काठमाडौं/ विष्णु पोखरेल
शुक्रबार अपराह्न पौने चार बजेको थियो । उपत्यकाबाट विस्थापन गर्ने भन्ने बहस चलिरहेका थोत्रो तीनपाङ्ग्रे टेम्पोबाट उत्रेर बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजको मूलढोकामा पुग्दा मोटरसाइकलमा दुई व्यक्ति फुत्त भित्र छिरे । फोनमार्फत पहिले नै मिलाएको 'टाइम सेडुल' भन्दा केही ढिलो पुगे पनि पालेलाई सोधेँ- रमेश सर हुनुहुन्छ ? 'ऊ मोटरसाइकलमा जाँदै हुनुहुन्छ,' भर्खरै मूलढोकाबाट भित्र छिरेकामध्ये एकलाई देखाए उनले । नामजस्तै रंगको फलामे गेट पार गर्दै सम्भिmएँ, नामजस्तै गोल्डेन गेट नै रहेछ । बगैँचामा उभिएर मोबाइलमा कुरा गर्न व्यस्त उनी अर्थात् गोल्डेन गेट कलेजका कार्यकारी प्रमुख रमेश सिलवाल । परिचयको औपचारिकता पूरा गर्न पनि मोबाइल बाधक भयो । केहीबेर त्यहीँ उभिएपछि मोबाइलमा कुरा गरिसके उनले, अनि परिचयको औपचारिकता पूरा गरेर लागियो कार्यकक्षतिर । 'वैशाखमा एक्सिडेन्ट परेपछि हिँड्न गाह्रो भइरहेको छ,' अलि अप्ठ्यारो गरी पाइला चाल्दै उनले भने । लिफ्ट चढेर 'टप फ्लोर'मा रहेको उनको कार्यकक्ष पुग्दा सँगै एक युवा पनि गए ।
'पहिले उहाँको काम सकौँ है,' ती युवातर्फ इंगित गर्दै मुस्कुराए र भने, 'ल भन्नुस् तपाईंको कुरा ।' उसले टुहुरा बालबालिकाको सहयोगका लागि विद्यार्थीमार्फत सहयोग रकम संकलन गर्ने प्रस्ताव गरेपछि उनले 'प्रपोजल हेरेर केही गरौँला' भन्ने आश्वासन दिएर पठाए । उनले बल्ल निकाले फुर्सद मसँग कुरा गर्न ।
२०२२ असारमा धादिङको बेनीघाटमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा एमएस्सी सकेपछि शिक्षा क्षेत्रमा क्रियाशील उनीसँग शिक्षासम्बन्धी कुरा गर्नु थियो । करिब दुईदशक शिक्षा क्षेत्रमा क्रियाशील सिलवाललाई नेपालको अहिलेको शिक्षा प्रणाली कस्तो लाग्दो होला ? सुरुवाती प्रश्नको उत्तरमा सिलवालले भने, 'राडारविनाको जहाजजस्तो ।' 'राडार भएन भने विमान अवतरण गर्न समस्या हुन्छ र विमान दुर्घटनामा पर्छ,' निजी र सरकारी दुवै क्षेत्रका शिक्षण संस्थाको अनुभव सँगालेका यी महोदय बोले, 'हो, नेपालको शिक्षाप्रणाली पनि त्यस्तै छ, एउटा विद्यार्थीले कुनै विषयमा डिग्री गरिसक्छ, तर उसलाई अब के गर्ने पत्तै हुँदैन ।'
'शिक्षाको सर्वमान्य मोडेल हुँदैन, राज्यको आवश्यकताअनुसार अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्छ,' रसायनशास्त्रका अध्यापकले शिक्षा सिद्धान्त पढाउन थाले । उनको मोबाइलमा फेरि घन्टी बज्यो । 'एक मिनेट है,' मोबाइलमा कुरा गर्न थाले अनि फेरि आफ्नो शिक्षा दर्शन सुनाए, 'पूर्वीय र पश्चिमी शिक्षामा फरक छ । यी दुवै प्रणालीका सकारात्मक कुरालाई अपनाउनुपर्छ । विद्यार्थीलाई डिग्री लिएपछि के गर्छु भन्ने याद दिने खालको शिक्षा हुनुपर्छ । नेपालको शिक्षाले आत्मविश्वास जगाउन सकेको छैन । हाम्रो अस्पष्टता धेरै छन् । मानव संशाधन मन्त्रालयसमेत नभएको देशमा कसरी हुन्छ राम्रो शिक्षा प्रणाली ?'
त्रिविबाटै बीएल पनि गरेका र नेपाल प्रेस इन्स्िटच्युटबाट दसमहिने पत्रकारिता तालिमसमेत लिन भ्याएका यिनलाई शिक्षा व्यावहारिक, रोजगारमूलक, अनुसन्धानात्मक हुनुपर्छ भन्ने लाग्छ । 'तर, नेपालमा सैद्धान्तिकमात्र भएको छ,' उनले भने, 'परिणाममुखी, प्रभावमुखी, ज्ञानमुखी र दिमागमा सजिलै सेट हुने शिक्षा दिन सकेमात्र देश विकास हुनसक्छ ।'
त्रि-चन्द्र र अस्कल क्याम्पसमा समेत अध्यापन गर्ने उनले शिक्षामा निजी क्षेत्रको उदयपछि यसको गुणस्तरको सुधार भएको दाबी गर्न भने चुकेनन् । गोल्डेन गेट एजुकेसनल नेटवर्कअन्तर्गत टाइम्स, प्लाटेनियम र एड्भान्स कलेजका संस्थापक उनले आफ्ना संस्थाले पनि विज्ञान, मानविकी र व्यवस्थापनमा गुणस्तरीय शिक्षा दिइरहेको बताउन पछि परेनन् ।
'शिक्षा क्षेत्रमा ०४६ पछि धेरै विकास भएको छ । निजी क्षेत्रको प्रवेशसँगै शिक्षाले गति लिएको छ । राज्यले भन्नलाई भने पनि कहिल्यै प्राथमिकतामा राखेन शिक्षालाई । निजीक्षेत्रको प्रवेशसँगै शिक्षाले गति लियो र अपेक्षित लक्ष्य हासिल भए,' निजी क्षेत्रको बखान गरे उनले ।
यिनको हेराइमा, निजी क्षेत्रले माध्यमिक र उच्च माध्यमिक शिक्षाको मोडेल चेन्ज गरेका छन् । जसको परिणामस्वरूप हिजो दार्जिलिङ, कालेम्पोङ, आसाम, देहरादुन, नैनीताललगायत ठाउँमा छोराछोरीलाई पढ्न पठाउने घरानियाँले अहिले नेपालमै छोराछोरी पढाउन थालेका छन् । 'हुनेखानेहरूले पनि माध्यमिक शिक्षाका लागि भारत पठाउँदैनन् । उच्च माविसम्म भारत जाने रोकिए । अब हामीले यसभन्दा माथिकालाई पनि रोक्न सक्नुपर्छ ।' उनले सबै विद्यार्थीलाई स्वदेशमै अड्याउने सपना सुनाए । प्राविधिक विषयमा उच्चशिक्षा राम्रो रहेको बताउँदै उनी निजीक्षेत्रको बखान गर्न पनि चुकेनन् । उनले भने, 'जहाँ निजी क्षेत्रको लगानी, त्यहाँ राम्रो शिक्षा । निजीक्षेत्रकै कारण धेरै कोर्स आएका छन् ।'
शिक्षा र स्वास्थ्यलाई आधारभूत आवश्यकतामा राखिए पनि गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने कार्य सरकारी स्तरबाट हुन नसकेको उनको २० वर्षे अनुभवको ठहर हो यो । उच्च माध्यमिक विद्यालय संगठन हिसानका सचिवसमेत रहेका उनलाई सरकारी शिक्षालयमा पूर्वाधार, अनुगमन, मूल्यांकन र गुणस्तरीयता अभाव भएको लाग्छ ।
'नीति निर्माताहरूले स्कुल खोल्ने मात्र काम गरे, स्कुललाई स्कुल बनाउन सकेनन्,' उनले भने । विश्वमा शिक्षामा जहाँ लगानी भएको छ, त्यहाँ राज्य र निजी क्षेत्र दुवैले एकैखाले विकास गरेका छन् । 'पैसा पाउनका लागि मानिसले छोराछोरी स्कुल पठाउने चलन छ, अझै नेपालमा । लिटो, खाजा र छात्रवृत्तिका लागि मात्र छोराछोरी स्कुल भर्ना गर्नेहरू छन् । जति लगानी छ, त्यति प्रतिफल छैन । उच्च र निम्न शिक्षामा फरक छैन । साधारण शिक्षामा सबैको बल छ । प्राविधिक शिक्षा कमी छ,' उनले एकै स्वरमा भन्न भ्याइसकेछन् ।
विज्ञान प्रविधि विकास भए देश विकास हुन्छ र देश विकास भए प्राविधिक जनशक्ति बाहिरिँदैन । यहीभित्रबाट वा अन्य देशबाट प्राविधिक ज्ञान हासिल गरेका नेपाली विदेसिनुका कारण यहाँको अविकास र अशान्ति नै कारक हुन् । यिनलाई चिर्ने अवस्था आएमा तिनीहरू जो विदेसिएका छन्, नेपाल र्फकनेछन् । जसरी अमेरिका तथा युरोप पुगेका जापानी प्राविधिक फर्किए आफ्नै देश । आफ्नो भविष्य नदेखेपछि त्यसको खोजीमा विदेश भौँतारिनेलाई पनि देशको माया हुन्छ । यो उनको निष्कर्ष हो ।
'प्राविधिक जनशक्तिलाई राज्यले प्रोत्साहन गर्न सकेको छैन,' उनले भने, 'अनि त्यस्ता व्यक्तिमा पनि पलायनवादी सोच बढी हुन्छ ।' आफ्नो र सन्ततिको भविष्यको चिन्ताले प्राविधिक विदेसिएजस्तो लाग्छ उनलाई । प्राविधिक जनशक्तिमात्र हैन, विद्यार्थी पनि विदेसिने क्रम रोकिएको छैन । अहिलेको देशको अवस्थाले विशेषगरी युवापुस्तामा उच्च निराशा पैदा गरेको छ । विश्वासको संकट जसले आशा-भरोसा र विश्वास खोजी गर्छ अनि भविष्य बनाउने सुनौलो सपना देख्छ । तर, त्यो सपना पूरा गर्ने बाटो नदेखेपछि उसले आफ्नो भविष्यको चिन्ता गर्दै देश छाड्ने निर्णय गर्छ । उनको दुईदशक लामो अनुभवले यसै भन्छ ।
'जब मान्छेमा विश्वासको संकट हुन्छ, तब उसमा उच्च निराशा उत्पन्न हुन्छ । विश्वासको संकटका कारण उत्पन्न निराशाले व्यक्तिलाई जे पनि गर्ने बनाउँछ,' उनले आफ्नो तर्क पेस गरे । 'विश्वासको संकटकै कारण हिटलरको जन्म भएको देखिन्छ,' सिलवाल भन्दै थिए, 'कतै, कुनै कुरामा पनि विश्वासिलो आधार नदेखेपछि हिटलर एउटा निरंकुश शासक बन्ने कल्पना गरेर आफ्नो लक्ष्यमा अघि जसरी बढेका थिए, त्यस्तै नेपाली विद्यार्थी पनि चरम निराशावादका कारण देश छाडिरहेछन् ।' जबसम्म नेपालका दलहरू इमानदार बन्दैनन् तबसम्म नेपालबाट विद्यार्थी बाहिरिन रोकिदैनन् । 'नेपालमा शान्ति स्थापना गरेर नेताहरूले पनि इमानदारीसाथ काम गर्ने हो भने यो स्वदेशी मात्र हैन विदेशी विद्यार्थीका लागि पनि एजुकेसन हब बन्न सक्छ,' यिनी पनि अरूले जस्तै नेतालाई गाली गर्न चुकेनन् ।
अहिले खासगरी युवापुस्तामा विज्ञान प्रविधिमा चासो बढ्दै गएको छ । सूचना प्रविधि विकासले पनि चासो बढेको हो भन्ने लाग्दोरहेछ यिनलाई । तर, विज्ञान प्रविधिलाई बुझ्न नसक्दा समस्या छ भन्न पछि पर्दैनन् उनी । नेपालका विद्यार्थीमा मुस्किलले १० प्रतिशत पनि म वैज्ञानिक बन्छु भन्ने सपना देख्दैनन् । न त तिनका अभिभावक र शिक्षकले नै यस्तो मनोविज्ञान विकास गर्न सकेका छन् । 'हामीले यस्तो रोलमोडेल बनाउन सक्यौँ भने अवश्य नेपाली विद्यार्थीले पनि केही गर्नेछन्,' उनले भने ।
No comments:
Post a Comment