ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, August 27, 2009

तयारी पोसाक उद्योगमा सकारात्मक संकेत

भदौ ११ - आर्थिक मन्दीको गति कम भएको संकेतसँगै युरोप, अमेरिकालगायत मुलुकबाट नेपाली तयारी पोसाकबारे चासो बढेको छ । साना परिमाणमा अर्डर आउने क्रमसमेत सुरु भएको व्यवसायीले बताए ।

नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकाबाट आएको चासोलाई व्यवसायीले महत्त्वपूर्ण रूपमा लिएका छन् । पछिल्लो समय महत्त्वपूर्ण बजारका रूपमा देखिएको भारतबाट समेत राम्रो संकेत आएको छ । 'अमेरिकी खरिदकर्ताबाट निकै चासो आउन थालेको छ,' तयारी पोसाक उद्योग संघका अध्यक्ष प्रशान्त पोखरेलले भने । मन्दीको गति कम भएको र नेपाली तयारी पोसाकका लागि सहुलियतपूण्र्ा प्रवेश दिने सम्बन्धी विधेयक अमेरिकी सिनेटमा प्रस्तुत भएकाले यस्तो संकेत आएको व्यवसायी बताउँछन् ।

चासो र अर्डर आउने क्रम बढे पनि व्यवसायीमा उति साह्रो उत्साह भने छैन । 'पहिलो कुरा त अझै धेरै अर्डर आउनुपर्छ,' पोखरेलले भने, 'तोकिएको समयमा तयारी पोसाक पठाउन सक्ने अवस्थामा पनि हामी हुनुपर्छ ।' 'खरिदकर्ताहरू पनि हिच्किचाइरहेका छन् र नेपालको राजनीतिक अवस्थाका कारण हामी पनि तत्काल ठूलो परिमाणमा अर्डर लिइहाल्न सक्ने अवस्थामा छैनौं,' संघका उपाध्यक्ष उदयराज पाण्डेले भने । खरिदकर्ताले अर्डरभन्दा धेरै चासो देखाइरहेको पाण्डेले बताए । अहिले मुलुकका ७/८ वटा तयारी पोसाक उद्योग मात्र सञ्चालनमा छन् । तर धेरै अर्डर आएमा छोटो समयमै उत्पादन सुरु गर्न सक्ने अवस्थामा झन्डै तीन दर्जन उद्योग रहेको व्यवसायी बताउँछन् । अमेरिकामा नेपाली तयारी पोसाकको निकासी सन् २००९ को पहिलो ७ महिनामा गत वर्षभन्दा ५६ प्रतिशतले घटेको छ । संघको तथ्यांकअनुसार यो अवधिमा ४१ लाख अमेरिकी डलर बराबरको तयारी पोसाक अमेरिका निकासी भएको थियो । गत वर्ष यसै अवधिमा यो ९४ लाख अमेरिकी डलर थियो । गत जुलाईमा ८ प्रतिशतले निकासी बढे पनि बाँकी महिना दोहोरो अंकले निकासीमा गिरावट आएको थियो । व्यवसायीहरू भारततर्फको निकासी बढ्ने आशामा पनि छन् । भारतलाई नेपाली तयारी पोसाकमा लगाउँदै आएको अतिरिक्त ४ प्रतिशत शुल्क हटाउन हालै प्रधानमन्त्री माधवकुमार नेपालले आग्रह गरेका थिए । 'यो विषयमा भारतका वाणिज्य सचिवले नेपाली वाणिज्य सचिवलाई आश्वस्त पारेका छन्,' पोखरेलले भने । केही वर्षयता भारत पनि ठूलो खरिदकर्ताका रूपमा देखिएको छ । भारतमा हुने निकासी झन्डै अमेरिकाको हाराहारीमा पुगेको व्यवसायी बताउँछन्् । गत आर्थिक वर्ष ६६ करोड ७६ लाख रुपैयाँ बराबरको तयारी पोसाक भारत निकासी भएको थियो । अघिल्लो वर्ष यो ४७ करोड ८१ लाख रुपैयाँ मात्र थियो । भारतीय बजारमा नेपाली उत्पादनले बंगलादेशी तयारी पोसाकसँग प्रतिस्पर्धा गरिरहेको छ । ४ प्रतिशत अतिरिक्त शुल्क हटेमा नेपाली उत्पादन पनि उत्तिकै सस्तो हुने उनले बताए ।

Source:[http://www.ekantipur.com/nepali/kolmain.php?&nid=211691]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by