ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 2, 2010

यौनकर्मी महिला कस्ता-कस्ता ?


अर्जुन पौडेल

नयाँ पत्रिका काठमाडौं, १७ पुस
यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गएको पछिल्लो एक अध्ययनले देखाएको छ । फेमेली हेल्थ इन्टरनेसनलले २००९ मा तराईका २२ जिल्लाका ६ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले २६ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो ।अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।यौनव्यवसायमा संलग्नमध्ये २८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ५५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए ।
त्यस्तै, ६६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । 'परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।
यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन् ।
त्यस्तै, ६ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ५८ प्रतिशत विवाहित छन् । २४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए ।
सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ५८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।
करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् । उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए ।
त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।
अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए । त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए ।
३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छन् ।
२० प्रतिशतभन्दा बढी यौनव्यवसायीका दैनिक ग्राहक ३/४ जना हुने गरेका छन् ।
यौनव्यवसायीका ग्राहक मुख्य ६ प्रकारका रहेको अध्ययनले देखाएको छ । तिनमा यातायात मजदुर, व्यवसायी, सेवा क्षेत्रमा कार्यरत, प्रहरी, औद्योगिक मजदुर र सेना छन् । यौनव्यवसायी महिलाका मुख्य ग्राहकका रूपमा रहेका यातायात मजदुरको संख्या ५७ प्रतिशत छ । अन्तिमपटक कुन पेसामा आबद्धसँग यौनसम्पर्क गर्नुभयो भन्ने प्रश्नमा धेरैको जवाफ 'यातायात मजदुर' भन्ने थियो ।
त्यस्तै, यौनकर्मी महिलाले विभिन्नखाले यौनहिंसाको सिकार हुनुपरेको अध्ययन प्रतिवेदनले दाबी गरेको छ । उनीहरूले जबर्जस्ती यौनसम्पर्क गर्नुपरेको समेत बताए । जसका कारण उनीहरू एचआइभीलगायत यौनरोगको उच्च जोखिममा पर्ने गरेका छन् । सर्वेक्षण गरिएका पश्चिम तराईका ६ जिल्लाका दुई सय यौनव्यवसायीमध्ये ३३ प्रतिशतभन्दा बढीले बाध्यात्मक रूपमा यौनसम्पर्क गर्नुपरेको बताएका छन् । त्यस्तै, पूर्वी तराईका १६ जिल्लाका चार सय यौनव्यवसायीमध्ये १९ प्रतिशतभन्दा बढीले विगतमा ग्राहकले यौनसम्पर्कका लागि बाध्य पारेको बताएका छन् । २६ प्रतिशत यौनव्यवसायीले ग्राहकले भनेअनुसार गर्न नसक्दा पारिश्रमिकसमेत नपाउने गरेको गुनासो गरेका छन् ।
यौनव्यवसायमा युवतीको सहभागिता बढ्दो रहेकाले एचआइभी/एड्स नियन्त्रणका कार्यक्रम उनीहरूप्रति लक्षित गरिनुपर्ने अनुसन्धानको निष्कर्ष छ । यौनव्यवसायीलाई कन्डमको सहज पहुँच पुर्‍याउन एनजिओमार्फत कन्डम वितरण कार्यक्रमलाई अझ विस्तार गरिनुपर्ने, विद्यालयस्तरमै यौनशिक्षा दिन सके जनचेतना जगाउन सकिने अध्ययनको निष्कर्ष छ ।
सर्वेक्षण दुई चरणमा गरिएको थियो । पहिलो चरणमा कपिलवस्तुदेखि कञ्चनपुरसम्मका दुई सय यौनकर्मी महिलामा र दोस्रो चरणमा कपिलवस्तुपूर्व झापासम्म सर्वेक्षण गरिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

स्केचः अकृन


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by