ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

सुरेन्द्र पौडेल/काठमाडौं (नागरिक)- 

इन्टरनेसनल बिजनेस मेसिन्स (आइबिएम) कर्पोरेसनले नेपालका सूचना प्रविधि (आइटी) विद्यार्थीलाई आइटी क्षेत्रको प्रयोगात्मक अनुसन्धानमा सघाउने भएको छ। आइबिएमले बनेपास्थित आइटी पार्कमा रहेको आइबिएम ओपन टेक्नोलोजी रिसोर्सेज सेन्टर मार्फत नेपाली विद्यार्थीलाई अनुसन्धानमा सघाउने भएको हो। आइटी उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न आइबिएमले यो अवसर नेपाली विद्यार्थीलाई दिन लागेको हो। सूचना प्रविधि उच्चस्तय आयोगले रिसोर्सेज सेन्टर सञ्चालन गर्न आइटी पार्कमा स्थान उपलब्ध गराएको छ। 'आइटी उद्योगलाई जस्तो जनशक्ति चाहिन्छ त्यस्तो जनशक्ति हाम्रा कलेजबाट निस्कंदैनन्,' सूचना प्रविधि उच्चस्तय आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टराई भने, 'आइबिएमले शिक्षा क्षेत्र र आइटी उद्योग बिचको दू घटाउन खोजेको हो।'
भट्टराईका अनुसार भारतमा पनि पासआउट एक सय आइटी विद्यार्थीमा २५ जनामात्र आइटी उद्योगका लागि उपयुक्त हुन्छन्। बाँकीलाई थप शिक्षा तथा तालिमको आवश्यकता पर्छ। यसैअनुरुप नेपाली आइटी विद्यार्थीलाई आइटी उद्योगसँग बढी निकट बनाउन आइबिएमले अनुसन्धान कार्यक्रम ल्याएको भट्टराईले बताए। 
सुरुमा प्रतिबर्ष २० जना विद्यार्थीलाई अनुसन्धानमा आइबिएमले सघाउने छ। यस वर्षको लागि आइटी क्षेत्रको अनुसन्धानको लागि १४ जना विद्यार्थी छनौट गरिसकिएको छ। यीमध्ये चार जनाले अनुसन्धान प्रारम्भ गरिसकेका छन् भने बाँकी १० जनाले केही दिनमै थाल्ने छन्। प्रकोप व्यवस्थापन प्रणाली, भर्चुअल टुरिजम र टेलीमेडिसिन विषयमा अनुसन्धान प्रारम्भ भैसकेको छ। आउँदा वर्ष विद्यार्थी संख्या बढाउँदै लगिनेछ। 
थप अनुसन्धानका लागि आईबिएमले सन् २०१० को मार्चमा प्रस्तावना आह्वान गर्नेछ। पास आउट भएका आइटी विद्यार्थी जोसुकैले पनि अनुसन्धान प्रस्तावना पेश गर्न पाउने छन्। 
अनुसन्धानका लागि आइबिएमले चारवटा क्षेत्र किटान गरेको छ : नवीनतम प्रविधि, समाजिक विकासका लागि सूचना प्रविधि, खुला मानक स्रोत व्यवस्थापन र खुला विषय। पास आउट आइटीका विद्यार्थीले यिनै चारवटा विषयमा केन्द्रित भएर अनुसन्धान प्रस्तावना पेश गर्नु पर्नेहुन्छ। कुन प्रस्तावना छनौट गर्ने भन्ने निर्णय भने आइबिएम र आयोगले गर्नेछन्। 
अनुसन्धानका लागि छनौटमा परेका विद्यार्थीलाई अनुसन्धान अवधिसम्म आइटी पार्कमा राखिने छ। विद्यार्थीलाई खान, बस्न र यातायातको सुविधा समेत उपलब्ध गराइने छ। 
'अनुसन्धान यति नै समयको हुँनुपर्छ भनेर हामीले तोकेका छैनौं,' भट्टराई भन्छन्, 'तीन-चार महिना देखि दुई-तीन वर्षसम्मको पनि अनुसन्धान हुन सक्नेछ।' अनुसन्धानरत विद्यार्थीका हार्डवेयर, सफ्टवेयर, मर्मत आवश्यकता तथा सल्लाह सुझाव आइबिएमले पुरा गर्ने छ। 
'आइटी मानव संशाधन बजारउन्मुख भएन, विद्यार्थीमा अनुसन्धान अनुभव कम देखिएको छ,' भट्टराई भन्छन्, 'नेपालभित्रका आइटी समस्या समाधान गर्न कस्तो प्रविधि आवश्यकता पर्छ भनेर समाधान खोज्न आइबिएमले अनुसन्धान कार्यक्रम ल्याएको हो।' 
आइबिएमले भविष्यमा आफुलाई चाहिने जनशक्ति तयार पार्न पनि नेपाली विद्यार्थीमाझ अनुसन्धान कार्यक्रम ल्याएको भनाई भट्टराईको छ। आइबिएम हार्डवेयरबाट हात झिक्दै छ भने 'आइटी सलुसन' तर्फ अग्रसर हुँदैछ। भट्टराई थप्छन्, 'यस्तो अवस्थामा यहाँ गरिएका अनुसन्धान आइबिएमका लागि थुप्रै देशमा आइटी समस्या समाधान गर्न काम पनि लाग्न सक्छ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by