचारीलाई पर्व र भैपरी नाममा वर्षको १२ दिन बिदा दिएकै छ । तर त्यसलाई चटक्कै बिर्सेर केही हजारले मनाउने उत्सवमा पनि बिदा माग्ने क्रम बढिरहेको छ ।

संसारका प्रमुख र छिमेकी मुलुकलाई हेर्ने हो भने बिदाको दिन र समृद्धि परस्पर विरोधीजस्तो देखिन्छ । युरोप, अमेरिका र अष्ट्रेलियामा सार्वजनिक बिदाको संख्या दर्जनभन्दा कम छ । दक्षिण एसियामै पनि भारतमा केन्द्र सरकारले दिने बिदा अरू मुलुकभन्दा कम छ ।

सरकारी सेवामा जनताको धेरै निर्भरता रहेको नेपालले बिदामा कीर्तिमान कायम गर्नुको मतलब आमजनताले पाउने सेवा सुविधाको दुर्लभता पनि हो ।

दुई वर्षयता थपिएका सार्वजनिक बिदा
गौरा (सुदुरपश्चिममा मात्र), इद, छठ, बकर इद, उधौली, क्रिसमस, तमू ल्होसार, माघी, सोनम ल्होसार, सिरुवा पावनी (पूर्वी तराई), गुरु नानक जयन्ती (सिख धर्मावलम्वी), धवथाम्वु छेउचिक, घ्याल्वो ल्होसार, लोकतन्त्र दिवस, विश्व मजदुर दिवस, गणतन्त्र दिवस, अन्तर्राष्ट्रिय अपांग दिवस (अपांग कर्मचारीलाई), सहिद दिवस, नारी दिवस

धनी मुलुकमा कम गरिबमा बढी
देश दिन
नेपाल ४७
श्रीलङ्का ३२
भुटान २१
बङ्गलादेश १७
भारत १६
अष्ट्रेलिया ११
अमेरिका १०
जर्मनी ८
(भारतमा राज्य सरकारले पनि दर्जनभन्दा कम संख्यामा बिदा दिने गरेका छन्)

Source:[http://www.nagariknews.com/society/nation/4482-2009-08-29-05-24-07.html]

माओवादीका लागि गच्छदार उपप्रधानमन्त्री त्याग्‍न तयार

'सेनापतिलाई हटाउने निर्णय अपरिपक्व भएको दाहालद्वारा स्वीकार'-

काठमाडौ, भदौ १३ (नागरिक)- उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा (माओवादी) सरकारमा समावेश हुने भए आफू उपप्रधानमन्त्री पद त्याग्न तयार रहेको बताएका छन्।

उनले माओवादी सरकारमा नआए समयमै संविधान नबन्ने भएकाले प्रधानमन्त्रीसहित सबै जना त्याग गर्न तयार रहनुपर्ने बताए।

ढुवानी व्यवसायी महासङ्घको प्रथम महाधिवेशन तथा साधारणसभाको राजधानीमा शनिबार उद्‌घाटन गर्दै उनले प्रमुख राजनीतिक पार्टी सम्मिलित राष्ट्रिय सरकारबिना घोषित मितिमा संविधान निर्माण हुन नसक्ने ठोकुवा गरे। "आवश्यक पर्दा जुनसुकै पद त्याग्न म तयार छु," गच्छदारले भने, "सेनाका विषयमा अनावश्यक विवाद गरेपछि माओवादी सरकार ढाल्ने पनि मै हुँ।"

प्रधानसेनापति रुक्मांगद कटुवाललाई पदबाट हटाउने निर्णय अपरिपक्व भएको माओवादी अध्यक्ष पुष्षकमल दाहालले पनि स्विकार गरेको उपप्रधानमन्त्री गच्छदारले बताए। कटुवाललाई हटाउने निर्णय नगर्नका लागि पटकपटक आफुले तत्कालिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेपनि उनले नमानेको र पछि आत्मालोचना गरेको गच्छदारले बताए।

"प्रधानमन्त्रीको पदबाट राजिनामा दिएपछि भोलीपल्ट प्रचण्डले मलाई बोलाएर भन्नुभो," गच्छदारले दाहाललाई उदृत गर्दै भने, "विजयजी तपाईंको सुझाव ठिक रहेछ, अपरिपक्व निर्णय गरिएछ।"

राष्ट्रिय संकट समाधान गर्नका लागि दाहाललाई इतिहासले ठूलो मौका दिए पनि उनले त्यसलाई गुमाएको गच्छदारले बताए। गच्छदारले ठूला पार्टीका सवै ठूला नेता राजनीतिक व्यवस्थापन गर्न असफल भएका कारण मुलुक विग्रिएको बताए। उनले भने, 'राजनीति विग्रिएपछि मुलुक कसरी विग्रन्छ भन्ने कुरा बुझ्न हाम्रो मुलुक हेरे पुग्छ।'

विकासका लागि राजनीति गर्नुपर्नेमा विकासमा राजनीति भएका कारण ठूला ठूला परियोजना असफल बनेको र यो राजनीतिको शिकार अरुण तेस्रो आयोजना बनेको गच्छदारले बताए। अरुणलाई असफल बनाउन लागेकाहरु फेरी पञ्चेश्वरमा पनि भाँजो हाल्न लागेको उनको भनाइ थियो। "अरुण आएको भए अहिलेसम्म पूर्वान्चलमा कायापलट भइसक्ने थियो", उनले भने, "अबदेखि पानी, जलविद्युत् र सडकमा राजनीति नगरौं।"

बन्द, हड्ताल, चक्काजामको संस्कृति सदाका लागि अन्त्य हुनुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उनले कम्तिमा संविधान नलेखिदाँसम्म बन्द-हड्तालजस्ता कार्यक्रम स्थगित गर्न सम्बद्ध पक्षसँग आग्रह गरे।

कार्यक्रममा ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष अरूण ढकालले ढुवानी व्यवसायको भूमिका र योगदानलाई कदर गर्दै छुट्टै ऐन-कानुन ल्याई निर्वाधरूपमा काम गर्न पाउने आफूहरूको अधिकार सुनिश्चित गर्न उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

महाधिवेशनमा देशभरका ढुवानी व्यवसायीसँग सम्बद्ध करिब २०० प्रतिनिधि सहभागी छन्।

मिर्गौला बेच्दा पनि जीवन उस्तै


image

मिर्गौला बेचेर पनि काभ्रेका यी तीन परिवारको अवस्था जस्ताको तस्तै

पाँचखाल-७ का मानध्वज लामाको घरमा बिहान सबेरै पुग्दा उनी ठूलो बटुकोमा घरेलु जाँड समातेर घुड्क्याउँदै थिए । 'के हो एकाबिहानै जाँड ?' संवाददाताको प्रश्नमा उनले सहज उत्तर दिए, 'के गर्नु, दुई-कचौरा नखाईकन दिनभरि काम गर्न सक्दिनँ ।'

आठजनाको जहान पाल्नुपर्ने जिम्मेवारी भएका मानध्वजलाई गरिबीको पीडाले त सताएकै छ, त्यसमाथि एउटा मिर्गौला नहुँदाको पीडा थपिएको छ । बनेपाका एकजना साहुसँग नौ हजार पाँच सय रुपैयाँ धेरै वर्षपहिले ऋण लिएका थिए रे ! मानध्वजका बाबुले । सो ऋण तिर्न नसकेका कारण अहिलेसम्म उनको १५ रोपनी जग्गा साहुकहाँ बन्धकी छ ।

'रोपनीको ९० हजारका दरले पैसा तिरेर लैजा भनेका छन्,' ४८ वर्षीयले भने, 'त्यत्रो पैसा कहाँबाट ल्याउनु ?'

वृद्ध बाबुआमा, श्रीमती र भाइ-बुहारीसहित उनीहरूका सन्तानलाई मानध्वज एक्लैले मजदुरी गरेर पाल्दै आएका छन् । सात वर्षअघि मिर्गौला बेचेका हुन् मानध्वजले । ६४ हजार रुपैयाँ पाएका थिए, उनले मिर्गौला बेचेबापत । तर, त्यो पैसा रक्सी खाँदै र सानोतिनो ऋण तिर्दैमा सकिएको उनले बताए ।

पोखरामा एक राइसमिलमा काम गर्ने मानध्वजले सँगै काम गर्ने साथीको भर परेर मिर्गौला बेचेका हुन् । 'साथीले दुई लाखभन्दा बढी आउँछ भनेर बेचियो,' उनी भन्छन्, 'तर, मलाई झुक्याए ।' अचेल निकै बिरामी पर्न थालेका छन् उनी । 'दिनहुँजसो बिरामी पर्न थाल्नुभएको छ' मानध्वजकी श्रीमती सीताले भनिन्, 'ठूलो काम गर्न सक्नुहुन्न ।'

मिर्गौला बेचेका श्रीमान् थलापर्दै गएपछि सीताको निद्रा नै हराएको छ । 'उनलाई केही भइहाल्यो भने कसरी परिवार पाल्ने ?' उनको गुनासो थियो । वर्षभरि ज्याला-मजदुरी नगरी मुखमा माड लाग्दैन उनको परिवारको । रोगले च्याप्दै गएपछि कसरी उपचार गर्ने भन्ने चिन्ता पनि बढ्दै गएको छ । 'चिन्ताकै कारण अलिकति पिउने गरेको छु,' मानध्वज भन्छन्, 'खाएन भने जिउ असाध्य दुख्छ ।'

मानध्वजका मीत हुन्, पाँचखाल- ८ का श्यामकाजी कायस्थ (नाम परिवर्तन) । अरनिको राजमार्गकै छेउमा राखेको उनको सानो पसलको भित्र पुग्दा नपुग्दै उनले आग्रह गरे, 'मेरो नाम नछापिदिने भए मात्रै कुरा गर्छु ।' उनलाई विश्वस्त तुल्याएपछि मात्रै मिर्गौला बेच्नुको कारणबारे बताउन सुरु गरे उनले । 'मलाई कसैले झुक्याएको होइन,' उनी खुले, 'छोरा बिरामी हुँदा लिएको ऋण तिर्न नसकेपछि मिर्गौला बेचेको हुँ ।'

चार वर्ष भयो कायस्थले मिर्गौला बेचेको । जेठो छोराको आन्द्रा लामो भएपछि उपचार गर्दा ५४ हजार रुपैयाँ ऋण लागेको थियो । ऋण गरेर छोराको उपचार गर्दा पनि आठ महिनापछि उनका छोराले उनीहरूलाई छाडेर गए । 'अहिलेसम्म बाँचेको भए २३ वर्ष पुग्थ्यो,' छोरा गुमाउँदाको पीडा उनको बोलीमा मात्रै होइन, आँखामा समेत प्रस्ट देखियो ।

छोराको उपचारका लागि ०५४ सालमा लिएको ऋण ०६२ सालसम्म पनि तिर्न नसकेपछि मिर्गौला बेच्नुको विकल्प देखेनन् उनले । भने, 'भएको तीन रोपनी जग्गा पनि बन्धकी राखेकाले मैले अरू उपाय देखिनँ ।' मिर्गौला बेचेका मीत मानध्वजलाई देखेर नै उनी मिर्गौला बेच्न हौसिएका थिए । 'मीतले नै दलाल चिनाइदिएपछि ६० हजारमा चेन्नई पुगेर मिर्गौला दिएँ,' उनले भने । मिर्गौला बेचेको पैसाले उनले ऋण तिरे । अनि अरनिको राजमार्गछेउको जग्गा किनेर चियापसल सुरु गरेका उनले पसलको आम्दनीले जसोतसो परिवार पाल्न सकेका छन् । उनका एक छोरा र एक छोरी स्थानीय एक विद्यालयमा पढ्छन् ।

श्रीमती आबद्ध एक संस्थाबाट पाँच हजार रुपैयाँ ऋण लिएर पसल खोलेको बताउने कायस्थ अचेल बादल लाग्दा पनि मिर्गौला निकालेको घाउ दुख्ने बताउँछन् । भन्छन्, 'गह्रौं काम केही पनि गर्न सक्दिनँ ।'

अहिले भने मिर्गौला बेचेर पछुताउनुपरेको छ उनले । उनलाई परिवारको चिन्ताले पनि निकै सताएको छ ।

नजिकका केही साथीबाहेक उनले मिर्गौला बेचेको कसैलाई थाहा छैन । अन्त्यमा उनले भने, 'बाबु, अब मेरो जसरी कसैले मिर्गौला बेच्नु नपरोस्, दलाललाई समातेर प्रहरीमा बुझाउनुपर्‍यो ।'

केही वर्षअघि मिर्गौला बेचेका पाँचखाल-४ का रामप्रसाद अधिकारीको घरमा पुग्दा वृद्ध आमाबाहेक कोही थिएनन् । 'दूध बेच्न गएको छ,' आमा शेषकुमारी अधिकारीले भनिन्, 'अहिल्यै आउँदैन होला ?' सँगै गएको होक्सेका स्थानीय शिक्षक बद्री ढुंगानाले भनिहाले, 'तपाईंसँगै कुरा गर्दा पनि हुन्छ ।'

छोराले मिर्गौला बेचेर आएकै दिनदेखि उनको घरमा कहिल्यै शान्ति छैन । 'दिनहुँ झगडा पर्छ बाबु,' उनले भनिन्, 'यो बुढेसकालमा कस्तो दुःख भोग्नुपर्‍यो !' रामप्रसाद उनका एक मात्र सन्तान हुन् । मिर्गौला बेचेर आएपछि आमा-छोराबीच कहिल्यै मीठो वचनमा कुराकानी भएको छैन । छोराले नभने पनि छोराभित्र रहेको पीडा उनले राम्ररी बुझेकी छिन् । भन्छिन्, 'ऊ बोल्दैन, तर उसलाई शरीरमा परेको पीडा मलाई प्रस्टै थाहा छ ।' उनी राम्रो ठाउँमा लगेर छोराको उपचार गर्न पाए हुन्थ्यो भन्छिन् ।

दुईवटा बच्चा छन् रामप्रसादका । बिहानभरि पर्खंदै उनको घरमा बसे पनि उनी घरमै आएनन् । श्रीमती शारदा अधिकारी चार वर्षअगाडि रामप्रसादले मिर्गौला बेचेको बताउँछिन् । तर, घरमा एक रुपैयाँ पनि नल्याएकाले कतिमा बेचियो भन्ने थाहा छैन उनको परिवारलाई । श्रीमान् विस्तारै कमजोर हुँदै गएपछि चिन्ताको भारी थपिएको बताउने शारदाले अहिलेसम्म 'उपचार गराउनू' भन्न सकेकी छैनन् । 'पैसा पनि छैन, उपचार गराउन' उनी भन्छिन्, 'फेरि हामीले बोल्नै हुन्न, झगडा पर्न सुरु भइहाल्छ ।' भएको तीन रोपनी जग्गाले मुस्किलले पेट पालेको छ उनीहरूको ।

यी तीन परिवार प्रतिनिधि मात्रै हुन् । काभ्रेमा तीन हजारभन्दा बढीले मिर्गौला बेचिसकेको अनुमान छ । तर, अहिलेसम्म ७५ जनाजतिको मात्रै तथ्यांक संकलन हुन सकेको छ । 'सहरनजिकै त यस्तो छ, ग्रामीण क्षेत्रको अवस्था झन् कति भयावह होला,' मिर्गौला बेच्नेहरूको तथ्यांक संकलन गरिरहेका होक्सेका शिक्षक बद्री ढुंगानाले भने, 'आर्थिक अभावका कारण गाउँतिर जान सकिएको छैन ।'

मिर्गौला बेच्न हुँदैन भनेर सचेतना फैलाउने अभियानमा एक्लै लागेका छन् शिक्षक ढुंगाना । प्रशासन र प्रहरीले सहयोग नगरेकोमा उनको ठूलो गुनासो छ । भन्छन्, 'अस्ति जिल्लाका डिएसपीसँग त झगडै पर्‍यो ।' तस्करी रोक्न प्रहरीले पहल गर्नुपर्‍यो भन्ने आग्रह गर्दा जिल्ला प्रहरी प्रमुख सन्दीप भण्डारीले बेवास्ता गरेको उनले बताए । मिर्गौला बेच्ने अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको ढुंगानाको भनाइ छ । अधिकांशको घरमा मिर्गौला बेचेकै कारण घरझगडा बढेको उनी बताउँछन् ।

अधिकांश मिर्गौला बिक्रेता दलालबाट ठगिएको बताउँछन् । उनीहरूलाई कम्तीमा दुई लाख रुपैयाँ दिने भनेर मिर्गौला बेच्न लगिए पनि बढीमा ९० हजारसम्म पाएका छन् । 'तर, हामी ठगियौँ भनेर कहाँ जाने ?' उनीहरूको प्रश्न छ ।

विनोद न्यौपाने/काभ्रे

सपथ प्रकरणबारे उपराष्ट्रपतिले आइतबार आधिकारीक धारणा सार्वजनिक गर्ने

काठमाडौ, भदौ १३ - उपराष्ट्रपति परमानन्द झाले सपथ प्रकरण सम्बन्धमा आइतबार टुंगोमा पुग्ने बताएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालसग शनिबार भएको भेटमा उनले नेपाली भाषामा सपथ लिने/नलिने बारे आइतबारसम्म जवाफ दिने बताएका हुन् ।

उपराष्ट्रपतिलाई भेट्न गौरीघाटस्थित उनको निवास पुगेका प्रधानमन्त्रीले नेपाली भाषामा सपथ लिएर अन्यौल र विवादको स्थिति अन्त्य गर्न आग्रह गरेका थिए ।

सपथ प्रकरणमा आफ्नो अन्तिम धारणा सार्वजनिक गर्न आइतबार अपरान्ह १ बजे उनले पत्रकार सम्मेलन गर्न लागेको झाको पारिवारिक निकट श्रोतले बतायो ।

प्रधानमन्त्रीसगको भेटमा उनले अन्य भाषाको सम्मान गर्न सिक्नुपर्नेमा अनावश्यक विवाद श्रृजना गरिएकोमा भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उनले आफ्नो निवास नजिक शुक्रबार साँझ भएको बम विष्फोटको पनि ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले बम विष्फोट भएको स्थानको निरीक्षण गर्दै दोषीमाथि कडा कारबाही गर्ने बताएका थिए ।


Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=212002]

उपराष्ट्रपतिको निवासमा दोश्रो पटक बम

१३ भदौ, काठमाडौं । सरकारले विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरिरहँदा राजधानी पसेको किराँत जनवादी वर्कस् पार्टीले उपराष्ट्रपतिको निवास अगाडि दोश्रो पटक बम बिस्फोट गराएको छ ।

वर्कस्ले शनिबार दिउँसो तीन बजेतिर भेटिएको सुतली बम प्रहरीले निस्कृय पारेको छ । प्रहरीले सो बम शुक्रबार साँझ नै छाडेको दावी गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लवमा हतियारसहित पत्रकार सम्मेलन गरेर सार्वजनिक भएको वर्कस् पार्टीले उपराष्ट्रपति परमानन्द झाको गौरीघाटस्थित निवास अगाडि शुक्रबार साँझ पनि बम बिष्फोट गराएको थियो । बिष्फोटमा स्थानीय महिला पार्वति खतिवडा गम्भीर घाइते भएकी छन् । उनको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । झाको निवास अगाडि यसअघि पनि नेपाल डिफेन्स आर्मीले बम बिष्फोट गराउँदा चार जना घाइते भएका थिए ।

बिष्फोटको वर्कस्का अध्यक्ष नविन किराँतीले जिम्मा लिएको छ । तर, सो पार्टीले यस अघि नै किराँतीलाई निष्काशन गरेको जनाएको छ ।

उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ खाएर नेपालीको भावनामाथि आघात पुर्‍याएकाले बिष्फोट गराउनुपरेको किराँतीले बताएका छन् |

Source:[http://www.onlinekhabar.com/wp/2009/08/29/18784.html]

Friday, August 28, 2009

आजको कार्टुन !



Source: [http://dainikee.com/]

प्रमको विदेश भ्रमणमा २ करोड खर्च


काठमाडौ भदौ १२ (नागरिक) - आर्थिक वर्ष सुरु भएको डेढ महिना नपुग्दै विशिष्ट व्यक्तिको भ्रमणमा तीन करोड रुपैयाँ सकिएको छ। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको भ्रमणमा सबैभन्दा बढी खर्च भएको छ।

सरकारले विशिष्ट व्यक्तिको भ्रमण भत्ताका लागि यस वर्ष २ करोड ५० लाख रुपैयाँ छुट्याएको थियो। दुई महिना नबित्दै बजेट सकिएको हो।

प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका बेला सबैभन्दा बढी रकम खर्च भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाँदा १ करोड ५९ लाख ५० हजार खर्च भएको जनाउँदै अर्थ मन्त्रालयसँग पैसा मागेको छ।


प्रधानमन्त्री नेपालले नयाँ दिल्ली र भारतको आर्थिक राजधानी मुम्बईको भ्रमण गरेका थिए। प्रधानमन्त्री भारत जानुअघि मन्त्रिपरिषद्ले भ्रमणका लागि २४ लाख रुपैयाँ मात्र स्वीकृत गरेको थियो।


अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जाँदा १ करोड २ लाख रुपैयाँ खर्च भएको थियो। दाहालअघि भारत गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भने सम्पूर्ण भ्रमण खर्च भारत सरकारले नै ब्यहोरेको थियो। गत आर्थिक वर्ष पनि बजेटमा विनियोजन विशिष्ट व्यक्तिको भ्रमणमा बजेटमा राखिएभन्दा बढी खर्च भएको थियो।

प्रधानमन्त्रीको पाँचदिने भारत भ्रमण दलमा ६४ जना थिए। प्रधानमन्त्रीभन्दा केही दिनअघि भारत भ्रमणमा जाँदा परराष्ट्र मन्त्री सुजाता कोइरालाले करिब १२ लाख खर्च गरेकी थिइन्। कोइरालाले प्रधानमन्त्रीको भारत भ्रमणका लागि वातावरण बनाउन गएको बताएकी थिइन्। तर, उनी प्रधानमन्त्रीको भ्रमणमा सहभागी भइनन्।

रक्षा मन्त्री विद्यादेवी भण्डारीसमेत ४ जनाको समूहले भारत भ्रमण गर्दा ४ लाख रुपैयाँ खर्च गरेको थियो। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको भ्रमणको पैसा अर्थले परराष्ट्रलाई भुक्तानी दिन बाँकी छ।

प्रधानमन्त्रीले असंलग्न आन्दोलनको १५ औं शिखर सम्मेलनमा जाँदा ८७ लाख ६६ हजार खर्च भएको थियो। यो रकम अर्थले परराष्ट्रलाई भुक्तानी दिइसकेको छ।

संवैधानिक समितिको सभापतिमा आचार्य

आचार्यले सपथ लिए
काठमाडौं, भदौ १२ (नागरिक)- संविधानसभा संवैधानिक समितिको निर्वाचनमा नेपाली कङ्ग्रेसका नीलाम्बर आचार्य निर्वाचित भएका छन्। उनको पक्षमा २९ मत परेको थियो भने उनका विपक्षी माओवादीका नारायणकाजी श्रेष्ठले २१ मत पाएका थिए। तराई मधेश लोकतान्त्रिक पार्टीका ३ जना र राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले बहिष्कार गरेका थिए। ५९ मतदातामध्ये ५० जनाले मतदान गरेका थिए। समितिका कुल सदस्य ६३ रहे पनि अन्य समितिमा मताधिकार प्रयोग गरेका चार जनाले मतदानमा सहभागी हुन पाएनन्।

जीतपछि आचार्यले आफू सबैको सभापति भएको र सबैको सहयोगमा अघि बढ्ने प्रतिक्रिया दिए। आम सहमति हुन नसकेकाले केही असहज हुन्छ नै भन्दै उनले सबैलाई मिलाएर जाने पनि बताए। 'म संवैधानिक समितिले गर्नुपर्ने सबै काम तत्काल अघि बढाउँछु'- उनले भने। निर्वाचनबाट आएको सभापति सबैको सभापति हो भन्दै उनले माओवादीले पनि सहयोग गर्ने आश्वासन दिइसकेको आचार्यले बताए।

चुनावमा पराजयपछि माओवादी उम्मेदवार श्रेष्ठले यो माओवादीलाई अलग्याउने प्रयास भएको प्रतिक्रिया दिए। उनले आफूले निर्वाचित अध्यक्ष आचार्यलाई 'संघीय जनगणतन्त्रात्मक संविधान निर्माणमा तपाईंको ठूलो भूमिका हुने भएकाले त्यसलाई पूरा गर्नुस्, हाम्रो पूर्ण सहयोग हुनेछ' भनेको सञ्चारकर्मीलाई बताए।

आचार्यलाई नेपाली काँङ्ग्रेसका सुप्रभा घिमिरेले प्रस्ताव र सोही पार्टीका रत्न शेरचेनले समर्थन गर्नुभएको थियो। सभापति पदका अर्का उम्मेदवार श्रेष्ठलाई एकीकृत नेकपा (मओवादी) का वरिष्ठ नेता बाबुराम भट्टराईले प्रस्ताव र देव गुरुङ्ले समर्थन गर्नुभएको थियो।

समितिका तत्कालिन सभापति माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भएपश्चात् गत जेठ ९ गतेदेखि सो समितिको सभापति पद रिक्त भएको थियो।

मतदान प्रक्रियामा का‍ग्रेस सभापति गरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका अध्यक्ष झलनाथ खनाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायत संविधानसभामा प्रतिनिधित्व गरेका २४ वटै राजनीतिक दलका शीर्ष नेताको सहभागिता थियो।

समितिका जेष्ठ सदस्य कुलवहादुर गुरुङ्को अध्यक्षमा बसेको शुक्रबार बैठक विहान ८ वजे हुने भनिएतापनि ११ वजे मात्र सुरु भएको थियो।

बैठक सुरुहुनु पूर्व समितिको सभापति सर्वसम्मत गराउन शीर्ष दलका नेतृत्व बीच सभामुखको कार्यकक्षमा द्विपक्षीय, त्रिपक्षीय वार्ता भएपनि सो सम्बन्धमा सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको थियो।

समितिमा एनेकपा (माओवादी)का १८, नेपाली काँङ्ग्रेस नौ, एमाले नौ, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)तीन्ा, तराइ मधेश लोकतान्त्रिक पार्टी तीन सदस्य छन्।

संवैधानिक समितिको कार्यक्षेत्र संविधानको प्रस्तावना, पहिलो भागमा रहने विषयवस्तु, संविधान संशोधन प्रक्रिया, राजनीतिक दलसम्बन्धी व्यवस्थासहितका विषयवस्तु रहेका छन्।

को हुन् निलाम्बर आचार्य ?
आचार्य २००० सालमा सल्यानको खलंगामा जन्मिएका हुन् । उनको राजनतिक पृष्ठभूमि कम्युनिष्ट पार्टीसँग जोडिएको छ। २०१९ सालदेखि विद्यार्थी राजनीतिमा सहभागी हुँदै २०२४ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका आचार्य २०४७ सालमा बाम मोर्चाको तर्फबाट अन्तरिम सरकारमा न्याय तथा कानुन मन्त्रीसमेत बनेका थिए। कानुनमा बीएल र मस्कोबाट पत्रकारितामा एमए गरेका आचार्य २०४८ सालबाट कम्युनिष्ट पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरे। २०५३ देखि ०५६ सम्म श्रीलंकाको राजदूतसमेत भएका आचार्यलाई नेपाली कांग्रेसले मनोनित गर्दै संविधानसभामा सभासद बनाएको थियो ।

सर्वोच्चको फैसलाविरुद्ध उपराष्ट्रपतिको पुनरावेदन दर्ता

हरिहर योगी, काठमाडौं भदौ १२- उपराष्ट्रपति परमानन्द झाले सर्वोच्च अदालतका दुवै आदेश गलत रहेको जिकिर गर्दै त्यसलाई बदर गर्न माग राखी शुक्रबार पुनरावलोकनको निवेदन दिएका छन्। उपराष्ट्रपतिका तर्फबाट उनका कानुन व्यवसायी मिथिलेशकुमार सिंहलगायतले शुक्रबार अपराह्न पुनरावेदन निवेदन दर्ता गराएका हुन।

उपराष्ट्रपतिले सर्वोच्च अदालतको गत साउन ९ र भदौ ७ को आदेश अन्तरिम संविधान २०६३ र कानुनका प्रचलित मान्यताविपरीत भएकाले निर्णय बदर गर्न पुनरावलोकनको निवेदन दिएको जानकारी सिंहले दिए।

हिजो नागरिकसँग उनले भनेका थिए- 'उपराष्ट्रपतिले सर्वोच्चका दुवै आदेश संविधानअनुकूल नभएकाले बदर गराउन शुक्रबार दिउँसो पुनरावलोकनको निवेदन दिनुहुनेछ, उपराष्ट्रपतिले कुनै पनि हालतमा नेपालीमा सपथ खानुहुन्न। त्यसैले गलत फैसला बदर गराउन संवैधानिक उपाय खोज्नुभएको हो। निवेदनमा झाले सर्वोच्चका दुवै फैसलाबाट उपराष्ट्रपति पदको गरिमा र मर्यादाको अपमान भएकोसमेत उल्लेख गरेका छन्।

सर्वोच्चको संयुक्त इजलासले साउन ९ मा उपराष्ट्रपतिले हिन्दीमा लिएको सपथ गैरसंवैधानिक भन्दै बदर गरेको थियो। भदौ ७ मा सर्वोच्चको पूर्ण इजलासले सात दिनभित्र नेपाली भाषामा सपथ नलिए उपराष्ट्रपतिको कार्यभार क्रियाशील नहुने निर्णय गरेको थियो।

साथै पूर्ण इजलासले सात दिनभित्र उपराष्ट्रपतिलाई सपथ गराउने व्यवस्था मिलाउन सरकारलाई आदेशसमेत दिएको थियो। अदालतले सरकारलाई उक्त आदेश सोमबार बुझाएकाले फैसलाअनुसार उपराष्ट्रपतिले आइतबारसम्ममा सपथ लिइसक्नुपर्छ।

पुनरावलोकन निवेदनमा उपराष्ट्रपतिले यति दिनभित्र सपथ खुवाउनु भनी रिटमा माग नगरिए पनि पूर्ण इजलाशले समयसीमा तोकेर दिइएको आदेश संवैधानिक मान्यताविपरीत रहेकाले बदर हुनुपर्ने दाबी गरेका छन्।

उपराष्ट्रपतिविरुद्ध नेपालीमा सपथ नलिएसम्म पदमा बसिरहन नमिल्ने भनी पछिल्लोपटक अधिकारपृच्छाको रिट दायर गरिएको थियो। रिटमा यति दिनभित्र उपराष्ट्रपतिलाई सपथ गराउनुपर्छ भनी माग गरिएको थिएन।

अधिकारपृच्छाको रिटमा 'यस्तो गर्नैपर्छ' भनी परमादेश किसिमको कुनै पनि आदेश गर्न नपाइने संवैधानिक व्यवस्था र मान्यताविपरीत सर्वोच्चले दिएको आदेश बदरयोग्य भएको जिकिर उपराष्ट्रपतिको छ। 'अदालत आफै वादी (पक्ष) हुने होइन, रिटमा जति माग गरेको हो, त्यत्तिमा मात्र सीमित रही बोल्नुपर्नेमा नमागिएको विषयमा समेत अदालतले परमादेश जारी गर्‍यो, जुन गैरसंवैधानिक छ' पुनरावलोकन निवेदनमा छ।

उपराष्ट्रपति झाले पुनरावलोकनमा सर्वोच्चको निर्णयबाट मधेशी जनता, सम्पूर्ण भाषाभाषी र नेपाली भाषी भए पनि भाषिक अधिकारका पक्षपातीको सबैको मनमा गम्भीर चोट पुगेको उल्लेख गर्दै फैसला सच्याउनुपर्ने जिकिर गरेका छन्।

'उहाँ (उपराष्ट्रपति) अन्तिमसम्म सर्वोच्चको गलत फैसलाविरुद्ध न्यायिक लडाइँ लड्नुहुन्छ' सिंहले भने- 'मुलुकका सम्पूर्ण भाषाभाषी, मधेसी जनता, दल, भाषिक अधिकारका पक्षपाती आफ्ना पक्षमा उभिएकाले उपराष्ट्रपति न्याय पाउने विश्वासमा हुनुहुन्छ। उहाँको मनोबलसमेत उच्च छ।'

उपराष्ट्रपतिले बिहीबार अपराह्न आफ्ना सहयोगी राजनीतिकर्मी, कानुन व्यवसायीहरूसित छलफल गरी पुनरावलोकनको निवेदन दिने निर्णय गरेका हुन्। कानुन व्यवसायीहरूले उनको पुनरावलोकनको मस्यौदा तयार गरिसकेका छन्।

संविधानको धारा १०७ (५) मा सर्वोच्चको निर्णयविरुद्ध पुनरावलोकन गर्न पाउने व्यवस्था छ। यही संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्रपतिले पुनरावलोकन दिन लागेका हुन्।

पुनरावलोकनको निवेदनमा सर्वोच्चले थप सुनुवाइ हुने आवश्यकता देखेर निस्सा दिएमा अघिल्ला आदेश कार्यान्वयन हुन तत्काललाई रोकिन्छ। सपथ लिनुपर्ने थोरै समय बाँकी रहेको हुँदा प्रधानन्यायाधीशले आˆनो तजबिजी अधिकार प्रयोग गरी शुक्रबार नै इजलासमा पेस गरी उपराष्ट्रपतिको निवेदनको सुनुवाइ गर्नुपर्ने एक न्यायाधीशले बताए।

एसएसबी विरुद्ध नेपाल भारत सीमा बन्द

नवलपरासी, १२ भदौ (दैनिकी)

भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको विरोधमा नवलपरासीका स्थानीयबासीले शुक्रबार बिहानैबाट नेपाल भारत सीमा बन्द गराएका छन। नवलपरासीबासीको बन्दमा भारतीय नागरिकले पनि साथ दिएका छन्।
जिल्लाको त्रिवेणी नाकामा एसएसबीले भारत र नेपाली नागरिकहरुलाई दुःख दिएको जनाउदै दुबै देशका स्थानीयबासीहरुले नेपाल भारत सीमा बन्द गराएका हुन।
भारत बिहारसँग जोडिएको त्रिवेणी नाका बन्द गरी त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा नेपाली पक्षले विरोध जनाएका छन। पुल पारीतर्फ भारतीय स्थानीयबासीहरुले धर्ना दिएका छन।
नेपाली पक्षले गण्डक पुल र त्रिवेणी बजार क्षेत्र र भारतीय पक्षका स्थानीयबासीहरुले गण्डक ब्यारेज पुलसहित भारतको टंकंी बजार र गोलचोकमा प्रर्दशन गर्दै बजार समेत बन्द गराएका छन।
गण्डक ब्यारेज पुल नजिक बस्ने भारतीय एसएसबीले नेपाली र भारतीय दुबै देशका नगारिकहरुलाई सामान्य समानहरुसमेत ल्याउन र लैजान नदिने र अन्य काम गर्न समेत दुःख दिने भएकाले स्थानीयबासीहरुले एसएसबीविरुद्ध प्रर्दशन गरेका हुन्।


चीन र हङकङका पर्यटक भित्र्याउने पहल



नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर अपरेटर्स (नाटा) को संयोजकत्वमा पर्यटन बोर्ड तथा नेपाल वायुसेवा निगमसहितको टोली पर्यटन प्रवर्द्धनका लागि शनिबार चीन जाने भएको छ ।

नेपाल पर्यटन वर्ष-२०११ मा १० लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल बनाउने प्रयासस्वरुप चीन जान लागिएको नाटाअध्यक्ष रामकाजी कोनेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । एक साता लामो सो भ्रमणमा २५ ट्राभल एजेन्सी सहभागी हुने जनाइएको छ । टोलीले सोमबार संघाईमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्नेछ । कार्यक्रममा संघाईका अधिकारी एवं ट्राभल तथा टुर अपरेटर उपस्थित रहने उनले बताए । कार्यक्रममा पर्यटन बोर्डले नेपालमा भएका आकर्षक पर्यटकीय गन्तव्यबारे प्रस्तुतीकरण गर्नेछ भने एजेन्टले आफ्ना प्याकेज बिक्री गर्नेछन्,' कोनेले भने ।

संघाईपछि टोलीले चीनको राजधानी बेइजिङमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने उनले बताए । चीन भ्रमणपछि हङकङमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने नाटाले जनाएको छ । संघाईमा हुने कार्यक्रममा पर्यटनमन्त्री शरतसिंह भण्डारीसमेत सहभागी हुने नाटाले जनाएको छ । भ्रमणका अवसरमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम हटाई भारत भ्रमणमा आउने चिनिया पर्यटकलाई नेपाल ल्याउने व्यवस्था मिलाउन पहल गरिने कोनेले बताए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अध्यक्ष प्रचण्डमान श्रेष्ठले भ्रमणमा बोर्डले गन्तव्य प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने बताए । 'हामी गन्तव्यबारे जानकारी दिन्छौं, मन्त्रीले नेपालको राजनीतिक अवस्था तथा सुरक्षालगायत विषयमा प्रकाश पार्नुहुनेछ भने व्यवसायीले आफ्ना प्याकेज बिक्री गर्नेछन्,' उनले भने । छोटो अवधिको बसाइका लागि आउने पर्यटकमा चिनिया तथा भारतीय पयर्टक भित्र्याउन सकिने सम्भावना भएकाले दुवै मुलुकलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

चीनका ठूला तीन विमान कम्पनीले उडान थाल्नुले नेपालमा पर्यटकीय गतिविधि बढाउन चीन इच्छुक देखिएको उनले बताए । नेपालको राजनीतिक अवस्था जस्तो भए पनि पर्यटन वर्ष-२०११ को लक्ष्य सहजै प्राप्त गर्न सकिने उनको भनाइ छ । 'राजनीतिक वातावरण अहिलेभन्दा बिगि्रएन भने लक्ष्य पूरा हुन्छ,' उनले भने ।

सन् २००२ देखि चीनमा पर्यटन प्रवर्द्धन प्रयास थालेको नाटाले चिनियाँ पर्यटक संख्या हालभन्दा वाषिर्क रुपमा तीन गुणाले बढाउने लक्ष्य राखेको अध्यक्ष कोनेले बताए । नाटाका अनुसार, गत वर्ष ३३ हजार ३ सय १६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भारतीय दादागिरी



दादागिरी देखाउँदै अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरी नाकमुख छोपेर सीमा पार गरे

नयाँ पत्रिका

वीरगञ्ज, ११ भदौ

भारतीय अर्धसैनिक बल एसएसबीले सीमाक्षेत्रमा नेपालीलाई कुटपिट गर्दा नेपाली प्रशासन मौन बसेपछि हतियारधारी भारतीय प्रहरी नेपालभित्रै पस्न थालेका छन् । दादागिरी देखाउँदै अत्याधुनिक हतियारसहित नेपाल पसेका भारतीय प्रहरीलाई पनि नेपाल प्रहरीले विनाकारबाही छाडेको छ ।

युपी १६४१ नं. को स्करपियो जिपमा सइ विनोद मिश्राको नेतृत्वमा भारतीय प्रहरीको टोली दुई दिनअघि नेपाल प्रवेश गरेको थियो । टोलीमा प्रहरी जवान रमेश सिंह, रामसुन्दर मौर्य र गाडीचालक रञ्जित सिंह थिए ।

अत्याधुनिक हतियार तर सादा पोसाकमा रहेका उनीहरूलाई वीरगञ्जको बिर्ता वडा प्रहरी कार्यालयका निरीक्षक कमलबहादुर भुजौरियाको टोलीले घन्टाघरबाट पक्राउ गरेको थियो । भारतीय प्रहरीको साथबाट दुई नाल इनसास राइफल र त्यसको गोली एक सय ६० थान, एक थान थ्री नट थ्री राइफल र त्यसको गोली ५० थान तथा एक थान पेस्तोल बरामद गरिएको थियो ।

पक्राउ परेका प्रहरीहरू भारत उत्तरप्रदेश सोनभद्रा जिल्ला शक्तिनगर थानाका रहेको नेपाल प्रहरीको स्रोतले जनाएको छ । नेपालमा जाली नोटको कारोबार भएको भन्दै छानबिनका लागि दुई दिनदेखि वीरगञ्जमा गस्ती गरिरहेको बयान पनि उनीहरूले दिएका छन् ।

अनधिकृत रूपमा नेपाल प्रवेश गर्नेहरूलाई सबक सिकाउन पाइने भयो भनेर भुजौरियाको टोली खुसी भए पनि जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई चुप रहन आदेश दिएको थियो । जिपमा चढेर निर्धक्क घन्टाघर क्षेत्रमा घुमिरहेका हतियारधारीहरूलाई पक्रेर वडा प्रहरी कार्यालय ल्याएपछि केहीबेर अनुसन्धान भएको थियो ।

भारतीय प्रहरीलाई डिएसपी मसाउद अली खाँको टोलीले जिल्ला प्रहरी कार्यालय लगेको र यो सूचना 'लिक' नगर्न निर्देशन दिएको एक प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई घटनाबारे तत्कालै खबर गरेको स्रोतका दाबी छ । खबर पाएपछि गृह मन्त्रालयले भारतीय दूतावासमा सम्पर्क गरेपछि भारतीय प्रहरीलाई विनासर्त छाड्ने आदेश गएको थियो ।

माथिबाट आदेश गएपछि वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत जोन सिल्सी र वीरगञ्जका एसपी सुबोध घिमिरेबीच यो घटनालाई गुपचुप नै राख्ने सहमति भएको स्रोतको दाबी छ । आफ्ना प्रहरीलाई छुटाउन महावाणिज्यदूत सिल्सी एसपी घिमिरेको निवासमै पुगेका थिए । घटनाबारे आधिकारिक जानकारी दिनुपर्नेमा जिल्ला प्रहरीका अधिकारीहरू मोबाइलको स्विच अफ गरी बसेका छन् ।

Source: [http://www.nayapatrika.com/newsportal/cover_story/5362.html]

Thursday, August 27, 2009

हतियारधारी शिक्षक छुटाउन दलहरूको दबाब

विनोद न्यौपाने

काभ्रे, ९ भदौ हतियारसहित पक्राउ परेका दुई शिक्षकलाई छुटाउन जिल्लाका राजनीतिक दलहरूले जिल्ला प्रशासन र प्रहरीलाई दबाब दिएका छन् । दबाब दिनेमा विभिन्न दलका स्थानीय नेतादेखि सभासद्सम्म छन् ।

२६ जेठमा हतियारसहित पक्राउ परेका काभ्रेको गोठपानीस्थित सरस्वती उच्च माविका शिक्षकद्वय रुद्र गौतम र हेमप्रसाद तिमल्सिनालाई सामान्य जरिवानामा छुटाउन दलहरू सक्रिय रहेका हुन् । बाटोको निहुँमा गाउँलेसँग झगडा परेपछि शिक्षकद्वयले पेस्तोल देखाई गाउँलेलाई धम्की दिएका थिए । गाउँलेले दिएको जानकारीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी २६ जेठदेखि थुनामा राखेको छ ।

उनीहरूमाथि हतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएपछि माओवादी, कांग्रेस, एमालेलगायतका दलले प्रशासन र प्रहरीलाई दबाब दिइरहेका छन् । माओवादी सभासद्द्वय सूर्यमान दोङ र अक्कलबहादुर थिङसमेत उनीहरूलाई छुटाउन सक्रिय बनेका छन् । सभासद्द्वयसहित अन्य दलका नेताहरू सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले शिक्षकद्वयलाई सामान्य जरिवानामा छुटाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपानेलाई आग्रह गरेका थिए । 'उनीहरूलाई छुटाउन हामी साक्षी बस्छौँ, सामान्य जरिवानामा छाडिदिनुपर्‍यो,' सभासद् तथा दलका नेताहरूको भनाइ उद्धृत गर्दै प्रशासनस्रोतले भन्यो ।

सभासद्द्वयसहित कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं, एमालेका जिल्ला कमिटी सदस्य मुकुन्द गौतम र मालेका जिल्ला नेता रणबहादुर बोहोरा जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपानेलाई शिक्षकद्वय निर्दोष रहेको भन्दै छुटाउन आग्रह गरेको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपानेले भने मुद्दा चलाइसकिएको व्यक्तिलाई सामान्य जरिवानामा रिहा गर्न नसकिने प्रतिक्रिया दिएको बैठकका एक सहभागीले जानकारी दिए । उनका अनुसार, न्यौपानेले शिक्षकद्वयलाई कानुनअनुसार कारबाही-प्रक्रियामा लगिएको र त्यसमा सहयोग गर्न सभासद् तथा दलका नेतालाई आग्रह गरेका थिए । सभासद्द्वय तथा दलका नेताले भने जसरी पनि उनीहरूलाई छुटाइदिन आग्रह गरेको स्रोतले बतायो । प्रजिअ न्यौपानेले दलहरूले मुद्दामा चाँडो निर्णय गर्न आग्रह गरेको प्रतिक्रिया दिए । 'उहाँहरूले चाँडो फैसला गर्नुपर्‍यो भन्नुभयो,' न्यौपानेले नयाँ पत्रिकासँग भने, 'मैले कानुनअनुसार हुन्छ भनेर पठाएँ ।' शिक्षकद्वय कार्यरत विद्यालयले यसअघि नै उनीहरूलाई छुटाउन दबाबस्वरूप प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रहरी स्रोतका अनुसार पनि स्थानीय राजनीतिक दलका नेता, सभासद् तथा माओवादीका केन्द्रीय नेताले समेत शिक्षकद्वयलाई छुटाउन पटक-पटक आग्रह गरेका छन् । 'उनीहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा दबाब दिइरहेका छन्,' प्रहरीस्रोतले भन्यो, 'तर, प्रशासनमा मुद्दा दायर भइसकेकाले प्रहरीले केही गर्नसक्ने अवस्था छैन ।'

शिक्षकद्वयले माओवादी कार्यकर्ता रमेश गौतमले हतियार राखिदिन आग्रह गरेपछि आफूहरूले हतियार राखेको बयान प्रहरीलाई दिएका छन् । गौतमलाई भने प्रहरीले अहिलेसम्म पक्रन सकेको छैन ।

Source :[http://www.nayapatrika.com/newsportal/countryside/5277.html]

काठमाडौं विमानस्थल खुल्यो

काठमाडौं, भदौ ११ (नागरिक)- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सवा २ बजेदेखि सञ्चालनमा आएको छ। यो धावनमार्गको 'थ्रेसहोल्ड' चर्किएपछि नागरिक उड्ड्यन प्राधिकरणले दुई घण्टाका लागि विमानस्थल बन्द गरेको थियो। अवतरण हुन नसकेपछि थाइ एयरको विमान कोलकाता 'डाइभर्ट' भएको थियो। रन वे बनाउन समय लागे थाइ बैं‌कक नै जाने तयारीमा थियो। कोरियन एयरलाइन्सको विमान यही कारण निकैबेर आकासमै उडिरह्यो भने पाकिस्तान एयरलाइन्सको विमान कराँची 'डाइभर्ट' भएको थियो। यसैगरी बंगलादेशको जीएमजी एयरलाइन्सको विमान ढाका 'डाइभर्ट' भएको थियो ।

यही कारण एयर अरेबिया र जेट एयरवेजका विमान पनि अवतरण हुन सकेका थिएनन्।
Source:[http://nagariknews.com/society/nation/4419-2009-08-27-06-55-44.html]

तयारी पोसाक उद्योगमा सकारात्मक संकेत

भदौ ११ - आर्थिक मन्दीको गति कम भएको संकेतसँगै युरोप, अमेरिकालगायत मुलुकबाट नेपाली तयारी पोसाकबारे चासो बढेको छ । साना परिमाणमा अर्डर आउने क्रमसमेत सुरु भएको व्यवसायीले बताए ।

नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकाबाट आएको चासोलाई व्यवसायीले महत्त्वपूर्ण रूपमा लिएका छन् । पछिल्लो समय महत्त्वपूर्ण बजारका रूपमा देखिएको भारतबाट समेत राम्रो संकेत आएको छ । 'अमेरिकी खरिदकर्ताबाट निकै चासो आउन थालेको छ,' तयारी पोसाक उद्योग संघका अध्यक्ष प्रशान्त पोखरेलले भने । मन्दीको गति कम भएको र नेपाली तयारी पोसाकका लागि सहुलियतपूण्र्ा प्रवेश दिने सम्बन्धी विधेयक अमेरिकी सिनेटमा प्रस्तुत भएकाले यस्तो संकेत आएको व्यवसायी बताउँछन् ।

चासो र अर्डर आउने क्रम बढे पनि व्यवसायीमा उति साह्रो उत्साह भने छैन । 'पहिलो कुरा त अझै धेरै अर्डर आउनुपर्छ,' पोखरेलले भने, 'तोकिएको समयमा तयारी पोसाक पठाउन सक्ने अवस्थामा पनि हामी हुनुपर्छ ।' 'खरिदकर्ताहरू पनि हिच्किचाइरहेका छन् र नेपालको राजनीतिक अवस्थाका कारण हामी पनि तत्काल ठूलो परिमाणमा अर्डर लिइहाल्न सक्ने अवस्थामा छैनौं,' संघका उपाध्यक्ष उदयराज पाण्डेले भने । खरिदकर्ताले अर्डरभन्दा धेरै चासो देखाइरहेको पाण्डेले बताए । अहिले मुलुकका ७/८ वटा तयारी पोसाक उद्योग मात्र सञ्चालनमा छन् । तर धेरै अर्डर आएमा छोटो समयमै उत्पादन सुरु गर्न सक्ने अवस्थामा झन्डै तीन दर्जन उद्योग रहेको व्यवसायी बताउँछन् । अमेरिकामा नेपाली तयारी पोसाकको निकासी सन् २००९ को पहिलो ७ महिनामा गत वर्षभन्दा ५६ प्रतिशतले घटेको छ । संघको तथ्यांकअनुसार यो अवधिमा ४१ लाख अमेरिकी डलर बराबरको तयारी पोसाक अमेरिका निकासी भएको थियो । गत वर्ष यसै अवधिमा यो ९४ लाख अमेरिकी डलर थियो । गत जुलाईमा ८ प्रतिशतले निकासी बढे पनि बाँकी महिना दोहोरो अंकले निकासीमा गिरावट आएको थियो । व्यवसायीहरू भारततर्फको निकासी बढ्ने आशामा पनि छन् । भारतलाई नेपाली तयारी पोसाकमा लगाउँदै आएको अतिरिक्त ४ प्रतिशत शुल्क हटाउन हालै प्रधानमन्त्री माधवकुमार नेपालले आग्रह गरेका थिए । 'यो विषयमा भारतका वाणिज्य सचिवले नेपाली वाणिज्य सचिवलाई आश्वस्त पारेका छन्,' पोखरेलले भने । केही वर्षयता भारत पनि ठूलो खरिदकर्ताका रूपमा देखिएको छ । भारतमा हुने निकासी झन्डै अमेरिकाको हाराहारीमा पुगेको व्यवसायी बताउँछन्् । गत आर्थिक वर्ष ६६ करोड ७६ लाख रुपैयाँ बराबरको तयारी पोसाक भारत निकासी भएको थियो । अघिल्लो वर्ष यो ४७ करोड ८१ लाख रुपैयाँ मात्र थियो । भारतीय बजारमा नेपाली उत्पादनले बंगलादेशी तयारी पोसाकसँग प्रतिस्पर्धा गरिरहेको छ । ४ प्रतिशत अतिरिक्त शुल्क हटेमा नेपाली उत्पादन पनि उत्तिकै सस्तो हुने उनले बताए ।

Source:[http://www.ekantipur.com/nepali/kolmain.php?&nid=211691]

आजको कार्टुन




Source:[http://nagariknews.com/modules/mod_junewsultra/img/img.php?src=../../../images/stories/cartoons/swine-flu-cartoon.jpg&w=292&h=0&q=100]

सभासद्ले कुटे मजदुर


'मलाई जानाजान दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रयास गरियो, जनताको प्रतिनिधि सभासद्माथि दुव्र्यवहार गर्नेमाथि कारबाही हुनुपर्छ’सभासद् इस्तियाक राई

ठाकुरसिंह थारू/नयाँ पत्रिका

नेपालगन्ज, १० भदौ

संविधान बनाउन चुनाव जितेर काठमाडौं पुगेका सभासद् गाउँ फर्केर जनता कुट्न थालेका छन् । भारतीय गाडीमा सवार सभासद् इस्तियाक राईले साइकल चढेका मजदुर कुटेपछि नेपालगन्ज बुधबार दिनभर तनावग्रस्त रह्यो ।

साइकलमा चढेका श्याम खड्काले बाटो नछाडेको भन्दै सभासद् राईसँग विवाद भएको थियो । विवादसँगै सभासद् राईले मजदुर खड्कालाई कुटपिट गरे । स्थानीय बासिन्दाले प्रतिकार गर्न खोजेपछि सभासद् राई भागेर आफ्नो पार्टी (फोरम) कार्यालयभित्र पसे । पार्टी कार्यालयबाट फोन गरेर सभासद् राईले जम्मा गरेको समूहले स्थानीय व्यवसायीको किया माइक्रोबस जलाइदिएको छ । सभासद् राईको गाडी भने प्रहरीले 'स्कर्टिङ' गरेर सीमा पार गराइदिएको छ ।

बिजुली 'वायरिङ'को काम गर्ने मजदुर श्याम खड्का बुधबार स्थानीय सहिद सेतु विक चोकमा वाइरिङ गर्दागर्दै थप सामान ल्याउन बजार जाँदै थिए । सेतु विक चोकबाट श्याम साइकलमा गइरहेका थिए, पश्चिमबाट भारतीय नम्बरको जीप आइरहेको थियो । गाडीचालकले साइड दिन भनेपछि साइकल र गाडीवालाबीच विवाद भयो । साइकलमा एकजना थिए, गाडीमा चार-पाँचजना ।

'गाडी विपरीततिरबाट साइड पेलेर आएको थियो, मैले साइड दिनुपर्ने कुरै थिएन,' खड्काले नयाँ पत्रिकासित भने, 'तर उनीहरूले हकारेपछि मैले किन गाली गरेको भन्ने प्रश्न गरेँ, तर उनीहरू मेरो प्रश्नको जवाफ दिनुको साटो ओर्लेर भटाभट कुट्न थाले ।'

खड्कालाई कुनै भारतीयले कुट्यो भन्ने लागेको थियो । त्यसैले नेपालमा आएर भारतीय ज्यादती गरेको भन्दै उनले गुहार मागे । खड्काको आवाज सुनेर जम्मा भएका स्थानीय युवाले प्रतिकार गर्न खोजेपछि सभासद् राईको समूह त्यहाँबाट हिँडिहाल्यो ।

गाडी गुडेपछि स्थिति साम्य भएको थियो । तर, केहीबेरमा सभासद् राईलाई सहिद सेतु विक चोकनजिकै केही युवाले अभद्र व्यवहार गरेको भन्दै फोरमका कार्यकर्ताले बजार बन्द गराउन थाले, गाडी जलाउन थाले । फोरम कार्यकर्ताले त्रिभुवन चोकमा रा.१ज ३७० नम्बरको किया माइक्रोबस जलाएको प्रहरीले जनाएको छ ।

तर, मजदुर खड्काले भने आफूलाई कुटपिट गर्ने समूह सभासद् राईको भएको पछि मात्र थाहा पाएको बताए । 'उहाँ (सभासद् राई) को नाम त सुनेको थिएँ, तर मसँग विवाद गर्ने र कुटपिट गर्ने त कुनै भारतीय होला भन्ने ठानेको थिएँ,' उनले भने । उता सभासद् इस्तियाक राईले आफूमाथि दुव्र्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । 'मलाई जानाजान दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रयास गरियो । जनताको प्रतिनिधि सभासद्माथि दुव्र्यवहार गर्नेमाथि कारबाही हुनुपर्छ,' उनले नयाँ पत्रिकासित भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक मिग्मार लामाले सभासद् राई र अर्को पक्षलाई राखेर सहमतिको प्रयास भइरहेको बताएका छन् । बुधबार रातिसम्म भएको वार्ता असफल भएपछि बिहीबार बिहान फेरि बसेर विवाद टुंग्याउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा राजनीतिक दल र सम्बन्धित पक्ष सहभागी छन् ।

जानाजान दुव्र्यवहार भयो

इस्तियाक राई, सभासद्

हामी धम्बोझी चोकनजिकै रहेको जामा मस्जिदमा नवाज पढेर फर्किंदै थियौँ । मेरो आफ्नै दाइ जमालुद्दिनले गाडी चलाउनुभएको थियो । चोकदेखि केही पूर्व साइकल लिएर एकजना युवा बाटोमा उभिएको थियो ।

हामी त्यहाँ पुग्दा उसले एक्कासि गाली गर्‍यो । मसँगै रहेका प्रहरी हवल्दारले सभासद्ज्यू हुनुहुन्छ भन्दा पनि उसले गालीगलौज गर्‍यो । तर, हामीले उसलाई केही पनि गरेनौँ । हामीले गालीगलौज किन गरेको भनेर सोध्न नपाउँदै त्यहाँका एक/डेढ सय मानिस आएर कुटपिट गर्न खोजे । हामी त्यहाँबाट भाग्न सफल भयौँ ।

परिचय दिँदादिँदै पनि मलाई अभद्र व्यवहार गरियो । आफूमाथि भएको अभद्र व्यवहारबारे प्रहरीलाई पनि जानकारी गराएँ । तर, त्यति मतलब गरेन प्रहरीले । आफूमाथि भएको अभद्र व्यवहारबारे आफ्ना कार्यकर्तालाई जानकारी गराएँ । आक्रोशित बनेका कार्यकर्ता र जनताले बजार बन्द गराएका हुन् । कुरा यत्ति हो ।

मैले त चिनेको पनि थिइनँ

श्याम खडका, २२ वर्षीय मजदुर

म बिजुलीको काम गर्छु । सहिद सेतु विक चोकनजिकैको घरमा बिजुली वायरिङ गर्दागर्दै थप सामान ल्याउन साइकल चढेर बजार आइरहेको वेला पश्चिमबाट एउटा भारतीय नम्बरको जीप आइरहेको थियो । म साइडमा थिएँ । अगाडि अरू पनि गाडी थिए ।

जीपका चालकले मलाई साइड लाग्न भन्दै हकारे । मैले पनि किन गाली गरेको ? आफ्नो साइडमा छु भनेँ । मैले सभासद् इस्तियाक राईज्यूलाई चिनेको थिइनँ, विवाद हुँदा पनि चिनिनँ । गाडी उहाँको रहेछ, गाडीमा चार/पाँचजना मानिस बसेका थिए ।

मेरो विवाद पहिले गाडी चलाउने व्यक्तिसँग भएको हो । त्यसपछि गाडीबाट अर्को मानिस झर्‍यो ।

उसलाई पनि मैले चिनिनँ । उनीहरूले गाडीबाट झरेर मलाई कुटपिट गरे । मलाई कुटपिट गरेको देखेपछि नजिकै रहेका मानिस जम्मा भए । र, किन कुटेको हो भन्दै उनीहरूको प्रतिकार गरे ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5310.html]


बागमती बचाउन १४ अर्ब चाहिने

काठमाडौं/ अधिकारसम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिले बागमतीको संरक्षण र संवर्द्धन गर्न १४ अर्ब १६ करोड ५५ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने बताएको छ । समितिले त्यसका लागि बागमती सभ्यता विकास अभियान अघि बढाएको छ ।

समितिका अनु्सार, हालसम्म बागमती नदीको गोकर्ण गुहेश्वरी खण्डमा ११ दशमलव ५ किमि तटवन्ध निर्माण गरी नदीको दायाँ किनारामा १७ किलोमिटर मुख्य ढल लाइन बनाइएको छ । यसैगरी सो क्षेत्रमा ११ दशमलव ५ किमि हरित क्षेत्र र ११ दशमलव ५ किमि सडक निर्माण सम्पन्न गरिएको छ ।

समितिका अध्यक्ष महेशबहादुर बस्नेत गुहेश्वरीमा मन्दिरको उत्तरपूर्व फाँटमा प्रतिदिन १६ दशमलव ४ मिलियन लिटर प्रशोधन क्षमतासहितको ढल प्रशोधन केन्द्र निर्माण गरी केन्द्रको फोहोर पानीको वाइपास गर्न ५ सय ७२ मिटर लामो सु्रुङसमेत निर्माण गरिएको बताउँछन् ।

समितिकै पहलमा ८ वटा धारासहित ५० घमिको खानेपानी प्रणाली स्थापना गरी गुहेश्वरी तथा पशुपति क्षेत्रमा नियमित खानेपानी आपूर्ति व्यवस्थासमेत गरिएको छ ।

समितिले काम व्यवस्थित गर्न बागमती कार्ययोजनासमेत तयार गरेको जनाएको छ । २०६६ देखि ७१ सम्मका लागि तयार पारिएको सो कार्ययोजनामा उपत्यकाभित्र बग्ने बागमती र यसका सहायक नदीनालााई ५ विभिन्न क्षेत्रमा विभाजन

गरी क्षेत्रगत विशेषताका आधारमा संरक्षणका कार्यक्रम तयार गरिएका छन् । अध्यक्ष बस्नेतले बागमती र यसका सहायक नदीनाला संरक्षण र विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको भए पनि समस्या त्यत्तिकै रहेको बताएका छन् ।

संरक्षणका लागि समितिलाई पर्याप्त मात्रामा कानुनी अधिकार नभएको, बागमती संरक्षणका लागि कार्यरत विभिन्न संघसंस्थावीच समन्वय हुन नसकेको, सरकारले बागमती संरक्षण अभियानलाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको रुपमा लिन नसक्नुलगायत कारणले बागमती बचाउन अभियानलाई द्रु्त गतिमा अगाडि बढाउन अप्ठेरो परेको समितिले जनाएको छ ।

Source:[http://www.nayapatrika.com/newsportal/desh/5343.html]

माओवादीले राष्ट्रपति बहिस्कार गर्ने

काठमाडौं, ११ भदौ(दैनिकी)

प्रधानसेनापति प्रकरणमा राष्ट्रपति रामवरण यादवको कदमको विषयलाई लिएर आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीले आजदेखि राष्ट्रपतिको सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने भएको छ । राष्ट्रपतिको कदम सच्चिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको माओवादीले पूर्व घोषित कार्यक्रमअनुसार राष्ट्रपति सहभागी हुने सम्पूर्ण सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको हो।
यसअघि कुनै पनि दल वा मोर्चाले राष्ट्रपतिको सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छैनन् ।
विरोध कार्यक्रमअन्तर्गत माओवादीले मन्त्री तथा प्रधानमन्त्रीको कार्यक्रमसमेत बहिस्कार गर्ने घोषणा गरिसकेको छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्कियो


विमानस्थल बन्द

काठमाडौं ११ भदौं(दैनिकी)

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि विमान अवतरण र उडानमा समस्या भएको छ । धावनमार्ग चर्किएपछि नेपाली आकासमा भित्रिइसकेको थाई एयरलाइन्सको विमान फर्काइएको छ भने पाकिस्तानको पिआइएसहित कोरियन एयर, एयर अरेबिया, जिएम जी, जेट लाइटलाई नेपाली हवाइ आकासबाटै फर्काइन थालिएको छ ।
विमानस्थलको धावनमार्गको ट्याक्सी वे को ४ नम्बर नजिकै एउटा खाल्डो देखिएपछि मर्मतका लागि ३ घण्टा विमानस्थल बन्द गरिएको छ। विमानस्थल १२ बजे देखि ३ बजे सम्मका लागि बन्द गरिएको हो। यद्यपि खाल्डोबारेको सूचना ११ बजेनै थाह भएको थियो ।
अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिए पनि आन्तरिक वायुसेवालाई भने उत्तरतर्फबाट उडान र अवतरण गराइएको विमानस्थल स्रोतले बतायो। 'धावनमार्गको ३ हजार मिटरमध्ये १४०० मिटरमा उडान र अवतरण गर्न सकिने भएकाले आधा घण्टाका लागि मात्र उडान र अवतरण रोकिएको भए पनि उत्तर तर्फबाट उडान अवतरण गराइने छ'- स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय उडानका लागि भने नोट्याम (नोटिस टू एयरम्यान) सूचना जारी गरिएको छ । यो सूचना नेपालको एयर सञ्जालरहेका विश्वभरका विमानस्थलमा जारी हुन्छ ।



source:[http://dainikee.com/newsdetail-9857.html]


Wednesday, August 26, 2009

आजको कार्टुन



Source:[http://www.nagariknews.com/modules/mod_junewsultra/img/img.php?src=../../../images/stories/cartoons/phalano_august26.jpg&w=292&h=0&q=100]

कोसी अर्को स्थानमा फुट्ने खतरा

जयकृष्ण यादव/इनरुवा

कोसी नदीको बाँध फेरि नयाँ स्थानमा फुट्ने खतरा बढेको छ । सप्तकोसी गत वर्ष भदौ २ गते फुटेको स्थानभन्दा एक किलोमिटर दक्षिणमा पूर्वी तटबन्धको उचाइ कम रहेको तथा झन्डै चार किलोमिटर उत्तरमा फुट्ने खतरा बढेको स्थानीयवासीहरूले बताएका छन् ।

लगातारको वषर्ा र बालुवा थुपि्रएर कोसीको सतह माथि उठेकाले कोसीमा तीन लाख क्युसेकभन्दा बढी पानीको बहाव भएको खण्डमा पुरानो स्थानमा फुटेको पश्चिम कुशाहा गाविस-४ देखि एक किलोमिटर दक्षिणमा पूर्वी तटबन्ध तल हुने अवस्था भएकाले कोसीको बाँध माथिबाट बग्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।

अहिले बेलैमा पश्चिम कुशाहा गाविस-४ देखि एक किलोमिटर दक्षिण हरिपुरसम्ममा पूर्वी तटबन्धको उचाइ बढाउने प्रयास नभए कोसी फुट्ने खतरा बढेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका इन्जिनियर मोहन भट्टराईले जानकारी दिनुभएको छ ।

यता कोसीको पानीको बहावले महेन्द्रनगरस्थितको पुथ्लेगौँडामा ११ र १२ नम्बरको स्पर कटान गरेर कोसी फुट्ने खतरा बढेको स्थानीयवासीहरूलाई उद्धृत गर्दै हरिपुरका सञ्जय पण्डितले बताउनुभयो ।

अहिले खतरा देखिए पनि आत्तिने अवस्था नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले बताउनुभयो । उहाँले यसबारेमा भर्खरै सिँचाइमन्त्री बालकृष्ण खाँडले निरीक्षण गर्नुभएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोसीमा देखिएको सम्भावित खतरा र यसको रोकथामबारेमा भारतीय पक्षसँग छलफल भइरहेको छ ।

यसअघि गएको असार १९ गते कोसीमा एक लाख ९० हजार ५४६ क्युसेक प्रतिसेकेन्डसम्मका दरले पानीको बहाब हुँदा १२ नम्बर ढोका क्षतिग्रस्त भएको थियो तर सो ढोकाको मर्मत भइसकेको छ ।

पानीको बहाब घट्दै गएपछि कोसीको प्रकाशपुरस्थित राजाबास, महेन्द्रनगर, ब्राहाक्षेत्रलगायतका स्पर कटान सुरु भएको र विभिन्न स्थानका स्परहरू जोखिममा रहेको स्थानीय धर्मेन्द्र मेहताले बताउनुभयो ।

पानीको सतह नदीमा बढेसँगै तटबन्ध र स्परहरू जोखिममा रहेको पाइएकाले सुनसरीका हरिपुर, श्रीपुर, प्रकाशपुर र पश्चिम कुशाहाका स्थानीयवासीहरू अझै त्रसित बनेका छन् ।

कोसीमा पानीको बहाव बढ्ने, घट्ने र कटान भएका कारणले त्रसित रहेका स्थानीयवासीहरूले ब्यारेजको सबै ढोका निरन्तर खोलेर बालुवा बगाउनुपर्ने सुझाव दिँदै ५२ वटै ढोका खोल्नुपर्नेर् माग गरेका छन् ।

कोसीको पूर्वी तटबन्ध सुनसरीको महेन्द्रनगर र प्रकाशपुरको राजाबास जोखिममा रहेकाले तटबन्धको छेउमा पानी आउन नदिन तथा पानीकोबहाव रोक्नका लागि कटान नियन्त्रण गर्न प्रकोपाइन निर्माण गरी राखिएको छ ।

राजाबास आसपास क्षेत्रमा करिब तीन सय मिटर दूरीमा कोसी नदीको पूर्वी तटबन्धछेउमा पाँच/पाँच मिटरको फरक दूरीमा ६० बढी प्रकोपाइन राखिएको जनाएको छ ।

प्रकोपाइनले पानीको बेग, माटो, लेदो र बगेर आएका काठपातलगायतलाई रोक्ने गरेको प्रकाशपुर युवा जमातका अध्यक्ष प्रदीप राईले जानकारी दिनुभएको छ ।

सप्तकोसी नदीको पूर्वी तटबन्ध भत्केर गाउँ पस्दा गत वर्ष यहाँका हजारौँ सर्वसाधारण घरवारविहीन भएको बेला कोसी ब्यारेजको पुलले अर्को विपत्ति ननिम्त्याउला भन्नसक्ने अवस्था नरहेकाले त्रास पैदा भएको स्थानीयवासी बताउँछन् ।


Source:[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23411&cat_id=14]


डाक्टरले सुरु गरे फोहोरबाट मोहर बनाउन


सविता शर्मा

भदौ ९ गते । राजधानीको फोहोरलाई मोहर बनाउने चर्चा चलेको धेरै समय भइसक्दा पनि खासै काम भएको छैन तर निजी प्रयासमा कालीमाटीको तरकारी बजारबाट निस्कने फोहोरमैलाबाट प्राङ्गारिक मल बनाउने कार्य थालिएको छ ।

सानोतिनो काम गर्न नरुचाउने आम नेपाली प्रवृत्ति छ । त्यसमा पनि शिक्षित व्यक्तिले त फोहोरमैला छुनै हुन्न भन्ने मान्यतालाई तोड्दै प्राध्यापन पेसामा संलग्न डा. चन्द्रविक्रम बुढाथोकीले कीर्तिपुरको चोभारमा यस्तै फोहोरबाट मल बनाउन नेपाल कल्पवृक्ष नामक कारखाना चलाउनुभएको छ ।

कालिमाटी तरकारी बजारबाट निस्कने करिब १५ टन फोहोरबाट प्राङ्गारिक मल बनाउने सार्वजनिक निजी साझेदारीको उदाहरणको रुपमा गत वर्ष माघमा योजना सुरु गरिएको हो । यस कारखानाले मासिक १५ टन फोहोर खपत गर्ने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति, सहरी वातावरणका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम -यूएनडीपी) र नेपाल कल्पवृक्षबीच समझदारी भएको थियो ।

यस्तो फोहोरबाट मल बनाउने तरिका खासै जटिल छैन । नसड्ने खालका र मलका लागि अनुपयुक्त वस्तु हटाएर बाँकीलाई टुक्रा टुक्रा बनाएर काट्ने, पराल, तीतेपाती, केराको पात सबैको टुक्रा बनाएर मिसाएर प्रारम्भिक कच्चा पदार्थ तयार गर्ने बुढाथोकीले बताउनुभयो ।

मललाई चाँडो कुहाउन र मलिलो बनाउन बुढाथोकीले आफैंले पालेको बङ्गुरको मल ट्राइकोडर्मा भन्ने औषधि हाल्ने गर्नुहुन्छ । उहाँका अनुसार बङ्गुरको दिसालाई घोलेर बनाइएको सलरी प्रत्येक नौ इन्चको तहमा हाल्दै एउटा तहमा पुर्‍याएर जुटको बोराले छोपेपछि 'ट्राइकोडर्मा'ले चाँडै कुहाउने र बङ्गुरको मलले ताप दिने काम गर्छ ।

यसरी छोपेर राखेको मललाई सातदिनको फरकमा पल्टाउँदै आवश्यकता अनुसार सुख्खा भए पानी र बढी ओसिलो भए सुख्खा कुरा हालिदिनुपर्छ । यही क्रममा एक महिनामा एक थरिको मल बन्छ भने फेरि त्यही मलमा पानी, चुना, कालीमाटी मिसाइ चिसो बनाएर थप एकमहिनामा ट्रकोडर्मा मल बन्छ । सामान्य मलको प्रतिकिलो पन्ध्र रुपियाँ र ट्रकोडर्माको २० रुपियाँ पर्ने बुढाथोकी बताउनुहुन्छ ।

ट्राइकोडर्मा भनेको जमिनबाट निकालिने एक प्रकारको ढुसी भएको र मल बनाउने प्रक्रियामा यसले चाँडो कुहाउने काम गर्दछ । तरकारीको जरामा र डाँठमा लाग्ने गाँठे रोगलाई नियन्त्रण गर्ने उहाँको भनाइ छ । यो सरल र वातावरण मैत्री विधि भएको र यो प्रक्रियाबाट मल बनाउँदा दुर्गन्ध आउँदैन

यस्ता कार्यक्रमलाई विस्तार गर्न सके किसानहरूले सस्तो मूल्यमा प्राङ्गारिक मल पाउने, फोहोर व्यवस्थापन गर्न सजिलो, वातावरपण सफा राख्न पनि सहयोग पुग्नुका साथै रासायनिक मल प्रयोगमा कमी आउन सक्ने बढाथोकीको भनाइ छ ।

कल्पवृक्षका सञ्चालक चन्द्रविक्रम बुढाथोकीले आफैंले उत्पादन गरेको मल प्रयोग गरेर तरकारी खेती गर्नु भएको छ । फोहोरका कारण आक्रान्त हुने राजधानीमा फोहोरलाई मोहर बनाउने सानै प्रयासमा पनि कालिमाटी तरकारी बजारले त्यहाँबाट निस्किएको फोहोर कारखानासम्म नपुर्‍याउँदा तीन महिनादेखि तरकारी बजारको फोहोर त्यहाँ पुग्न सकेको छैन ।

तरकारी बजारले नै फोहोर ल्याइदिनु पर्ने सहमति भएको उहाँको दाबी छ । अहिलेसम्म पनि आफैंले फोहोर ल्याउने गरेको बुढाथोकीले बताउनुभयो तर कालिमाटी तरकारी बजार विकास समितिका महानिर्देशक तुलसी गौतमले भन्नुभयो-फोहोर दिने मात्र सहमति भएको हो पुर्‍याइदिने होइन । फोहोर नपाएपछि अहिले पूर्णरुपमा काम हुन सकेको छैन । पूर्णरुपले काम भए राम्रो नाफा पनि कमाउन सकिन्थ्यो बुढाथोकीले भन्नुभयो ।


Source:[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23425&cat_id=19]

कपिलवस्तु घटनालाई जेएमसीसीमा छलफल गरिने

भदौ ९ - संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले कपिलबस्तु घटना बृहत् शान्ति सम्झौता विपरित भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालना भए-नभएको अनुगमन गर्ने जिम्मेवारी पाएको संयुक्त अनुगमन समन्वय समिति -जेएमसीसी को अवको बैठकमा उक्त घटनाबारे छलफल गरिने पनि अनमिनले जनाएको छ ।

चारवटा गाडीमा सादा र कम्व्याक्ट पोसाकमा रहेका १९ जना माओवादी लडाकुहरुलाई प्रहरीले सोमबार हतियार सहित नवलपरासीको जितपुरबाट पक्राउ गरेको थियो । नेतृत्वको सुरक्षाको लागि आफूहरु परिचालित भएको माओवादी लडाकु नेतृत्वले जनाएको छ ।

घटनाबारे बुझ्न गएको अनमिन टोलीले माओवादी सेनाका १९ जना सदस्य नै प्रमाणीत लडाकु भएको निष्कर्षनिकालेको छ । अनमिनद्वारा मंगलबार जारी विज्ञप्तिमा लडाकुहरुसग रहेको नौ वटा हतियारमा बार कोड तथा सिरियल नम्बर रहेको र ती हतियारहरू चौथो मुख्य शिविरको सुरक्षा प्रयोजनका लागि अनमिनले दर्ता गरेको पाइएको उल्लेख छ ।

पक्राउ परेका लडाकुहरु रिहाइपछि चौथो मुख्य शिविर तथा प्रथम सहायक शिविरमा फर्किएको र हतियारहरूलाई चौथो मुख्य शिविरमा फर्काइएको अनमिनले जनाएको छ ।

अनमिनले उक्त घटनाको अनुसन्धान जारी राख्ने जनाउदै एकीकृत माओवादीले हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा व्यक्त प्रतिबद्धताहरूको उल्लङ्घन गरेको जनाएको छ ।


Source:[http://www.ekantipur.com/nepali/kolmain.php?&nid=211416]

Tuesday, August 25, 2009

आजको कार्टुन















आज बाट कार्टुन स्तम्भ पनि थपिएको छ जसमा विभिन्न पत्रपत्रिकामा छापिएका कार्टुन मध्धे कुनै एउटा राखिने छ |



Source:[http://sitecdn.dainikee.com/cartoon/33.jpg]

वैज्ञानिकभन्दा कम छैनन् किसान


कास्कीको लेखनाथ नगरपालिका- १० निवासी सूर्यप्रसाद अधिकारी एक किसान हुन् । उनले पर्माकल्चर डिजाइन र पार्टिसिपेटरी प्लान्ट बि्रडिङको तालिम लिएका छन् । उनी साधारण किसान होइनन् । यस अर्थमा कि उनी आफ्ना स्तरबाट निरन्तर अनुसन्धान र अन्वेषण गरिरहेका छन् । र, अनुसन्धान र अन्वेषण केवल विज्ञ र विद्वान्का पेवा हुन् भन्ने कुरालाई गलत सावित गरिरहेका छन् । ६० वर्षको उमेरमा पनि उनमा नयाँ कुरा सिक्ने र अन्वेषण गर्ने गजबको उत्साह छ ।

उनको अनुसन्धानको सबभन्दा राम्रो परिणाम लाहीकीरा नियन्त्रणमा देखिएको छ । उनले लाहीकीरालाई राता कमिलाबाट नियन्त्रण गर्ने गरेका छन् । यस अनुसन्धानमा सफल भएका उनी आफ्नो सफलता लाहीकीराको समस्या भएको ठाउँमा पुर्‍याउन सके लाखौं कृषक लाभान्वित हुन सक्ने बताउँछन् । 'अरू कृषकका समस्या समाधान गर्न म यथाशक्य योगदान गर्न चाहन्छु ।'

उनको परिवार सानो र सुखी छ, उनी, श्रीमती र एक छोरा । उनका छोरा न्युजिल्यान्डमा फिल्म अध्ययन गरिरहेका छन् । छोराको फिल्म प्राविधिक हुने धोको रहेछ ।

सूर्यप्रसादलाई एक सफल प्रगतिशील कृषकका रूपमा जिल्ला र जिल्लाबाहिर सम्मान गरिन्छ । आफ्नो सफलताका लागि उनी परिवारको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, 'परिवारको सहयोगविना जतिसुकै राम्रो काम पनि असफल हुन सक्छ । मेरी श्रीमती मेरा हरेक कदममा साथ दिन्छिन् । त्यसैले पनि म नयाँनयाँ अनुसन्धान गर्न सधंै उत्सुक हुन्छु । '

उनी हाल कफीको बोक्रा कसरी सदुपयोग गर्न सकिन्छ, त्यसको खोज गरिरहेका छन् । कफी उत्पादन गर्दा निस्केका कफीका बोक्रा यत्तिकै खेर गइरहेका छन् । कफीको बोक्रा खेर गएको उनलाई चित्त बुझेको छैन । 'म हाल कफीको बीउको बोक्रा प्रयोग गरेर च्याउ उत्पादन गर्न सकिन्छ कि भनी अनुसन्धान गरिरहेको छु,' उनी भन्छन्, 'यस अनुसन्धानलाई यौटा टुंगोमा पुर्‍याइछाड्ने उद्देश्य छ मेरो ।'

उनले बेसार, सिमि्रक र सजीवनको झोल बनाएर छर्किदा सुन्तला र कफीको ढुसी नियन्त्रण हुने पत्ता लगाएका छन् । अब यस झोललाई इएम छर्केझैं छर्किन मिल्ने बनाउने अनुसन्धानमा जुटिसकेका छन् उनी ।

कृषि सबभन्दा राम्रो पेसा हो भन्छन् उनी । अनुभव र केही तालिमका आधारमा कृषि अन्वेषक बनेका उनी कृषिमा आएका समस्यालाई गहिरिएर बुभ\mनुपर्छ र समस्यालाई समाधान गरी कृषकहितका लागि आप\mनो क्षेत्रबाट योगदान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । कृषिका विद्यार्थी तथा शिक्षकले कृषक-अन्वेषकबाट धेरै कुरा सिक्न सक्ने बताउँछन् उनी । 'किताबी ज्ञान मात्रै सबथोक होइन । माटोको कुरा माटोमा कुल्चिएर जान्नुपर्छ ।' सही ढंगले कृषिका कथा/व्यथा केलाई अन्वेषणमा पत्ता लागेका कुरा जनता माझमा पुर्‍याउनुपर्ने माग छ उनको । 'प्रचारप्रसारका माध्यमबाट किसानवर्गलाई सुसूचित गर्नुपर्छ ।'

उनीजस्ता खोजमूलक कृषकले आफूले गरेका कामका बारेमा अरू कृषक, कृषि वैज्ञानिक, अध्यापक र विद्यार्थीलाई थाहा दिनुपर्छ भन्छन् उनी । 'चेतनशील कृषकको काम आफ्नै ढंगमा निरन्तर अनुसन्धान गरिरहनु हो । खेतबारीमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । र, यसका लागि पढेलेखेको हुनुपर्छ भन्ने छैन । आफूले गरिखानुपर्ने कृषिका कयौं समस्या हामी आफैं हल गर्न सक्छौँ । बस्, हामीले सोच्न थाल्नुपर्‍यो ।'

कृषिका विद्यार्थी र कृषक-अन्वेषकहरूबीच निरन्तर अन्तरक्रिया हुनुपर्छ भन्छन् उनी । 'कृषकले गरेका अनुसन्धानमा वैज्ञानिक तौरतरिका थप्ने काम विद्यार्थीले गर्नुपर्छ,' उनी भन्छन् । अनि, कृषि र पशुविज्ञानका प्राध्यापकका कामचाहिँ के-के हुन् त ? उनीसँग तयारी जवाफ छ, 'कृषक-अन्वेषकरुले गरेका सफल प्रयोगमा थप अध्ययन-अनुसन्धान गर्ने र अन्वेषक र अरू कृषकलाई सरसल्लाह दिने । प्रचार-प्रसार र प्रवर्द्धनको एउटा माध्यम या स्रोत तयार गरिदिने ।'

अनि, विश्वविद्यालयले चाहिँ कस्तो भूमिका खेल्नुपर्छजस्तो लाग्दोरहेछ त यी कृषक-अन्वेषकलाई ? 'परम्परागत ज्ञानमा आधारित घरेलु उपचार तथा किसानसँग भएका ज्ञानका बारेमा अध्ययन-अनुसन्धान गर्ने काम विश्वविद्यालयको हो । 'स्थानीय जडीबुटीबाट पशुस्वास्थ्य उपचारको खोजी गर्नुपर्छ । र, त्यस्तो ज्ञान कृषक-कृषकबीच आदान-प्रदान गर्न विश्वविद्यालयले सक्रिय भूमिका खेल्नुपर्छ ।'

राज्यले अन्वेषण कार्य गरिहेका कृषकलाई कुनै प्रोत्साहन नदिएको गुनासो छ उनको ।

'किसानले पनि अनुसन्धान गरिराखेको हुन्छ र केही पत्ता लगाउन सक्छ भन्ने विश्वास छैन राज्यलाई । त्यसैले अन्वेषण गर्न सक्नेलाई राज्यले हौसला दिने या कदर गर्ने काम गरेको छैन ।' उनका अनुसार कृषक-अन्वेषकलाई प्रोत्साहन दिनका लागि राज्यले छुट्टै निकाय स्थापना गर्नुपर्छ । कृषक-अन्वेषकको पहिचान गरी उनीहरूबीच सहकार्यका लागि यौटा मञ्चको आवश्यकता देखेका छन् उनले ।

आफ्नै खर्चमा विभिन्न अनुसन्धान गरिरहेका छन् उनी । तर, कहिलेकाहीँ भने उनले अरू व्यक्ति या संस्थाका सहायता नलिई हुँदैन । 'आफूले तयार गरेको कम्पोस्ट मल या गँड्यौला मलको असर थाहा पाउन ल्याब टेस्ट गर्नु जरुरी हुन्छ । यसका लागि अरूको सहयोग लिनै पर्‍यो ।' प्रांगारिक खेती, गँड्यौला मल बनाउने तरिका धैरै किसानलाई सिकाउनुपर्नेमा जोड दिन्छन् उनी । 'कृषिप्रधान देश भनेर मात्रै कृषिमा उन्नति गर्न सकिन्छ र ?' उनको प्रश्न निकै जायज लाग्छ ।

भारतले थप्यो सीमामा चार सय चौकी

बच्चु विक/नयाँ पत्रिका

कञ्चनपुर, ८ भदौ

सीमा सुरक्षा बल

(एसएसबी) ले ज्यादती गरेको भन्दै नेपालीले गुनासो गरिरहेका वेला भारतले करिब दस गुणा बढी चौकी थपेको छ । यसअघि नेपालको सीमावर्ती क्षेत्रमा ५० सुरक्षाचौकी रहेकोमा भारतले बढाएर चार सय ५० पुर्‍याएको छ ।

भारतले नेपाल र भुटानको सीमाक्षेत्रमा जम्माजम्मी पाँच सय ७८ चौकी स्थापना गरेको छ, जसमा चार सय ५० नेपालको सीमावर्ती क्षेत्रमा छन् । नेपाल र भारतबीच एक हजार सात सय ५१ किलोमिटर र भारत र भुटानबीच ६ सय ९९ किलोमिटर लामो सिमाना छ ।

सीमाको प्रत्येक दुईदेखि पाँच किलोमिटरको दूरीमा भारतले चौकी राखेको छ । एसएसबीका महानिर्देशक एसके भगतले चौकीसँगै ३५ बटालियन र ४१ हजार सुरक्षाकर्मी थपिएको जानकारी हिन्दुस्तान टाइम्सलाई दिएका छन् । 'नेपालमा आइएसआईको प्रभाव बढेका कारण भारतले चौकीको संख्या बढाएको हो,' पत्रिकाले सोमबार छापेको छ ।

भारतले यति धेरै सुरक्षाचौकी बढाए पनि नेपालले भने कुनै प्रतिक्रिया दिएको छैन । 'उनीहरूले आफ्नो भूमिमा चाहेजति सुरक्षाकर्मी राख्न सक्छन्, त्यसका लागि हाम्रो सहमति लिनुपर्दैन,' गृह प्रवक्ता रत्नराज पाण्डेले नयाँ पत्रिकासित भने, 'यसमा हामीले चिन्ता गर्नुपर्ने कारण केही छैन ।'

गृह मन्त्रालयले चिन्ता नगरे पनि एसएसबीको ज्यादती सहन बाध्य नेपाली भने चिन्तित छन् । चौकी र सुरक्षाकर्मी थपिएपछि सीमाक्षेत्रका नेपालीमाथि ज्यादती पनि बढेको छ । एसएसबीको ज्यादती सहन नसकेर कञ्चनपुरका स्थानीय बासिन्दाले शनिबार अन्तर्राष्ट्रिय नाकामा चक्काजामसमेत गरे ।

ज्यादतीको शृंखलामा एसएसबीले शुक्रबार साँझ भारतीय सहर बनबासाबाट फर्किंदै गरेका नौजना नेपालीलाई रोकेर दुव्र्यवहार गरेको थियो । एसएसबीले नेपालीका ६ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो ।

बिहीबार मात्रै एसएसबीले नेपाली मलामीहरूलाई दुव्र्यवहार गरेको थियो । नेपालबाट भारतीय भूमि हुँदै नेपाली भूमिमा ल्याएर महाकाली नदीको किनारमा दाहसंस्कार गर्न हिँडेका मलामीलाई एसएसबीले गाली गरेर फर्काएको थियो । महाकाली किनारमा शव ल्याउन भारतीय बाटो हुँदै आउन बाध्य नेपालीलाई अहिले मात्र एसएसबीले रोक लगाएको हो ।

केही दिनअघि महाकालीपारिको दोधारा र चाँदनी गाविसका लागि औषधि लग्दै गरेको कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयको गाडी पनि एसएसबीले फर्काएको थियो । शारदा बाँधको बाटो भएर औषधि लग्न नदिएपछि महाकाली झोलुंगेपुलबाट बोकेर दोधारा र चाँदनीमा औषधि पुर्‍याउनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासक शिवदत्त भट्टले बताए । 'हाम्रो सरकारको औषधि हो, हाम्रा जनताका लागि हो भनेर अनुरोध गर्दा पनि उनीहरूले धम्की दिएर फिर्ता पठाए,' भट्टले नयाँ पत्रिकासित भने ।

त्यस्तै पाँच दिनअघि भारतीय रुपैयाँ बोकेको भनेर दुईजना नेपालीलाई एसएसबीले पक्राउ गरेको थियो । धेरै भारतीय रुपैयाँ किन बोकेको भन्दै बझाङका नरबहादुर बोहरा र देवबहादुर रोकायलाई तीन दिनसम्म थुनेर छाडिएको थियो । तर, उनीहरूबाट नियन्त्रणमा लिएको नौ लाख ८० हजार रुपैयाँ अहिलेसम्म फिर्ता भएको छैन ।

गड्डाचौकी, ब्रह्मदेव-टनकपुरदेखि दक्षिण दोधाराको मेलाघाट नाकासम्म एसएसबीले नेपालीलाई सताइरहेको छ । ब्रह्मदेव नाकाबाट दुई किलोग्रामभन्दा बढी कुनै पनि सामान नल्याउन एसएसबीले उर्दी नै जारी गरेपछि कञ्चनपुर उद्योग वाणिज्य संघले विरोध गरेको छ, तर प्रशासन अहिलेसम्म मौन छ ।

एसएसबीका सुरक्षाकर्मीहरूले मदिरा सेवन गरी नेपालमा आएर नेपालीलाई नै कुटेपछि स्थानीय बासिन्दाले सामूहिक प्रतिकार गरेका थिए । सो घटनापछि ब्रह्मदेव नाकामा एसएसबीले हिँडडुल गर्नसमेत प्रतिबन्धजस्तै लगाएको छ ।

त्यस्तै महाकालीपारिको दोधारा र चाँदनीमा त एसएसबीले नेपालमै आएर कुटपिट गर्ने र विरोध गरे गिरफ्तारसमेत गर्दै आएको छ । साउनको अन्तिम साता चाँदनी गाविस-९ का हरि भण्डारी, रनबहादुर बुढासहित ६ जनालाई एसएसबीले नेपालमै आएर कुटपिट गर्‍यो । विनासित्तै कुटेकोमा विरोध गरेपछि उनीहरूलाई पक्राउ गरेर भारततिर लगिएको थियो । तीन दिनपछि नेपाल प्रहरीको टोली एसएसबी क्याम्पमा गएर कुरा गरेपछि मात्र उनीहरूलाई छाडिएको थियो ।

साउनको तेस्रो साता दोधारा-४ का लोकबहादुर थापा, कल्लु सुनार, वीरेन सार्की र महेश चन्दलाई पनि एसएसबीले कुटपिट गरेर पक्राउ गरेको थियो । साइकलमा सामान किन बोकेको भन्दै उनीहरूलाई कुटेर एसएसबीको खटिमास्थित क्याम्पमा लगेर थुनिएको थियो । एक सातासम्म यातना दिएर थुनेपछि मात्र उनीहरूलाई रिहा गरिएको थियो ।

साउन २१ गते दोधाराका दुर्कबहादुर घर्तीमगरलाई पनि कुटपिट गरी पक्राउ गरिएको थियो । नेपालमा उत्पादित परवल किन भारततिर लग्न थालेको भन्दै दुर्कबहादुरलाई कुटेर पक्राउ गरिएको थियो । उनलाई दुई दिनपछि रिहा गरे पनि दोधारा र चाँदनीको परवल भारत लग्न अहिले पनि प्रतिबन्ध लगाइएको छ । विगतका वर्षहरूमा भारतको दिल्ली, लखनउ, बरेलीलगायतका सहरमा जाने परवल यसपालि भने खेतमै कुहिन थालेको छ ।

केही समययता सीमाक्षेत्रमा एसएसबीले दुःख दिन थालेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुसुमाकर ढकाल पनि स्विकार्छन् । 'केही दिनयता अलि बढी ज्यादती भएको गुनासो आइरहेको छ,' प्रमुख जिल्ला अधिकारी ढकालले भने, 'यो राम्रो होइन ।' समस्या अझै बढे छिट्टै सीमा-बैठक बोलाएर छलफल गरिने उनले बताए ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5210.html]

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by