ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 5, 2009

आजको कार्टून !

















तपैं नि एमाले ?... कुन चैँ एमाले ? 
सत्तापक्ष कि प्रतिपक्ष ?

कङ्ग्रेस र माओवादीसँग एमालेको अन्तरविरोध छैन : झलनाथ

भद्रपुर (नागरिक)- 

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नेपाली कङ्ग्रेस र माओवादीसँग एमालेको अन्तरविरोध नभएको धारणा व्यक्त गरेका छन्। मुलुकमा राजनीतिक र सामाजिक क्षेत्रमा एकताबद्ध कायम राख्न त्यसो गरेको भनाइ उनको थियो। संविधानसभाको निर्वाचनपछि एमालेले विचारलाई समसामयिक बनाउँदै सङ्गठनलाई पुनःगठन गरेको जानकारी पनि उनले दिए। खनालले समयअनुकूल वर्गीय अन्तरविरोधलाई बदल्न नै एमालेले लोकतान्त्रिक गणतन्त्र मुलुकमा ल्याउने प्रयास गरेको बताएका छन्। नेकपा (एमाले), मेची अञ्चल समन्वय समितिद्वारा झापाको धुलाबारीमा आयोजित मेची अञ्चलस्तरीय दुई दिने कार्यकर्ता प्रशिक्षणको उदघाटन गर्दै उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि राजतन्त्र हटाउन कार्यदिशा तय गरेको र माओवादीलाई द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याएको स्पष्ट पारे। उनले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट विश्व परिस्थितिअनुरुप सिर्जनात्मक ढङ्गबाट जनताको बहुदलीय जनवाद कार्यान्वयन गराउन दलको सिद्धान्त, कार्यक्रम र नीति अगाडि सारेको विचार पनि प्रकट गरे।

सुकुम्वासीहरुले जंगल छाडे/छाप्रा जलाउने र भत्काउने क्रम जारी

धनगढी (कान्तिपुर)-

सुकुम्वासीहरुले डुडझारीको जंगल छाडेपछि प्रहरीले उनीहरुले बनाएर छाप्रालाई जलाउने र भत्काउने क्रम जारी छ । शुक्रबार प्रहरीसंगको झडपमा छ जनाको हाताहाति र ३० जना भन्दा बढि घाइते भएपछि उनीहरुले अतिक्रमण गरेर बसेको जंगल क्षेत्र छाडेका हुन् ।  सुकुम्वासीहरु लम्की, चिसापानीलगायत आसपासको क्षेत्रमा छरिएर रहेका छन् ।
काठमाडौ (कान्तिपुर)-

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा सुकुम्वासी र प्रहरीबीच भएको झडपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगले आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न तथा यस घटनाका घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई आग्रह गरेको छ । साथै जथाभावी आगजनी, तोडफोड लगायतका कानुन विपरीत कार्यहरू नगर्न प्रदर्शनकारीहरूलाई पनि आग्रह गरेको छ ।  'सुकुम्वासी भनिएका व्यक्तिहरू र सुरक्षाकर्मीबीच भएको झडप र विभत्स हत्याका घटनाहरूप्रति चिन्ता प्रकट गर्दछ'-शनिबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले घटनास्थल र आसपासका क्षेत्रमा आगजनी, तोडफोड र कुटपिटका घटनाले तनाव कायम रहेको र कुनै पनि बेला थप झडपको सम्भावना रहेको जनाएको छ । घटनामा कम्तीमा चारको मृत्यु र तीन दर्जन व्यक्ति घाइते भएको आयोगले उल्लेख गरेको छ । 

कोइराला ब्रान्ड


मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय र सञ्जय हुन् । कमल कोइरालाले एमालेबाट राजनीति गरेर अहिले कूटनीतिक निकायमा छन् । एमाले केन्द्रीय सदस्यसमेत भइसकेका कमल अहिले एमालेको कोटामा राजदूत भएका छन् ।

काठमाडौं (नयाँ पत्रिका)

नेपाली राजनीतिमा कोइराला वंश एउटा 'ब्रान्ड' नै बनिसकेको छ । यद्यपि, यस ब्रान्डको ठूलो हिस्सा राजनीतिबाहिर छ, र राजनीतिमा भित्रिन उत्सुक पनि छैन । कोइराला परिवारका हाँगा चिकित्सा क्षेत्रदेखि चलचित्र उद्योगसम्म फैलिएका छन् । ८६ वषर्ीय कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अझै देशको राजनीति आफ्नो सेरोफेरो घुमाउने हैसियत राख्छन् ।

माओवादी क्रियाकलापप्रति अमेरिका चिन्तित

काठमाडौ (कान्तिपुर)- 

माओवादीले गैरप्रजातान्त्रिक क्रियाकलापलाई निरन्तरता दिएको भन्दै अमेरिकाले गम्भीर चिन्ता जनाएको छ । माओवादीले सदन अवरोध,जमीन तथा खाद्य कब्जा जस्ता क्रियाकलाप जारी राखेको भन्दै कार्यवाहक अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी त्यस्तो चिन्ता व्यक्त गरेको हो । शुक्रबार भएको भेटबारे काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको वक्तव्य अनुसार गणराज्य घोषणा गर्ने माओवादीको कार्यक्रम प्रति समेत बेरीले गम्भीर चिन्ता जनाएका थिए । हाल जारी राजनीतिक गतिरोधले शान्ति प्रक्रियालाई कमजोर पार्ने चिन्ता जनाउँदै उनले सहमतिका लागि रचनात्मक प्रयास गर्न सुझाव दिएको दूतावासले जनाएको छ ।

Friday, December 4, 2009

आजको कार्टून !


समयमा संविधान बन्दैन : उपसभापति पौडेल


स्याङ्जा (कान्तिपुर)- 

काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले तोकिएको समयमा संविधान बन्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, स्याङ्जाले शुक्रबार वालिङमा गरेको पत्रकार सम्मेलनमा उनले तोकिएको समयमा संविधान नबन्ने अब निश्चित भइसकेकोे बताएका हुन् । पार्टीको संसदीय दलका नेतासमेत रहेका पौडेलले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने काम र संविधान निर्माणका कामहरु दुबै सँगसँगै गर्नुपर्ने भएकोले निर्धारित समयमा संविधान नबन्ने पक्कापक्की भैसकेको बताएका हुन् ।  
सुरेन्द्र पौडेल/काठमाडौं (नागरिक)- 

इन्टरनेसनल बिजनेस मेसिन्स (आइबिएम) कर्पोरेसनले नेपालका सूचना प्रविधि (आइटी) विद्यार्थीलाई आइटी क्षेत्रको प्रयोगात्मक अनुसन्धानमा सघाउने भएको छ। आइबिएमले बनेपास्थित आइटी पार्कमा रहेको आइबिएम ओपन टेक्नोलोजी रिसोर्सेज सेन्टर मार्फत नेपाली विद्यार्थीलाई अनुसन्धानमा सघाउने भएको हो। आइटी उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न आइबिएमले यो अवसर नेपाली विद्यार्थीलाई दिन लागेको हो। सूचना प्रविधि उच्चस्तय आयोगले रिसोर्सेज सेन्टर सञ्चालन गर्न आइटी पार्कमा स्थान उपलब्ध गराएको छ। 'आइटी उद्योगलाई जस्तो जनशक्ति चाहिन्छ त्यस्तो जनशक्ति हाम्रा कलेजबाट निस्कंदैनन्,' सूचना प्रविधि उच्चस्तय आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टराई भने, 'आइबिएमले शिक्षा क्षेत्र र आइटी उद्योग बिचको दू घटाउन खोजेको हो।'

११ रुपैयाँ युनिटमा विद्युत् खरिद


काठमाडौं (नयाँ पत्रिका)

नेपाल विद्युत् प्राधिकरणले भारतको पश्चिमबंगालबाट प्रतियुनिट ११ रुपैयाँमा १५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । सो बिजुली टनकपुर नाकाबाट आयात हुनेछ । बिजुली खरिदबारे छलफल गर्न भारत गएका प्राधिकरण अधिकारीले १ जनवरीबाट १५ मेगावाट बिजुली किन्ने सहमति गरेका हुन् । टनकपुरमा बिजुली मूल्य प्रतियुनिट ६ रुपैयाँ ७० पैसा भारु अर्थात् १० रुपैयाँ ७२ पैसा रहेको छ । टनकपुरबाट वितरण केन्द्रमा आउँदा प्राविधिक चुहावट हुने भएकाले वास्तविक मूल्य अझ महँगो पर्ने प्राधिकरणले जनाएको छ । सो मूल्य उपभोक्ता मूल्यभन्दा अत्यधिक उच्च हो । यसअघि नै सरकारले भारतबाट आयात गर्दा प्राधिकरणलाई नोक्सान हुने रकम अनुदान दिने निर्णय गरेको छ ।

हतियारसहित पक्राउ परेका माओवादी कमाण्डर रिहा

नेपालगन्ज (नागरिक)- 

शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा जेल चलान गरिएका माओवादी सेनाका बिग्रेड कमाण्डर दीपेन्द्रबहादुर शाही शुक्रबार रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा पुनरावेदन अदालत नेपालगन्जले उनलाई रिहा गर्न आदेश दिएको थियो। व्यक्तिगत कामको सिलसिलामा कोहलपुरमा आएको बेला स्थानीयसँग विवाद गर्दै गरेको आरोपमा पक्राउ परेका शाहीलाई बाँके प्रशासनले सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत पाँच दिनअघि जेल चलान गरेको थियो। प्रशासनका अनुसार स्थानीयसँग विवाद भइरहेका बेला प्रहरीले परिचय पत्र माग्दा उल्टै पेस्तोल देखाएपछि उनलाई पक्राउ गरिएको थियो। माओवादी कार्यकर्ता तथा अधिवक्ता तीर्थ ज्ञवालीले शाहीलाई गैरकानुनी थुनामा राखेको माग दाबी गर्दै दर्ता गराएको निवेदनको आधारमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश हरिराम कोइराला र न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले थुनामा राख्न नमिल्ने भन्दै शाहीलाई मुक्त गर्ने आदेश दिएको थियो।

'अब भौतिक आक्रमण’

दाङ (नयापत्रिका) 

एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं वाइसिएल इन्चार्ज कुलप्रसाद केसी सोनामले चौथो चरणको आन्दोलन भौतिक आक्रमणमा केन्दि्रत हुने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोनामले भने, 'तेस्रो चरणमा ढुंगामुढा भयो, अब भौतिक आक्रमण हुन्छ ।' वाइसिएल दाङको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न दाङ आएका सोनामले माधव नेपाल नेतृत्वको वर्तमान सरकारलाई कठपुतली र विदेशी इशारामा चलेको आरोप लगाए । 'कठपुतली सरकार दमनमा उत्रिए भौतिक आक्रमण गरेर ब्याक गराउँछौँ,' उनले भने । उनले वर्तमान सरकार विघटनको मागसमेत गरे ।

तान्त्रिक विद्या सिक्न बालिकामाथि चरम यातना

मनोज अधिकारी/पोखरा (नगारिक)- 

स्वस्थ्य अवस्थाकी एक बालिकालाई तीन दिनसम्म डेरामा थुनेर चरम यातना दिने दुईजनालाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ। लमजुङ्को हिलेटक्सार घर भई पोखरा-१२ बस्ने ९ वर्षकी बालिका एलिजा गुरुङलाई तातो त्रिशुल, पन्यू लगायत साधनले शरीरका विभिन्न भागमा डामेर अर्धचेत बनाउने सोही ठाउँका सञ्चिता गुरुङ र सागर गुरुङविरुद्व प्रहरीले मुद्दा चलाएको हो। उनीहरुले बालिका गुरुङलाई मंसिर ७ गते आफ्नो डेरामा लगी तीन दिनसम्म चरम यातना दिँदै शरीरका विभिन्न संवेदशनशिल भागमा डामेका थिए।  'चिनजानका छिमेकी भएको आधारमा ती बालिकालाई डेरामा लगेर तातो त्रिशुल, पन्यूले डामेर बेहोस बनाएको उजुरी परेपछि गुरुङद्वयलाई पक्राउ गरिएको हो' जिल्ला प्रहरीका डिएसपी तुलसी अधिकारीले भने,'यस्तो जघन्य अपराध गर्ने दुवैजनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएका छौं।'

युद्धको घोषणा गर्नेहरु पतन भएर जान्छन् : बिजु्क्छे

विजय नेपाल/पोखरा

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजु््क्छेले युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जाने बताएका छन्। एकीकृत नेकपा माओवादीको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “हामीहरुले हिटलर र मुसोलिनीको उदाहरण देखेका छौ, युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जान्छन्।” संवाद नेपालले शुक्रबार पोखरामा आयोजना गरेको खुल्ला अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता बिजु्क्छेले सबैभन्दा ठूलो दल माओवादीले अहंकार, हठ र विध्वशंकारी नीति त्यात्नुपर्ने बताए। “माओवादी संवेदनशील बन्नुपर्छ, मुलुकको शान्तिप्रक्रिया र संविधान निर्माणमा उसको जिम्मेवार बढी छ”(नेता बिजुक्छेले भने। एक अर्को प्रसंगमा उनले जातीय र भाषीय आधारमा संघियतामा जान नहुने सुझाए। नागरिकसर्वोच्चताको मुद्दामा तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम अन्तरिम संविधानको मर्मविपरीत रहेको टिप्पणी गरे।

Thursday, December 3, 2009

आजको कार्टून !


नेपाली उत्पादनलाई सहुलियत दिन माग • डब्लुटिओ मन्त्रीस्तरीय बैठक

गोकर्ण अवस्थी/जेनेभा (स्विट्जरल्यान्ड) (कान्तिपुर) - 

वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले विकसित मुलुकमा नेपाली उत्पादनको सहुलियतपूर्ण र भन्साररहित बजार पहुँच दिन माग गरेका छन् । उनले यो सुविधा दिएर नेपालको शान्ति र विकासमा सहयोग गर्न विश्व व्यापार संगठन (डब्लुटिओ) र सदस्य राष्ट्रलाई आग्रह गरेका हुन् । जेनेभामा बुधबार डब्लुटिओको सातौं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै महतोले दोहा विकास एजेन्डा (डिडिए) सम्बन्धी चाँडै निष्कर्ष निकाली कार्यान्वयन भए अति कम विकसित मुलुक (एलडिसी) हरूलाई आफ्नो व्यापार बढाउन सहयोग पुग्ने बताए । 'व्यापार प्रवर्द्धन जनतामा शान्ति र विकासको लाभ पुर्‍याउन महत्त्वपूर्ण माध्यम हुने हामीले ठानेका छौं,' उनले भने । डिडिए खासगरी व्यापारका लागि आर्थिक सहायता, विकसित मुलुकमा भन्साररहित पहुँच र अन्य सहयोगलगायत विकासोन्मुख मुलुकका चासोसँग सम्बन्धित छ । यसबाहेक डिडिएमा विकसित मुलुकले कृषिमा दिँदै आएको अनुदान र अन्य औद्योगिक उत्पादनको भन्सार घटाउनुपर्ने विवादस्पद विषय छन् । 

मुलुक विखण्डनतर्फ : कमल थापा

'राजसंस्थालाई असंवैधानिक तरिकाले पाखा लगाइयो'
दिलबहादुर छत्याल, धनगढी (नागरिक)-

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक विखण्डनतर्फ गइरहेको बताएका छन्। राजनीतिक दलबीचको असमझदारीले तोकिएको समयमा संविधान बन्ने सम्भावना क्षीण हुँदै गएको पनि उनले बताए। संविधान निर्माण प्रक्रिया माओवादी, कङ्ग्रेस र एमालेको गलत नियतका कारण ढिलाई भएको अरोप पनि उनले लगाए।  राप्रपा नेपाल कैलालीको चौथो जिल्ला अधिवेशनमा बोल्दै उनले राजनीतिक दलबीच बढेको असमझदारीले मुलुक भयाबह स्थितिमा गुज्रिरहेको बताए। राजनीतिक दलले जनतामाथि खेलवाड गरिरहेको उनको भनाइ थियो। 'संविधानसभामा जनताले भोट दिएर पठाएका दलका प्रतिनिधिले जनताको अभिमतको कदर गर्नुको सट्टा जनतामाथि खेलवाड गरिरहेका छन्'- उनले भने

गणराज्य घोषणामा शंका नगरः दाहाल


काठमाडौं (कान्तिपुर) - 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणराज्य घोषणा गर्ने आफ्नो पार्टीको योजनाप्रति शंका नगर्न आग्रह गरेका छन् । लामो समयदेखि गणराज्यको अभ्यास आफूहरुले गर्दै आएको बताउँदै उनले त्यसलाई राजनीतिक रुपमा जनतामाझ स्थापित गर्न मात्र घोषणा कार्यक्रम ल्याएको बताए । नेपाल एफएमको बार्षिकोत्सव कार्यक्रममा बिहीबार दाहालले संघीयताबारे संवैधानिक व्यवस्था भएकाले त्यसको प्रचार गर्नु संविधानको मर्म विपरित हुने बताए । संघीयतामा जान नचाहनेहरुले आफूहरुको योजनाको विरोध गरेको जिकिर गर्दै उनले अन्य दललाई पनि गणराज्य घोषणा गर्न चुनौति दिए । गणराज्य घोषणालगायतका बिषयलाई अनावश्यक उचालेको टिप्पणी गर्दै माओवादी अध्यक्ष दाहालले परिवर्तन नचाहने शक्तिहरुले आफूहरुलाई दोषि देखाएर एक्ल्याउन खोजेको आरोप लगाए । माओवादीको बाहुल्यता रहेकाले संविधानसभालाई बिघटन गर्न संघीयता विरोधी शक्ति लागिरहेको दाहालको आरोप छ ।

गणराज्य घोषणा कार्यक्रम फिर्ता लिन देउवाको आग्रह

वीरगन्ज (कान्तिपुर)-

पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता लिएर सहमतिको राजनीतिमा आउन माओवादीलाई आग्रह गरेका छन् । पर्साको निचुटा गाविसमा बिहीबार आयोजित स्वास्थ्य चौकी शिलान्यास समारोहलाई सम्बोधन गर्नेक्रममा उनले स्वेच्छिकरुपमा गणराज्य घोषणा गर्नु शान्ति सम्झौता र संविधान विपरित कुरा हो भन्दै गणराज्य घोषणा गरेर माओवादीले मुलुकमा द्वन्द्व, अस्थिरता र जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाए । विभिन्न बहानामा ठाउँठाउँमा सर्वसाधारणको सम्पत्ति खोस्ने, बाली लुट्ने र मान्छे मार्नेजस्ता माओवादीको गैरजिम्मेवार र गैरलोकतान्त्रिक क्रियाकलापका कारण सो पार्टी अझै जिम्मेबार हुन नसकेको देउवाको भनाइ छ । उनले यस्ता कार्यक्रमबाट मुलुकमा कुनै दुर्घटना भयो भने त्यसको सम्पूर्ण जिम्मेबारी एनेकपा माओवादीले नै लिनुपर्ने बताए ।

रकम लुट्ने भारतीय पक्राउ

कपिलवस्तु (नगारिक)

बैंकमा आउने ग्राहकलाई विभिन्न समस्या देखाई रकम लुटपाटको घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोगवनी भारतका राजीव तेली साह र गोरखपुरका मङ्गल साह तेली छन्। वाणिज्य बैंक, तौलिहवा शाखाका कर्मचारीको आग्रहमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले नेपाली एक लाख रुपैयाँ बरामद गरेको छ। उनीहरुलाई विशेष सुराकीका आधारमा दशगजाक्षेत्रबाट नेपाल आउँदै गर्दा कृष्णनगरबाट पक्राउ गरेको प्रहरी निरीक्षक कृष्ण केसीले जनाए। प्रहरी उपरीक्षक विक्रमसिंह थापाले आरोपितद्वयलाई जिप्रका, तौलिहवामा राखेर अनुसन्धान सुरु गरिएको बताएका छन्। आरोपितद्वयले पत्रकारसितको संक्षिप्त कुराकानीमा आफूहरु अपराधमा संलग्न भएको स्वीकार गरे। भगवानपुरका स्थानीय गणेश ठकुरीले गत १९ कात्तिकमा रकम निकाल्न आएको समयमा लामो लाइनमा बसेर चेक साटे लगत्तै रु. ५० हजार हराएको बताएका थिए।

हात्ती पोलो प्रतियोगिताको फाईनल भोलि


काठमाडौं (दैनिकी)

बर्दियाको ठाकुरद्वारामा भैरहेको अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताको फाईनल भोलि हुने भएको छ । आयोजक कमिटिको आज बसेको आकस्मिक बैठकले प्राबिधिक कारण भन्दै २० गते हुने भनिएको फाईनल खेल एक दिन अगाडि सार्ने निर्णय गरेको हो । आज सेमिफाईनल चरणका खेलहरु सकिने भएकाले भोलि नै फाईनल हुने आयोजकले जनाएको छ ।

Wednesday, December 2, 2009

आजको कार्टून !


फिलिप्स इलेक्ट्रो टेक सुरु

काठमाडौ (कान्तिपुर)- 

नयाँ ऊर्जा उपकरण तथा प्रविधि प्रदर्शन/प्रवर्द्धन गर्न पाँचौं अन्तर्राष्ट्रिय इलेक्टि्रक/ इलेक्ट्रोनिक्स वस्तु प्रदर्शनी मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १ सय ६२ स्टलमा अमेरिका, चीन, भारत, जापान, फ्रान्स, कोरिया, मलेसिया, जर्मनी र नेपालका गरी ६० भन्दा बढी ऊर्जा सम्बन्धित नयाँ उपकरण र प्रविधि राखिएका छन् । प्रदर्शनीको उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री प्रकाशशरण महतले विद्युतीय क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध प्रविधिबारे सर्वसाधरणलाई जानकारी दिने भएकाले यस्तो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 'नयाँ प्रविधिले विद्युत खपतदेखि लगानीलाई समेत न्यून गर्नेछ,' उनले भने ।  द्वन्द्वले जलस्रोत र विद्युतीय क्षेत्रमा जुन गतिमा विकास हुनुपथ्र्यो, त्यस्तो नभएको महतको भनाइ छ ।

'लडाकू सेनामा समायोजन गरे गृहयुद्ध'

काठमाडौं (नागरिक)- नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले माओवादी लडाकूलाई सेनामा समायोजन गरे गृहयुद्ध निम्तिने दावी गरेका छन्। माओवादी अराजकताको मुख्य कारण लडाकू भएको उल्लेख गर्दै कोइरालाले शिविरमा रहेका लडाकूलाई व्यवसायिक सेनामा समायोजन गरे मुलुक द्वन्द्वमा फस्ने बताए। 'माओवादी लडाकूलाई सीमा सुरक्षा, वन सुरक्षा, औद्योगिक सुरक्षा जस्ता क्षेत्रको सुरक्षा गर्नेगरी छुट्टै दस्ता बनाउनु पर्छ, सेनामा समायोजन गर्न हुदैन'- उनले भने। सेना समायोजनका विषयमा विवाद जारी रहेकै बेलामा कार्यावाहक सभापति कोइरालले शिविरमा रहेका माओवादी लडाकूलाई स्वादेशी तथा विदेशी रोजगारी लगायत एकमुष्ट आर्थिक प्याकेज सहितको छनोटको अवसर दिई विदा गर्नु पर्ने बताएका हुन। वृहत् शान्ति सम्झौतामा उल्लेख भए अनुसारको मितिमा माओवादी लडाकूको समायोजन गर्न नसक्दा दलहरुबीच थप तिक्त्तताको अवस्था देखिएको पनि उनको ठहर थियो।

संविधानसभा विघटनको षडयन्त्रः भट्टराई


दीपेन्द्र विष्ट/काठमाडौं (कान्तिपुर)- 
'उनीहरुले संविधानसभा बिघटन गर्ने षडयन्त्र सफल हुन कदापि दिदैनौं' उनले भने
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेस र एमालेका नेताहरुले संविधानसभा बिघटन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । बुधबार वाइसीएल नेपालद्वारा नेपालमा बेरोजगारी समस्या र युवा स्वरोजगार विषयक विचार गोष्ठीमा नेता भट्टराईले एमाले कांग्रेसका केही नेताहरुको पछिल्लो पटक सार्वजनिक भइरहेको अभिव्यक्तिले शान्ति सम्झौता भंग गरेर संविधानसभा विघटन गर्न चाहेको स्पष्ट भएको उल्लेख गरे । उनले ति एमाले, कांग्रेसका केही नेताहरुको नाम भने उल्लेख नगरिकन संविधानसभा भडुवाहरुले यस्तो गर्न लागेको दाबी गरे ।

डिआइजीले लगिन् गृहमन्त्रीलाई बंकरमा


मंगलसेनस्थित सेनाको ब्यारेकमा डिआइजी पार्वती थापा आफूलाई भेट्न आएको थाहा पाएपछि गृहमन्त्रीले भने, 'मैले किन भेट्नु त्यसलाई, भेट्नु पर्दैन रे भनेर पठाइदिनु ।’ तर, आधा घन्टापछाडि उनलाई भेट्न फेरि बोलाइयो । डिआइजी थापाले पनि तपाईंलाई 'गार्ड अफ अनर’ दिने कार्यक्रम छ भनेर गृहमन्त्रीलाई जिल्ला प्रहरी कार्यालय लगिन् । सलामी खान गएका रावललाई उनले बंकरमा लगिन् जहाँ सुन्तली धामीको बलात्कार भएको थियो ।

पूर्व राजा भारत, प्रधान मन्त्री चीन जाने

काठमाडौँ (नागरिक)- 

पूर्व राजा ज्ञानेन्द्र शाह पारिवारिक विवाह समारोहमा सहभागी हुन आइतबार भारत जाने भएका छन्। संविधानसभाले 'श्री ५' को उपाधि खोसिसकेपछि उनको यो दोस्रो भारत भ्रमण हो।
आउँदो आइतबार उनी नयाँ दिल्ली हुँदै उडिसा जाने कार्यक्रम रहेको स्रोतले बतायो। उडिसामा उनका फुपूको छोराको विवाह कार्यक्रम छ। सो समारोहमा सरिक भएपछि उनी राजस्थानमा नातेदारसित भेटघाटका लागि जाने बताइएको छ।  उनको फर्कने मिति भने निश्चित छैन। हालै उनले कूटनीतिक राहदानीका लागि निवेदन दिएको र सरकारले पनि उनलाई रातो राहदानी उपलब्ध गराइसकेकाले भारतबाट उनी युरोप भ्रमणमा जानसक्ने अनुमान पनि गरिएको छ।  

जहाज किन्न अर्थ मन्त्रालय जमानी नबस्ने


निगमले पठाएको पाँच करोड बैना डुब्ने खतरा
यदु देवकोटा/ काठमाडौं (नयाँ पत्रिका)

नेपाल वायुसेवा निगमले किन्न लागेको एयरबसका लागि अर्थ मन्त्रालय जमानी नबस्ने भएको छ । मन्त्रालय जमानी नबसे दुईवटा एयरबस ल्याउने योजना तुहिनेछ । निगमले किन्न लागेको जहाजका बारेमा संसद्को सार्वजनिक लेखासमितिले छानबिन गरिरहेको बेला अर्थ मन्त्रालयले आफ्नो पूर्वनिर्णय पुनर्विचार गर्दै जमानी बस्न नसक्ने संकेत गरेको हो । 'निगमको आर्थिक अवस्था पनि हेनुपर्छ, त्यस्तै हालै एयरबस खरिदका लागि कति पैसा चाहिन्छ भनेर स्पष्ट नगरी र सरकारबाट स्वीकृति नै नलिई बैना पठाइएकाले अर्थ मन्त्रालय जमानी नबस्नेतर्फ लागेको हो,' मन्त्रालय स्रोतले बतायो । निगमले गत महिना बेलायती एयरबस कम्पनीलाई वाइड बडीको जहाज खरिदका लागि बैनास्वरूप सात लाख ५० हजार अमेरिकी डलर (करिब पाँच करोड रुपैयाँ) पठाएको थियो । बैना पठाउँदा अर्थ मन्त्रालयसँग स्वीकृति नलिएको अर्थसचिव रामेश्वर खनालले बताए । 'निगमले बैना पठाउने बेला जमानी बस्ने संस्था अर्थ मन्त्रालय र ऋण दिने संस्था कर्मचारी सञ्चयकोषसँग सल्लाह गर्नुपथ्र्यो, त्यो गरेको छैन,' सचिव खनालले भने ।

माओवादी कमाण्डरलाई ३ महिना जेल

नेपालगन्ज (नागरिक)- 

अनमिनले प्रमाणित गरेको चाइनिज पेस्तोल बोकेर कोहलपुरमा एक स्थानीयसँग विवाद गरेका माओवादी ब्रिग्रेड कमाण्डर दीपेन्द्र शाहलाई बाँके प्रशासनले तीन महिनाका लागि जेल राख्ने आदेश दिएको छ। शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई नजरबन्दमा राख्ने आदेश दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघिझैं हतियारसहित पक्राउ परेका माओवादी कार्यकर्तालाई छाड्न अनमिन र माओवादी नेतृत्वले सक्दो प्रयास गरे पनि गृहमन्त्रीको आदेशमा प्रशासनले जेल पठाएको स्रोतले बतायो। शाह माओवादी लडाकुको रोल्पास्थित पाँचौ डिभिजनका बिग्रेड कमाण्डर हुन्। शनिबार कोहलपुरमा एक होटेलमा विवाद गरिरहेका बेला उनलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको थियो। शाहसँगै रहेका चार जना भने भागेका थिए। माओवादीले भने व्यक्तिगत कामको सिलसिलामा आएका शाहलाई प्रशासनले जेल हालेर शान्ति प्रक्रिया भाँड्ने प्रयास गरेको आरोप लगाएको छ। 

Tuesday, December 1, 2009

आजको कार्टून !


शुक्लाफाँटामा 'स्विपिङ’

बच्चु विक/महेन्द्रनगर (नयाँ पत्रिका)

वन्यजन्तु चोरी-सिकारी तीव्र हुँदै गएपछि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा 'स्विपिङ' गरिएको छ । चार दिनसम्म गरिएको 'स्विपिङ'मा वन्यजन्तु मार्न राखिएका पासो मात्रै भेटिएका छन् । आरक्षमा वर्षमा एकपटक स्विपिङ गरिन्छ । आरक्षभित्र ठूलो मात्रामा तस्करी तथा चोरी-सिकारी भइरहेको सुराक पाएपछि पनि स्विपिङ गर्ने गरिन्छ । 'स्विपिङ' गर्दा आरक्षका लागि खटिएको नेपाली सेना र आरक्ष कर्मचारी सम्भावित क्षेत्रमा पैदल 'सर्च' गर्ने गर्छन् । चारैतिरबाट सेना र आरक्ष कर्मचारीले घेरा साँघुरो पार्दै एकै ठाउँमा पुग्ने गरेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रबहादुर चन्दले बताए । मंसिर दोस्रो साता दुई दिन पूर्वी क्षेत्र र दुई दिन दक्षिणी सीमा क्षेत्रमा गरी चार दिन स्विपिङ गरिएको आरक्षले जनाएको छ । आरक्षका निमित्त वार्डेन चन्द र आरक्ष सुरक्षार्थ खटिएको चण्डीप्रसाद गण मझगाउँका गणपति टेकबहादुर चन्दको नेतृत्वमा स्विपिङ भएको थियो ।

शिविरका लडाकु सरकारी कर्मचारी : अर्थ मन्त्री

भक्तपुर(नागरिक) - 
अर्थमन्त्री सुरेन्द्र पाण्डेले १९ हजार ६७५ जना माओवादी शिविरमा रहेका लडाकू नेपाली सेना, प्रहरी जस्तै सरकारी कर्मचारी भएको बताएका छन्। मध्यपुरथिमीको बोडे उच्च माध्यमिक विद्यालयको नयाँ भवनको निरीक्षण गर्दै उनले सरकारको ढुकुटीबाट तलबभत्ता खाने लडाकूलाई एकीकृत माओवादीले आफ्नो लडाकु भन्न नहुने बताए।  मन्त्री पाण्डेले शिविरमा रहेका लडाकूलाई सरकारले प्रतिव्यक्ति मासिक सात हजार तलब खुवाउँदै आएको र वार्षिक दुई अर्ब रुपैययाँ खर्च भइरहेको बताए। सरकारले यो खर्च लडाकूलाई एकीकृत माओवादीको सेना एवम् लडाकू बनाउन नभई राष्ट्रको कर्मचारी बनाउन दिएको हो भन्दै उनले जनताले तिरेको करबाट तलव खाने सरकारी कर्मचारी हुन्, पार्टीको लडाकू होइनन् भने। शिविरमा रहेको अयोग्य लडाकूलाई बाहिर ल्याउन एकीकृत माओवादीले सहयोग गर्नुपर्ने उनले बताए।

चितवन निकुञ्जभित्र होटल चलाउन दिइने

राजेन्द्र फुयाल/काठमाडौं (कांतिपुर) - 
सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र तीन बर्ष होटल चलाउन दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तिर्न बाँकी कर तिरेर तीन बर्ष होटल चलाउन दिने निर्णय गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राजस्व र संरक्षण शुल्क समयमा भुक्तानी नगरेको भन्दै असार मसान्तदेखि चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल रिसोर्टलाई चल्न दिएको थिएन ।  होटल संचालन अनुमति दिनेबारे वन मन्त्रालयका अधिकारी र वन मन्त्री दीपक बोहोराबीच पनि एकमत हुन सकेको थिएन । मन्त्रिपरिषद बैठकले गौरीशंकरलगायतका आरक्षण क्षेत्र विस्तार गर्ने निर्णय गरेको छ ।

कांग्रेसले प्रदेश तोक्न सकेन

काठमाडौं (नागरिक) - 

नेपाली कांग्रेसले लामो छलफल पछि पनि राज्य पुनर्संरचनाका बारेमा पार्टीको धारणा तयार गर्न सकेन। संविधानसभा संवैधानीक समिमिले राज्य पुनर्संरचना सम्वन्धि खाका बुझाउन दिएको अन्तिम दिन मंगलबार कांग्रेसले संघहरुको संख्यानै नतोकी राज्य पुर्नंसचरनाको सैद्धान्तिक धारणा मात्रै बुझाएको छ। यसअघि उपसभापति गोपालमान श्रेष्ठ समितिले तराई-मधेशका ५ र हिमाल-पहाडका ११ सहित १६ राज्य सहितको राज्य पुनर्संरचना प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पेश गरेको थियो। तर लामो छलफल पछि पनि केन्द्रीय समितिमा सहमति हुन नसकेपछि नक्सा विनाकै राज्य पुर्नर्संरचना सम्वन्धि अवधारणा संवैधानिक समितिमा पेश गर्ने निर्णय गरेको हो। 'केन्द्रीय समितिमा पेश भएको प्रतिवेदनमा सहमति हुन नसकेपछि पछि थप्नेगरी राज्य पुर्नसंरचनाका सैद्धान्तिक अवधारणामात्रै पेश गर्ने निर्णय भयो', समितिका संयोजक श्रेष्ठले भने।

Monday, November 30, 2009

आजको कार्टून !


चिट्ठा ठगी/ठगी अमेरिकामा, खोजी नेपालमा

केदार ओझा/काठमाडौ(कान्तिपुर)- 

अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वषर्ीय पंकज जोशी हुन् । प्रहरीले जोशीको खोजी गर्न उनको काठमाडांैस्थित घर, आवातजावत गर्ने सम्भावित स्थानमा निगरानी बढाएको छ ।जोशीले ६७ वषर्ीय अमेरिकी महिला विलिजलाई परेको चिट्ठा झुक्याई ७ लाख ५० हजार अमेरिकी डलर -पाँच करोड पैंसट्ठी लाख) आफ्नो हात पारी बैंकमार्फत् नेपाल पठाएका थिए । पछि आफू पनि अमेरिकाबाट बाहिरिएका थिए । मेगा मिलियन्स, मेगा पिलर नामको चिट्ठाको विजेताले दस लाख डलर (सात करोड ५० लाख) पाउने गर्छन् । जोशी युनिभर्सिटी अफ टेक्सासमा पढ्दै लक्की फुड स्टोरमा विगत पाँच वर्षदेखि अफिस क्लर्क पदमा कार्यरत थिए । उनले स्टोरमा बसिरहेको बखत चिट्ठा पर्‍यो परेन भनी जाँच गर्न आएकी अमेरिकी महिलालाई जोशीले कप्म्युटरमा जाँच गर्दा प्रथम उपहार परेको देखेपछि उनलाई नपरेको जानकारी दिँदै चिट्ठा फुत्काउन सफल भएका थिए ।

चिनियाँ रथी आउँदै

काठमाडौं (नागरिक)-

चिनियाँ जनमुक्ति सेनाका रथी सायु ताई चार दिने नेपाल भ्रमणका लागि आगामी शुक्रबार नेपाल आउने भएका छन्।  नौ सदस्यीय सैनिक टोली नेतृत्व गरी आउने सायुले उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला, रक्षामन्त्री विद्या भण्डारी र सेना प्रमुख छत्रमान सिंह गुरुङलाई भेट्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 'यो नियमित भ्रमण हो' परराष्ट्रका चीन डेक्स प्रमुख अरुण धितालले भने। टोली तीन दिनको भ्रमणपछि स्वदेश फर्किनुअघि लुम्बीनी जाने कार्यक्रम छ।

अवैध आयातले कागज उद्योग प्रभावित


रामकुमार श्रेष्ठ(नयापत्रिका)

नेपालमा प्रतिवर्ष ५० हजार टन कागज आवश्यकता पर्नेमा नेपाली उद्योगले ४० हजार टन मात्र पूर्ति गर्ने गरेका छन् । अपुग १० हजार टन कागज अन्य देशबाट आपूर्ति गरिन्छ । दिन-प्रतिदिन अवैध रूपमा भारतीय कागजको आयातलाई नेपाल सरकारले नियन्त्रण गर्न नसक्दा नेपाली कागजको व्यापार ५० प्रतिशतले घटेको छ ।  भारतीय कागज नेपाल ल्याउँदा 'न्युज पि्रन्ट' कागजको भन्सार पाँच प्रतिशत र 'राइटिङ पि्रन्ट' कागजको भन्सार २९ प्रतिशत रहेकोमा अवैध व्यापार गर्नेहरूले राइटिङ पि्रन्ट कागजलाई न्युज पि्रन्ट कागजको नाममा ल्याउने गरेकाले कागतको अवैध आयात बढेको व्यवसायीहरूले बताएका छन् ।

देउवा पनि उच्चस्तरीय संयन्त्रको विपक्षमा


शंकर खरेल/इटहरी(कान्तिपुर)- 

काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य नभएको बताएका छन् । सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल संयन्त्र बनाउन लागि परेको बेला उनको यो भनाइ आएको हो । राजनीतिक संयन्त्रको औचित्य नभएको बताएका छन् । ' उच्चस्तरीय राजनीतिक संयन्त्रको राजनीतिक गतिरोधको अन्त्य र नयाँ संविधान निर्माणसंग कुनै सम्बन्ध छैन' उनले प्रेस यूनियन सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा भने, 'यसले राजनीतिक गतिरोध अन्त्य गर्न सक्दैन, गफ गर्ने थलो बन्ने छ ।' 

कालापत्थरमा मन्त्रिपरिषद्, ६० लाख खर्च


नवीन तिमिल्सिना/काठमाडौं(नयाँ पत्रिका)

कीर्तिमानी कायम गर्दै सगरमाथा आधारशिविरमा बस्ने मन्त्रिपरिषद् बैठकका लागि ६० लाख खर्च हुने भएको छ । जलवायु परिवर्तन विश्वस्तरीय कोपनहेगन सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले १९ मंसिरमा सगरमाथा आधारशिविरको कालापत्थरमा मन्त्रिपरिषद् बैठक डाकेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरका बारेमा विश्वको ध्यान आकृष्ट गर्न नेपाल सरकारले मन्त्रिपरिषद्को बैठक सर्वोच्च शिखरको आधारशिविरमा राख्न थालेको हो । बैठकमा सरकारका तर्फबाट एक रुपैयाँमात्र योगदान हुने भएको छ । वन तथा भू-संरक्षणमन्त्री दीपक बोहराले भने, 'बैठकको सबै खर्च निजी क्षेत्रका विभिन्न संघ/संस्थाले गरेका छन्, सरकारको एक रुपैयाँमात्रै खर्च हुन्छ,' उनले भने । समुद्र सतहबाट १७ हजार एक सय ९२ फिटको उचाइमा रहेको कालापत्थरमा १९ मंसिरमा आयोजना गर्न लागिएको बैठकमा वातावरणीय मुद्दामा छलफल गर्दै तिनका समाधान खोजिने पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले बताए।

Sunday, November 29, 2009

आजको कार्टून !


सरकार परिवर्तन हुदैनः गच्छदार

महेन्द्रनगर(कान्तिपुर)-

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार हल्ला कै भरमा परिवर्तन नहुने दाबी गरेका छन् । उनले ठूला दलले सरकार परिवर्तनको हल्ला गरेर अस्थिरता श्रृजना गर्न खोजेको आरोप लगाए ।  आइतबार बिहान महेन्द्रनगरमा मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक) कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गच्छदारले अहिलेको सरकार बदलिने हल्ला गरेर अन्यौल श्रृजना गर्ने कोसिस भइरहेको दाबी गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच सिंगापुरमा भेट हुँदैमा सरकार परिवर्तन नहुने बताए । उनले सरकार परिवर्तनमा कांग्रेस पनि सहमत हुन नसक्ने दबी गरे । उनले उच्चस्तरीय राजनीतिक संयन्त्र बैधानिक नभई राजनैतिक समझदारी र सहमति कायम गर्दै दलहरुबीचको द्वन्द अन्त्यका लागि बन्न लागेको उनको धारणा थियो ।

सरकारलाई 'रेड सिग्नल'

पोखरा(नागरिक)- 

माओवादीका स्यायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई अघि नबढ्न 'रेड सिग्नल' आएको दाबी गरेका छन्। 'अहिलेको सरकार गठनका लागि जुन जुन विदशीले सहयोग पुर्‍याएका थिए, उनीहरुबाट नै सरकारलाई आगामी कदम नचाल्न भनेका छन्', उनले भने- माधव नेपाल नेतृत्वको सरकारले 'रेड सिग्नल' पाएको छ, अब अघि बढ्दैन। 'सत्ता साझेदार दलबीच भएको टीकाटिप्पणीले पनि सरकारलाई अघि नबढ्न सङ्केत गरिरहेको रायमाझीले बताए। 'त्यसकै परिणामस्वरुप अहिलेको सरकार अन्तर्राष्ट्रिय निकायबाट नाङ्गिदै गएको छ'- उनले भने। एकिकृत नेकपा माओवादी तमुवान राज्य समितिको आइतबारदेखि पोखरामा सुरु भएको चौथो पूर्ण बैठकमा सहभागी हुन आएका रायमाझीले भने- 'अहिलेको सरकारलाई हटाएर कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा समेत छलफल सुरु भइसकेको छ।'

चितवनमा सीमा सुरक्षा कार्यालय स्थापना हुने

रत्ननगर (चितवन)-

चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना हुनेभएको छ । कार्यालय स्थापनाका लागि काम तीव्र अगाडि बढिरहेको सशस्त्र प्रहरी बल गढीमाई गण, भण्डाराले जनाएको छ । तराईका सीमाक्षेत्रमा छिमेकी मुलुकले अतिक्रमण गरिरहेका बेला चितवनमा सीमा सुरक्षाका लागि कार्यालय स्थापना गर्न लागिएको हो । चितवनमा सम्भावित अतिक्रमण तथा सीमा क्षेत्रमा हुने अपाराधिक गतिविधि रोक्न सीमा सुरक्षा कार्यालयको स्थापना हुन लागेको गढीमाई गण, भण्डाराका गणपति प्रहरी उपरीक्षक उत्तमराज थनेतले जानकारी दिए । दक्षिण चितवनको माडी क्षेत्र र त्यसनजिक जोडिएका भारतीय सीमा नाकामा अतिक्रमण भएको तथ्य सार्वजनिक भएपछि चितवनमा पनि सीमा क्षेत्रको सुरक्षा आवश्यक भएको हो ।

बर्दीका ट्राफिक प्रहरीलाई चिनियाँ कर्मचारीले कुटे


ध्रुव दंगाल/सिन्धुपाल्चोक (नयाँ पत्रिका)

उत्तरी तातोपानी नाकामा चिनियाँपक्षको ज्यादती बढेपछि शनिबार विवाद मिलाउन गएका ट्राफिक प्रहरीका हवल्दार कुटिएका छन् । चिनियाँ ज्यादतीविरुद्ध नेपालीपक्ष प्रदर्शनमा उत्रिएपछि उत्तरी नाका शनिबार दिनभरजसो तनावग्रस्त बन्यो । सामान बोकेर शुक्रबार नेपालतिर आउँदै गरेको कन्टेनर भ्यान चिनियाँ समूहले तोडफोड गरेपछि विवाद बढेको थियो । समझदारी जुटाउन कोदारीस्थित अध्यागमन कार्यालयका अधिकृत दुर्गादत्त ढकालको नेतृत्वमा ट्राफिक प्रहरीका हवल्दार अरुण पाण्डे पनि वार्ताका लागि गएका थिए । तर, बर्दीका प्रहरी पाण्डे कुटिए, त्यो पनि सर्वसाधारणबाट होइन चिनियाँ अध्यागमनका कर्मचारीद्वारा । नेपाली प्रहरी पाण्डेलाई अध्यागमनमा कर्मचारीले चड्कन लगाएको वार्ताटोली सदस्य तथा प्रत्यक्षदर्शी सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिलवालले बताए । उनले नयाँ पत्रिकासँग भने, 'विवाद मिलाउन छलफल हुन खोज्दै थियो, आवेगमा आएर ती कर्मचारीले चड्कन लगाए ।'

अब नेपालबाटै डीटीएच

रामचन्द्र भट्ट, काठमाडौं(नगारिक) -

सिधै ग्राहकको टिभी सेटसम्म च्यानल प्रसारण हुने प्रविधि डाइरेक्ट टु होम (डीटीएच) लाई नियम अनुसार चलाउने गरी सरकारले सञ्चार नियमावली पारित गरेको छ। मन्त्रिपरिषदको विधयेक समितिको बिहीबार बसेको बैठकले केबुल टेलिभिजनलाई व्यबस्थित र डीटीएच प्रविधिलाई वैधता दिएर सञ्चालन गर्नेगरि नियमावली संशोधन गरेको हो। संशोधित नियमावली अनुसार डीटीएच प्रविधि सञ्चालन गर्न लाइसेन्स लिनुपर्ने भएको छ। 'अब राजपत्रमा प्रकाशित भएपछि यो कार्यान्वयनमा आउँछ,' सञ्चार सचिव सुशील घिमिरेले भने। एक वर्षभित्र अहिले सञ्चालनमा रहेको डीटीएच प्रविधिलाई नेपालबाटै चलाउने गरी कानुमा व्यबस्था गरिएको छ। अहिले चलिरहेको डीटीएचलाई भने गैर कानुनी ठहर गरिएको छ। मन्त्रालयले यस्ता उपकरणलाई छापा मारेर कव्जा गर्नसक्ने व्यबस्था पनि गरिएको छ।

कोइरालालाई क्यान्सर


बालकृष्ण अधिकारी/काठमाडौं(नयाँ पत्रिका)

लामो समयदेखि बिरामी कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला क्यान्सरपीडित बनेको सम्भावना छ । चिकित्सकले क्यान्सरको आशंकामा फोक्सोको तल्लोभाग काट्न खोजेपछि कोइराला निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् । कोइरालाका भतिजा डा. श्रीहर्षका अनुसार सिंगापुर ग्लिन इगल्स हस्पिटलका चिकित्सकले 'कोइरालालाई क्यान्सर लागेको संकेत गरेका थिए । तर, कोइराला भने आफ्ना दाजुहरू क्यान्सरको अपरेसन गर्दा 'गएको' भन्दै निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् । फोक्सोको तल्लोभागमा पानी जमेपछि उपचारका लागि सिंगापुर गएका कोइरालालाई चिकित्सकले अपरेसन गरेर फोक्सोको पानी झिक्न सुझाव दिएका थिए । तर, उनले मानेनन् । कोइरालाका भतिजा श्रीहर्षले नयाँ पत्रिकासित भने, 'हाम्रो परिवारका धेरै सदस्यलाई क्यान्सर रोग लागेको छ । गिरिजाबाबुलाई पनि क्यान्सर लागेको डर छ ।'

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by