ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, August 27, 2009

हतियारधारी शिक्षक छुटाउन दलहरूको दबाब

विनोद न्यौपाने

काभ्रे, ९ भदौ हतियारसहित पक्राउ परेका दुई शिक्षकलाई छुटाउन जिल्लाका राजनीतिक दलहरूले जिल्ला प्रशासन र प्रहरीलाई दबाब दिएका छन् । दबाब दिनेमा विभिन्न दलका स्थानीय नेतादेखि सभासद्सम्म छन् ।

२६ जेठमा हतियारसहित पक्राउ परेका काभ्रेको गोठपानीस्थित सरस्वती उच्च माविका शिक्षकद्वय रुद्र गौतम र हेमप्रसाद तिमल्सिनालाई सामान्य जरिवानामा छुटाउन दलहरू सक्रिय रहेका हुन् । बाटोको निहुँमा गाउँलेसँग झगडा परेपछि शिक्षकद्वयले पेस्तोल देखाई गाउँलेलाई धम्की दिएका थिए । गाउँलेले दिएको जानकारीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी २६ जेठदेखि थुनामा राखेको छ ।

उनीहरूमाथि हतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएपछि माओवादी, कांग्रेस, एमालेलगायतका दलले प्रशासन र प्रहरीलाई दबाब दिइरहेका छन् । माओवादी सभासद्द्वय सूर्यमान दोङ र अक्कलबहादुर थिङसमेत उनीहरूलाई छुटाउन सक्रिय बनेका छन् । सभासद्द्वयसहित अन्य दलका नेताहरू सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले शिक्षकद्वयलाई सामान्य जरिवानामा छुटाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपानेलाई आग्रह गरेका थिए । 'उनीहरूलाई छुटाउन हामी साक्षी बस्छौँ, सामान्य जरिवानामा छाडिदिनुपर्‍यो,' सभासद् तथा दलका नेताहरूको भनाइ उद्धृत गर्दै प्रशासनस्रोतले भन्यो ।

सभासद्द्वयसहित कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं, एमालेका जिल्ला कमिटी सदस्य मुकुन्द गौतम र मालेका जिल्ला नेता रणबहादुर बोहोरा जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपानेलाई शिक्षकद्वय निर्दोष रहेको भन्दै छुटाउन आग्रह गरेको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपानेले भने मुद्दा चलाइसकिएको व्यक्तिलाई सामान्य जरिवानामा रिहा गर्न नसकिने प्रतिक्रिया दिएको बैठकका एक सहभागीले जानकारी दिए । उनका अनुसार, न्यौपानेले शिक्षकद्वयलाई कानुनअनुसार कारबाही-प्रक्रियामा लगिएको र त्यसमा सहयोग गर्न सभासद् तथा दलका नेतालाई आग्रह गरेका थिए । सभासद्द्वय तथा दलका नेताले भने जसरी पनि उनीहरूलाई छुटाइदिन आग्रह गरेको स्रोतले बतायो । प्रजिअ न्यौपानेले दलहरूले मुद्दामा चाँडो निर्णय गर्न आग्रह गरेको प्रतिक्रिया दिए । 'उहाँहरूले चाँडो फैसला गर्नुपर्‍यो भन्नुभयो,' न्यौपानेले नयाँ पत्रिकासँग भने, 'मैले कानुनअनुसार हुन्छ भनेर पठाएँ ।' शिक्षकद्वय कार्यरत विद्यालयले यसअघि नै उनीहरूलाई छुटाउन दबाबस्वरूप प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रहरी स्रोतका अनुसार पनि स्थानीय राजनीतिक दलका नेता, सभासद् तथा माओवादीका केन्द्रीय नेताले समेत शिक्षकद्वयलाई छुटाउन पटक-पटक आग्रह गरेका छन् । 'उनीहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा दबाब दिइरहेका छन्,' प्रहरीस्रोतले भन्यो, 'तर, प्रशासनमा मुद्दा दायर भइसकेकाले प्रहरीले केही गर्नसक्ने अवस्था छैन ।'

शिक्षकद्वयले माओवादी कार्यकर्ता रमेश गौतमले हतियार राखिदिन आग्रह गरेपछि आफूहरूले हतियार राखेको बयान प्रहरीलाई दिएका छन् । गौतमलाई भने प्रहरीले अहिलेसम्म पक्रन सकेको छैन ।

Source :[http://www.nayapatrika.com/newsportal/countryside/5277.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by