काठमाडौ (कान्तिपुर)-
राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा सुकुम्वासी र प्रहरीबीच भएको झडपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगले आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न तथा यस घटनाका घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई आग्रह गरेको छ । साथै जथाभावी आगजनी, तोडफोड लगायतका कानुन विपरीत कार्यहरू नगर्न प्रदर्शनकारीहरूलाई पनि आग्रह गरेको छ । 'सुकुम्वासी भनिएका व्यक्तिहरू र सुरक्षाकर्मीबीच भएको झडप र विभत्स हत्याका घटनाहरूप्रति चिन्ता प्रकट गर्दछ'-शनिबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले घटनास्थल र आसपासका क्षेत्रमा आगजनी, तोडफोड र कुटपिटका घटनाले तनाव कायम रहेको र कुनै पनि बेला थप झडपको सम्भावना रहेको जनाएको छ । घटनामा कम्तीमा चारको मृत्यु र तीन दर्जन व्यक्ति घाइते भएको आयोगले उल्लेख गरेको छ ।
संवादमार्फत् घटनाको समाधान खोज्दै परिस्थितिलाई सामान्य पार्न आ-आफ्नो क्षेत्रबाट आवश्यक पहल थाल्न राजनीतिक दलहरू, अधिकारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबै पक्षलाई आयोगले अपिल गरेको छ । साथै उसले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग पनि गरेको छ ।
No comments:
Post a Comment