ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, August 25, 2009

भारतले थप्यो सीमामा चार सय चौकी

बच्चु विक/नयाँ पत्रिका

कञ्चनपुर, ८ भदौ

सीमा सुरक्षा बल

(एसएसबी) ले ज्यादती गरेको भन्दै नेपालीले गुनासो गरिरहेका वेला भारतले करिब दस गुणा बढी चौकी थपेको छ । यसअघि नेपालको सीमावर्ती क्षेत्रमा ५० सुरक्षाचौकी रहेकोमा भारतले बढाएर चार सय ५० पुर्‍याएको छ ।

भारतले नेपाल र भुटानको सीमाक्षेत्रमा जम्माजम्मी पाँच सय ७८ चौकी स्थापना गरेको छ, जसमा चार सय ५० नेपालको सीमावर्ती क्षेत्रमा छन् । नेपाल र भारतबीच एक हजार सात सय ५१ किलोमिटर र भारत र भुटानबीच ६ सय ९९ किलोमिटर लामो सिमाना छ ।

सीमाको प्रत्येक दुईदेखि पाँच किलोमिटरको दूरीमा भारतले चौकी राखेको छ । एसएसबीका महानिर्देशक एसके भगतले चौकीसँगै ३५ बटालियन र ४१ हजार सुरक्षाकर्मी थपिएको जानकारी हिन्दुस्तान टाइम्सलाई दिएका छन् । 'नेपालमा आइएसआईको प्रभाव बढेका कारण भारतले चौकीको संख्या बढाएको हो,' पत्रिकाले सोमबार छापेको छ ।

भारतले यति धेरै सुरक्षाचौकी बढाए पनि नेपालले भने कुनै प्रतिक्रिया दिएको छैन । 'उनीहरूले आफ्नो भूमिमा चाहेजति सुरक्षाकर्मी राख्न सक्छन्, त्यसका लागि हाम्रो सहमति लिनुपर्दैन,' गृह प्रवक्ता रत्नराज पाण्डेले नयाँ पत्रिकासित भने, 'यसमा हामीले चिन्ता गर्नुपर्ने कारण केही छैन ।'

गृह मन्त्रालयले चिन्ता नगरे पनि एसएसबीको ज्यादती सहन बाध्य नेपाली भने चिन्तित छन् । चौकी र सुरक्षाकर्मी थपिएपछि सीमाक्षेत्रका नेपालीमाथि ज्यादती पनि बढेको छ । एसएसबीको ज्यादती सहन नसकेर कञ्चनपुरका स्थानीय बासिन्दाले शनिबार अन्तर्राष्ट्रिय नाकामा चक्काजामसमेत गरे ।

ज्यादतीको शृंखलामा एसएसबीले शुक्रबार साँझ भारतीय सहर बनबासाबाट फर्किंदै गरेका नौजना नेपालीलाई रोकेर दुव्र्यवहार गरेको थियो । एसएसबीले नेपालीका ६ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो ।

बिहीबार मात्रै एसएसबीले नेपाली मलामीहरूलाई दुव्र्यवहार गरेको थियो । नेपालबाट भारतीय भूमि हुँदै नेपाली भूमिमा ल्याएर महाकाली नदीको किनारमा दाहसंस्कार गर्न हिँडेका मलामीलाई एसएसबीले गाली गरेर फर्काएको थियो । महाकाली किनारमा शव ल्याउन भारतीय बाटो हुँदै आउन बाध्य नेपालीलाई अहिले मात्र एसएसबीले रोक लगाएको हो ।

केही दिनअघि महाकालीपारिको दोधारा र चाँदनी गाविसका लागि औषधि लग्दै गरेको कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयको गाडी पनि एसएसबीले फर्काएको थियो । शारदा बाँधको बाटो भएर औषधि लग्न नदिएपछि महाकाली झोलुंगेपुलबाट बोकेर दोधारा र चाँदनीमा औषधि पुर्‍याउनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासक शिवदत्त भट्टले बताए । 'हाम्रो सरकारको औषधि हो, हाम्रा जनताका लागि हो भनेर अनुरोध गर्दा पनि उनीहरूले धम्की दिएर फिर्ता पठाए,' भट्टले नयाँ पत्रिकासित भने ।

त्यस्तै पाँच दिनअघि भारतीय रुपैयाँ बोकेको भनेर दुईजना नेपालीलाई एसएसबीले पक्राउ गरेको थियो । धेरै भारतीय रुपैयाँ किन बोकेको भन्दै बझाङका नरबहादुर बोहरा र देवबहादुर रोकायलाई तीन दिनसम्म थुनेर छाडिएको थियो । तर, उनीहरूबाट नियन्त्रणमा लिएको नौ लाख ८० हजार रुपैयाँ अहिलेसम्म फिर्ता भएको छैन ।

गड्डाचौकी, ब्रह्मदेव-टनकपुरदेखि दक्षिण दोधाराको मेलाघाट नाकासम्म एसएसबीले नेपालीलाई सताइरहेको छ । ब्रह्मदेव नाकाबाट दुई किलोग्रामभन्दा बढी कुनै पनि सामान नल्याउन एसएसबीले उर्दी नै जारी गरेपछि कञ्चनपुर उद्योग वाणिज्य संघले विरोध गरेको छ, तर प्रशासन अहिलेसम्म मौन छ ।

एसएसबीका सुरक्षाकर्मीहरूले मदिरा सेवन गरी नेपालमा आएर नेपालीलाई नै कुटेपछि स्थानीय बासिन्दाले सामूहिक प्रतिकार गरेका थिए । सो घटनापछि ब्रह्मदेव नाकामा एसएसबीले हिँडडुल गर्नसमेत प्रतिबन्धजस्तै लगाएको छ ।

त्यस्तै महाकालीपारिको दोधारा र चाँदनीमा त एसएसबीले नेपालमै आएर कुटपिट गर्ने र विरोध गरे गिरफ्तारसमेत गर्दै आएको छ । साउनको अन्तिम साता चाँदनी गाविस-९ का हरि भण्डारी, रनबहादुर बुढासहित ६ जनालाई एसएसबीले नेपालमै आएर कुटपिट गर्‍यो । विनासित्तै कुटेकोमा विरोध गरेपछि उनीहरूलाई पक्राउ गरेर भारततिर लगिएको थियो । तीन दिनपछि नेपाल प्रहरीको टोली एसएसबी क्याम्पमा गएर कुरा गरेपछि मात्र उनीहरूलाई छाडिएको थियो ।

साउनको तेस्रो साता दोधारा-४ का लोकबहादुर थापा, कल्लु सुनार, वीरेन सार्की र महेश चन्दलाई पनि एसएसबीले कुटपिट गरेर पक्राउ गरेको थियो । साइकलमा सामान किन बोकेको भन्दै उनीहरूलाई कुटेर एसएसबीको खटिमास्थित क्याम्पमा लगेर थुनिएको थियो । एक सातासम्म यातना दिएर थुनेपछि मात्र उनीहरूलाई रिहा गरिएको थियो ।

साउन २१ गते दोधाराका दुर्कबहादुर घर्तीमगरलाई पनि कुटपिट गरी पक्राउ गरिएको थियो । नेपालमा उत्पादित परवल किन भारततिर लग्न थालेको भन्दै दुर्कबहादुरलाई कुटेर पक्राउ गरिएको थियो । उनलाई दुई दिनपछि रिहा गरे पनि दोधारा र चाँदनीको परवल भारत लग्न अहिले पनि प्रतिबन्ध लगाइएको छ । विगतका वर्षहरूमा भारतको दिल्ली, लखनउ, बरेलीलगायतका सहरमा जाने परवल यसपालि भने खेतमै कुहिन थालेको छ ।

केही समययता सीमाक्षेत्रमा एसएसबीले दुःख दिन थालेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुसुमाकर ढकाल पनि स्विकार्छन् । 'केही दिनयता अलि बढी ज्यादती भएको गुनासो आइरहेको छ,' प्रमुख जिल्ला अधिकारी ढकालले भने, 'यो राम्रो होइन ।' समस्या अझै बढे छिट्टै सीमा-बैठक बोलाएर छलफल गरिने उनले बताए ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5210.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by