दीपक सापकोटा/नयां पत्रिका
युथफोर्समा यथास्थितिवादी, नोकरशाह र दलालहरू छन्, उनीहरू हतियारभन्दा पनि खतरा हुन्छन् । अहिले लुकिछिपी भइरहेको हत्या, बालबच्चा अपहरण, चन्दा, फिरौती, ठेक्कापट्टामा गुन्डाको प्रयोगलगायतका आपराधिक काममा युथफोर्सका कार्यकर्ता लागेका छन् ।- गणेशमान पुन, अध्यक्ष, वाइसिएल वाइसिएलसँग बन्दुक छ । वाइसिएलले आफ्ना गुन्डा पालेर राखेका छन् । - महेश बस्नेत अध्यक्ष, युथफोर्स
एक समय यस्तो थियो, यिनीहरूको खबर नभएको कुनै अखबार फेलापर्दैन'थ्यो । जनता यिनीहरूसँग त्राहिमाम थिए । यिनीहरूको डर, धम्की, सान्, रबाफ र फुर्तीका अघि कसैको केही लाग्दैनथ्यो । अहिले त्यसमा केही कमी मात्र आएको हो । कहिले उनीहरू क्याम्पसमा नांगा खुकुरी देखाएर विद्यार्थी लखेट्छन् । कहिले अरूको खुट्टै काटिदिन्छन् । एकले अर्कालाई मार्न पनि यिनीहरू पछि परेका छैनन् । कहिले कसको खुट्टो काटिन्छ, कहाँ झडप हुन्छ त्यो उनीहरू आफैँ पनि अनुमान लाउन सक्दैनन् । सान, फुर्ती, दादागिरी जे छ देशमा अचेल यिनीहरूकै छ ।
दुवै संगठनका माउहरूलाई यहाँ दादागिरी थाहा छ । मान्छे कसरी ठीक पार्ने, थाहा छ । मान्छेलाई कसरी तह लगाउने, त्यो थाहा छ । मुक्का, लठ्ठी, डन्डी वा यस्तै अरू कुराको तीव्र स्पर्स कसरी गराउने त्यो थाहा छ । आउनूस्, देशको यति शक्तिशाली यी दुई संगठनका माउलाई भेटौँ । कस्ता छन् र के गर्दै छन् अचेल ? के भन्छन् ? के चाहन्छन् ?
बागबजारको उत्तरी कुनो । नजिकैको टुँडिखेलमा माओवादीको नागरिक सर्वोच्चताको मागको नाराले नाघेको नाघेकै छ आकाश । लाग्छ, उनीहरूको आवाज जति नै माथि पुगे पनि त्यसले निर्धा मनको हुर्मत भने सधैँ लिइरहेकै छ । सधैँ बागबजार चोकमा जुत्ता टल्काएरै बस्ने दोलखाका गोरेबहादुर सार्की सधैँभरि त्यही चोकमा उसैगरी बसेका भेटिन्छन् । जनजीविकाबारे बोल्ने स्वप्नद्रष्टाका चखिला भाषण उनले बिर्सेका छैनन् । पसिना चुहिन्छ घरी-घरी । ती सबलाई थाति राख्छन् उनी । सडकमै जोडिएको यो जुत्ता टल्काउने पसलसाथ प्रजातन्त्रको युद्धमा आफूलाई उत्सर्ग गर्न पनि बिर्सेनन् उनले ।
गोरेबहादुरको पसलसँगैको ठूलो होटलमा भेटिए महेश बस्नेत । अर्थात् युथफोर्सका अध्यक्ष । उनी यति शान्त, भद्र र सामान्य थिए जसमा उनी वाइसिएलसँग प्रतिरक्षामा उत्रेका युवादस्ताको मुख्य मान्छेजस्तो लाग्ने कुनै पनि चिह्न थिएन । युथफोर्सले जनतालाई कति दुःख दिन सकेको ? मेरो पहिलो प्रश्न थियो । 'हामीले कहाँ दुःख दिनु ? हामीले दुःख दिएका छैनौँ । हामीसँग बद्मास, चोर, डाँका, फटाहा, जाली, तस्करहरू मात्रै आत्तिएका हुन्,' एक चिसो दिन युथफोर्स अध्यक्ष बोल्छन्, 'वाइसिएल आत्तिएको छ हामीसँग । जनता आत्तिएका छैनन् । जनताले त युथफोर्सलाई आफ्नै मुटुमा राखेका छन् । हामीले कसैलाई दुःख दिएका छौँ भने अराजक गुन्डालाई मात्र ।'
वाइसिएलको गुन्डागर्दी र आतंक साह्रै बढेपछि त्यसलाई मत्थर पार्न युथफोर्स गठन भएको माउ पार्टी एमालेले बताएको थियो । पछिल्लो एक वर्षमा के छ त प्रगतिविवरण ? वाइसिएल तह लागे त ? 'बितेको एक वर्षमा वाइसिएलको आतंक पूरै घटेको छ,' ०६५ जेठ २१ गते युथफोर्स गठन भएपछिका आफूले गरेको प्रगतिविवरण सुनाउँछन् उनी, 'उनीहरूले आफूलाई सच्याएका त होइनन् । युथफोर्सदेखि काँपेका हुन् । माओवादीलाई युवा हाम्रा मात्र छन् भन्ने भ्रम थियो । हामीले देखायौँ युवा हाम्रा पनि छन् । अझ उनीहरूभन्दा धेरै छन्, हामीसँग ।'
अन्तर्वार्ताका लागि नयाँ पत्रिका कार्यालयमै आइपुगेका गणेशमान पुन पनि उत्तिकै भद्र, सामान्य छन् । 'असामान्य चर्चा पाइरहेको युवादस्ता -वाइसिएल) का प्रमुख' जस्तो लाग्दैनन् उनी । होचो कद र सामान्य लवाइखवाइमा भेटिएका उनलाई पनि लाग्छ, वाइसिएलले जनताको सेवा नै गरिरहेको छ । 'जनता हामीसँग निकै खुसी छन् । हामीसँग अराजक गुन्डा र अपराधी पो डराउँछन् त । जनताले त हामीलाई मनैमा राखेका छन्,' उनले सुनाए, 'कुन्डले, मन्डले, चोर, डाँकाहरू पो हामीसँग डराएका छन् त । युथफोर्समा सामन्त, तस्कर, फटाहा, जाली मात्र छन् । त्यसैले उनीहरू हामीसँग डराएका हुन् ।' दुवै संगठनका माउहरूको उस्तै जवाफ थियो ।
त्यसोभए वाइसिएलले के अर्थ राख्छ जनतालाई ? 'वाइसिएल शक्ति हो जनताको । प्रतिगामी चरित्रलाई परास्त गर्न बनेको हो हाम्रो संगठन । जुनैवेला पनि जनताका लागि लड्छौँ, हामी । रगत, पसिना बगाउनेहरूको विरुद्ध लाग्नेलाई छाड्दैनौँ,' उनको जवाफ थियो । वाइसिएल अध्यक्षलाई के लाग्छ, कस्ता छन् युथफोर्सहरू ? 'हामीलाई परास्त गर्न युथफोर्स गठन भएको हो । युथफोर्समा पेसेवर गुन्डा मात्रै छन्, जनतालाई दुःख दिनेहरू छन् । संविधानसभा चुनावअघि दुलोमा बसेर खानेहरूले पछि त्यो दस्ता निर्माण गरे । अग्रगमनलाई सिध्याउने लक्ष्य हो युथफोर्सको,' उनले सुनाए, 'युथफोर्स भनेको वाइसिएलको डाहाले जन्मिएको हो । उनीहरू आतंक मच्चाउन र पेसेवर गुन्डाको ग्याङ मात्र भेला भएका हुन् ।'
आतंक त वाइसिएलले पनि मच्चाउँछन् । मान्छे वाइसिएलले पनि कुट्छन । गुन्डाजस्ता लाग्ने मान्छेहरू वाइसिएलमा पनि छन् । के फरक छ, वाइसिएल र युथफोर्समा ? 'वाइसिएल परिर्वतनको वहाव हो । हामी त परिवर्तन चाहने शक्ति हो । युथफोर्सचाहिँ झगडा गर्न मात्रै जन्मेको हो । हामी अग्रगामी चेतनासहित लड्छौँ । युथफोर्स अग्रगामी शक्तिको विरुद्ध लड्छ,' पुन भन्छन्, 'वाइसिएललाई जनताले मुटुमै ठाउँ दिएका छन् । युथफोर्सलाई छीःछी र दुरदुर गर्छन् जनता ।' युथफोर्स अध्यक्षको आँखामा उनीहरू दुईबीचको फरक यस्ता छन्, 'युथफोर्स कानुनी राज्यको विद्रोही होइन । हामीले वाइसिएलजस्तो दादागिरी देखाएनौँ । हामीले कहिले पनि जनतालाई दुःख दिएनौँ । उनीहरूजस्तो हातहतियार प्रदर्शन गरेनाँै । क्रान्तिका नाममा चन्दा संकलन गरेनौँ । हामी उनीहरूभन्दा विल्कुलै भिन्न रूपमा प्रस्तुत भयौँ ।'
युथफोर्स अध्यक्षलाई वाइसिएल कस्तो लाग्छ ? 'उनीहरू जनतालाई दुःख दिन जन्मेका हुन् । उनीहरूले खुब कुटे जनता । धेरै त्रसित भए । उनीहरूले प्रतिगामी चरित्रलाई सहयोग गर्छन् । हाम्रो संगठन गठन भएपछि उनीहरूले आतंक मच्चाउन पाएका छैनन्,' महेशले सुनाए । गणेशमान हेरीकन महेशले वाइसिएललाई उत्ति गाली गरेनन् । कुराकानीमा पनि महेश निकै भद्र देखिए ।
'युथफोर्सले वाइसिएलको खुब रिस गर्यो' भन्ने गणेशमान र 'फेरि झडप नहोस् भन्नाका खातिर वाइसिएलसँग लडेका हौँ' भन्ने महेशबीच भेटघाट, चिनजान वा एकअर्कामा बोलचाल छ कि छैन होला ? 'उनीहरू नसुधि्रएसम्म हामी नजिक पर्दैनौँ,' गणेशमानको उत्तर थियो । यता महेश भन्दै थिए, 'केही कार्यक्रममा देखेको छु । केहीपटक हात पनि मिलाएको छु ।' पछि थाहा लाग्यो, उनीहरूबीच अहिले बोलचाल पनि रहेनछ ।
उनीहरूलाई कोही मान्छे 'खराब' लाग्यो भने, 'बद्मास' लाग्यो वा 'बद्मास' भनेर उजुरी पर्यो भने उसले जीवनभरि 'कम्युनिस्ट' नामधारी केटाहरूसँग तर्सिरहनुपर्छ होइन र ? 'कोही खराब लाग्यो वा कसैविरुद्ध उजुरी पर्यो भने पनि हामी भौतिक कारबाही गर्दैनौँ । राज्यको निकायमा लैजान्छौँ । आफैँ आक्रमण गर्दैनौँ । राज्यलाई कारबाही गर्न सहयोग गर्छौं,' महेश बस्नेतको उत्तर थियो । उही प्रश्न थियो, गणेशमान पुनलाई । के भन्छन् उनी ? 'कोही मान्छे खराब लाग्दैमा कुटिहालिँदैन । त्यसको यथार्थ चित्र के हो त्यो बुझन्िछ । पुलिस, प्रशासनलाई खबर गछौर्ं, बुझाउँछौँ । सक्रियतापूर्वक कानुनलाई बुझाउने काम गर्छौं ।'
त्यसोभए यत्तिका मान्छेले वाइसिएल, युथफोर्सको कारण दुःख पाएको के त ? के यिनीहरूका आँखाले जनताले आफ्ना कारणले पाएको दुःख देखेका छैनन् ? 'कहीँ-कहीँ हाम्रा कारणले पनि दुःख पाएका हुन सक्छन् । हामी सच्याउँदै छौँ,' युथफोर्सका महेशको उत्तर थियो । 'हाम्रा कारणले कतै दुःख पाएका छन् भन्ने म मान्दिनँ । हामीले अहिलेसम्म कसैलाई दुःख दिएका छैनौँ,' गणेशमान पुनले भने ।
िि
िउनीहरूले आफ्नो र अरूको संगठनबारे जे-जस्तो भने पनि एउटा समानता छ, त्यो के भने उनीहरू दुवै कम्युनिस्ट हुन् । दुवैजना निम्नमध्यमवर्गीय किसानका छोरा । आफ्नो संगठनका सदस्य संख्या पनि दुवै बराबर भएको दाबी गर्छन्-आठ/दस लाख । दुवैजना सुधारवादी गीत रुचाउँछन् । दुवैको रुचि पनि लगभग मिल्छ । दैनिकी पनि उस्तै छ । बिहान उठ्ने समय उही, काम गर्ने तरिका उही । फरक के छ ? 'हामीसँग विचार र एकता छ,' महेशले भने, 'वाइसिएलले बन्दुक लुकाएका छन् । लाठी र अरू हतियार त कति-कति ।'
झन् वाइसिएलसँग त हतियार छ भन्ने आरोप नै लागेको छ । कति छन् कमरेड हतियार ? 'कहाँ, हामीसँग हतियार छ र ? लडाकु मिलिसियाहरू शिविरमै छन् । हाम्रो पूरै पार्टी नै जनयुद्धमा लागेकाले हाम्रा कमरेडहरूसँग युद्ध सीप हुनु स्वाभाविक हो । यत्तिकै भरमा लडाकु भन्न मिल्दैन । अब तिनलाई विकास निर्माणको काममा लगाइन्छ । युथफोर्सले हतियार नराखे पनि कुन्डले, मन्डले पालेको छ । पेसेवर गुन्डाको ग्याङै भएपछि किन हतियार राख्नुपर्यो ?' गणेशमानले भने, 'युथफोर्स यथास्थितिवादी, नोकरशाह र दलालहरू हुन्, उनीहरू हतियारभन्दा पनि खतरा हुन्छन् ।' अझ गणेशमानले त अहिले समाजमा भइरहेका विभिन्न अपराधका काममा युथफोर्सकै कार्यकर्ता मजैसँगले लागेको आरोप लगाए । 'अहिले लुकिछिपी भइरहेको हत्या, बालबच्चा अपहरण, चन्दा, फिरौती, ठेक्कापट्टामा गुन्डाको प्रयोगलगायतका आपराधिक काममा युथफोर्सका कार्यकर्ता लागेका छन् ।' महेशले गणेशमान पुन र वाइसिएल संगठनलाई नै त्यस्ता जघन्य आरोप त लगाएनन्, तर भने, 'वाइसिएलले आफ्ना गुन्डा पालेर राखेका छन् ।'
एकअर्काले दुवैको संगठनमा गरेको सबैभन्दा ज्यादतिपूर्ण काम के होलान् ? 'वाइसिएलले हाम्रा कार्यकर्ता निर्मल, पुष्करलाई जिउँदै पुर्यो । विवेक देवकोटाको एउटा खुट्टा छिनालिदियो,' महेश आफूविरुद्ध वाइसिएलको ज्यादति सुनाउँदै थिए, 'सुशील महर्जनको हात काट्यो । सामान्य अपराध त कति गर्यो कति ? भनिसाध्ये छैन ।' गणेशमान भने महेशको केही पनि आरोप स्विकार्न तयार छैनन् । 'हामीले उनीहरूका कार्यकर्ताको हात काटेको, खुट्टा काटेको र जिउँदै पुरेको भन्ने आरोप सबै निराधार हुन् । हामी कसैलाई पनि त्यसो गर्न सक्दैनौँ,' गणेशमानले सुनाए, 'युथफोर्सले त झन् धेरै अपराध गरेका छन् । भनिसाध्ये, सम्झिसाध्ये छैन ।'
अहिले वाइसिएल र युथफोर्सको झडप निकै कम हुन थालेको छ । एक समयका कुकुर, बिरालैजस्ता देखिने उनीहरू अहिले सुधि्रएकै हुन् त ? 'हामी त पहिले पनि ठीकै थियौँ । अहिले पनि ठीक छौँ । सुधि्रनुपर्दैन । झडपमा अग्रसर हुँदैनथ्यौँ । झडप हाम्रो रहरको कुरा होइन । यो त आइपर्ने बाध्यता हो,' गणेशमान पुन भन्दै थिए, 'बाध्यतामा त हामीले बन्दुकनै उठायौँ नि ! हामी झगडा नगर्ने भनेर पछाडि हट्दा पनि युथफोर्सले लगातार आक्रमण गरे । उनीहरूसँग विचार थिएन । ती विचार नहुनेहरूले हामी विचारका धनीलाई आक्रमण गरेर मात्र हामीले जवाफ फर्काएका हौँ । कोही लड्न आउँछ भने हामी किन पछि हट्ने ?'
युथफोर्स अध्यक्ष भने यो मान्न तयार छैनन् । 'पहिले वाइसिएलसँग प्रतिरोधका लागि दस्ता नहुँदा उनीहरूले हामीलाई निकै आक्रमण गरे । एमाले भन्नेबित्तिकै उनीहरू आक्रमणमा ओर्लिहाल्थे,' महेश भन्छन्, 'उनीहरूको दैनिक आक्रमण सहन गर्न नसकेर हामीले प्रतिरक्षा शक्ति खोलेका हौँ । उनीहरूको आक्रमणपछि मात्रै हामीले जवाफ फर्काउँथ्यौँ । पहिले नै हामी कहिल्यै आक्रमणमा ओर्लिर्एनौँ । हाम्रा साथीका नाक फुटाउने, सख्त घाइते बनाउने उनीहरूको कामपछि हामीले प्रतिरक्षा मात्र गर्ने हो । हामी सुधि्रनुपर्ने आवश्यकता छैन । उनीहरूले आक्रमण गरे भने हामी अहिले पनि प्रतिरक्षाका लागि तयार छौँ । अहिले हामीमाथि उनीहरूको आक्रमण केही कम भए पनि गरिरहेकै छन्, तर्साइरहेकै छन् हाम्रा साथीहरूलाई ।'
महेश र गणेशमानको राजनीतिक जीवनमा ठूलो फरक के छ भने गणेश भूमिगत जीवन बाँचिरहँदा, आज कि भोलि मरिन्छ भन्दै भागिरहँदा महेशले शान्तिपूर्ण जीवन बाँचे । भक्तपुरको गुन्डुमा ०३१ मा जन्मेका उनले दुःख के हो भोग्नुपरेन । दुःखको रंग कस्तो हुन्छ जान्नुपरेन । प्रवेशिका परीक्षा उत्तीर्ण गरी ल कलेज भर्ना भएपछि उनको जीवनले राजनीति जान्यो । 'राजनीति त गजबकै कुरा रहेछ' भन्ने त्यतिवेला लाग्यो ।
यता गणेश ०२८ सालमा पहिलोपटक यस संसारमा 'च्याँ' गरेर रोए । १३ वर्षसम्म उनी रुकुमको गाईगोठमा घाँस, दाउरा गरेर, भैँसीगोठालो भएरै रहे । उमेरले १४ टेक्नै लाग्दा पहिलोपटक उनी डेढ घन्टा परको स्कुल भर्ना भए । 'स्कुल जानुुअघि बिहान एक भारी घाँस काट्नैपर्ने, भैँसी दुहुनैपर्ने । नत्र त उही हो स्कुल जान पाइन्नथ्यो,' गणेशमानको स्मृतिमा बाल्यकाल आयो । गणेशमानलाई जीवनमा यति दुःख लेखिएको थियो कि विधाताले कहिल्यै पनि सुखको सास फेर्न लेखिदिएकी रहिनछिन् भन्ने लाग्थ्यो । घाँस-दाउरा गरेरै पनि उनी 'स्कुल टप' हुन्थे । उनको परिवार त कांग्रेस थियो । हजुरबालाई कांग्रेसको भूत यसरी सवार रहेछ कि उनलाई मनपर्ने नेता गणेशमान मात्र रहेछन् । त्यसैले आफ्नो नाम गणेशमान रहन गहेको उनले सुनाए । पारिवारिक चंगुलबाट फुत्त बाहिर निस्केर उनी त कम्युनिस्ट पो भएछन् । त्यो रंग जीवनमा अब कहिल्यै नमेटिनेगरी बसिसकेको थियो । निकै दुःख व्यहोरेर ०४६ मा उनले एसएलसी पास गरे ।
रुकुमको आठबिसकोटमा जनयुद्धको पहिलो कारबाही हुँदा चौकी आक्रमणको कमान्डर थिए, गणेशमान । उनका आँखाअगाडि आफ्ना धेरै साथी सहिद भएका छन् । अघिल्लो रात आफूसँगै आँखामा अनेक सपना सजाएर सुतेका साथीका छाती सेनाको गोलीले चाल्नु भएको उनी अहिले पनि सम्झन्छन् । 'त्यो सम्झनाले अहिले पनि छाती पोल्छ,' गणेशमान भन्छन् । त्यसो त गणेशमानका हातले पनि थुप्रै सेनालाई मारेका छन् । ती सेनाका पनि त आँखामा सजिएका सपना एकाएक मरेका छन् नि ? तिनको सम्झना आउँदैन ? 'आउँछ नि सम्झना त ! ती सहिदलाई सम्झँदा सम्मान जागेर आउँछ । तर, युद्धमा सबै जायज हुँदोरहेछ,' उनले सुनाए ।
यता, गणेशमान भूमिगत हुँदा र जेल पर्दा महेश स्थानीय चुनावमा गाविस अध्यक्ष भए । महेश सम्झन्छन्, '०५४ मा भएको त्यो चुनावमा म देशकै कान्छो अध्यक्ष भएको थिएँ ।' अध्यक्ष भएपछिका महेशका दिन झन् सुखमय हुँदै गए । उनी आफैँ कुटो-कोदालो बोकेर बाटो खन्न निस्कन्थे, श्रमदानमा जान्थे । अरूलाई पनि जुटाउँथे । त्यसवेला सडक, स्वास्थ्यचौकी, पुल, सामुदायिक वनलगायतका विकासका कुरामा गुन्डु निकै अगाडि बढ्यो ।
राजनीति गर्नुअघि उनीहरू दुवैको सपनामा खासै अन्तर थिएन । 'म कलाकार वा पत्रकार बन्न चाहन्थँे,' महेश आफ्नो सपना सम्झन्छन् । 'मचाहिँ शिक्षक बन्ने सोच्थेँ,' गणेशमानले भने । गणेशमानको किसानजिन्दगी निकै संघर्षपूर्ण थियो । उनी बारीमा हलो जोत्थे । दाङदेखि नुनको भारी बोकेर गाउँ पुग्थे । एकदिन नुन बोकिरहेका वेला जीवनमै पहिलोपटक उनले ०४४ मा मोटरगाडी देखे । 'चित्रमा देखेको थिएँ, गाडी,' उनी सम्झन्छन्, 'त्यो त साँच्चैको फरक थियो । तीन वर्षपछि मात्रै चढ्न पाएँ ।' त्यसवेला गाडी देखेर छक्क पर्ने केटो अहिले पजेरो चढेर यो सहर चहार्छ । 'मैले चढ्ने गाडी मेरो होइन । ठूलो रहर पनि होइन, चढ्ने । कामविशेषले मात्रै चढ्ने हो,' गणेशमान भन्छन् । उनकी जीवनसंगी कमला रोका सभासद् हुन् जो जनयुद्धका सुरुका दिन गणेशमानकै कमान्डरीमा प्रहरी चौकी आक्रमण गर्न गएकी थिइन् । उनीहरूले आफूहरू भूमिगत नहुँदै १५ वर्षअघि बिहे गरे । छोरा 'आजाद' भने युद्धकालीन समय अर्थात् ०५९ सालमा जन्मियो । गणेशमानले १३ दिनपछि मात्रै 'म बाबु बनेँ' भनेर चाल पाए । बाल्यकालमा गणेशमानले पढ्न नपाए पनि अहिले उनको छोरा राजधानीको महँगो र नाम चलेको बोर्डिङमा पढ्छ ।
महेश सधैँ चर्चामै रहँदा गणेशमानको नाम थिएन । थियो त जनयुद्ध गर्नेहरूले मात्रै चिन्थे, उनलाई । गणेशमान बर्दिया, बाँके र रुकुमको जेलमा पालैपालो यातनामय जीवन गुजारिरहेका थिए । जेलजीवन र भूमिगत जीवन गुजारिरहेकै वेला उनकी आमा तेजकुमारीले ०५९ चैतमा यस संसारबाट सधैँका लागि आँखा चिम्लिन् । त्यसवेला गणेशमान म्याग्दी आक्रमणमा खटिएका थिए । र, उनले आमाको अन्तिम अनुहार पनि देख्न पाएनन् । उनका बाबु दिलबहादुरलाई ०५२ फागुन २९ गते घरैमा पुगेर प्रहरीले गोली हानेको उनी कहिल्यै बिर्संदैनन् । नीलकाँडा जसरी त्यो दिन मनमा बसेकै छ ।
यी दुई संगठनका माउ कहिल्यै मिल्न सकेनन् । यद्यपि, दुवै कम्युनिस्ट हुन् । एउटा उग्र कम्युनिस्ट, अर्को नरम । के अब यी दुई आफ्नो छातीमा हात राखेर 'अब हामी जनतालाई दुःख दिँदैनौँ, समस्या थप्दैनौँ, झडपमा उत्रिँदैनाँै' भन्न सक्छन् होला ? 'समस्या त आउँछ । युथफोर्समा लागेकाहरूले गल्ती नै गर्दैनन् भन्न म सक्दिनँ,' महेश बस्नेतले सुनाए, 'हाम्रा गल्ती-कमजोरी सच्याउँछौँ । घटनालाई निरुत्साहित गर्छौं ।' गणेशमान पुन भने वाइसिएलले 'गल्ती नै नगरेको' बताउँछन् । 'हामीले जनतालाई दुःख दिएका, गल्ती गरेका छैनौँ । हामी त परिवर्तन चाहने शक्ति हो,' छुट्नेवेला गणेशमानले सुनाए, 'हामी अग्रगामी चेतनासहित रचनात्मक कामका लाग्छौँ । हामी युथफोर्सलाई परास्त गर्छा ।'