ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

राजदूत सुदले भने- भारतको समर्थन माधव नेपाललाई


मोहन भट्टराई- नयाँ पत्रिका/ विराटनगर

भारतीय राजदूत राकेश सुदले माधव नेपाल नेतृत्वको सरकारले नै संविधान बनाउने दाबी गरेका छन् । उनले वर्तमान सरकारकै नेतृत्वमा संविधान बनोस् भन्ने भारतको चाहना रहेको पनि प्रस्ट पारेका छन् ।
भारतीय सहयोगमा विराटगरमा निर्र्मित पोलिटेक्निक कलेजको उद्घाटनमा भारतीय राजदूत सुदले वर्तमान सरकारकै नेतृत्वमा संविधान निर्माण र शान्तिप्रक्रिया अगाडि बढोस् भन्ने भारतको चाहना रहेको बताए । उनले भने, 'भारत माधवकुमार नेपालकै नेतृत्वमा रहेको सरकारले नेपालमा नयाँ संविधान निर्माण र शान्तिप्रक्रिया अगाडि बढाओस् भन्ने चाहन्छ ।' राजदूत सुदले नेपालमा स्थायित्व भए त्यसको फाइदा भारतलाई पनि हुने बताए ।

उद्घाटन समारोहका प्रमुख अतिथि प्रधानमन्त्री माधवकुमार नेपालले सडकमा टायर बालेर समस्याको समाधान नहुने भन्दै एकीकृत माओवादीलाई बसेर सहमति गर्न आग्रह गरेका छन् ।

सोमबार मोरङ, हात्तीमुढा-६ मा निर्मित मनमोहन मेमोरियल पोलिटेक्निकको उद्घाटनमा प्रधानमन्त्री नेपालले भने, 'अहिले द्वन्द्व बढाउने वेला होइन, सबै मिलेर संविधान बनाउने वेला हो ।' उनले सेना र हतियार व्यवस्थापन नभएसम्म शान्तिप्रक्रिया सफल नहुने बताए ।

'माओवादीले जबसम्म आफूलाई लडाकाबाट मुक्त गर्दैन तबसम्म उनीहरूमा देखिएको उग्रवामपन्थी सोचका कारण कुनै पनि समस्याको समाधान हुँदैन,' प्रम नेपालले माओवादीतर्फ इंगित गर्दै भने, 'आउनुहोस् सबै बसेर समस्याको समाधान गरौँ ।'

आन्दोलन जनतालाई कष्टमाथि कष्ट मात्र भएको उनको आरोप थियो । प्रधानमन्त्री नेपालले सत्ता हत्याउन सडकमा बबाल गरेर केही नहुने बताएका छन् । 'सरकारमा जानका लागि सडकमा बबाल मच्चाएर केही हुँदैन,' प्रधानमन्त्री नेपालले भने, 'कालोझन्डा देखाएर सत्ता पाइँदैन ।' उनले सरकारको नेतृत्व गर्न माओवादी लालायित छन् भने संसद्मा बहुमत पुर्‍याएर देखाउनसमेत चुनौती दिए ।

सहमतिको ढोका खुलै रहेको बताउँदै प्रधानमन्त्री नेपालले माओवादीलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह पनि गरे ।

प्रधानमन्त्री नेपालले सेना र हतियार नहटेसम्म माओवादी पार्टी नागरिकको पार्टी हुनै नसक्ने दाबी पनि गरे । 'हतियारको समस्या समाधान नभएसम्म साँचो अर्थमा संविधान निर्माण अगाडि बढ्दैन,' प्रधानमन्त्रीले भने ।

कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले माओवादीलाई आन्दोलन रोकेर राष्ट्रिय सहमतिमा आउन आग्रह गरे । 'सत्तापक्ष एक दिशा र प्रतिपक्ष अर्को दिशातिर समानान्तर भएर जाने हो भने, मुलुक गम्भीर दुर्घटनामा पर्नेछ,' नेता खनालले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by