ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 30, 2009

रक्तचन्दन अब धुलो पारेर तस्करी


ध्रुव दंगाल/सिन्धुपाल्चोक (नयाँ पत्रिका)

चौर नै भरिने गरी रक्तचन्दनका गोलिया कहिले थानकोटमा बरामद हुन्थे, कहिले सिंहदरबारमा देखिन्थे । तर, अब धेरै घाटा लागेपछि तस्करले पनि बुद्धि पुर्‍याए, गोलिया काठ होइन, अब धुलो बनाएर रक्तचन्दन तस्करी सुरु भएको छ । चोरीका विभिन्न तरिका सार्वजनिक हुँदै गएपछि तस्करले नयाँ अभ्यास अपनाएका हुन् । कन्टेनर र अन्य सवारीसाधनमा लुकाएर चीन पुर्‍याइने प्रतिबन्धित रक्तचन्दन अब धुलो बनाएर लगिन थालिएको छ । प्रहरीले बलेरो जिपबाट १५ किलो रक्तचन्दन धुलो बरामद गरेपछि यो रहस्योद्घाटन भएको हो । बा६च २७८७ बलेरो जिपबाट सोमबार राति यो धुलो बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेले राति नौ बजे ढाटमा बलेरो रोकेर खानतालसी लिँदा बोराभित्र रक्तचन्दनको धुलो भेटिएको सिन्धुपाल्चोकका डिएसपी प्रमोदकुमार खरेलले बताए । प्रहरीले बलेरो तातोपानी-९ घर भएका त्यसका चालक निमदोर्जे शेर्पालाई नियन्त्रणमा लिएको छ ।
सुरक्षा निकायले चन्दन कारोबार रोकिएको दाबी गरिरहेकै बेला पहिलोपटक धुलोमा रक्तचन्दन भेटिएको हो । यो घटनाले प्रहरी आफैँ चकित भएको छ । तस्करले यसअघि मुढा र स-साना गिँडमा चन्दन चीन पुर्‍याउँदै आएका थिए ।

पक्राउ पर्ने क्रमले तीव्रता पाउनाले अरनिको राजमार्ग असुरक्षित बन्नुका साथै चीनमा चन्दनको भाउ घटेकाले करिब डेढ वर्ष रोकिएको कारोबार गत जेठबाट पुनः सुरु भएको हो । गत साउन दोस्रो साता पनि दुई गिँड चन्दन बरामद गरिएको थियो । त्यसयता प्रहरीले पुनः चन्दन कारोबार रोकिएको दाबी गर्दै आएको थियो । सुरुमा कन्टेनरमा खाद्यान्नले छोपेर चन्दन कारोबार गरिन्थ्यो । यो तरिका सार्वजनिक भएपछि यात्रुबसलाई माध्यम बनाइएको थियो ।

६ महिनाजति तस्करले, बलेरो, पजेरो, कारलगायत हलुका सवारीसाधनमा राखेर तस्करी गर्दागर्दै यो तरिका पनि खुलेपछि यसको कारोबार रोकिएको थियो । जेठयता कन्टेनर, इँटा बोक्ने ट्रकमा 'फल्स बटम' बनाएर कारोबार पुनः सुरु भएको छ । व्यापारी स्रोतअनुसार चार महिनायता धुलो बनाएर चन्दन ओसार्न थालिएको हो । 'सबै तरिका असफल भएपछि साउन दोस्रो सातायता यो विधिद्वारा चन्दन खासा लगिँदै आएको थियो,' स्रोतले नयाँ पत्रिकासँग भन्यो, 'यसका व्यापारीले अभ्यासका रूपमा अपनाएको यो तरिका यस अवधि निकै सफल रह्यो ।' चार महिनामा सयौँ टन रक्तचन्दन धुलो खासा पुर्‍याइएको स्रोतहरूको दाबी छ । जेठदेखि साउन दोस्रो सातासम्मको अवधिमा पाँच सय गोलिया चन्दन खासा लगिएको लोडअनलोडमा संलग्न भरियाले बताउँदै आएका छन् । डेढ वर्षअघि हजारौँ टन चन्दन खासा पुर्‍याइएको थियो ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by