ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, August 26, 2009

डाक्टरले सुरु गरे फोहोरबाट मोहर बनाउन


सविता शर्मा

भदौ ९ गते । राजधानीको फोहोरलाई मोहर बनाउने चर्चा चलेको धेरै समय भइसक्दा पनि खासै काम भएको छैन तर निजी प्रयासमा कालीमाटीको तरकारी बजारबाट निस्कने फोहोरमैलाबाट प्राङ्गारिक मल बनाउने कार्य थालिएको छ ।

सानोतिनो काम गर्न नरुचाउने आम नेपाली प्रवृत्ति छ । त्यसमा पनि शिक्षित व्यक्तिले त फोहोरमैला छुनै हुन्न भन्ने मान्यतालाई तोड्दै प्राध्यापन पेसामा संलग्न डा. चन्द्रविक्रम बुढाथोकीले कीर्तिपुरको चोभारमा यस्तै फोहोरबाट मल बनाउन नेपाल कल्पवृक्ष नामक कारखाना चलाउनुभएको छ ।

कालिमाटी तरकारी बजारबाट निस्कने करिब १५ टन फोहोरबाट प्राङ्गारिक मल बनाउने सार्वजनिक निजी साझेदारीको उदाहरणको रुपमा गत वर्ष माघमा योजना सुरु गरिएको हो । यस कारखानाले मासिक १५ टन फोहोर खपत गर्ने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति, सहरी वातावरणका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम -यूएनडीपी) र नेपाल कल्पवृक्षबीच समझदारी भएको थियो ।

यस्तो फोहोरबाट मल बनाउने तरिका खासै जटिल छैन । नसड्ने खालका र मलका लागि अनुपयुक्त वस्तु हटाएर बाँकीलाई टुक्रा टुक्रा बनाएर काट्ने, पराल, तीतेपाती, केराको पात सबैको टुक्रा बनाएर मिसाएर प्रारम्भिक कच्चा पदार्थ तयार गर्ने बुढाथोकीले बताउनुभयो ।

मललाई चाँडो कुहाउन र मलिलो बनाउन बुढाथोकीले आफैंले पालेको बङ्गुरको मल ट्राइकोडर्मा भन्ने औषधि हाल्ने गर्नुहुन्छ । उहाँका अनुसार बङ्गुरको दिसालाई घोलेर बनाइएको सलरी प्रत्येक नौ इन्चको तहमा हाल्दै एउटा तहमा पुर्‍याएर जुटको बोराले छोपेपछि 'ट्राइकोडर्मा'ले चाँडै कुहाउने र बङ्गुरको मलले ताप दिने काम गर्छ ।

यसरी छोपेर राखेको मललाई सातदिनको फरकमा पल्टाउँदै आवश्यकता अनुसार सुख्खा भए पानी र बढी ओसिलो भए सुख्खा कुरा हालिदिनुपर्छ । यही क्रममा एक महिनामा एक थरिको मल बन्छ भने फेरि त्यही मलमा पानी, चुना, कालीमाटी मिसाइ चिसो बनाएर थप एकमहिनामा ट्रकोडर्मा मल बन्छ । सामान्य मलको प्रतिकिलो पन्ध्र रुपियाँ र ट्रकोडर्माको २० रुपियाँ पर्ने बुढाथोकी बताउनुहुन्छ ।

ट्राइकोडर्मा भनेको जमिनबाट निकालिने एक प्रकारको ढुसी भएको र मल बनाउने प्रक्रियामा यसले चाँडो कुहाउने काम गर्दछ । तरकारीको जरामा र डाँठमा लाग्ने गाँठे रोगलाई नियन्त्रण गर्ने उहाँको भनाइ छ । यो सरल र वातावरण मैत्री विधि भएको र यो प्रक्रियाबाट मल बनाउँदा दुर्गन्ध आउँदैन

यस्ता कार्यक्रमलाई विस्तार गर्न सके किसानहरूले सस्तो मूल्यमा प्राङ्गारिक मल पाउने, फोहोर व्यवस्थापन गर्न सजिलो, वातावरपण सफा राख्न पनि सहयोग पुग्नुका साथै रासायनिक मल प्रयोगमा कमी आउन सक्ने बढाथोकीको भनाइ छ ।

कल्पवृक्षका सञ्चालक चन्द्रविक्रम बुढाथोकीले आफैंले उत्पादन गरेको मल प्रयोग गरेर तरकारी खेती गर्नु भएको छ । फोहोरका कारण आक्रान्त हुने राजधानीमा फोहोरलाई मोहर बनाउने सानै प्रयासमा पनि कालिमाटी तरकारी बजारले त्यहाँबाट निस्किएको फोहोर कारखानासम्म नपुर्‍याउँदा तीन महिनादेखि तरकारी बजारको फोहोर त्यहाँ पुग्न सकेको छैन ।

तरकारी बजारले नै फोहोर ल्याइदिनु पर्ने सहमति भएको उहाँको दाबी छ । अहिलेसम्म पनि आफैंले फोहोर ल्याउने गरेको बुढाथोकीले बताउनुभयो तर कालिमाटी तरकारी बजार विकास समितिका महानिर्देशक तुलसी गौतमले भन्नुभयो-फोहोर दिने मात्र सहमति भएको हो पुर्‍याइदिने होइन । फोहोर नपाएपछि अहिले पूर्णरुपमा काम हुन सकेको छैन । पूर्णरुपले काम भए राम्रो नाफा पनि कमाउन सकिन्थ्यो बुढाथोकीले भन्नुभयो ।


Source:[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23425&cat_id=19]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by