ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 2, 2009

भारतमा तीन नेपाली लुटिए, एक बेपत्ता

नेपालगन्ज/ 

भारतबाट मजदुरी गरी घर फर्किरहेका तीनजना नेपाली आइतबार बिहान भारतको चन्डीगढमा लुटिएका छन् । तीमध्ये एकजनालाई लुटेराले बेपत्ता पारेका छन् । भारतको कार्गिलबाट मजदुरी गरी घर फर्किने क्रममा उनीहरूलाई नशालुपदार्थ मिसाइएको जुस खुवाएर लुटेका थिए । बेहोस बनाएर आफूहरूबाट ९१ हजार भारतीय रुपैयाँ लुटेको पीडितले बताएका छन् । राप्तीपारि बैजापुर-६ का खैरेनीका रामफिरन चौधरीबाट ३५, सुन्दर चौधरीबाट ३० र कचनापुर-६ का कविराम थारूबाट २६ हजार भारतीय रुपैयाँ लुटपाट भएको हो । थारू आइतबार नेपालगन्ज आइपुगेपछि घटनाबारे सार्वजनिक भएको हो । उनले लुटिएकामध्ये सुन्दर अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।

उनका अनुसार आफूहरू घर फर्किने क्रममा दुईजना लुटेराले आफूहरूलाई नशालुपदार्थ मिसाइएको जुस खुवाएका थिए । 'उनीहरूले दिएको जुस खाएको केही छिनमै चक्कर लाग्यो । हामी बेहोस भयौँ,' कविरामले भने, 'त्यसपछि लुटेराले हामीसँग रहेको पैसा लुटेर लगेछन् ।' होस आएपछि आफू नेपालगन्ज फर्किन सफल उनले बताए ।

आफ्नो होस आउँदा सुन्दर त्यहाँ थिएनन् । 'सँगै थिए, तर म होसमा आउँदा उनी थिएनन् । कहाँ लगे थाहा भएन,' उनले भने । कविरामले घटनाबारे जानकारी दिएपछि बैजापुर र कचनापुरका गाउँले सुन्दरको खोजी गर्न भारत गएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले घटनाबारे आफूहरूलाई जानकारी नभएको बताए । 'घटनाबारे बुझ्छौं,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by