ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 2, 2010

आजको कार्टून !

एमाले अध्यक्षको भनाईप्रति नेपाली कांग्रेसको आपत्ति

'एकअर्कालाई दोष नलगाऔँ'-

काठमाडौँ, पुस १८ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय संस्कृतिको विपरीत निराधार आरोप लगाएको भन्दै नेपाली कांग्रेस संसदीय दलको बैठकले आपत्ति जनाएको छ। बैठकले दलहरुको सहमतिले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु पर्ने र निर्धारित समयमा संविधान बनाउनु पर्ने चुनौति रहेको बेला एक अर्कालाई दोष नलगाउन आग्रह पनि गरेको छ। एमाले अध्यक्ष खनालले राजनीतिक सहमतिका लागि कांग्रेस बाधक भएको भन्ने अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै कांग्रेस सभासद् नवीन्द्रराज जोशीले जानकारी दिए।
बैठकले आफ्ना कार्यकर्ताहरुमाथि माओवादीबाट लगातार भइरहेको आक्रमण, जग्गा कब्जाको विरोध गर्दै विगतका सहमति र सम्झौता पालन गर्ने विषयमा गम्भीर बन्न एकीकृत माओवादीलाई आग्रह गर्ने निर्णय गरेको छ।

विन्डोज सेभेन नेपालीमा


सुरेन्द्र पौडेल-
नेपाली भाषामा कम्प्युटर चलाउन चाहनेका लागि आगामी वैशाख महिना विशेष रहनेछ। माइक्रोसफ्टले वैशाख महिनालाई विशेष बनाउन लागेको हो। वैशाखबाट कम्प्युटर सञ्चालन प्रणाली (ओएस) विन्डोज सेभेन अब प्रयोगकर्ताले नेपाली भाषामा चलाउन पाउनेछन्, त्यो पनि निशुल्क। विन्डोज सेभेनको अंग्रेजी संस्करणसम्म पहुँच नभएका एक्सपी र भिस्टाका उपभोक्तालाई समेत यसबाट थप राहत मिल्नेछ।

नेपाली विन्डोज सेभेनको विकास कार्य अन्तिम चरणमा पुगेको छ। ‘वैशाख महिनामा प्रयोगकर्तामाझ ल्याउनेगरी हामी तयारी गर्दैछौं,' माइक्रोसफ्ट नेपालका प्रमुख एलन वैलोचन तुलाधर भन्छन्। माइक्रोसफ्टले यसअघि बजारमा ल्याएको ओएस भिस्टाको पनि नेपाली संस्करण बनाएको थियो।

राजधानीमा टायर जुलुस

काठमाडौं, पुस १८- 

जुलुस र बन्दका बेला बाल्न प्रयोग हुँदै आएको टायर शनिबार विरोधका प्रतीकका रुपमा गुडाउन प्रयोग भयो। निर्धारित मितिमै संविधान लेख्नुपर्ने माग गर्दै 'संविधान निर्माणका लागि राष्ट्रव्यापी युवा दबाब' अभियानले शनिबार टायर जुलुस निकालेको छ। अभियानले नयाँ बानेश्वरदेखि बबरमहलसम्म टायर सडकमा गुडाएर विरोध प्रदर्शन गरेको हो। अभियानका संयोजक दीपक भट्टराईले टायरबाट गुड्ने सवारी साधनलाई बन्दका नाममा गुड्न नदिने र टायर बाल्ने परम्पराको साङ्केतिक विरोध गर्नका लागि आफूहरुले टायर जुलुस निकालेको बताए। अभियानका सदस्यहरुले निर्धारित समयमै संविधान लेख्नुपर्ने, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्नेलगायतका प्लेकार्ड बोकेका थिए।

जनमत संग्रह नगरी संघीयतामा जाने निर्णय गलत: कोइराला



काठमाडौ, २०६६ पुस १८ - 

उपप्रधानमन्त्री सुजाता कोइरालाले जनमत संग्रह नगरी संघीयतामा जाने निर्णय गरेर गल्ती गरिएको बताएकी छन् । उनले संघीयताबारे जनताको इच्छा, चाहना बुझ्न जनमत संग्रह गर्नुपर्ने पनि बताइन । अझै पनि समय बाँकी भएकाले जनमतको आधारमा संघीयतामा जानुपर्ने उनले बताइन । जनता मुलुकमा कस्तो खालको संघीयता चाहन्छन् भन्ने कुरा चार पाँचजना नेता या दुई-तीनवटा पार्टीले गरेर नहुने बताउदै जनमत संग्रह प्रजातान्त्रिक संस्कृति भएकाले संघीयताबारे जनमत संग्रह गराउन सकिने उनले बताइन ।

अनमिनले माओवादी हिंसाबारे केही बोलेनः कोइराला


सिरहा, २०६६ पुस १८ - 

कांग्रेस कार्यवाहक सभापति शुशिल कोइरालाले माओवादीले गरिरहेको हत्या हिंसा बारे अनमिनले केही नबोलेर एकपक्षीय काम गरिरहेको आरोप लगाएका छन् ।




उनले सात राजीनितक दलसंग गरेको बाह्र बुंदे सम्झदारी र अनमिन तथा संयुक्त राष्ट्रसंघको रोहवरमा भएको बिस्तृत शान्ति सम्झौता पालना नगरेर माओवादीले शान्ति प्रक्रिया ओझेलमा पारेको पनि बताए ।



नेपाली काग्रेस सिरहाले आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्न शनिवार सिरहा सदरमुकाम आएका कोइरालाले प्रेस यूनियन सिरहाले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीले अहिले पनि मुलुकमा हत्या, हिंसा जारी राखेको भन्दै आपत्ति जनाए ।


माओवादीले जनतालाई तर्साउन र सत्ता कब्जा गर्न कुनै बेला राष्ट्रपति बिरुद्धमा संकल्प प्रस्ताव र कुनै बेला नागरिक सर्वोच्चताको कुरा गरेको आरोप लगाउदै उनले वाईसीएल र शिविरमा भएका माओवादीका जनमुक्ति सेनाले समेत श्रृंखलाबद्ध हिंसात्मक घटना गराएको बताए ।


उनले न्याय पाईसकेका नेपाली सेनाका सेनानी निरञ्जन बस्नेतलाई शान्ति सेनाबाट फिर्ता पठाइएको भन्दै आपत्ति जनाए ।

यौनकर्मी महिला कस्ता-कस्ता ?


अर्जुन पौडेल

नयाँ पत्रिका काठमाडौं, १७ पुस
यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गएको पछिल्लो एक अध्ययनले देखाएको छ । फेमेली हेल्थ इन्टरनेसनलले २००९ मा तराईका २२ जिल्लाका ६ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले २६ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो ।अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।यौनव्यवसायमा संलग्नमध्ये २८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ५५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए ।

पश्चिम-सेतीको म्याद दसौँपटक थप्न सरकारलाई दबाब



काठमाडौं, १५ पुस : नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना पश्चिम सेतीले नवौँपटक पनि वित्तीय स्रोतको व्यवस्थापन 'फाइनान्सियल क्लोजर' गर्न नकेपछि दसौँपटक लाइसेन्सको म्याद थप्न सरकारलाई दबाब दिएको छ । तोकिएको समयमा वित्तीय स्रोत जुटाउन नसकेपछि परियोजनाले पटक-पटक लाइसेन्स नवीकरण गराउँदै आएको छ । पछिल्लोपटक गरिएको संशोधित सम्झौता-पत्रअनुसार बिहीबार -३१ डिसेम्बर २००९) भित्र परियोजनाका लगानीकर्ताले 'फाइनान्सियल क्लोजर'को विवरण सरकारलाई बुझाउनुपर्ने थियो । तर, चिनियाँ कम्पनी सिमेकले लगानी बढाएको भन्दै परियोजनाले लाइसेन्स नवीकरण गर्न दबाब सिर्जना गरेको छ । तर, नवौँपटक थपिएको लाइसेन्सको म्याद सकिँदा पनि परियोजनाले कुल लगानी जुटाउन सकेको छैन ।

शिथिल बने सशस्त्र समूह



नयाँ पत्रिका/काठमाडौं, १७ पुस

सरकारले विशेष सुरक्षा योजना लागू गरेर कारबाही बढाएपछि मधेसका अधिकांश सशस्त्र समूह शिथिल देखिएका छन् । दुई/तीनबाहेक अन्य सशस्त्र समूहको गतिविधि शून्य छ ।
सरकारले तराईमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै १४ साउनमा विशेष सुरक्षा योजना लागू गरेको थियो । यसको लक्ष्य राजनीतिक आडमा तराईमा भइरहेको लुटपाट, चन्दा र हत्या रोक्नु थियो । यो बीचमा प्रहरीले कतिपय सशस्त्र समूहका नेता तथा दर्जनौँ कार्यकर्तालाई गिरफ्तारसमेत गर्‍यो ।

तीन वर्षमा बाह्र अर्ब खर्चिए गैससले


नयाँ पत्रिका/काठमाडौं, १७ पुस


गत तीन वर्षको अवधिमा विदेशी दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा पहुँच रहेका झन्डै १५ सय गैरसरकारी संघसंस्थाले १२ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन् । तर, यति ठूलो रकम खर्च गर्ने गैससहरूको आय-व्यय विवरण पारदर्शी छैन । गैरसरकारी संस्थाले गर्ने काम र खर्चको अनुगमन गर्ने जिम्मेवारी पाएको समाजकल्याण परिषद्को कमजोरीका कारण ती संघसंस्थालाई जथाभावी रूपमा खर्च गर्ने बाटो खुला भएको हो । परिषद्ले हालसम्म सशक्त अनुगमन गर्न नसक्दा गैरसरकारी संघसंस्था अपारदर्शी बनेका छन् । समाजकल्याण परिषद्का सदस्यसचिव छेवाङ नामगेल लामा पनि गैरसरकारी संघसंस्थाले अपारदर्शी रूपमा काम गरिरहेको स्विकार्छन् । 'अब सशक्त अनुगमन गरी उनीहरूको आय-व्यय पारदर्शी बनाइनेछ,' उनी भन्छन् ।

Wednesday, December 30, 2009

आजको कार्टून !


रक्तचन्दन अब धुलो पारेर तस्करी


ध्रुव दंगाल/सिन्धुपाल्चोक (नयाँ पत्रिका)

चौर नै भरिने गरी रक्तचन्दनका गोलिया कहिले थानकोटमा बरामद हुन्थे, कहिले सिंहदरबारमा देखिन्थे । तर, अब धेरै घाटा लागेपछि तस्करले पनि बुद्धि पुर्‍याए, गोलिया काठ होइन, अब धुलो बनाएर रक्तचन्दन तस्करी सुरु भएको छ । चोरीका विभिन्न तरिका सार्वजनिक हुँदै गएपछि तस्करले नयाँ अभ्यास अपनाएका हुन् । कन्टेनर र अन्य सवारीसाधनमा लुकाएर चीन पुर्‍याइने प्रतिबन्धित रक्तचन्दन अब धुलो बनाएर लगिन थालिएको छ । प्रहरीले बलेरो जिपबाट १५ किलो रक्तचन्दन धुलो बरामद गरेपछि यो रहस्योद्घाटन भएको हो । बा६च २७८७ बलेरो जिपबाट सोमबार राति यो धुलो बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेले राति नौ बजे ढाटमा बलेरो रोकेर खानतालसी लिँदा बोराभित्र रक्तचन्दनको धुलो भेटिएको सिन्धुपाल्चोकका डिएसपी प्रमोदकुमार खरेलले बताए । प्रहरीले बलेरो तातोपानी-९ घर भएका त्यसका चालक निमदोर्जे शेर्पालाई नियन्त्रणमा लिएको छ ।

रुवान्डाबाट केही सिकौँ हामी पनि

विश्वास हमाल/तान्जानिया (मेरो संसार)

१९९४ को नरसंहारपछि रुवान्डाले अति नै विकास गरेको रहेछ। सबैभन्दा मुख्य कुरा यहाँ फेरि पनि त्यस्तै इतिहास नदोहोरियोस् भनेर प्रत्येक नागरिकलाई सजग र सचेत बनाइएको रहेछ। कानुन अति नै कडा छ। अनी कार्यान्वयन पनि उति नै कडा छ। यहाँको सरकारले कडा रुपमा विदेशी शक्तिरास्ट्रलाई भनेको रहेछ- सहयोगको भावनाले आउँछौ भने स्वागत छ, होइन भने हाम्रो देश हामी आफै बनाउँदै छौ, बिथोल्न नआऊ। सरकारले भ्रष्टाचार कम गर्नको लागि पनि अति नै कडा कानुन ल्याएको रहेछ। मैले भेटेका प्रत्येक मानिसहरु रुवाण्डेली भएकोमा गर्व गर्छन्। अनि छिमेकी मुलुकहरु युगान्डा र तान्जानियामा जस्तो सरकारको आलोचना गर्दैनन्। सरकारी पैसामा हाम्रो देशमा जस्तो नेताहरुको राज छैन। नेता, मन्त्री अनि वरिष्ठ सरकारी कर्मचारीहरुले ५ वर्ष अगाडि नै महंगा गाडी चढ्न छाडेर सामान्य गाडी चढ्छन्।




अमेरिकामा तयारी पोसाक निकासी शून्य

विज्ञान अधिकारी/काठमाडौं (नागरिक)- 

नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकातर्फको निकासी दुई महिनादेखि बन्द भएको छ। एक दशकभन्दा बढीको पोसाकको इतिहासमा यस्तो घटना पहिलो पटक भएको हो। कुनै समय १६ करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निकासी हुने अमेरिकामा गत अक्टोबर र नोभेम्बरमा निकासी भएको छैन। निकासीको मात्रा उल्लेख गर्ने परिमाणमा नभएपछि तयारी पोसाक उद्योग संघले तथ्यांकसमेत राखेको छैन्। संघले अक्टोबर र नोभेम्बरमा निकासीको तथ्यांक नआए पछि सार्वजनिक नगरेको हो। सन् २००० मा अमेरिकातर्फ सबैभन्दा बढी १६ करोड अमेरिकी डलर बरारबरको तयारी पोसाक निकासी भएको थियो। 'यो अवधिमा कुनै माग नआएकाले यस्तो अवस्था आएको हो,' संघका प्रथम उपाध्यक्ष उदयराज पाण्डेले भने, 'तयारी पोसाकको कुनै 'सिपमेन्ट' नभएकाले तथ्यांक आउन नसकेको हो।' उनका अनुसार अमेरिका निकासी हुने तयारी पोसाक उद्योग अहिले लगभग छैनन्।

Tuesday, December 29, 2009

आजको कार्टून !


पश्चिम सेतीमा चिनियाँ लगानीको सम्झौता

दिनेश कार्की (नागरिक)- 

पश्चिम सेती जलविद्युत आयोजनामा चीन सरकारले गर्ने भनेको १५ प्रतिशत लगानी बढाएर आधाभन्दा बढी पुर्‍याउने भएको छ। चिनियाँ वाणिज्य मन्त्रालयअन्तर्गतको कम्पनी चाइना नेसनल मेसिनरी एन्ड इक्विपमेन्ट इम्पोर्ट एन्ड एक्सपोर्ट कर्पोरेसन (सिमेक)ले पश्चिम सेतीमा ५१ प्रतिशत लगानी गर्ने समझदारीपत्रमा सोमबार बेइजिङमा हस्ताक्षर भएको छ। यो चीनको सरकारी तवरबाट लगानी गर्ने ठूलो र शक्तिशाली कम्पनी हो। ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत परियोजनामा ५१ प्रतिशत लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा सिमेकका अध्यक्ष जिया झिक्याङ्ग र वेस्ट सेती हाइड्रो लिमिटेडका अध्यक्ष हिमालयबहादुर पाण्डेले संयुक्त हस्ताक्षर गरेका छन्। परियोजनामा यसअघि सिमेकको १५ प्रतिशत स्वामित्व पुँजी रहने भनिएको थियो। बेइजिङस्थित नेपाली दूतावासमा चीन भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा हस्ताक्षर भएको अध्यक्ष पाण्डेले जनाएका छन्। चीन भ्रमणमा रहेका अर्थमन्त्री, ऊर्जामन्त्री, परराष्ट्रमन्त्री र उच्च सरकारी अधिकारीको पनि उपस्थित थियो। सिमेकले परियोजनामा १५ अर्ब रूपैयाँ (२० करोड डलर) लगानी गर्ने भएको हो। पाण्डेले भने, 'अब परियोजना बन्ने विश्वास अत्याधिक बढेको छ।' यसबारे जनवरी अन्त्य वा फेब्रुअरी सुरुमा अन्तिम सम्झौता हुने उनले जानकारी दिए। 

चिनियाँ गाडी नेपालमा ल्याउन समझदारी

नारायण सापकोटा/बेइजिङ (नागरिक)- 

जापानी प्रविधिमा चीनमा तयार पारिएका गाडी नेपालमा बिक्री गर्न बेइजिङ अटो वर्क्स र आइएमइ समूहबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा आईएमइ समूहका अध्यक्ष चन्द्र ढकाल र चिनियाँ कम्पनी अन्तराष्ट्रिय विकास विभागका जनरल मेनेजर वागं ह्यापेंगले बेइजिङमा हस्ताक्षर गरेका छन्। भारतीय ठूला गाडी ट्रक, ट्रिपरको बिक्री गर्दै आएको आइएमईले चीनका ठूला साना दुबै गाडी नेपाल लैजाने जनाएको छ। केही दिनभित्र गृहकार्य गरी गाडी नेपाल लगिने ढकालले नागरिकलाई बताए। जापानी प्रविधिबाट बनेको पिकअप, भ्यान, माइक्रोबस,जिप, एम्बुलेन्स आइएमइले नेपाल लैजाने जनाएको छ। जापानी भन्दा चिनियाँ गाडी सस्तो हुने भएकोले चिनियाँ गाडीले बजार लिने विश्वास ढकालले व्यक्त गरे। चीनमा विएडब्लु दोस्रो ठूलो कम्पनी हो। यसमा सरकारको स्वामित्व छ। सन् १९५८ देखि यो कम्पनी चिनमा संचालनमा छ। सन् २००७ देखि यो कम्पनीले विदेशमा गाडी निर्यात गर्न थालेको हो।

संसदमा संविधानको सातौं संशोधन प्रस्तुत/संशोधन परमानन्द झा कै लागिः कानुन मन्त्री

काठमाडौं (कान्तिपुर) - 

कानुन मन्त्री प्रेमबहादुर सिंहले पद निस्कृय रहेका उपराष्ट्रपति परमानन्द झाले सपथ लिने आशयले नै संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरिएको बताएका छन् । मधेसी जनअधिकार फोरमका सभासद जेपी गुप्ताले सपथ सम्बन्धी व्यवस्थाको संशोधन गर्न संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावले पद निस्कृय रहेका झालाई सपथ लिएपछि सक्रिय हुन दिन्छ वा दिन्न भन्ने जवाफ माग गरेपछि कानुन मन्त्री सिंहले उक्त कुरा बताए । 'परमानन्द झा अहिले सपथ ग्रहण नगरिएको उपराष्ट्रपतिको हैसियतमा हुनुहुन्छ, पारित भएपछि उपराष्ट्रपतिले सपथ लिने आशयका साथ यो बिद्येयक ल्याइएको हो' कानुनमन्त्री सिंहले भने । उनले विधेयक पारित भएपछि यसलाई अविलम्ब कार्यन्वयनमा लगिने उल्लेख गर्दै संसदले विद्येयक पास गरेर मार्ग प्रशस्त गर्ने अपेक्षा सरकारले गरेको समेत बताए । यसअघि गुप्ताले विद्यमान भाषा सम्बन्धी संविधानको संशोधन बिद्येयकले उपराष्ट्रपतिको निस्कृय पदलाई क्रियाशील गराउने नदेखिने हुँदा त्यसैलाई तत्काल फिर्ता लिइ नयाँ विधेयक प्रस्तुत गर्न आग्रह गरेका थिए । 

भारतीय सेनाप्रमुखको भनाई पछाडि लाग्न जरुरी छैनः शान्तिमन्त्री

एक सातापछि अयोग्य लडाकू निकालिने
दिनेश गौतम/बाँके (नागरिक)- 

शान्तिमन्त्री रकम चेम्जोङले माओवादी अध्यक्ष प्रचण्डलाई भारतीय सेना प्रमुख दीपक कपुरले नेपालमा सेना समायोजन गर्नु हुँदैन भनी दिएको अभिव्यक्तिको पछि नलाग्न आग्रह गरेका छन्। "कसले के भन्छ भन्दा पनि हामी के गर्छौं , त्यो महत्वपूर्ण हुन्छ,"मन्त्री चेम्जोङले थपे, " कपुरको भनाईले माओवादी सेना समायोजनमा कुनै प्रभाव पार्दैन। अरुको भनाईको पछि लाग्नु ठीक होइन।" प्रधानसेनापति छत्रमानसिंह गुरुङसितको भेटमा कपुरले नेपाली सेनामा माओवादी सेना समायोजन गर्न नहुने अभिव्यक्ति दिएको समाचार आएपछि माओवादी अध्यक्ष प्रचण्डले नयाँ बानेश्वरमा भएको सभामा आक्रोश पोखेका थिए। उनले संसदमा पनि यसबारे सरकारको आधिकारिक धारणाको माग गरेका थिए। कपुरको भनाईबारे सरकारका मन्त्रीबाट आएको यो पहिलो अभिव्यक्ति हो। मन्त्री चेम्जोङले चार महिनाभित्र सेना समायोजन गरिने जानकारी दिँदै माओवादी सेनालाई क्षमता अनुरुप केहीलाई नेपाली सेना, सशस्त्र तथा जनपदमा समायोजन गर्न सकिने बताए।

एक सातापछि नै माओवादीका अयोग्य लडाकुको बहिर्गमन कार्य शुरु हुने उनले बताए। उनले अयोग्य लडाकुलाई बाटो खर्च दिएर पठाउने तयारी भएको जानकारी दिए। सिन्धुलीको सिन्धुलीस्थित दुधौली शिविरबाट माओवादी अयोग्य लडाकुको यहिं पुस २३ गतेदेखि बहिर्गमन कार्य शुरु गरिने बताउँदै त्यसका लागि माओवादीलाई सहयोग गर्न उनले आग्रह गरे। नेपालगन्जमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चेम्जोङले एक महिनाभित्र सम्पुर्ण अयोग्य लडाकुको बहिर्गमन कार्य सकिने धारणा ब्यक्त गरे। अनमिनले माओवादीका सात मुख्य शिविरमा बस्दै आएका ४ हजार ८ जनालाई लडाकुलाई अयोग्य भएको ठहर गरेको थियो। 

Monday, December 28, 2009

आजको कार्टून !


तारे होटलमा स्वदेशी तरकारी/ उत्पादन बढेपछि मूल्य घट्यो

काठमाडौ (कान्तिपुर)-

उपत्यकाका ठूला होटलको तरकारी माग स्वदेशी उत्पादनबाटै पूरा हुन थालेको छ । कृषकहरू हाइबि्रड तरकारी खेतीतर्फ आकषिर्त भएपछि होटलले तोकेको मापदण्डअनुरूपको उत्पादन स्वदेशमै हुन थालेको छ । यसले माग धान्न थालेपछि आयातित तरकारीको परिमाणसमेत घटेको छ ।  'कति परिमाणमा प्रयोग हुन्छ, त्यसको निश्चित तथ्यांक राखिएको छैन,' कालिमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक तुलसीदास गौतमले भने, 'प्रायः स्वदेशी नै प्रयोग हुन्छ । केही मात्र भारत र अन्य मुलुकबाट आयात हुन्छ ।'  होटलहरूले एउटै आकार र राम्रो गुणस्तरको उत्पादन मात्र प्रयोग गर्ने भएकाले विगतमा धेरै मात्रामा तरकारी बाहिरबाट आयात हुने गथ्र्यो । हाल बाहिरी मुलुकबाट आयात हुनेमा प्याज, आलु, ठूलो टमाटर र लसुन प्रमुख छन् । यीमध्ये प्याज ९५ प्रतिशत, ठूलो टमाटर ६० प्रतिशत भारतबाट आयात हुन्छ । त्यस्तै स्वदेशी उत्पादनले अपुग भएमा भारत र भुटानबाट आलु नेपाल  भित्रन्छ । विशेष गरी साउनदेखि मंसिरसम्म भुटानको आलु प्रयोग हुने व्यापारीहरूले बताए ।

प्रचण्डलाई भेटेको दुई घन्टामै दिल्ली उडे सुद

नेत्र पन्थी/काठमाडौं (नयाँ पत्रिका)

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भारतसँग वार्ता गर्न औपचारिक रूपमै पाँच एजेन्डा अघिसारेका छन् । प्रचण्डका पाँच बुँदाबारे आफ्नो सरकारको धारणा ल्याउन भारतीय राजदूत राकेश सुद आइतबार दिल्ली उडेका छन् । आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गर्नुअघि राजदूत सुदले नयाँबजार पुगी माओवादी अध्यक्ष प्रचण्डसँग एक घन्टा छलफल गरेका थिए । बिहान नौ बजे भेटवार्ता सकिएपछि सुद ११ बजे विमानस्थल पुगेका थिए । प्रचण्डलाई भेटको समय मिलाउन सुदले शुक्रबार फोन गरेका थिए । उनकै अनुरोधमा आइतबार बिहानको समय मिलाइएको माओवादी स्रोतले जनाएको छ । प्रचण्डलाई भेट्न सुद आइतबार बिहान आठ बजे नयाँबजार पुगेका थिए । दूध र चिनीको गिलासमा चियापत्ती (टी-ब्याग) चोपेर सुरु भएको वार्ता करिब एक घन्टा चलेको थियो ।

किष्टको 'ड्रिम प्रोजेक्ट’


प्रभात भट्टराई/काठमाडौं (नयाँ पत्रिका)

निजी क्षेत्रका वाणिज्य बैंकहरूमा शाखा र पुँजीको हिसाबले सबैभन्दा ठूलो बन्ने घोषणा गरेको किष्ट बैंकले राजधानीमा १४ तलाको प्रधान कार्यालय (कर्पोरेट अफिस) बनाउन थालेको छ । अनामनगरमा निर्माणाधीन सो कार्यालय ३० करोडको लागतमा पूरा हुने प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीले जानकारी दिए । निजी क्षेत्रका वाणिज्य बैंकमध्ये सबैको भन्दा ठूलो प्रधान कार्यालय निर्माण गर्न लागेको उनले बताए । डेढ लाख वर्गफिट क्षेत्रफलमा सो भवन निर्माण भइरहेको हो । 'अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागेका हौँ,' उनले भने, 'हाम्रो व्यवसाय विस्तार जुन गतिमा भइरहेको छ त्यसअनुसारको सुविधा प्रदान गर्न सकियोस् भन्ने हेतुले डि्रम प्रोजेक्टको रूपमा यसलाई अघि बढाइरहेका छौँ ।' प्रधान कार्यालयअन्तर्गत हुने मुख्य शाखामा २६ वटा टेलर काउन्टर हुनेछन् । गाउँगाउँसम्म शाखा पुर्‍याएर व्यवसाय विस्तार गर्दा हुने ग्राहक चाप सहज गर्न काउन्टर धेरै राख्न लागेको उनले जानकारी दिए । 'सकेसम्म कसैले पनि लाइन झेल्नु नपरोस् भन्ने हाम्रो ध्येय हो,' उनले भने ।

समुद्रपार पुर्‍याउन सकिएन

माधव घिमिरे/विराटनगर (कान्तिपुर) -

गुणस्तर, प्राविधिक कठिनाइ तथा बजारमा उत्पादकको पहुँचको कमीले नेपाली चियाले विदेशको बजारमा सन्तोषजनक पकड कायम गर्न सकेको छैन । भारततर्फ निर्यात बढे पनि बढी लाभ हुने तेस्रो मुलुकको बजार भने नेपाली उत्पादनले लिन सकेको छैन । उत्पादित चियामध्ये समुद्रपार निकासीको परिमाण वर्षेनिजस्तो घटबढ हुने गरेको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार वाषिर्क सरदर ६ लाख किलो चिया निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०६६/६७ को पहिलो तीन महिनामा करिब ५० हजार किलो चिया समुद्रपार निर्यात भएको छ । यो गत वर्षको यही अवधिको भन्दा बढी भएको केन्द्रले जनाएको छ । नेपाली चिया आयात गर्नेमा चेक रिपब्लिक, जर्मनी, दुबई, पाकिस्तान, युएई तथा अमेरिका छन् । यसैगरी पाकिस्तान, जर्मनी र जापानले पनि नेपाली चिया लिने गरेका छन् । चियाको अन्तर्राष्ट्रिय बजार सन्तोषजनक नहुनुमा गुणस्तरका साथै केही प्राविधिक कठिनाइ पनि कारक रहेको जानकारको भनाइ छ । कृषिजन्य उत्पादनबारे काम गर्ने इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजका कार्यक्रम संयोजक चियाविज्ञ चन्द्रभूषण सुब्बाका अनुसार चियाका खरिदकर्ताले उच्च गुणस्तरको माग गर्ने तर निकासी प्रक्रियाका कारण गुणस्तर खस्कने गर्छ । अमेरिकी सहयोग नियोग -युएसएआइडी) को सहयोगमा उक्त संस्थाले कृषिजन्य उत्पादनहरूमा किसानलाई सहयोग गर्नुका साथै बजार खोजीमा सघाउने गरेको छ ।

Sunday, December 27, 2009

आजको कार्टून !


दुई वर्षभित्र नेपाल डिजेलमा आत्मनिर्भर बन्ने

काठमाडौँ (नागरिक)- 

आयातित इन्धन डिजेलमाथिको निर्भरता अन्त्य गर्न युनिटी लाइफ इन्टनेशनल लिमिटेडले सजीवनबाट दुई वर्षभित्र स्वदेशमै एक अर्ब लिटर बायोडिजेल उत्पादन गर्ने भएको छ। कुनै उपभोगमा नआइ खेर गएको जमिन र सामुदायिक वन क्षेत्रको २ लाख ४० हजार हेक्टरमा सजीवन रोप्ने तयारी भइरहेको युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले जानकारी दिए।  उनका अनुसार यसका लागि हाल देशका विभिन्न ठाउँको १० हजार हेक्टरमा सजीवनको बिरुवा तयार गरिएको छ। मुलुकमा हाल वार्षिक करिब ५१ करोड लिटर डिजेल खपत हुने गरेकोमा त्यति नै परिमाणमा स्वदेशमै बायोडिजेल उत्पादन गर्न सकिने बताउँदै उनले अब डिजेल हामीले खरिदबाट नभई झाडीबाट निकाल्न सक्छौँ भने। यसैबीच सो लिमिटेडले पूर्वाञ्चलस्तरीय मेडिकल कलेज निर्माण गर्न झापाको गौरादहमा २० बिघा जमिन खरिद गरिसकेको पनि बताइएको छ। 
- रासस

दार्जिलिङमा के हुँदै छ ?


भीम चापागाईं/दार्जिलिङ (नयाँ पत्रिका)

गोर्खाल्यान्ड राज्यको माग गर्दै भारतको पश्चिमबंगालमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले 'रगत बगाएरै' भए पनि निर्धारित समयमा गोर्खाल्यान्ड ल्याएरै छोड्ने चेतावनी दिएको छ । गोर्खाल्यान्ड प्राप्तिका लागि जस्तोसुकै हिंसात्मक आन्दोलन पनि गर्न सकिने गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । सुरुदेखि नै आन्दोलनलाई गान्धीवादी धारबाट अगाडि बढाएको मोर्चाले अब आन्दोलन दबाउन खोजिए रगत बगाउनसमेत आफूहरू पछि नपर्ने चेतावनी दिएको हो । गोर्खाल्यान्डका विषयमा हालसम्म भएका सबैखाले वार्तार् भारत सरकारले आफूलाई भुल्याउनका लागि मात्र गरिरहेको मोर्चाको आरोप छ । राजनीतिक तहको वार्ताका लागि पटक-पटक आग्रह गर्दा पनि हालसम्म भएका चार चरणका वार्ता सचिवस्तरमा मात्रै टुंगिएपछि मोर्चाले त्यसका लागि थप दबाब दिन आगामी २६ तारिखदेखि पुनः आन्दोलनका कार्यक्रमलाई अझै सशक्त बनाउने भएको छ । २६ डिसेम्बरदेखि पहाडका सबै सरकारी कार्यालय बन्द गर्ने र आमरण अनसनमा बस्ने पनि मोर्चाले जनाएको छ । सोमबार दार्जिलिङमा भएको बहुप्रतीक्षित त्रिपक्षीय वार्ता पनि भारतीय सरकारले मोर्चालाई भुल्याउनका लागि मात्रै गरेको मोर्चाका अध्यक्ष विमल गुरुङले बताए । वार्तापछि चौरस्तामा आयोजित आमसभामा उनले 'रगतको बदला रगत नै दिइने' बताए । 'हामी रगतको बदला रगत दिन्छौँ तर बंगाल सरकारको गुलाम कदापि गर्दैनौँ,' उनले भने, 'सरकारसँग कुरा नमिले १७ मार्च २०१० सम्ममा आफैं गोर्खाल्यान्ड घोषणा गर्छौं ।'

ज्वालासिंहको कार्यसमिति विघटन

नवीन झा/काठमाडौ (कान्तिपुर) -

स्वतन्त्र तराई राज्यको माग गर्दै आएको ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक मधेश मुक्ति टाईर्गस तराईको केन्द्रीय कार्यसमिति सहित सवैं भातृ संगठनको विघटन भएको छ । गएको ९ गते देखि ११ गते सम्म सप्तरीको अज्ञात स्थलमा बसेको केन्द्रीय सदस्यहरुको आपतकालीन बैंठकले पार्टीको सैनिक संगठन बाहेक सवैं संगठनहरु विघटन गर्ने निर्णय गरेको उक्त संगठनले जनाएको छ ।  बैंठकले अध्यक्ष ज्वालासिंहलाई सर्वमान्य नेता घोषणा गर्नुका साथैं भगत सिंहलाई पार्टीको वरिष्ठ नेताको सम्मान दिने निर्णय गरेको छ । बैंठकले अर्जुन सिंहको संयोजकत्वमा सात सदस्यीय सचिवालय समेत गठन गरेको संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रवक्तमा क्रान्ति, आर्थिक विभागमा राघवन, ओमराय यादवलाई प्रधानसेनापति, सुभाषलाई विदेश विभाग र मनिषलाई संगठन विभागको जिम्मेवारी दिईएको प्रवक्ता क्रान्तिले कान्तिपुरलाइ बताए । पार्टीले आन्दोलनको गतिलाई अगाडी वढाउन नसकेको भन्दै पटकपटक व्यर्होदैं आएको फुटको श्रृखलालाई रोक्न आफूहरुले यस्तो कदम चालेको संयोजक अर्जुनसिंहले बताए । 'पार्टी भित्र असमझादारी को साथैं नेतृत्व पनि कमजोर देखियो' सिंहले भने 'यसलाई सामाधान गर्न हामीले यस्तो निर्णय गरेका हौं ।' बैंठकमा पार्टी अध्यक्ष ज्वालासिंहको उपस्थिति नभएपनि उनीसंग यसवारे छलफल भएको दावी क्रान्तिले गरे ।

नेपाली उत्पादनलाई भन्सार छुट दिन चीन तयार

लेखनाथ पाण्डे/काठमाडौँ (नागरिक)- 

चीनले नेपालबाट निर्यात हुने झन्डै ५ सय उत्पादन सामग्रीमा भन्सार छुट दिने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा तिब्बत जनसरकार प्रमुख र कम्युनिष्ट पार्टी सचिवले नेपाली उत्पादनलाई शून्य भन्सारमा चिनियाँ बजारमा पहुँच दिने बताएका हुन्। प्रधानमन्त्री नेपालसँग तिब्बत जनसरकारका प्रमुख बा फुन्चो र तिब्बतस्थित कम्युनिष्ट पार्टीका सचिव चाङ क्विग्लीले छुट्टा-छुट्टै भेटेका थिए। उनीहरू दुवैले नेपाली उत्पादनलाई बिनाभन्सार चिनियाँ बजारमा पहुँच उपलब्ध गराउन तिब्बत प्रशासन र केन्द्र सरकार सरकार सकारात्मक भएको जानकारी गराएका थिए। 'नेपालबाट चीन निर्यात हुने ४ सय ९७ उत्पादनमा भन्सार छुट दिन हामी तयार छौं' भेटवार्तामा सहभागी ल्हासास्थित नेपाली महावाणिज्यदूत नईन्द्र उपाध्यायले फुन्सो र क्विग्लीलाई उद्यृत गर्दै नागरिकसँग टेलिफोनमा भने, 'हामी यो निर्णयमा पुग्न केन्द्र सरकार (बेइजिङ) सँग कडा परिश्रम गरिरहेका छौं। छिट्टै टुङ्गोमा पुग्नेछौ।' नेपालले उत्तरी छिमेकसँग बढ्दो ब्यापार घाटा न्यूनिकरणका लागि यहाँबाट निर्यात हुने तेल, गहुँ, मैदा, चाउचाउ, बियर, हस्तकला, निर्माण सामग्रीसहित ४ सय ९७ किसिमका उत्पादनमा भन्सार नलगाउन चीनसँग पटक-पटक आग्रह गर्दै आएको छ। यी सामग्री विशेषगरी तिब्बत हुँदै चिनियाँ बजारमा पुग्छन्।

नेपालमा पहिलोपटक स्वाइन फ्लुले मृत्यु

अतुल मिश्र/काठमाडौ (कान्तिपुर)- 

नेपालमा स्वाइन फ्लु लागेर पहिलो पटक एकजनाको मृत्यु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा उपचार गराइरहेका ५५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । स्वाइन फ्लुले जटिल निमोनिया भएर उनको मृत्यु भएको अस्पातलका प्रध्यापक डा.विजय शर्माले बताए । फ्लुले संक्रमित ति व्यक्ति आन्द्रा सम्बन्धी रोगको पनि उपचार गराइरहेका थिए । मृतकको परिचय गोप्य राखिएको छ । यसअघि स्वाइन फ्लुको संक्रमण देखिएपनि फोक्सोको जटिल समस्या देखिएका एकजनालाई भेन्टिलेटरमा राखिएको थियो । पछि उनी पूर्ण स्वस्थ्य भएका थिए । स्वाइन फ्लुले कतारमा १ र दिल्लमा १ गरी दूई जना नेपालीको यसअघि मृत्यु भइसकेको छ । दुई महिनाअघि नै सरकारले स्वाइन फ्लु समूदायमा फैलिसकेको जनाएको थियो ।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा २ सय ८ मुलुकमा प्रयोगशालाबाट प्रमाणित स्वाइन फ्लुको महामारी देखिएको छ । हालसम्म विश्वमा ११ हजार ५ सय १६ र दक्षिण एशियामा ९ सय ९० जनाको स्वाइन फ्लुबाट मृत्यु भइसकेको छ । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by