ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 28, 2009

प्रचण्डलाई भेटेको दुई घन्टामै दिल्ली उडे सुद

नेत्र पन्थी/काठमाडौं (नयाँ पत्रिका)

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भारतसँग वार्ता गर्न औपचारिक रूपमै पाँच एजेन्डा अघिसारेका छन् । प्रचण्डका पाँच बुँदाबारे आफ्नो सरकारको धारणा ल्याउन भारतीय राजदूत राकेश सुद आइतबार दिल्ली उडेका छन् । आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गर्नुअघि राजदूत सुदले नयाँबजार पुगी माओवादी अध्यक्ष प्रचण्डसँग एक घन्टा छलफल गरेका थिए । बिहान नौ बजे भेटवार्ता सकिएपछि सुद ११ बजे विमानस्थल पुगेका थिए । प्रचण्डलाई भेटको समय मिलाउन सुदले शुक्रबार फोन गरेका थिए । उनकै अनुरोधमा आइतबार बिहानको समय मिलाइएको माओवादी स्रोतले जनाएको छ । प्रचण्डलाई भेट्न सुद आइतबार बिहान आठ बजे नयाँबजार पुगेका थिए । दूध र चिनीको गिलासमा चियापत्ती (टी-ब्याग) चोपेर सुरु भएको वार्ता करिब एक घन्टा चलेको थियो ।
प्रचण्डले खासगरी भारतीय सेनाध्यक्ष दीपक कपुरले माओवादी सेना र नेपाली सेनाको समायोजनविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका थिए । 'नेपालमा युद्धरत पक्षले सेना समायोजन गर्न सहमत हुँदै शान्तिसम्झौतामा हस्ताक्षर गरेका थिए, तर त्यसको विरुद्ध भारतीय सेनाध्यक्ष बोल्नुभएको छ,' प्रचण्डले सुदसँग गरेको प्रश्न उद्धृत गर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, 'दीपक कपुरको भनाइ भारतीय सरकारको आधिकारिक धारणा हो ?'

शर्माका अनुसार नेपालका आन्तरिक मामलामा भारतले नांगो हस्तक्षेप गरिरहेको भन्दै प्रचण्डले सुदसँग आपत्ति व्यक्त गरेका थिए । 'नेपालको सेनापति प्रकरणदेखि पशुपतिको पुजारी नियुक्तिसम्ममा भारतीय चासो किन रहन्छ ?' प्रचण्डले राजदूत सुदसँग प्रश्न तेस्र्याएको माओवादी प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने ।

प्रचण्डसँग भेट गरेको दुई घन्टामै सुद दिल्ली उडेका थिए । तर, सुदको भ्रमण नियमित भएको दूतावास स्रोतले जनाएको छ । उनी दुई दिनपछि नेपाल र्फकने कार्यक्रम छ ।

राजदूत सुदले माओवादी र भारतको सम्बन्ध बिग्रन नदिनसमेत माओवादी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए । प्रतिउत्तरमा प्रचण्डले माओवादीले भारतसँग असल सम्बन्ध राख्न चाहेको, तर भारतले हस्तक्षेप गरिरहेकोमा असन्तुष्टि जनाएका थिए । प्रचण्डलाई भेटेर फर्किँदा सुदको प्रतिक्रिया लिन नयाँबजारमा पत्रकार जम्मा भएका थिए । तर, सुदले कुनै प्रतिक्रिया दिन मानेनन् ।

प्रचण्डले सन् १९५० को सन्धि खारेजी तथा पुराना सबै गोप्य सन्धि-सम्झौतालाई खुला गरिनुपर्ने, कालापानीबाट भारतीय सेना हटाइनुपर्ने र सुस्तालगायतका सीमा-समस्याको हल हुनुपर्ने र नेपाल-भारतबीच बढ्दो व्यापार असन्तुलन हटाउन अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले पाउनुपर्ने पारवहन सुविधा पाउनुपर्ने अडान राजदूत सुदमार्फत भारतसँग राखेका छन् ।

त्यसैगरी, प्रचण्डले भारत, चीन र नेपालबीच नेपालको विकासका लागि उच्चस्तरीय रणनीति बनाउन भारतले सहयोग गर्नुपर्ने, भारतसँग २१औँ शताब्दीको चेतनाअनुसार सम्पूर्ण इतिहासको समीक्षा र नयाँ एकताको आधारशीला तयार हुनुपर्ने आफ्नो एजेन्डा प्रस्तुत गरेको माओवादी प्रवक्ता शर्माले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by