ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

नेता र मन्त्रीहरुको अनावश्यक दवाव : एसपी खरेल

मनोज अधिकारी/ पोखरा- 

कास्कीका प्रहरी प्रमुख एसपी रमेश खरेलले जिल्लाको शान्ति सुरक्षा बहाल गर्ने क्रममा आफुलाई केन्द्रबाट दलका नेता र मन्त्रीहरुको धेरै दवाव आईरहेको खुलासा गरेका छन्। अपराधीलाई पक्राउ गर्दा स्थानीयस्तरबाट भन्दा केन्द्रबाट धेरैपटक अनावश्यक दवाव आए पनि आफुले कसैको दवाव नटेरेको उनले दावी गरे। 'शान्ति सुरक्षा बहाल गर्ने क्रममा पक्राउ परेका अपराधीलाई छुटाउन केन्द्रबाट दलका नेतादेखि मन्त्रीसमेतले धेरै दवाव दिने गरेका छन्' सुशासनका लागि प्रहरी प्रशासनको भूमिका विषयक अन्तरक्रियामा खरेलले भने। उनले जोसुकैको दवावलाई बेवास्ता गर्दै आफ्नै ढंगले काम गरिरहेको बताए। 'कसैको दवावमा काम गर्ने मेरो बानी छैन' उनले भने,...हवस् हजुर हेरौंला भन्छु, आफ्नो ढंगले काम गर्छु।'



उनले स्थानीय व्यवसायी, पेशाकर्मी, नागरिक समाज सहभागी कार्यक्रममा आफ्नो काममा अनावश्यक दवाव दिने सबैको उपयुक्त समयमा पर्दाफास गर्ने चेतावनी दिए। 'को-कोबाट कस-कसलाई छुटाउन प्रेसर आएको छ, त्यो सबै उपयुक्त समयमा खुलस्त गरिदिन्छु' खरेलले भने,'तपाईहरुको च्यानलबाट भनिदिनु भए हुन्छ। म कसैको दवाव सहन्न।'


आफुले प्रहरीको बर्दी बेचेर जागिर नखाने उल्लेख गर्दै उनले जुनसुकै घण्टा सरुवा हुन मानसिक रुपमा तयार भएर आफुले काम गर्ने गरेको बताए। 'मलाई फलानो व्यक्तिलाई किन पक्राउ गरेको, छोडिदिनु पर्‍यो भनेर माथिबाट फोन आईरहन्छ' उनले भने, 'मैले कसैको दवावमा आजसम्म कसैलाई छोडेको छैन। बरु जुनसुकै बेला सरुवा भएर जान तयार छु।'

उनले आफु बर्दी बेचेर जागिर खाने सिपाही नभएकाले यस्तै दवावमा परेर पटकपटक सरुवा भएको समेत बताए। 'कानूनको अधिनमा रहेर आफ्नो ढंगले जनताको काम गर्दा सिरहा, पाल्पा लगायत स्थानबाट यस्तै दवावमा काम नगर्दा म ५/७ घण्टामै सरुवा भएको छु।'

उनले गुण्डागर्दी, वेश्यावृत्ति र अवैध क्यासिनो सञ्चालन गर्नेमाथि कडा कारबाही र निगरानी राख्दा केही व्यक्ति र व्यवसायी मोटो रकम लिएर आफुसंग चोचोमोचो जोड्न आएको खुलासा पनि गरे। त्यस्ता व्यक्तिलाई आफुले फर्केर नआउने गरी बचन दिएर पठाउने गरेको उनले बताए।


'मलाई भ्रष्ट आईजी भएर रिटायर्ड हुनु छैन' उनले भने,'बरु एसपीबाटै रिटायर्ड हुन तयार छु। मलाई कसैको एक पैसा खानु परेको छैन।' एसपी खरेलले आफुहरुलाई जनताको सुरक्षा बहाल गर्न पर्याप्त साधन, स्रोत नभएको गुनासो समेत गरे। यसबारेमा आफुले केन्द्रीय तहमा कुरा गर्न चाहेको उनले सुनाए।


उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका बिग्रेका गाडी मर्मत गर्न ६ लाख रुपैयाँभन्दा बढीको बिल आएको छ। तर माथिबाट मात्र ५० हजार रुपैयाँ निकासा दिईएकाले त्यो ज्यादै अपुरो छ। 'जनताको सुरक्षामा दौडन ईन्धन नपुगेर काम गर्न साह्रै अप्ठेरो परेको छ' खर्चको बेलीबिस्तार लाउँदै उनले प्रश्न गरे, 'महिनाको ९० हजार रुपैयाँ ईन्धनका लागि दिईएको छ। जब कि यो खर्च २ लाखभन्दा बढी हुन्छ। कसरी काम गर्ने?'

उनले आफुले यो कुरा प्रहरी महानिरीक्षक (आईजीपी), गृहमन्त्री र मौका पाए प्रधानमन्त्रीसँग गर्न चाहेको उल्लेख गरे। सरुवा भएर आएको ४० दिनको अवसरमा आयोजित अन्तरक्रियाका सबै सहभागीले जिल्लाको सुध्रँदो शान्ति सुरक्षाका लागि एसपी खरेलको प्रसंसा गर्दै आफुहरुबाट रचनात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। उनीहरुले छोटो समयमा शान्ति सुरक्षामा सन्तोषजनक सुधार गर्ने एसपी खरेललाई कास्कीबाट नपठाउन सबैले आ-आफ्नो ठाउँबाट सक्दो पहल समेत गर्ने उल्लेख गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by