ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 27, 2009

नेपाली उत्पादनलाई भन्सार छुट दिन चीन तयार

लेखनाथ पाण्डे/काठमाडौँ (नागरिक)- 

चीनले नेपालबाट निर्यात हुने झन्डै ५ सय उत्पादन सामग्रीमा भन्सार छुट दिने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा तिब्बत जनसरकार प्रमुख र कम्युनिष्ट पार्टी सचिवले नेपाली उत्पादनलाई शून्य भन्सारमा चिनियाँ बजारमा पहुँच दिने बताएका हुन्। प्रधानमन्त्री नेपालसँग तिब्बत जनसरकारका प्रमुख बा फुन्चो र तिब्बतस्थित कम्युनिष्ट पार्टीका सचिव चाङ क्विग्लीले छुट्टा-छुट्टै भेटेका थिए। उनीहरू दुवैले नेपाली उत्पादनलाई बिनाभन्सार चिनियाँ बजारमा पहुँच उपलब्ध गराउन तिब्बत प्रशासन र केन्द्र सरकार सरकार सकारात्मक भएको जानकारी गराएका थिए। 'नेपालबाट चीन निर्यात हुने ४ सय ९७ उत्पादनमा भन्सार छुट दिन हामी तयार छौं' भेटवार्तामा सहभागी ल्हासास्थित नेपाली महावाणिज्यदूत नईन्द्र उपाध्यायले फुन्सो र क्विग्लीलाई उद्यृत गर्दै नागरिकसँग टेलिफोनमा भने, 'हामी यो निर्णयमा पुग्न केन्द्र सरकार (बेइजिङ) सँग कडा परिश्रम गरिरहेका छौं। छिट्टै टुङ्गोमा पुग्नेछौ।' नेपालले उत्तरी छिमेकसँग बढ्दो ब्यापार घाटा न्यूनिकरणका लागि यहाँबाट निर्यात हुने तेल, गहुँ, मैदा, चाउचाउ, बियर, हस्तकला, निर्माण सामग्रीसहित ४ सय ९७ किसिमका उत्पादनमा भन्सार नलगाउन चीनसँग पटक-पटक आग्रह गर्दै आएको छ। यी सामग्री विशेषगरी तिब्बत हुँदै चिनियाँ बजारमा पुग्छन्।
स्रोतका अनुसार तिब्बत प्रशासनले नेपाली सामग्रीलाई भन्सार छुट दिलाउन केन्द्र सरकारको सहमतीका लागि बेइजिङस्थित वित्त र वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो। वित्त मन्त्रालयले ती सामग्रीहरूको सूची अध्ययन गरी ६ महिना अघि नै सहमती पठाएको थियो भने वाणिज्य मन्त्रालयले 'सकारात्मक रूपमा लिएको' थियो। गत मंसिरमा नेपाल भ्रमणमा आउँदा तिब्बतका उपप्रमुख हाङ पेङले प्रधानमन्त्री नेपाललाई यो जानकारी गराएका थिए।

चीनसँग नेपालको वार्षिक ३४ अर्ब रूपैंयाभन्दा बढीको व्यापार घाटा छ। निर्यात प्रवर्द्धन केन्द्रका अनुसार गत वर्ष नेपालबाट करिब २ अर्बका सामग्री चीन निर्यात भए भने उताबाट ३६ अर्बभन्दा बढीका सामग्री आयत गरिएको थियो। यो नेपालको कुल आयको १२ प्रतिशत हो भने कुल निर्यालको केवल ३ प्रतिशत हो। महावाणिज्यदूत उपाध्यायले प्रधानमन्त्री नेपाल र फुन्सोकबीचको भेटवार्ता 'सकारात्मक' र 'सौहार्द्धपूर्ण' भएको टिप्पणी गरे। 'द्विपक्षीय व्यापार, पर्यटन प्रबर्द्धन, सांस्कृतिक आदान-प्रदान र जनसंपर्क, शैक्षिक आदान-प्रदानलगायत साझा सरोकारका विषयमा सहयोग निरन्तर बढाउने विषयमा छलफल भयो' उपाध्यायले भने, 'भेटवार्ता एकदमै सकारात्मक रह्यो।'

प्रधानमन्त्री नेपालको सम्मानमा तिब्बत जनसरका प्रमुख फुन्चोले शनिबार साँझ रात्रीभोज आयोजना गरेका थिए। ल्हासाप्रस्थान गर्नुअघि प्रधानमन्त्री नेपालले चिनियाँ अधिकारीसँग मन्त्रीस्तरमा परियोजना र सहयोग आदानप्रदानबारे छलफल हुने बताएका थिए। प्रधानमन्त्रीले आफू माग्न नभई सद्भावना भ्रमणमा आएको उल्लेख गर्दै यस्ता भ्रमण र उच्चस्तरीय भेटघाटबाट आपसी सम्बन्ध र समझदारी बृद्धि हुने बताए। 'चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएको लामो समय भएको छ' उनले विमानस्थलमा संवाददातासँग भने, 'त्यसैले म माग्न होइन, सम्बन्ध मजबुत बनाउन चीन जाँदैछु।' प्रधानमन्त्रीको विमान डेढ घण्टा ढिला भएकाले ल्हासामा पूर्वनिर्धारित भेटघाट तालिका मिलाउन अधिकारीहरूलाई हम्मे परेको स्रोतले बताए।

समकक्षी वेन चियाबाओको निम्तो मान्न उनी चीनको ६ दिन लामो भ्रमणमा गएका हुन्। आफूले चिनियाँ प्रधानमन्त्री चियावाओलाई पनि नेपाल भ्रमणको निम्तो दिने उनले बताए। प्रधानमन्त्रीसहितको ३६ जनाको टोलीलाई ल्हासामा चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की, नेपालका लागि चिनियाँ राजदूत च्यु कोहोङ, महावाणिज्यदूत उपाध्याय, चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। प्रधानमन्त्री आइतबाट ल्हासाबाट सियान हुँदै सोमबार राजधानी बेइजिङ पुग्नेछन्।

नेपालले चीन भ्रमण विरलै भएको बताए पनि नेपालबाट वर्षेपिच्छेजस्तो प्रधानमन्त्रीहरू चीन भ्रमणमा गएका छन्। चीनबाट भने झण्डै एक दशकयता प्रधानमन्त्री/राष्ट्रपति तहमा नेपाल भ्रमण भएको छैन। पछिल्लो पटक १९९६ डिसेम्बरमा राष्ट्रपति जियाङ जेमिन र २००१ मा प्रधानमन्त्री चु रोङजीले नेपाल भ्रमण गरेका थिए। नेपालबाट सबैजसो प्रधानमन्त्री र अन्तिम राजा ज्ञानेन्द्र सन् २००२ जुलाई र २००५ अप्रिलमा चीन भ्रमण गरेका थिए। गत वर्ष ओलम्पिक खेल समापनका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण गरेका थिए। गत बैशाखमा दाहालले चीनको राजनीतिक भ्रमणको तयारी गर्दा गर्दै सेनापति प्रकरणका कारण भ्रमण रद्द भएको थियो। प्रधानमन्त्री नेपालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति हु चिन्ताओ, प्रधानमन्त्री चियाबाओ, राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ऊ पाङ्कुओलगायत नेतालाई भेट्नेछन्। उनले बेइजिङस्थित चिङ्खुवा विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ। प्रधानमन्त्री बेइजिङसहित ऐतिहासिक सहरहरू ल्हासा, सियान, बेइजिङका अतिरिक्त सांघाईसमेत जानेछन्।

प्रधानमन्त्रीको टोलीमा सरकारी प्रतिनिधि १५ र उद्योगी/व्यापारी २१ जना छन्। उद्योगी/व्यापारी आफ्नै खर्चमा प्रधानमन्त्रीमो भ्रमणमा सामेल भएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव मदन भट्टराई, अर्थसचिव रामेश्वर खनाललगायत छन्। उद्योगी/व्यापारीमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, नेपाल-चीन उद्योग वाणिज्य संघका प्रतिनिधि छन्। प्रधानमन्त्री नेपाल पुस १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका दौरान नेपाल र चीनबीच करिब १ अर्ब ६५ करोड रुपैयाँ (१५ करोड युआय) बराबरको आर्थिक तथा प्राविधिक सहयोग र दुई देशबीच युवा आदानप्रदान गर्नेसम्बन्धी 'युथ एक्सचेन्ज' सझदारी हुनेछ। यसअतिरिक्त जाजरकोटस्थित नौस्यालगाढ जलविद्यूत परियोजना, पोखरामा क्षेत्रीय विमानस्थल, पहाडी जिल्ला सदरमुकाम जोड्ने सडक र पुललगायत ठूला परियोजना निर्माणमा चिनियाँ सहयोग खोजिने छ। 'संभव भए अनुदान र नभए सहुलियत ऋण दिन चीनसँग प्रस्ताव गरिनेछ' स्रोतले भन्यो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by