विश्वमणि पोखरेल/काठमाडौं
उपत्यकाका घरधनीले छानाबाट बिजुली उत्पादन गर्न सक्छन्, विद्युत प्राधिकरणलाई बेच्न पनि सक्छन्। त्यसले हिउँदको चर्को लोडशेडिङ केही कम गर्न पनि सक्छ। प्रशस्त घाम लाग्ने यहाँका छतबाट सोलार प्यानलले के व्यवसायिक रूपमा बिजुली उत्पादन गर्न सक्लान्? सौर्य उर्जाविद् भने सम्पन्न घरबालालाई बिजुली उत्पादक बनाउने अवधारणामा सरकारसँग लविङ्ग गर्दैछन्।
घरका छतबाट 'घाम बिजुली' निकालेर प्राधिकरणलाई बेच्न पाउनुपर्ने नीतिगत व्यवस्थाको वकालत गर्दै उर्जा सरोकारवालाहरूलाई सहमत बनाउन सोलार इनर्जी सोसाइटीले आउने साता 'पिभि ग्रिड सिस्टम' (फोटो भोल्टाइ) गोष्ठी गर्दैछ।
छतमा सोलार प्यानेल राखेर सूर्यको प्रकाशलाई विद्युतीय उर्जामा परिणत गर्ने र त्यस्तो उर्जा प्राधिकरणको प्रसारण लाइनबाट बेच्न पाउनुपर्छ भन्ने उनीहरुको माग छ।
उनीहरुले उर्जा मन्त्रालयमा यसको पक्षमा आवश्यक नीतिको प्रस्ताव राखिसकेका छन्।
छतको सोलार प्यानलबाट उत्पादित बिजुलीबाट बत्ती बाल्ने, टेलिभिजन हेर्ने र मोबाइल चार्ज गर्नेलगायत घरेलु आवश्यकता पूरा गर्न सकिन्छ त? सौर्य उर्जा उत्पादक संघका अध्यक्ष जगन्नाथ श्रेष्ठ यस्तो बिजुली घरमा प्रयोग गर्नमात्र नभई प्राधिकरणलाई बिक्री गर्न सकिने हुनाले नीतिगत व्यबस्था जरूरि देख्नछन्। उनका अनुसार सोलार प्यानलको मद्दतद्वारा सूर्यको प्रकाशलाई बिद्युतीय उर्जामा परिणत गरी सजिलै प्राधिकरणको प्रसारण लाइनमा जोड्न सकिन्छ।
दिउँसो घाम लाग्दा उत्पादित बिजुली घरमै खर्च गर्ने कि प्राधिकरणलाई बेच्ने? वा रातिका लागि जोहो गर्ने? यो घरमालिककै इच्छामा भरपर्छ।
रातिका लागि जोहो गर्न भने प्राधिकरणको प्रसारण प्रणालीमा जोडेजस्तो सजिलो छैन। यसका लागि १ किलोवाटको सोलार प्यानलबाट उत्पादित उर्जा सञ्चित गर्न करिव ५० हजार मूल्य पर्ने व्याट्री चाहिन्छ। यस्ता व्याट्री दुईदेखि तीन वर्षमात्र टिक्छन्।
'प्राधिकरणलाई बिजुली बेच्ने घरधनीले सुल्टो र उल्टो दुबै दिशामा सूई घुम्ने मिटर राख्न सक्छन्,' श्रेष्ठ भन्छन्, 'यस्तो मिटर राखेपछि बिजुली प्रयोग गरेको बेला एउटा दिशामा घुम्ने सूई प्राधिकरणको लाइनमा जोड्दा अर्कै दिशामा घुम्छ।'
हिउँदमा दिउँसोसमेत विद्युत् आपूर्ति गर्न नसक्ने सरकारले सोलार प्यानल राख्न चाहने शहरीयालाई प्रोत्साहित गर्नुपर्ने सौर्य उर्जासँग सरोकार राख्नेहरूको धारणा पाइन्छ।
श्रेष्ठका अनुसार उपत्यकाका पाँच लाख घरमध्ये कम्तीमा ५० हजार घर एक करोडभन्दा बढी लागतका छन्। एक करोडभन्दा बढी मूल्य पर्ने घर बनाउन सक्नेका लागि थप पाँच लाख रुपैयाँ खर्च गरी एक किलोवाट क्षमताको सोलार प्यानल जडान गर्नु गाह्रो पर्दैन।
एक किलोवाट क्षमताको सोलार प्यानललाई दिनमा चार घण्टामात्रै चलाउँदा पनि कम्तीमा चार युनिट बिजुली उत्पादन गर्न सकिन्छ। अर्थात्, उपत्यकाका ५० हजार घरमा सोलार जडान गर्न सकिए कम्तीमा दैनिक दुई लाख युनिट बिजुली उत्पादन गर्न सकिन्छ।
'थोपा-थोपा गरी समुद्र बने जस्तै युनिट-युनिट गरी लोडसेडिङविरुद्ध लड्न सकिन्छ,' श्रेष्ठ भन्छन्।
घामबाट निकालिने दुई लाख युनिट बिजुली दुई मेगावाट क्षमताको जलविद्युत्ा आयोजनाले एकै घण्टामा उपत्पादन गर्छ। दुई मेगावाटको विद्युत आयोजना निर्माण गर्न करिब ३० करोड रुपैयाँ भए पुग्छ। श्रेष्ठको प्रस्तावअनुसार ५० हजार घरबाट घाम-बिजुली निकाल्न तयार हुने हो भने प्रत्येकको ५ लाख लगानीका हिसावले २५ अर्ब लगानी हुन्छ। जबकि, यति ठूलो रकमबाट धेरै ठूलो आयोजना सम्पन्न हुन्छ। २५० मेगावाट क्षमताको माथिल्लो तामाकोसीको लागत पनि ३३ अरब रुपैयाँमात्रै छ।
सहरमा सौर्य उर्जाको व्यावसायिक प्रयोगको सम्भाव्यता अध्ययन जारी छ।
स्विट्जरल्याण्डको सुप्सी विश्वविद्यालयको अगुवाईमा सौर्य उर्जा उत्पादक संघ, ग्रामिण एकीकृत विकास सेवा, नेपाल (रिड्स) र काठमाडौ विश्वविद्यालयका विद्यार्थी यसको अध्ययनमा छन्।
रिड्सका उर्जा विज्ञ मुरारीराज उपाध्याय सहरी उपभोक्ताको चाहना बुझ्न अध्ययन गर्नुपरेको बताउँछन्। उपत्यकाबासी चौबीसै घण्टा बिजुली पाए एक युनिटको कति रुपैयाँसम्म तिर्न तयार छन्? प्रत्येक घरले औसत कति बिजुली खपत गर्छन्? जस्ता प्रश्नको उत्तर खोजिने उनले बताए।
आम उपभोत्ताले कस्तो उत्तर दिने हुन? तर घामबाट बिजुली निकालेर कोठा, चोटा उज्यालो पार्ने, ल्पापटप चलाउन मिल्ने क्षमताको सोलार राख्ने माग बढिरहेको उपाध्याय बताउँछन्। उपाध्याय भन्छन् ' दिनदिनै घरमा सर्भे गर्न अनुरोध आइरहन्छ।' उनले थपे 'नेपालमा ६९ वटा सोलार कम्पनी छन्, अहिले सबै व्यस्त छन्।'
ललितपुर, बागडोलका अशोक अधिकारी सोलार घाम बिजुली व्याट्रीमा सञ्चय गर्ने योजना बनाउँदैछन्। अधिकारीले भने '५, ७ वटा चिम बाल्न मिल्ने, ल्यापटप चलाउन मिल्ने गरी सोलार प्यानल र व्याट्री राख्दै छु।'
'इसिमोड'मा कार्यरत ललितपुर ढोलाहिटीका वसन्त श्रेष्ठ बत्ती बाल्ने प्रयोजनका लागि सोलार प्यानेल राखेको बताउँछन्। श्रेष्ठले भने, '७५ वाटको राखेको थिएँ, नपुग्ने भयो, २०० वाट क्षमताको थप्दैछु।'
इसिमोडले सौर्य उर्जाबाट व्याट्री चार्ज गरेर ३ वटा इलेटि्रकल कार गुडाइरहेको छ।
सौर्य उर्जाविद्ले शहरी क्षेत्रमा प्रयोग हुने सोलार प्यानल आयात गर्दा सरकारले भन्सार र भ्याट छुट दिनुपर्ने माग राख्दै आएका छन््। ग्रामिण क्षेत्रमा सौर्य बिद्युत सरकारी प्राथमिकता छ। सरकारको विद्युत संकट निरुपण कार्ययोजना २०६५ मा 'शहरी सोलार' कार्यक्रम अर्न्तगत एक घरलाई १० हजार अनुदान दिने घोषणा गरिएको थियो। तर बिरोधका कारण शहरमा सोलार कार्यान्वयन हुन सकेको छैन्।
सरकारको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नारायण चौलागाई सरकारमाथि सौर्य उर्जा नीति अख्तियार गर्न दबाव आइरहेको बताउँछन्। ग्रामीण सौर्य उर्जा कार्यक्रमकै जस्तो अनुदान दिनुपर्ने माग आएको उनको अनुभव छ। उनी भन्छन्, 'नीति बनाउन समस्या छैन, तर सौर्य बिजुली निकै महंगो छ।'
सम्भव तर महँगो
प्राबिधिक दृष्टिले श्रेष्ठको अवधारणा सम्भव छ। प्राधिकरण भार प्रेषण केन्द्र प्रमुख शेरसिंंह भाट पनि सोलार प्यानल प्रयोग गरी घर-घरमा बिजुली उत्पादन गरेर प्रसारण प्रणालीमा राख्न सम्भव रहेको बताउँछन्। तर, लोडसेडिङकै समस्या अन्त्य गर्ने गरी घामबाट बिजुली उत्पादन गर्नु आर्थिक रुपले निकै कठिन रहेको उनी सम्झाउँछन्। 'लोडसेडिङ अन्त्य गर्न कम्तीमा तीन सय मेगावाट बिजुली चाहिन्छ,' उनले भने, 'सौर्य उर्जाले कसरी यत्रो अभाव धान्छ?'
योजनाविद् विनायक भद्रा घाम-बिजुली प्राबिधिक रुपले सम्भव हुँदाहुँदै पनि आर्थिक रुपले निकै महङ्गो हुने स्वीकार गर्छन्। प्राधिकरणका पूर्व निर्देशक शम्भुप्रसाद उपाध्यायको धारणा उस्तै छ। उनी भन्छन्, 'पश्चिमाहरूले नवीकरण उर्जालाई प्रोत्साहित गरेका छन्। धनी देशको कुरै बेग्लै हुन्छ। हामीसँग उपलब्ध जलस्रोत विद्युत्बाटै अभाव पूर्ति गर्नु उपयुक्त हुन्छ।'
No comments:
Post a Comment