ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

नेपाल र अमेरिकाबीच व्यापारिक सन्धिको तयारी

विज्ञान अधिकारी-

नेपाल अमेरिकाबीच द्विपक्षीय व्यापार सम्झौता गर्न प्रक्रिया अगाडि बढेको छ। दुई मुलुकबीचको व्यापार बढाउन व्यापार तथा लगानी ढाँचा सम्वन्धी सम्झौता (टिफा) प्रक्रिया अगाडि बढाइएको हो। सम्झौताको मस्यौदा दुबै मुलुकबीच आदान प्रदान भइसकेको छ। द्धिपक्षीय व्यापार मुद्धा हेर्ने युनाइटेड स्टेट ट्रेड प्रिजिन्टेटिभ (यूएसटीआर) को दक्षिण एसिया प्रतिनिधित्व गर्ने एडीना एडलरले केही महिना अघि सम्झौताको मस्यौदा नेपाल ल्याएकी थिइन्। सम्झौतामा टेकेर द्धिपक्षीय व्यापार सन्धी गर्न सकिने सरकारको विश्वास छ। 'हामीले अमेरिकाले दिएको मस्यौदालाई केही परिमार्जन गरेर पठाएका छौ,' वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले नागरिकसँग भने। उनका अनुसार दशैपछि मन्त्रालयले केही परिमार्जन गरेर मस्यौदा पठाएको हो। सन्धि हुन सके नेपालले प्रशस्त फाइदा लिन सक्ने उनले बताए।

अहिले नेपाली वस्तुले अमेरिकामा चर्को भन्सार शुल्क तिर्नुपर्छ। यसका कारण नेपाली वस्तुले अमेरिकामा प्रतिस्पर्धा गर्न सकेका छैनन्। सन् २००४ को कोटा खारेजी पछि नेपालको तया पासाकको निकासी निरन्तर घटिरहेको छ। अमेरिकाले सन् २००८ पछि विश्व व्यापार संगठनमा अल्पविकसित मुलुकका ९७ प्रतिसत वस्तुलाई भन्सारहत सुविधा दिने प्रतिवद्धता गरेको थियो। तर, अहिलेसम्म प्रतिवद्धता पूरा गरेको छैन। व्यापार सन्धी भए नेपालले ९७ प्रतिशत वस्तुलाई भन्सारहत सुबिधा दिलाउन पहल गर्ने मन्त्रालय स्रोतले बतायो। 'बहुपक्षीय सम्झौतामा गरेको प्रतिवद्धतालाई द्धिपक्षीय सन्धी गरेर उपयोग गर्न नेपालले खोजेको हो। मन्त्रालयका अनुसार टिफा सम्झौता भएपछि दुबै पक्षको एउटा उच्चस्तय संयन्त्र बन्नेछ। यो संयन्त्रले लगानी, बौद्धिक सम्पत्ती अधिकारका बारेमा छलफल गर्नेछ।

'दुबै पक्षको संयन्त्रले तीन वटै क्षेत्रका बारेमा छलफल गर्नेछ,' मन्त्रालय स्रोतले भन्यो। अमेरिकी पक्षले कुनै पनि मुलुकमा हुने लगानीको प्रत्याभूतिको पूर्ण ग्यारेन्टी चाहेका हुन्छन्।

कुनै पनि लगानीको सुरक्षाको पूर्ण ग्यारेन्टी हुनुपर्ने र दोहोरो कर हटाउनुपर्ने लगायतका विषयमा बढी प्राथमिकता राख्छन्। 'अमेरिकाका लागि यी महत्वपूर्ण विषय हुन्,' स्रोतले भन्यो, 'यो उनीहरुको प्रमुख मुद्धा हो। नेपालले लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता अन्तर्राष्ट्रिय क्षेत्रमा गरिसकेको छ। प्रतिनिधि एडलरले यो फ्रेमवर्कमा रहेर नेपालले भन्सारहतको सुविधा लिन सक्ने नेपाली व्यवसायीसँगको छलफलमा बताएकी थिइन्। 
अमेरिकाले अफगानिस्तानलाई द्धिपक्षीय व्यापार सन्धी अनुसार भन्सार सुविधा दिएको छ। अफगानिस्तानबाट थोरै वस्तु मात्र अमेरिका निकासी हुने गरेको छ। 'अफगानिस्तानले यही सम्झौता अनुसार भन्सार हत सुविधा पाएको छ,' नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष प्रशान्त पोखरेलले भने, 'यो आधारलाई उपयोग गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ। 

टिफा सम्झौता गर्न भने लामो प्रक्रिया लाग्न सक्छ। 'यो प्राम्भिक चरणको प्रक्रिया हो,' स्रोतले भन्यो, 'टिफा सम्झौता पछि पनि धेरै चरणको बार्ता पार गरेपछि द्धिपक्षीय सम्झौता हुनसक्छ।' दुई मुलुकबीच कुन- कुन क्षेत्र खुल्ला गर्ने लगायत बारेमा लामो चरणको छलफल हुने स्रोतले बतायो। 

यसअघि टिफा सम्झौता गर्न अमेरिका र बंगलादेशबीच छलफल भएको थियो। बंगलादेशसँगको सम्झौता बौद्धिक सम्पती सम्वन्धी अधिकारमा पुगेर तुहिएको थियो। स्रोतका अनुसार बौद्धिक सम्पती सम्वन्धी अधिकारको छलफल सबैभन्दा चुनौतिपूर्ण हुने स्रोतले बतायो। 'नेपालको बौद्धिक सम्पतीलाई अमेरिकाले प्याटेन्ट दर्ता गरेको अवस्थामा कस अगाडि बढ्ने भन्ने चुनौति रहेका छन्,' स्रोतले भन्यो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by