ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

काठमाडौं-

'हिजो भर्खर आएको ५० घटी हुँदैन,' मूल्य नघटाउने अडान लिँदै बसेका व्यापारीको हातमा एक साताअघिमात्र अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको कम्प्युटर अपरेटिङ सिस्टम 'विन्डोज ७' छ, जसको मूल्य १६ हजार ५ सय रुपैयाँ (एक डलर बराबर ७५ रुपैयाँका आधारमा) हो। माइक्रोसफ्ट कम्पनीले सोचेभन्दा बढी बजार लिएको यो अपरेटिङ सिस्टमको नक्कली (पाइरेटेड) डिभिडी नेपाली बजारमा खुलेआम बिक्री भइरहेको छ। नेपालमा भारत तथा चीन दुबै मुलुकबाट यस्ता पाइरेटेड सिनेमा, गीत र सफ्टवेयर आयात हुँदै आएको छ। प्रतिलिपि अधिकार नियमावलीले यस्तो आयातलाई प्रतिवन्ध लगाएको छ। नियमावलीले अनाधिकार प्रतिलिपिको पैठारी भए भन्सार अधिकृतले कारबाही गर्न सक्ने व्यवस्था गरेको छ।

विन्डोज ७ को फूल भर्सनको अन्तर्राष्ट्रिय मूल्य १६ हजार ५ सय रुपैयाँ तोकिएको छ। यो नयाँ अपरेटिङ सिस्टम पूर्णरुपमा चलाउन चाहनेका लागि हो। कम्पनीले प्रोफेशनल भर्सन पनि बजारमा ल्याएको छ जसको मूल्य १५ हजार रुपैयाँ पर्न आउँछ। यो भर्सन अफिस तथा घरायसी प्रयोगका लागि उपयुक्त छ। तेस्रो भर्सन होम प्रिमियम जसको मूल्य ९ हजार रुपैयाँ पर्छ। यो मनोरञ्जनका लागि बढी उपयोगी रहेको माइक्रोसफ्टले जनाएको छ। तर, यी सबै भर्सनको नेपालमा एउटै मूल्य छ, ५० रुपैयाँ।

'पाइरेसी गर्नेले ल्याएको सफ्टवेयरमा सबै कुरा समावेश हुन सक्दैन,' माइक्रोसफ्ट कम्युनिटी लिड रविचन्द्र कोइरालाले भने, 'विन्डोज ७ लाई क्र्याक गरेर ल्याएका हुनाले यसमा थुप्रै फिचर हटेको हुन्छ।' उनका अनुसार चोको बाटोबाट भित्रिएका सफ्टवेयरको प्रयोग व्यापक भएपनि त्यसले सक्कलीलेजस्तो काम गर्न सक्दैन। 'विन्डोज ७ मा पनि कतिपय प्रोग्राम कमजोर होलान, त्यसलाई माइक्रोसफ्टले सच्याएर अपडेट गर्छ। तर, पाइरेटेड सफ्टवेयर इन्स्टल भएका कम्प्युटरमा त्यो अपडेट गर्न सकिन्न,' कोइरालाले भने। 
हार्डवेयर बजारको तुलनामा नेपालमा सफ्टवेयर बजार चोरीमा आधारित छ। निक्कै कममात्र सफ्टवेयर कम्पनीका सोरुम उपलव्ध हुनुले त्यसलाई पुष्टी गर्छ। २० हजार भन्दा महँगा खाले सफ्टवेयरहरु नेपाली बजारमा २० रुपैयाँदेखि माथिको मूल्यमा बिक्री हुँदै आएको छ। विन्डोज ७ यस्तै पाइरेटेड कारोबारको श्रृखलामा थपिएको एउटा अर्को 'प्रोडक्ट' हो। 
अन्तराष्ट्रिय बजारमा सफ्टवेयर इलेक्ट्रोनिक गजेटको सोरुममा उपलव्ध हुने गर्छ। तर, नेपाली बजारमा सफ्टवेयर किन्न कुनै इलेक्ट्रोनिक ग्याजेटका वस्तुमा नभई सिनेमाका डिभिडी पसलमा पुग्नुपर्छ। यसले पाइरेसीलाई थप बल पुर्‍याएको छ।

बजारमा उपलव्ध पाइरेटेड विन्डोज ७ यसको सक्कली भन्दा सजिलोसँग कम्प्युटरमा हाल्न सकिन्छ। माइक्रोसफ्टले निर्माण गरेको सक्कली सफ्टवेयरमा १६ अक्षरको कि समावेश छ जसलाई कम्प्युटरमा हाल्नेक्रममा राखिन्छ। तर, पाइरेटेड कपीमा कुनै पनि कि राख्नु पर्ने झन्झट रहन्न, पाइरेसी गर्नेले क्र्याक गरेर यसलाई सजिलो बनाउने गर्छन्। सफ्टवेयरमा रहने कीले नै सफ्टवेयर सक्कली वा नक्कली भन्ने पहिचान गर्न सक्छ। 
प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार यस्ता सामाग्री कपी गरेर बिक्री गरेमा १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवान गर्न सकिने व्यवस्था छ।

पाइरेसीले नेपाली बजारमा कति स्थान लिएको छ, कुनै तथ्यांक छैन। तर, भारतमा यस्ता नक्कली सफ्टवेयरले हरेक वर्ष २ अर्व ८० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भइरहेको तथ्य सार्वजनिक भएको छ।

माइक्रोसफ्टले बजारमा पुगेको पाइरेटेड डिस्कमा कुनै न कुनै भाइरस प्रभावित रहने बताएको छ। उसले पाइरेटेड विरुद्धको आफ्नो अभियान जारी रहने समेत जनाएको छ। 
नेपाली बजारमा नयाँसगै विन्डोज ७ को वेटा भर्सन पनि खुलेआम बिक्री भइरहेको छ। जसको म्याद एक वर्ष पनि छैन। यो भर्सनको 'डेडलाइन' मार्च १ सम्ममात्र हो। त्यसपछि कम्प्युटर प्रयोगकर्ताले हरेक आधा घन्टामा कम्प्युटर बन्द गर्नुपर्ने हुन्छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by