ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

चिनियाँ बैंकद्वारा १५ अर्ब ऋण प्रदान


सहुलियत ऋणमध्ये १२ करोड अमेरिकी डलर माथिल्लो त्रिशूली जलविद्युत् परियोजना 'ए’ मा र ८ करोड अमेरिकी डलर पोखरा विमानस्थल सुधारमा खर्च गर्नुपर्नेछ । दुवै परियोजना निर्माणमा चिनियाँ ठेकेदारले काम गर्ने सहमति भएको छ ।

यदु देवकोटा/ नयाँ पत्रिका

चीनको एक्सपोर्ट-इम्पोर्ट (एक्जिम) बैंकले नेपाललाई २० करोड अमेरिकी डलर (१४ अर्ब ९७ करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । नेपालले विदेशी बैंकसँग ऋण लिएको यो पहिलोपटक हो । यसअघि एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट मात्र सहुलियत ऋण लिँदै आएको थियो । वाषिर्क एक दशमलब ७५ प्रतिशत ब्याजमा प्रदान गरेको सो ऋण माथिल्लो त्रिशूली जलविद्युत् 'ए' परियोजना निर्माण र पोखरा विमानस्थल सुधारमा खर्चिने कार्यक्रम छ । ऋणसम्बन्धी सहमतिपत्रमा अर्थसचिव रामेश्वर आचार्य र चिनियाँ एक्जिम बैंकका उपाध्यक्ष ली जुङले बुधबार अर्थ मन्त्रालयमा हस्ताक्षर गरे । चिनियाँ एक्जिम बैंकले ऋण दिने सम्झौतापत्रमा हस्ताक्षर गरे पनि ऋण कति वर्ष अवधि र ऋण तिर्ने तालिकाबारे भने कुनै टुंगो लागेको छैन ।

'अहिले ऋण लिने सम्झौता मात्र भएको हो, ऋण कसरी र कहिलेसम्म तिर्ने भन्ने विषयमा नेपाल र चीनका सरकारी अधिकारी बसेर टुंगोमा पुग्ने सहमति भएको छ,' अर्थसचिव रामेश्वर खनालले भने । उनले कुनै एक मुलुकको बैंकसँग नेपालले ऋण लिन थालेको यो पहिलोपटक भएको जानकारी दिए ।

सहमतिअनुसार कुल सहुलियत ऋणमध्ये १२ करोड अमेरिकी डलर माथिल्लो त्रिशूली जलविद्युत् परियोजना 'ए' मा र ८ करोड अमेरिकी डलर पोखरा विमानस्थल सुधारमा खर्च गर्नुपर्नेछ । दुवै परियोजना निर्माणमा चिनियाँ ठेकेदारले काम गर्ने सहमति भएको छ । नेपाल विद्युत् प्रधिकरणले निर्माण गर्न लागेको माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाका लागि विद्युत् प्राधिकरणले ठेकेदार छनोट टेन्डर आह्वान गरेको छ । प्राधिकरणले २२ कात्तिकमा ठेकेदार छनोट गर्नेछ । प्राधिकरणले ठेकेदार छनोट गर्दा चिनियाँ एक्जिम बैंकसँग पनि छलफल गर्नुपर्नेछ ।

सहमतिपत्र हस्ताक्षर कार्यक्रममा चिनियाँ एक्जिम बैंकका उपाध्यक्ष लीले ऋण सहयोगले नेपालको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताए । 'नेपालमा पर्यटन र ऊर्जा क्षेत्रको विकासको प्रशस्त सम्भावना रहेकाले ती क्षेत्रको विकासका लागि चिनियाँ बैंकले लगानी गर्न थालेका हुन्,' लीले भने । उनले आफ्नो बैंक भविष्यमा पनि नेपालमा लगानी गर्न उत्सुक रहेको जानकारी दिए ।

सरकारले गत वर्षदेखि विदेशका एक्जिम बैंकलाई नेपालको पूर्वाधार विकासमा लगानीका लागि आग्रह गर्ने नीति लिएको हो । सोहीअनुरूप गत वैशाखमा हुने तयारी भएको नेपाल विकास मञ्चको बैठकमा पहिलोपटक एक्जिम बैंकहरूलाई पनि आमन्त्रण गरिएको थियो । सरकारको निमन्त्रणाअनुसार चीन, भारत र कोरियाका एक्जिम बैंकहरू विकास मञ्चको बैठकमा आउने जानकारी गराएका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by