ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 2, 2009

एक पटक हेर्नै पर्ने सूचिमा सगरमाथा निकुञ्ज


विजय घिमिरे, लसएन्जलस

विश्व प्रसिद्ध पत्रिका नेसनल जोग्राफी ट्राभलको पछिल्लो अंकमा प्रकाशित 'जीवनमा हेर्नैपर्ने ५० उत्कृष्ट स्थान' मा नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि परेको छ। ट्राभलको अक्टोबरमा प्रकाशित २५ औं वार्षिक उत्सव अंकमा वाइल्ड प्लेस (प्राकृतिक स्थान) शीर्षकअन्तर्गत उक्त निकुञ्जलाई राखिएको हो। सगरमाथा आरोही पिटर हिलाले सगरमाथा निकुञ्जको प्राकृतिक सौर्न्दयबारे वर्णानात्मक अनुभव लेखेका छन्। पहिलो सगरमाथा आरोही एड्मन्ड हिलाका छोरा पिटरले दुई पटक सगरमाथाको सफल आरोहण गरेका छन्। वाइल्ड प्लेसअन्तर्गत झन्डै एक दर्जन ठाउँ राखिएको छ। ५० हेर्न लायक स्थानमा प्राकृतिक स्थानबाहेक सहर, मानव निर्मित संरचनालगायत राखिएको छ।

'सगरमाथाको छाया पर्ने यो निकुञ्ज भ्रमण गर्दा कुनै दुर्गम गाउँमा पुगेजस्तो हुन्छ। मित्रवत व्यवहार गर्ने मानिस जताततै भेटिन्छन्,' पिटरले लेखेका छन्। सात वर्षको हुँदा बाबुसँग दार्जिलिङबाट सगरमाथा हिमाल हेरेको अनुभव पनि पिटरले लेखेका छन्।

साइबेरिया, उत्तरपश्चिमी बोलिभिया, क्यालिफोर्नियास्थित संसारकै अग्ला राता रुखको जंगल, पश्चिम अलास्का, क्यानडाको नानाबुट, बैकाल ताल पनि यो शीर्षकमा परेका छन्।

यी प्राकृतिक ठाउँकाबारेमा पत्रिकाले यहाँ पुग्दा धरती मातासँग साक्षात्कार हुन पाइन्छ। यी ठाउँ सरकारको हस्तक्षेपबिना भौगोलिक र हावापानीका कारण अझै विशुद्ध प्राकृतिक रहेको पत्रिकाले लेखेको छ।

पत्रिकाका प्रधान सम्पादक किथ बिलोले सम्पादकीयमा यी स्थानसँग जोडिएका व्यक्तिको वर्णन र विभिन्न सोधखोजबाट विश्वका ५० उत्कृष्ट स्थान चयन गरिएको उल्लेख गरेका छन्।

हेर्नैपर्ने सहरको सूचीमा टोकियो, नयाँदिल्ली, हङकङ, न्युयोर्कलगायत छन्। नयाँदिल्लीमा ३ हजार वर्ष पुराना र मुस्लिम सभ्यता हेर्न पाइने उल्लेख गरिएको छ। अन्य हेर्नैपर्ने स्थानमा भारतको ताजमहल, तिब्बतको पोताला दरबार, वासिङटनडिसीको लाइब्रे अफ कांग्रेसलगायत छन्।

तीमध्ये नेपालमा पर्ने सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सौर्न्दयका लागि प्रसिद्ध छ। विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यहीँ पर्छ। यहाँ १ सय १८ प्रजातिका चरा पाइन्छन्। यहाँ हिउँ चितुवा, कस्तु, रेड पान्डालगायत जनावर पनि पाइन्छ। यो निकुञ्जको तल्लो भाग पनि समुद्र सतहबाट ९ हजार ३ सय ३५ फिट उचाइमा पर्छ। यो निकुञ्ज ४ सय ८० वर्ग माइल क्षेत्रफलमा फैलिएको छ। यहाँ वर्षेनी ठूलो संख्यामा पर्यटकले पदयात्रा गर्छन्।

१० वर्षअघि सन् १९९९ मा पनि नेश्सनल जोग्राफीले यस्तै जीवनमा हेर्नैपर्ने ठाउँको विवरण प्रकाशित गरेको थियो। यो दोस्रो भाग हो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by