ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

डिआइजीले लगिन् गृहमन्त्रीलाई बंकरमा


मंगलसेनस्थित सेनाको ब्यारेकमा डिआइजी पार्वती थापा आफूलाई भेट्न आएको थाहा पाएपछि गृहमन्त्रीले भने, 'मैले किन भेट्नु त्यसलाई, भेट्नु पर्दैन रे भनेर पठाइदिनु ।’ तर, आधा घन्टापछाडि उनलाई भेट्न फेरि बोलाइयो । डिआइजी थापाले पनि तपाईंलाई 'गार्ड अफ अनर’ दिने कार्यक्रम छ भनेर गृहमन्त्रीलाई जिल्ला प्रहरी कार्यालय लगिन् । सलामी खान गएका रावललाई उनले बंकरमा लगिन् जहाँ सुन्तली धामीको बलात्कार भएको थियो ।
अर्जुन पौडेल/काठमाडौं (नयाँ पत्रिका)

सुन्तली धामी बलात्कार काण्डको छानबिन गरिरहेकी डिआइजी पार्वती थापालाई गृहमन्त्रीको निर्देशनमा काठमाडौं सारिएको मात्र होइन, कार्यक्षेत्रमै गृहमन्त्रीले अपमानित गरेको थाहा भएको छ । अछाम गएका बेला भेट्न पुगेकी डिआइजी थापालाई गृहमन्त्री रावलले इन्सपेक्टर लगाएर गेटबाटै फर्काइदिएका थिए । दसैंको महानवमीको दिन आफ्नै सहकर्मीबाट अछाम जिल्ला प्रहरीका कार्यालयमा बलात्कृत प्रहरी सुन्तली धामीलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न डिआइजी थापाले पहल सुरु गरेकी थिइन् । उनले घटनाको पूर्ण रिपोर्ट केन्द्रमा पठाउँदै आरोपीलाई हतकडी लगाएर थुनामा राखेकी थिइन् । आफ्नो गृहजिल्लामा भएको बलात्कार काण्डका दोषीलाई कारबाही गराउनुको सट्टा गृहमन्त्री रावल संरक्षण गर्न लागिपरेपछि क्षेत्रीय प्रहरी प्रमुख थापासँग उनको विवाद भएको स्रोतको दाबी छ । यही घटनाका कारण डिआइजी थापाको काज अचानक फिर्ता गरिएको थियो । ४ गते नै फ्याक्स पठाएर काठमाडौं आउन आदेश आए पनि औपचारिकता पूरा गर्न कार्यक्षेत्रमै रहेकी डिआइजी थापा र मन्त्री रावलबीच ८ मंसिरमा अछाममै तनाव भएको हो ।

घटनापछि ८ मंसिरमा मन्त्री रावल अछाम गएका थिए । उनलाई भेट्न डिआइजी थापा मंगलसेनस्थित सेनाको ब्यारेकमै पुगेकी थिइन् ।

थापा आएको खबर सुनेपछि मन्त्री रावलले 'त्यल्लाई किन भेट्ने ? भेट्नु पर्दैन भन्दिनोस्' भनेर सहयोगीलाई अह्राएका थिए । स्रोतका अनुसार ढोकामै उभिएकी डिआइजी थापाले गृहमन्त्रीको आदेश सुनेकी थिइन् ।

मन्त्रीको भनाइ सुनेकी थापा भित्र जाऊँ कि बाहिर जाऊँ भनेर अलमलमा परेकी उनलाई त्यहाँबाट बाहिर जान उनकै 'जुनियर' अधिकारीले 'अह्राएका' थिए । मन्त्री रावलका नाता पर्ने इन्स्पेक्टर कृष्णबहादुर मल्लले डिआइजी थापालाई भित्र पस्न मिल्दैन, तपाइं र्फकनोस् भनेर 'आदेश' दिएका थिए ।

इन्स्पेक्टर मल्लमात्र होइन, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललगायतका सरकारी मान्छेले ढोकामै थापाको बाटो छेकेका थिए । अपमानित थापा सेनाको ब्यारेकबाट फर्केर जिल्ला प्रहरी कार्यालय अछाम पुगेकी थिइन् ।

विभागीय मन्त्री रावल आउने खबर पाएकी थापा उनको सुरक्षाका लागि अघिल्लो दिन नै दिपायलबाट मंगलसेन गएकी थिइन् । रावल १० बजे हेलिकोप्टरबाट मंगलसेन पुग्ने कार्यक्रम थियो । सो क्षेत्रमा वितरण गर्न बिजुलीको तारसमेत लिएर गएका रावल पहिला साँफेमा उत्रने कार्यक्रम भए पनि मौसमले साथ नदिएपछि सीधै मंगलसेन अवतरण गरेका थिए ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पुगेको आधाघन्टामा गृहमन्त्री रावलले डिआइजी थापालाई भेट्न बोलाएका थिए । भेटपछि डिआइजी थापाले गृहमन्त्री रावललाई तपाईंका लागि 'गार्ड अफ अनर' को व्यवस्था छ भनेर जिल्ला प्रहरी कार्यालय लगेकी थिइन् । तर, सलामी थाप्न गएका गृहमन्त्रीलाई डिआइजीले बंकरमा लगेकी थिइन्, जहाँ सुन्तली धामी बलात्कृत भएकी थिइन् । उनले बंकरमा एउटी महिलामाथि उनकै ६ जना सहकर्मीले कसरी बलात्कार गरे भनेर कथा सुनाएकी थिइन् । तर, गृहमन्त्री रावल घटनाप्रति संवेदनशील हुनुको सट्टा मलाई पाठ पढाउने भनेर डिआइजी थापासँग आक्रोशित भएका थिए ।

दोषीलाई बचाउन रावलको निर्देशन मान्न अस्वीकार गरेका कारण पनि मन्त्री रावल थापादेखि रुष्ट रहेको स्रोतको दाबी छ । थापा गत असोज ६ गते काजमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय खटिएकी थिइन् । एक साता नबित्दै असोज ११ गते जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरीमाथि सहकर्मीद्वारा सामूहिक बलात्कार भएको थियो । बलात्कार भएकै हो भन्ने प्रतिवेदन बुझाएपछि गृहमन्त्रीलगायतका केही सुरक्षा प्रहरी अधिकारीले थापाले संगठनको इज्जतमा आँच पुर्‍याएको भन्दै काज फिर्ता गरेका छन् । उनलाई तुरुन्त काठमाडौं फिर्ता हुन फ्याक्समार्फत चिठी पठाइएको थियो । 'तपाइर्ंको काज रद्द गरिएकाले अविलम्ब प्रहरी प्रधान कार्यालय हाजिर हुन आउनू,' उनलाई फ्याक्स गरिएको पत्रमा उल्लेख छ । उनलाई कुनै आरोप लगाइएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले समेत दोषीमाथि हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । त्यस्तै संविधानसभा महिला सभासद्हरूको टोलीले पनि प्रतिवेदन सार्वजनिक गर्दै अछाम जिल्ला प्रहरी कार्यालयमा जघन्य अपराध भएको ठहर गरेको छ । सेती अञ्चल अस्पताल र अन्य विभिन्न अधिकारवादी संघ/संस्थाहरूले पनि महिला प्रहरी धामी बलात्कृत भएकै रिपोर्ट दिएका छन् ।

धामीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत ६ जनाले आफूलाई सामूहिक बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् । धामीले सुरुमा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् । तर, जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गराउन नमानेपछि सेती अञ्चल प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । अञ्चल प्रहरी कार्यालयमा समेत जाहेरी दर्ता नभएपछि पीडित धामी क्षेत्रीय प्रहरी कार्यालय पुगेकी थिइन् ।

बलात्कारका आरोपी असई दानसिंह भण्डारी, हवल्दार विरादत्त बडू र प्रहरी जवान नरिभान महतारा गृहमन्त्रीकै आदेशमा रिहा भइसकेका छन् । स्रोतका अनुसार गृहमन्त्रीका आफन्त पर्ने निरीक्षक कृष्णबहादुर मल्ललगायतले तीनजना प्रहरी रिहा गराएका हुन् ।

अहिले तीनजनाविरुद्ध मुद्दा चलेको छ, र उनीहरूले घटनाको समय आफू ड्युटीमा रहेको बताएका छन् । उनीहरूमध्ये दुईजनाले आफू निर्दोष रहेको भन्दै हवल्दार वीरेन्द्र बम एक्लैले बलात्कार गरेको भन्न थालेको छन् । यही नाटक गरेर थप दुईजनालाई रिहा गराउने षड्यन्त्र भएको स्रोतको दाबी छ । आरोपी पाँचजना बाहिर भएपछि हवल्दार बमको परिवारलाई आर्थिक सहयोग गर्ने वचन दिएका छन् ।

हवल्दार बम पनि आर्थिक सहयोग पाउने सर्तमा आफूले मात्रै गल्ती गरेको मान्न तयार भइसकेको स्रोतको दाबी छ । आरोपी पाँचजनालाई छुटाउन गृहमन्त्रीले सरकारी वकिललाई पनि सहमत गराइसकेको स्रोतले जनाएको छ । मन्त्री रावल र डिआइजी थापाबीच अर्को विषयमा पनि मनमुटाव भएको थाहा भएको छ । ५ मंसिरमा एमाले जिल्ला अधिवेशनअघि अछाम प्रहरीले एक एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । ३ मंसिरमा राति रावलका भिनाजु गोविन्द कुँवरको गाडी मोटरसाइकलसँग ठोक्किएको थियो । यही विषयमा कुँवर र मोटरसाइकल चालकबीच विवाद भएको थियो ।

आफ्ना चालक कुटिएको थाहा पाएपछि रावलका भिनाजु कुँवरले मोटरसाइकल चालकलाई पक्राउ गर्न लगाएका थिए । एमाले सभासद् भानुभक्त जोशीले पनि डिआइजी थापालाई फोन गरी ड्राइभर कुट्नेलाई तत्काल पक्राउ नगरेको भन्दै गुनासो गरेका थिए ।

तर, आरोपी मोटरसाइकल चालकले म एमाले कार्यकर्ता हुँ भन्दा पनि 'तँ झलनाथको मान्छे होलास्' भन्दै समातिएको थियो । मोटरसाइकल चालकलाई थुनिराख्न र तुरुन्त छोड्न भन्दै एमालेका दुई समूह जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, पछि उनी पनि गृहमन्त्री रावलकै पक्षधर भएको पुष्टि भएपछि उनलाई तत्कालै छाड्न आदेश आएको थियो । तुरुन्त छाड्न नमानेका कारण पनि रावल डिआइजी थापासँग रिसाएका थिए ।

काज फिर्ता भएकी डिआइजी थापा अहिले काठमाडौं फर्किएकी छिन् । गृहमन्त्री रावलसँग भएको मनमुटावका बारेमा जानकारी लिन खोज्दा उनी केही पनि बोल्न चाहिनन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by