ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, August 24, 2009

बंगलादेशमा सबैभन्दा बढी समुद्रपार निकासी वृद्धि

लीलावल्लभ घिमिरे;विराटनगर, भदौ ८ - पूर्वाञ्चलबाट समुद्रपारतर्फ भएको निकासीमा अघिल्लो आर्थिक वर्षको तुलनमा यसपालि १८ दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी यस वर्ष यहाँबाट बंगलादेश बढी सामान निकासी भएको छ ।
यस क्षेत्रबाट २०६४/६५ मा ६ अर्ब ३६ करोड ३३ लाख मूल्य बराबरका वस्तु समुद्रपार निकासी भएका थिए । २०६५/६६ मा निकासीमा वृद्धि भई ७ अर्ब ५२ करोड ९४ लाख मूल्यको निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख गौरवकुमार कार्कीलेे बताए । अघिल्लो वर्षको तुलनामा यो रकम १ अर्ब २० करोड बढी हो ।
पूर्वाञ्चल क्षेत्रबाट समुद्रपार निकासीका लागि दुई प्रमुख भन्सार -विराटनगर, काँकडभिट्टा) छन् । यस क्षेत्रबाट भारतबाहेक अन्य मुलुकमा दाल, गहुँ, खसी-बोका तथा रांगा-भैंसीको छाला, तयारी पोसाक, कटन टवेल, गहुँको पीठो, चिया, अलैंची, चाउचाउ, जडीबुटी, कर्कटपाता, हरियो तरकारी, तार तथा तारजाली, फलामे पाइप, नेपाली कागजबाट बनेका सामान, मह, तरकारीको बीउ, लुगाधुने साबुन, हस्तकलाका सामान आदि रहेका छन् ।
बंगलादेश, भुटान, पाकिस्तान, संयुक्त राज्य अमेरिका, मलेसिया, इटाली, जर्मनी, संयुक्त अधिराज्य, यूएई, श्रीलंका, टर्की, कुबेत आदि देशमा निकासी हुन्छ । अन्यमा थाइल्याइन्ड, मलेसिया, सिंगापुर, चेक रिपब्लिक, क्यानाडा, निदरल्यान्ड, दक्षिण कोरिया, हङकङ, चीन, अस्ट्रेलिया, इजिप्ट, ओमान, कतार, जोर्डन, जापान, साउदी अरेविया गरी करिब ४० मुलुकमा निकासी हुने गरेको प्रमुख कार्कील बताए ।

यस क्षेत्रको प्रमुख निकासी बजार बंगलादेश हो । २०६५/६६ मा बंगलादेशमा ३ अर्ब ३२ करोड ६५ लाख मूल्य बराबरको दाल निकासी भएको छ । १ अर्ब १७ करोड ५५ लाख मूल्यको गहुँ निकासी भयो ।
केही वर्षयता भुटानमा पनि निकासीमा वृद्धि हुँदै आएको छ । भुटानमा विशेषतः नेपालमा उत्पादित औद्योगिक वस्तु निकासी हुने गर्छ । निकासी हुने प्रमुख वस्तुहरूमा कर्कट पाता, नुडल्स, चिजबल, आल्मुनियम तार, तार जाली, फलामे पाइप, ट्रान्सर्फमर, पोलिथिन पाइप, सेन्थेटिक यार्न, भुजिया, लुगाधुने साबुन, हस्तकलाका सामान आदि छन् ।
यस क्षेत्रमा उत्पादन हुने वस्तुहरूको अर्को प्रमुख बजार अमेरिका हो । यस क्षेत्रबाट तयारी पोसाक, कटन टबेल, छाला, दाल, औद्योगिक कच्चा पदार्थ, गहुँ पीठो आदि गरी ४७ करोड ५६ लाख मूल्यका वस्तु निकासी भएको छ ।

समुद्रपारबाट यस क्षेत्रमा पैठारी हुने प्रमुख वस्तुमा सूति तथा सेन्थेटिक कपडा, कपर ब्रास, आल्मुनियम स्क्रेप, कपर रड, केमिकल्स, कोइला, जिप्सन, तोरी, क्रुड पाम आयल, पोलिथिन ग्रानुयल्स, अन्य औद्योगिक कच्चा पदार्थ, लुबि्रकेटिङ र फर्नेस आयल, स्टेनलेस स्टिल सिट, वायर र फलामे पाता, कम्प्युटर र कम्प्युटर पार्टस, मेसिनरी र मेसिनरी पार्टस, केमिकल्सलगायत रहेको कार्यालयले जनाएको छ ।

Source:[http://ekantipur.com/nepali/kolcom.php?&nid=211190]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by