ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 1, 2009

तीन दलका प्रमुख 'सहमतिको सरकारका लागि तयार'

उजिर मगर, काठमाडौं

माओवादी नेतृत्वमा सहमतीको सरकार गठनका लागि माओवादी, कांग्रेस र एमालेका प्रमुखहरूबीच समझदारी भएको केही जानकार स्रोतले दाबी गरेका छन्। अन्तरिम संविधानको अर्को संशोधनद्धारा 'राष्ट्रपतिको कार्यक्षेत्र प्रष्ट उल्लेख गर्ने' सहमति तीन नेताबीच भएको पनि तिनको दाबी छ। स्रोतका अनुसार, त्यही समझदारी बढेपछि राष्ट्रपति रामवरण यादवले कानुन व्यवसायीहरूसँग आफूलाई दलहरूले आक्षेप लगाउन खोजेको असन्तुष्टी व्यक्त गरेका थिए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अधयक्ष झलनाथ खनालसँग एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको केही चरणमा छलफल भइसकेको र त्यसले 'वातावरण परिपक्व भएपछि' साकार रूप लिने तिनले दाबी गरेका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने भएकाले 'आन्दोलनबाट सरकारलाई गलाउने' माओवादीले नीति लिएको छ भने संसदबाट नयाँ सरकारका पक्षमा बहुमत पुर्‍याउने तिनको प्रयास जारी रहनेछ।

'आन्दोलनको बटमलाइन सहमतिको सरकार हो। त्यो नेतृत्व माओवादीले गर्नेछ। राष्ट्रपतिको कदमबारे त्यही सरकारले सदनमा छलफल गर्ने प्रस्तावमा सहमती बनेको छ,' माओवादी स्थायी समितिका एक सदस्यले नागरिकसित भने।

एमालेका खनाल पक्षधर एक केन्द्रीय सदस्यले उक्त प्रस्ताव विकसित भएको स्वीकार गरे। 
राष्ट्रपतिको कदमबारे कोइराला मौन रहँदै आएका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले भने-'राष्ट्रपतिको कदमबारे गिरिजाबाबुले अहिलेसम्म बोल्नु भएको छैन। मुठभेड रोक्न उहाँले स्वाभाविकरूपले सहमतिको सरकार स्वीकार्नुभएको छ।'

माओवादीले आइतबार सुरू गर्ने आन्दोलनबारे प्रधानमन्त्री नेपालले अध्यक्ष खनालसँग छलफल पनि नगरेको खनाल निकट स्रोतले जनाएको छ। 'आन्दोलनले कस्तो रुप लिन्छ त्यसमै उनीहरूको वैचारिक र व्यवहारिक पक्षको आलोचना हुन्छ,' खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ' पार्टीले सरकारलाई प्रतिकार, दमन गर भनेर निर्देशन दिन सक्दैन।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by