ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

नेपालमा चाइनिज वेश्यालय




नयाँ पत्रिका/ काठमाडौं

काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय रहेछन् । फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ । ठमेलको शिक्षा मन्त्रालयपछाडि तीनतले भव्य बंगला भाडामा लिएर चाइनिज दम्पतीले कोठी चलाउँदै आएका थिए । सञ्चालक पक्राउ परेका छन् भने उनकी श्रीमती फरार छिन् । प्रहरीले बुधबार बेलुका आठ बजे बंगलामा छापा मारेर कोठी सञ्चालक पुरुष, ६ चाइनिज युवती र ६ नेपाली ग्राहकलाई पक्राउ गरेको छ । ठमेलको यो वेश्यालयलाई प्रहरीले दुई महिनादेखि निगरानीमा राखेको प्रहरी स्रोतले जनाएको छ । ठमेलमा अरू विदेशी युवतीका पनि कोठी रहेको प्रहरी आशंका छ ।
अग्लो पर्खालले घेरिएको तीनतले भव्य घरमा रहेका नौवटा कोटामध्ये तीनवटा कोठा व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएका थिए भने बाँकी ६ कोठा यौनलीलाका लागि प्रयोग गर्दै आएका थिए । यौनलीलाका लागि छुट्याइएका कोठाहरूमा आकर्षक सजावटका साथै २९ इन्चका टेलिभिजन, सिडी प्लेयर र ब्लु फिल्मका सिडीहरू राखिएका थिए ।

प्रहरीले बेलुका साढे आठ बजे घरमा छापा मार्दा चिनियाँ केटीहरू ग्राहकसँग मस्त थिए । प्रहरीका अनुसार डेढ महिनाअगाडि ठमेलमा चिनियाँ नागरिकले कोठी चलाउने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

डेढ महिनाको निरन्तर निगरानीपछि सो बंगलामा कोठी सञ्चालित रहेको निष्कर्षपछि बुधबार प्रहरीले छापा मारेको थियो । कोठीमा छापा मार्न परिसरको टोली सादा पोसाकमा खटिएको थियो । आठ बजेदेखि नै सो बंगलामा आउने-जाने व्यक्तिहरूको निगरानी गरी साढे आठ बजे छापा मारेको थियो ।

बंगलाभित्र प्रहरी प्रवेश गर्ने प्रयास गर्दा सञ्चालकले भित्रबाट गेटमा चुकुल लगाइदिएपछि प्रहरी पर्खाल नाघेर भित्र छिरेको थियो । प्रहरी टोली भित्र प्रवेश गरी कोठा-कोठामा जाँदा जोडीहरू मदिरामा लठ्ठ भएर आपसमा जोल्ठिएका थिए ।

प्रहरी टोली कोठा-कोठामा छिर्न थालेपछि चिनियाँ केटीहरू र नेपाली ग्राहकहरू चिच्याउँदै भाग्ने प्रयास गरेका थिए । प्रहरीले पूरै घरमा खानतलासी लिएर उनीहरूलाई नियन्त्रणमा लिन करिब एक घन्टा लागेको थियो ।

प्रारम्भमा थोरै व्यक्ति रहेको निष्कर्ष निकालेर घरभित्र छिरेका प्रहरीलाई नियन्त्रणमा लिन हम्मे पर्‍यो । छापा मार्न खटिएको टोलीले मात्र उनीहरूलाई नियन्त्रणमा लिन नसकेपछि थप प्रहरी फोर्स मगाउनुपरेको थियो । प्रहरीले कोठाहरूमा छापा मार्दा कन्डम र ब्लु भिडियोका सिडीहरू फेला पारेको छ ।

स्थानीयवासीका अनुसार सो कोठीमा प्रायः भव्य सवारीसाधन लिएर नेपाली र विदेशी नागरिकहरूको बाक्लो आउजाउ हुने गरेको थियो । तर, बुधबार छापा मार्दा कुनै विदेशी ग्राहक भने फेला परेनन् ।

प्रहरीका अनुसार कोठी सञ्चालक चाइनिज नागरिक नै हुन् । नेपाली भाषाका पोख्त सोनाम नामका चिनियाँ नागरिकले सो बंगला भाडामा लिएका हुन् । उनलाई आफ्नी श्रीमतीले कोठी चलाउन सहयोग गरिरहेको प्रहरी स्रोतले बतायो ।

स्रोतका अनुसार उनीहरूले प्रतिग्राहक रातभरको २५ हजार नेपाली र एकपटकको पाँच हजार रुपैयाँ लिने गर्थे । स्रोतले भन्यो, 'उनीहरू बाहिर होटलमा जानुपर्‍यो भने थप चार्ज लिन्थे ।'

महानगरीय प्रहरी परिसरका प्रमुख नवराज सिलवालले ठमेलमा चिनियाँ नागरिकले कोठी चलाउने गरेको जानकारी आएपछि निगरानी गरेर छापा मारेको बताए । उनले भने, 'घरै भाडामा लिएर कोठीको रूपमा प्रयोग गर्ने गरेको जानकारी आएपछि हामीले निगरानी बढाएका थियौँ, अनुसन्धानका क्रममा प्राप्त जानकारी सत्य भएको पुष्टि भएपछि छापा मारेका हौँ ।'

सिलवालले पक्राउ परेका चिनियाँ र नेपाली दुवैलाई कारबाही गर्ने बताए । उनले पक्राउ व्यक्तिहरू परिसरको हिरासतमा रहेको जानकारी दिँदै भने, 'चिनियाँ भए पनि उनीहरूले नेपालको कानुनको उल्लंघन गरेकाले प्रचलित कानुनअनुसार कारबाही गर्छौं ।'

यौन व्यवसाय गर्ने र कोठी चलाउनेलाई कारबाही गर्ने स्पष्ट कानुनको अभाव रहेकाले प्रहरीले उनीहरूलाई समाजमा उच्छृंखलता बढाएको अभियोगमा सार्वजनिक मुद्दा चलाउँदै आएको छ ।

सिलवालले ठमेलमा विदेशीद्वारा सञ्चालित अन्य चारवटा अखडाको बारेमा समेत जानकारी आएको दाबी गर्दै ती सबै अखडा प्रहरीको निगरानीमा रहेको बताए ।



काठमाडौं परिसरको टोलीले केही महिना अगाडि कान्ति बाल अस्पतालपछाडि सञ्चालित कोठीमा छापा मारेर एक सभासद्सहित यौनकार्यमा संलग्न युवतीहरूलाई पक्राउ गरेको थियो । 






No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by