ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 5, 2009

कोइराला ब्रान्ड


मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय र सञ्जय हुन् । कमल कोइरालाले एमालेबाट राजनीति गरेर अहिले कूटनीतिक निकायमा छन् । एमाले केन्द्रीय सदस्यसमेत भइसकेका कमल अहिले एमालेको कोटामा राजदूत भएका छन् ।

काठमाडौं (नयाँ पत्रिका)

नेपाली राजनीतिमा कोइराला वंश एउटा 'ब्रान्ड' नै बनिसकेको छ । यद्यपि, यस ब्रान्डको ठूलो हिस्सा राजनीतिबाहिर छ, र राजनीतिमा भित्रिन उत्सुक पनि छैन । कोइराला परिवारका हाँगा चिकित्सा क्षेत्रदेखि चलचित्र उद्योगसम्म फैलिएका छन् । ८६ वषर्ीय कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अझै देशको राजनीति आफ्नो सेरोफेरो घुमाउने हैसियत राख्छन् । उनी आफ्नो शेषपछि पनि पारिवारिक विरासत कायम राख्न चाहन्छन् र त्यसअनुरूप नयाँ पुस्तालाई अगाडि बढाइरहेका छन् । उनकी सुपुत्री सुजाता कोइराला अहिले देशको उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री छिन् । कृष्णप्रसाद कोइरालाका सन्तानहरू बिपी, मातृका र गिरिजाप्रसाद तीनैजना मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । कृष्णप्रसादकी श्रीमती मोहनकुमारीका सन्तानका रूपमा एक छोरा मातृकाप्रसाद र छोरीहरू नलिनी, इन्दिरा र शौभाग्यसुन्दरी जन्मिएका हुन् । मातृकाबाहेक अन्यले सक्रिय राजनीति गरेनन् । मातृकाकी श्रीमती मञ्जुले राजनीतिमा चासो राखे पनि महत्त्वपूर्ण भूमिकामा थिइनन् । उनले श्रीमान्लाई सामान्य सघाउने काम गरिन् ।
नलिनीको कालीप्रसाद उपाध्यायसँग, इन्दिराकोे डा. पिनायकी आचार्य र शौभाग्यसुन्दरीको भैरव अर्यालसँग विवाह भएको हो । इन्दिराले सक्रिय राजनीति नगरे पनि अन्य सदस्यलाई राजनीतिमा लाग्न प्रेरणा दिइरहिन् । उनकै प्रेरणाले छोरी शैलजा आर्चाय राजनीतिमा सक्रिय भएका हुन् । उनी मुलुकको पहिलो महिला उपप्रधानमन्त्री र कांग्रेसको पहिलो महिला उपसभापतिसमेत बनेकी थिइन् ।

मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय र सञ्जय हुन् । कमल कोइरालाले एमालेबाट राजनीति गरेर अहिले कूटनीतिक निकायमा छन् । एमाले केन्द्रीय सदस्यसमेत भइसकेका कमल अहिले एमालेको कोटामा राजदूत भएका छन् । राजनीतिमा नलागेका विमलको निधन भइसकेको छ । अजयले चिकित्साशास्त्रको अध्ययन गरे पनि मानसिक समस्याका कारण निस्त्रिmय रहेका छन् ।

विजय राजनीतिमा प्रवेश गरे पनि निरन्तरता दिएनन् । उनले लामो समय दुग्ध विकास संस्थानमा काम गरेका थिए । अहिले अवकाशप्राप्त जीवन बिताइरहेका छन् । विजय सुरुमा राजनीतिमा लागेका थिए । तर, पछि सरकारी सेवामा प्रवेशपछि सक्रिय राजनीति छाडे । पार्टीको कुनै पद नलिए पनि उनले कांग्रेसलाई निरन्तर सहयोग पुर्‍याएको श्रीहर्ष बताउँछन् । 'विजय दाले पार्टीको कुनै पद लिनुभएन, तर सहयोग गरी नै रहनुभयो,' उनले भने । सञ्जयले पार्टीको क्रियाशील सदस्यता लिए पनि सक्रिय राजनीति गरेन् ।

कृष्णप्रसादकी कान्छी श्रीमती दिव्या भने सक्रिय राजनीतिमा थिइन् । २००३ चैतमा बिपी, तारणीप्रसाद, गिरिजाप्रसाद, मनमोहन अधिकारी, गेहन्द्रहरि शर्मा र युवराज अधिकारीसँगै उनी गिरफ्तारसमेत भएकी थिइन् । छोरा बिपीलाई धनकुटा लगेपछि दिव्याको नेतृत्वमा विराटनगरमा मजदुरको जुलुस निस्किएको थियो । त्यसक्रममा उनी तीन महिना जेल परेकी थिइन् । उनको नेतृत्वमा निस्किएको मजदुरको जुलुसमा गोली चल्दा एक मजदुरको निधन भएको थियो । उनलाई तीन महिना धनकुटा जेलमा राखिएको थियो । इजरायलमा बस्दा पनि उनी सक्रिय थिइन् ।

दिव्यापट्टबिाट पाँच छोरा र एक छोरी थिए । छोराहरू केशव र तारणी राजनीतिमा संलग्न भएनन् भने हरिको सानैमा निधन भयो । राणाविरोधी आन्दोलनको दौरान बाबु कृष्णप्रसाद इजरायल भएकै वेला हरिको निधन भएको कांग्रेस नेता पुरुषोत्तम बस्नेतले बताए । एकमात्र छोरी विजयालक्ष्मीले २००७ र त्यसपछिको आन्दोलनमा हतियार ओसारपसार गर्न मद्दत गरेको उनले जानकारी दिए । विजयालक्ष्मीले नेपाली दूतावासमा काम गर्ने पाकिस्तानी नागरिकसँग विवाह गरेपछि राजनीतिमा निरन्तरता दिन सकिनन् ।

बिपीकी श्रीमती सुशीला कांग्रेसजनकै आमा भनेर चिनिए पनि उनी सक्रिय राजनीतिमा संलग्न भइनन् । उनले श्रीमान् (बिपी) का साथै परिवारका अन्य सदस्यलाई राजनीतिमा पर्याप्त सहयोग गरिन् । बिपी र सुशीलाका तीन छोरामध्ये दुईजना सक्रिय राजनीतिमा छन् । जेठा प्रकाश पहिले कांग्रेसमा भए पनि राजाको प्रत्यक्ष शासनकालमा मन्त्री भएपछि कांग्रेसबाट टाढा भएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् । प्रकाशकी श्रीमती सुष्मा पनि राजनीतिबाहिर छिन् । उनीहरूकी छोरी मनिषा भारतीय चलचित्रकी स्थापित अभिनेत्री हुन् भने छोरा सिद्धार्थ पनि चलचित्रमै लागेका छन् ।

बिपीका माहिला छोरा श्रीहर्ष राजनीतिबाट बाहिर छन् । तर, उनी आफूलाई राजनीतिबाट बाहिर रहेको भन्न रुचाउँदैनन् । उनले भने, 'म सक्रिय राजनीतिमा नभए पनि बिपीले प्रतिपादन गरेको सिद्धान्तलाई साकार गराउन कुनै न कुनै ढंगबाट लागिपरेको छु ।'

परिवारका अन्य सदस्यलाई राजनीतिक सल्लाह पनि दिई नै रहेको उनी बताउँछन् । 'सबैले राजनीति नै गर्नुपर्छ भन्ने छैन,' उनले भने, 'बाहिरबाट पनि योगदान पुर्‍याउन सकिन्छ ।' आफू जुनसुकै समयमा पनि सक्रिय राजनीतिमा आउनसक्ने पनि उनले नयाँ पत्रिकासँग बताए । श्रीहर्षले महाराष्ट्र मुम्बईकी रुचिकासँग बिहे गरेका छन् । शिक्षण पेसामा संलग्न छिन् रुचिका । उनीहरूका एक छोरा र एक छोरी छन् । छोराछोरीलाई राजनीतिप्रति रुचि नभएको श्रीहर्षले बताए ।

बिपीका कान्छा छोरा सशांक पनि पछिल्लो समय राजनीतिमा सक्रिय बनेका छन् । पेसाले चिकित्सक रहेका उनी कांग्रेस केन्द्रीय सदस्य र संविधानसभा सदस्यसमेत छन् । उनले नयाँदिल्ली घर भई थाइल्यान्डमा बस्दै आएकी सुपात्रासँग बिहे गरेका हुन् । सुपात्रा पनि चिकित्सक हुन् । उनीहरूका एकमात्र छोरी छिन् । उनी पनि राजनीतिमा छैनन् । बिपीपुत्री चेतना कमल दीक्षित -साहित्यकार) का भतिजासँग विवाह गरी अमेरिकामा बस्दै आएकी छिन् । उनी पनि राजनीतिमा लागेकी छैनन् ।

तारणीप्रसाद २००७ को राणाविरोधी आन्दोलनमा सक्रिय थिए । तत्कालीन अवस्थामा विराटनगरमा रेडियो नेपालको स्थापना गर्ने तारणीलाई चलचित्रमा हिरो बन्ने ठूलो चाहना थियो । मनोरञ्जनमा रुचि राख्ने उनले कविता र लेखहरू लेखेका छन् । साहित्य र कलामा रुचि राख्ने तारणीले महाकाव्यसमेत लेखेको श्रीहर्षले बताए । उनले वनारसकी रोसासँग बिहे गरेका हुन् । उनका एक छोरा एक छोरी छन् । छोरा ज्योतिले काठमाडौं, बौद्धकी इन्दिरा बस्नेतसँग बिहे गरेका हुन् । उनीहरूका दुई छोरी छन् । इन्जिनियरिङ पढेका उनले पञ्चायती व्यवस्थामा जागिर पाएनन् । पिताको क्यान्सरबाट निधन भएपछि उनी विराटनगरमै खेती गरेर बसे । अहिले उनी कुनै पेसामा छैनन् । बेलाबखत पत्रिकामा लेखहरू लेख्ने गरेका छन् ।

तारणीकी छोरी कल्पनाले लक्ष्मण बस्नेतसँग विवाह गरेकी हुन् । बस्नेत कांग्रेसको मजदुर संगठनका नेता हुन् । कल्पनाको क्यान्सरबाट निधन भइसकेको छ । उनी पनि राजनीतिमा संलग्न भइनन् ।

केशवप्रसाद सक्रिय राजनीतिमा नभए पनि कोइराला परिवारलाई राजनीतिमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले विराटनगरमा भएको आफ्नो सम्पूर्ण जमिनमा खेती लगाएका थिए । खेतीबाट भएको आम्दानीबाट तीनजना दाजुभाइ र बहिनीलाई खर्च पठाउने गरेकोे श्रीहर्षले बताए । उनले भने, 'कोइराला परिवारलाई टिकाइराख्न उहाँको महत्त्वपूर्ण भूमिका छ ।'

केशवप्रसाद कोइरालाकी श्रीमती नोना भने जीवनको अन्तिम समयसम्म कांग्रेसमा सक्रिय रहिन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी नोनाले कांग्रेस सभापति एवं देवर गिरिजाप्रसाद कोइरालालाई सरकार र पार्टी सञ्चालनका लागि निरन्तर सल्लाह र सुझाव दिने गर्थिन् । परिवारलाई एकताबद्ध बनाउन पनि उनको महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ ।

केशव र नोनाको दुई छोरामध्ये निरञ्जनले राजनीतिमा कुनै रुचि देखाएनन् । उनले काठमाडौं धोबीधाराकी सन्तोषी पाठकसँग विवाह गरेका थिए । अमेरिकाबाट र्फकँदा सन्तोषीको जहाज दुर्घटनामा निधन भएपछि उनी अहिले भारतमा बस्दै आएका छन् । निरञ्जन अखबारमा लेखहरू लेख्छन् । नेपाल पर्यटन बोर्डमा समेत काम गरेका थिए उनले ।

अर्का छोरा शेखर भने राजनीतिमा सक्रिय छन् । उनी अहिले कांग्रेस केन्द्रीय सदस्य र संविधानसभा सदस्य हुन् । शेखरले विराटनगरकी पुनमसँग बिहे गरेका हुन् । पुनम भने राजनीतिमा छैनन् । उनीहरूका एक छोरी छिन् ।

गिरिजाप्रसाद अहिले पनि मुलुकको राजनीतिको केन्द्रभागमा छन् । तर, उनकी श्रीमती सुष्माले भने राजनीति गरिनन् । उनी शिक्षण पेसामा थिइन् । सुष्माले अघिल्लो श्रीमान्बाट जन्माएका सुरेशलाई गिरिजाप्रसादले आपनै नामबाट नागरिकता दिएका छन् । सुरेश काठमाडौंमा छपाइ मेसिन चलाएर बसेका छन् । विराटनगरकै भानु थापासँग बिहे गर्नुअघि उनले राजनीतिमा चासो राखे पनि बिहेपछि संलग्न भएनन् । श्रीमती भानु र दुई छोरा पनि राजनीतिमा लागेनन् ।

गिरिजाप्रसाद र सुष्माकी छोरी सुजाताले जर्मन नागरिक नोवदसँग बिहे गरेकी हुन् । उनीहरूका एक छोरा र एक छोरी छन् । उनीहरू पनि राजनीतिमा छैनन् । सुजातापुत्रीको बिहे बंगलादेशमा भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by