ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 1, 2009

माओवादीलाई सहमतिमा ल्याएरै छाड्छुः कोइराला

काठमाडौँ/(नागरिक)- 

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सहमतिमा ल्याएरै छाड्ने बताएका छन्। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी महासमिति बैठकको उदघाटन गर्दै कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह पनि गरे। बैठकलाई सम्बोधन गर्दै कोइरालाले विधान संशोधन नगरी अहिले कै संरचनामा पार्टीलाई चलाउन आफूले महासमिति सदस्यहरुको सहयोग पाउने आशा व्यक्त गरे। 
कांग्रेस केन्द्रीय समितिमा मस्यौदा विधानबारे चर्को विवाद भएपछि तीन विकल्पसहित महासमिति बैठकको आजै सुरु हुने बन्द सत्रमा पेस हुने भएको छ। प्रस्तावित तीन विकल्पमा सभापतिले पदाधिकारीसहित ५० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने, सबै पदाधिकारी र ८० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित गर्ने र ८० प्रतिशत सदस्य निर्वाचित गर्ने तर पदाधिकारी निर्वाचित केन्द्रीय सदस्यले चुन्ने छन्।

तीन दिनसम्म चलेको केन्द्रीय समितिमा लामो छलफल हुँदा पनि विधानमा सहमति नभएपछि सबै विचारलाई महासमितमै छलफल गर्ने निष्कर्षमा समिति पुगेको हो। 'लामो छलफलपछि पनि विधानमा सहमति हुन नसकेपछि तीन विकल्पसहित महासमिति वैठकमा पेस गर्ने निर्णय भयो,' महामन्त्री विमलेन्द्र निधिले नागरिकसँग भने।

सभापति गिरिजाप्रसाद कोइराला र कार्यवाहक सभापति सुशील कोइरालासहितका केन्द्रीय सदस्यहरूले सिटौला समितिले पेस गरेको विधानमा सभापतिलाई कमजोर बनाएको भन्दै सभापतिका अधिकार कटौती गर्न नहुने धारणा राख्दै आएका छन्।

उपसभापति रामचन्द्र पौडेल र प्रकाशमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, नरहरि आचार्य, पूर्णबहादुर खड्का, नारायण खड्कालगायतले मस्यौदा विधानका पक्षमा धारणा राखेका थिए।

कार्यवाहक सभापति कोइरालासहित दिलबहादुर घर्ती, दिलेन्द्र बडु, पुरुषोत्तम बस्नेत, गोपाल पहाडी, आनन्दप्रसाद ढुंगाना, सुजाता कोइराला, शंशाक कोइराला, बलबहादुर केसी, प्रकाशशरण महत, अमरराज कैनी, दीनबन्धु श्रेष्ठ, पद्मनारायण चौधरी, सुशीलमान शेरचन, फरमुला मन्सुर, जीवनबहादुर शाही, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले सभापतिलाई कार्यकारी अधिकार दिनुपर्ने भन्दै पदाधिकारी निर्वाचन गर्न नहुने धारणा राखेका थिए। सरकारमा सहभागी सबै मन्त्रीहरूले पनि पदाधिकारी निर्वाचन गर्न नहुने भन्दै सभापतिको अधिकार कटौती गर्न नहुने धारणा राखेका थिए।

सुरुमा पदाधिकारी निर्वाचनका पक्षमा वकालत गर्दै आएका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि बैठकमा पदाधिकारी निर्वाचन गर्दा सभापति कमजोर हुने धारणा राखेका छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by