ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 2, 2009

'ह्विलचेयर डिप्लोम्याट'


पूर्ण बस्नेत, हङकङ

शीष्ट, सक्रिय र तार्किक- उदीयमान डिप्लोम्याट- कार्यवाहक महावाणिज्यदूत सुशील लम्साल (३२) बारे यस्तो टिप्पणी प्रायः सुनिन्छ हङकङका नेपालीमाझ। महावाणिज्यदूत केशव भट्टराई सचिवमा बढुवा भएर काठमाडौं फर्किएपछि दुई महिनादेखि कार्यवाहकका रूपमा लम्सालले हङकङका कुटनीतिक मञ्चहरूमा देशको कुशल प्रतिनिधित्व गरिरहेका छन्। बेइजिङस्थित चिनियाँ परराष्ट्र मन्त्रालयको स्वीकृतिपछि प्रधानमन्त्री माधव नेपालका भाइ विनोद उपाध्याय पाचौं महावाणिज्यदूतका रूपमा हङकङ आउनु अगाडिको करिब एक महिना उनकै नेतृत्वमा रहनेछ, मकाउ समेत हेर्ने महावाणिज्यदूतावास।

'ह्विलचेयरका लागि सहयोग र भेज खाना व्यवस्था गरिदिनू' चिम्साचुइस्थित कोन्कोर्डिया प्लाजाको सातौं तलामा रहेको नेपाली महावाणिज्यदूताबासबाट कात्तिक १२ मा फोनमा बोल्दैथिए लम्साल। उपसचिवका लागि लोकसेवाको जाँचमा सहभागी हुन काठमाडौँ जान लागेका उनले ड्रागन एयरका स्टाफसँग प्लेन टिकटको एरेन्जमेन्ट गर्नुअघि इन्टरनेसनल सोसल सर्भिस (आईएसएस)को एक महत्वपूर्ण बैठकमा नेपालको प्रतिनिधित्व गरे। दक्षिण र दक्षिणपूर्व एसियाका कन्सुल जनरल र हङकङ सरकारका प्रतिनिधि सम्मिलित बैठकबाट फर्किएका उनले भने, "हङकङमा बढिरहेको अनधिकृत आप्रवासीको संख्या कसरी घटाउन सकिन्छ भन्नेबारे छलफल भयो।"

कुटनीतिक बैठक र वार्तालगायत हङकङमा रहेका ५७ देशका कन्सुलेट जनरलहरूले आयोजना गर्ने राष्ट्रिय दिवस जस्ता औपचारिक कार्यक्रम हुन् वा रिसेप्सन र ककटेल डिनर, प्रायः छुटाउँदैनन् लम्साल। कार्यवाहक महावाणिज्यदूतका रूपमा नेपाली संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा प्रमुख वा विशेष अतिथि बन्न उनलाई भ्याइनभ्याई हुन्छ सप्ताहान्तमा। हङकङलाई ट्रान्जिट बनाएर हिँड्ने मन्त्री, सरकारी प्रतिनिधि र नेताहरूलाई रिसेप्सन र बिदाइ गर्नुपर्ने थप जिम्मेवारी पनि छ, यहाँका सरकारी अधिकारीहरूमा। सामान्यतः दूतावासको प्रतिनिधित्व महावाणिज्यदूतले गरे पनि दैनिक कुटनीतिक गतिविधि परराष्ट्र सेवाबाट आएको अधिकृतले हेर्नुपर्ने भएकाले हङकङ आएदेखि नै लम्साल निकै सक्रिय छन्। उनको सक्रियतालाई कार्यवाहकको जिम्मेवारीले अझै गति दिएको छ। 

'राष्ट्रको प्रतिनिधित्वको सवाल भएकाले डिप्लोमेटिक कार्यक्रमहरूमा जानु र नजानुले फरक पार्छ,' आफ्नो परिचित शीष्ट शैलीमा उनी भन्छन्, 'हङकङमा सबैसँग हाम्रो राम्रो सम्बन्ध छ, तर गएन भने डिप्लोमेटिक गतिविधिमा किन आएन भनेर कारण खोज्छन् र त्यसले सम्बन्ध निर्धारणमा असर गर्छ।' कार्यकारी प्रमुखको 'पोलिसी एड्रेस' होस् वा बजेट भाषण, हङकङ सरकारले एक डेढ घण्टा अगाडि नै विदेशी दूतहरूलाई बोलाएर बिफ्रिङ गर्छ। उनी भन्छन्, "डेपुटीले पोलिसी यस्तो छ भनेर ब्रिफ गर्छन्, हामी फर्किएपछि त्यो प्रस्तुत हुन्छ, दिनभरि कुरेर बस्नु पर्दैन।"

हङकङमा एउटा गजबको चलन के छ भने दूतावासहरूले आयोजना गर्ने राष्ट्रिय दिवसमा सरकार वा पार्टीहरूबाट लस्कर लागेर मानिस जाँदैनन्। कुटनीतिक मर्यादाका लागि सरकारका एक प्रतिनिधि सहभागी हुन्छन् र करिब १० मिनेटमै फर्किहाल्छन्। "सामान्यतः राष्ट्रिय दिवसमा सरकारका तर्फबाट जस्टिस वा फाइनान्स सेत्रे्कटरी जनरलमध्ये एक सहभागी हुन्छन्', कुटनीतिक भाषा अर्थ्याउँदै लम्साल भन्छन्, 'उनले दिने छोटो मन्तव्यले (सम्बन्धित देशप्रति) उनीहरूको नजर थाहा हुन्छ।'

लोकसेवा पास गरेर २०६० मा शाखा अधिकृतका रूपमा परराष्ट्र सेवामा छिरेका अर्थशास्त्रमा स्नातकोत्तर यी झापाली युवाले छ महिना कन्सुलर शाखा र त्यसपछिका तीन वर्ष 'चाइना डेस्क' को नामले चिनिने उत्तर-दक्षिण-पूर्व तथा सुदुर-पूर्वी एसिया महाशाखामा बिताए। त्यसपछि कन्सुलको रूपमा परराष्ट्र सेवाको 'हार्ड पोस्टिङ' मानिने हङकङ महावाणिज्यदूतावास आए, जहाँ उनको मुख्य जिम्मेवारी पासपोर्ट र भिसा हेर्ने हो। कार्यवाहकको थप जिम्मेवारीबाहेक प्रायः उनी आफ्नो मुख्य काममै भिडिरहेका हुन्छन्, टेबुलभरि पासपोर्टका चाङ केलाएर। 

अध्ययन र अपडेट रहने बानीले उनलाई तर्कशील बनाएको छ। कन्सुलेट जनरललाई भारतले 'प्रधान कन्सुलाभाष' र बंगलादेशले 'कन्सुलेट जनरल' शब्द नै प्रयोग गरेको बताउँदै उनी 'महावाणिज्यदूताबास' भन्दा 'कन्सुलेट जनरल' नै सही हुने दाकी गर्छन्। दुई वर्षसम्म वाणिज्यभन्दा बढी समय श्रम, पर्यटन र राजनीति-संस्कृतिसम्बन्धी काममा बिताएको अनुभवका आधारमा उनी तर्क गर्छन्, 'हङकङमा अल्कोहलबाहेक अन्य सामानमा कर नलाग्ने भएकाले वाणिज्यसम्बन्धी त्यत्ति समस्या छैन, कोलकाता वा ल्हासाको महावाणिज्यदूतावास जस्तो नभएकाले यसलाई कन्सुलेट जनरल भन्नु नै उपयुक्त हुन्छ।'

दुई वर्ष हङकङ बसाईका क्रममा यहाँको चुस्त सार्वजनिक सेवाबाट बढी प्रभावित भएका छन् लम्साल। भन्छन्, 'सरकारसँग काम गर्न निकै सजिलो छ, हङकङ एउटा उदाहरण नै हो दु्रत सार्वजनिक सेवाको।' तर हङकङ सरकारले २००५ जुनमा नेपालीहरूका लागि भिसामा लगाएको बन्देज खुलाउन पहल गर्नु अहिले पनि महावाणिज्यदूतावासको प्राथमिकता ठान्छन् उनी। 'प्रयास गरिरहेका छौँ, परिणाम निकाल्न सकेको छैन', उनी भन्छन्।

परराष्ट्र सेवामा 'शारीरिक रूपमा अशक्त' पहिलो अधिकृत बनेका लम्साल लगनशीलता र अध्ययनले सशक्त डिप्लोम्याटका रूपमा उदाउँदै छन्। हङकङको सुविधाले उनलाई साढे दुई वर्षको उमेरमा पोलियो भएर दुवै गोडा गुमाएको वास्तविकता समेत बिर्साउँछ कहिलेकाहीँ। 'यहाँका सडक, नयाँ भवन, चर्पी, अस्पताल सबै ह्विलचेयर फ्रेन्ड्ली छन्, हामीजस्तालाई चुनौती त आफ्नै देशमा छ,' 'ह्वीलचेयर डिप्लोम्याट' सुशील लम्साल भन्छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by