ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 28, 2009

समुद्रपार पुर्‍याउन सकिएन

माधव घिमिरे/विराटनगर (कान्तिपुर) -

गुणस्तर, प्राविधिक कठिनाइ तथा बजारमा उत्पादकको पहुँचको कमीले नेपाली चियाले विदेशको बजारमा सन्तोषजनक पकड कायम गर्न सकेको छैन । भारततर्फ निर्यात बढे पनि बढी लाभ हुने तेस्रो मुलुकको बजार भने नेपाली उत्पादनले लिन सकेको छैन । उत्पादित चियामध्ये समुद्रपार निकासीको परिमाण वर्षेनिजस्तो घटबढ हुने गरेको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार वाषिर्क सरदर ६ लाख किलो चिया निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०६६/६७ को पहिलो तीन महिनामा करिब ५० हजार किलो चिया समुद्रपार निर्यात भएको छ । यो गत वर्षको यही अवधिको भन्दा बढी भएको केन्द्रले जनाएको छ । नेपाली चिया आयात गर्नेमा चेक रिपब्लिक, जर्मनी, दुबई, पाकिस्तान, युएई तथा अमेरिका छन् । यसैगरी पाकिस्तान, जर्मनी र जापानले पनि नेपाली चिया लिने गरेका छन् । चियाको अन्तर्राष्ट्रिय बजार सन्तोषजनक नहुनुमा गुणस्तरका साथै केही प्राविधिक कठिनाइ पनि कारक रहेको जानकारको भनाइ छ । कृषिजन्य उत्पादनबारे काम गर्ने इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजका कार्यक्रम संयोजक चियाविज्ञ चन्द्रभूषण सुब्बाका अनुसार चियाका खरिदकर्ताले उच्च गुणस्तरको माग गर्ने तर निकासी प्रक्रियाका कारण गुणस्तर खस्कने गर्छ । अमेरिकी सहयोग नियोग -युएसएआइडी) को सहयोगमा उक्त संस्थाले कृषिजन्य उत्पादनहरूमा किसानलाई सहयोग गर्नुका साथै बजार खोजीमा सघाउने गरेको छ ।


पूर्वी नाकाबाट चिया निर्यात गर्दा भारतको कोलकातामा चिया परीक्षण गर्दा रासायनिक पदार्थ एवं विषादी प्रयोगको मात्रा हेरिने गरेको छ ।  नाकामै परीक्षण सुविधा भए तुरुन्तै रिपोर्ट आएर सजिलो हुने सुब्बाको भनाइ छ । झापाको काँकडभिट्टा नाकाबाट चिया निर्यात गर्दा भारतपट्ट िनाकामै यस्तो परीक्षणको व्यवस्था छैन । नियमअनुसार एकअर्का देशमा भित्रिने कृषिजन्य वस्तुको सम्बन्धित देशको प्लान्ट क्वारेन्टाइनले जाँच गरी स्वस्थकर भए आयात/निर्यात अनुमति दिने गर्छ ।

चियामा विषादी प्रयोगले गुणस्तरसँगै बजार प्रभावित हुने जानकारी किसानस्तरमा पुर्‍याइँदै गरेको चियाविज्ञ सुब्बाको  भनाइ छ । युरोपेली चिया संघले चियालगायत विभिन्न बालीमा प्रयोग हुने डेढ सयभन्दा बढी विषादी प्रयोगमा प्रतिबन्ध लगाउने तयारीस्वरूप कारखाना तथा सम्बद्ध संस्थाहरूलाई पटकपटक सचेत गराइसकेको छ । संघले १ सय ५७ वटा विभिन्न विषादीको नाम उल्लेख गर्दै तिनको प्रयोगको अति न्यून मात्रासमेत खुलाएर नेपालका प्रमुख चिया एवं कृषि बालीसम्बन्धी संस्थालाई केही समयअघि पत्रमार्फत सचेत गराएको चियाविज्ञ सुब्बा बताउँछन् ।

समुद्रपार नेपाली चियाको उस्तो पहिचान नहुँदा पनि बजार समस्या भएको हो । निजी क्षेत्रको प्रयासमा नेपाली चियाको 'टे्रडमार्क' बनाएर पहिचान दिने प्रयत्न भए पनि पर्याप्त प्रचार हुन नसक्दा उति प्रभावकारी भएको छैन । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित गुणस्तरयुक्त चिया भारतको 'दार्जिलिङ टी' का नाममा जाने गरेको उल्लेख गर्दै सुब्बा भन्छन्, 'विदेशमा आफ्नै चियासँग नेपाली चियाले प्रतिस्पर्धा गर्नुपरेको छ ।' उत्पादकहरूको आपmनै सम्पर्कका भरमा जर्मनी, अमेरिकाजस्ता मुलुकमा केही परिमाणमा चिया जाने गरेको छ ।

पश्चिमा बजारमा पहिलेदेखि नै ख्याति रहेको दार्जिलिङको चियाको आपmनै गुणस्तर अचेल उति राम्रो छैन । दार्जिलिङका चिया झाङ बुढिएकाले राम्रो उत्पादन छैन । यसैकारण नेपाली चिया काँचै खरिद गरी प्रशोधनपछि 'दार्जिलिङ टी' को टे्रडमार्क राखेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया पुग्ने गरेको चिया जानकारहरूको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by