ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

फिलिप्स इलेक्ट्रो टेक सुरु

काठमाडौ (कान्तिपुर)- 

नयाँ ऊर्जा उपकरण तथा प्रविधि प्रदर्शन/प्रवर्द्धन गर्न पाँचौं अन्तर्राष्ट्रिय इलेक्टि्रक/ इलेक्ट्रोनिक्स वस्तु प्रदर्शनी मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १ सय ६२ स्टलमा अमेरिका, चीन, भारत, जापान, फ्रान्स, कोरिया, मलेसिया, जर्मनी र नेपालका गरी ६० भन्दा बढी ऊर्जा सम्बन्धित नयाँ उपकरण र प्रविधि राखिएका छन् । प्रदर्शनीको उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री प्रकाशशरण महतले विद्युतीय क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध प्रविधिबारे सर्वसाधरणलाई जानकारी दिने भएकाले यस्तो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 'नयाँ प्रविधिले विद्युत खपतदेखि लगानीलाई समेत न्यून गर्नेछ,' उनले भने ।  द्वन्द्वले जलस्रोत र विद्युतीय क्षेत्रमा जुन गतिमा विकास हुनुपथ्र्यो, त्यस्तो नभएको महतको भनाइ छ । 'जसले गर्दा नेपालीले दैनिक १८ घन्टे लोडसेडिङ सहनुपर्‍यो,' उनले भने, 'सरकारले माथिल्लो तामाकोसी र पञ्चेश्वर आयोजनालाई तीव्र रूपमा अगाडि बढाएकाले पाँच वर्षपछि यो समस्या हट्नेछ ।' यो वर्ष लोडसेडिङ कम गर्न भारतसँग किन्नुका साथै सञ्चालनमा रहेका थर्मल प्लान्टबाट विद्युत उत्पादन प्रक्रिया थालिएको उनले बताए । 

नेपाल इलेक्टि्रकल एसोसिएसका अध्यक्ष गोविन्द कँडेलले सरकारले ऊर्जा संकट घोषणा गरे पनि त्यसका लागि कुनै ठोस नीति तथा कार्यक्रम नल्याएको गुनासो गरे । 'अर्थतन्त्र जोगाउन र राष्ट्रिय ऊर्जा न्यूनीकरणमा प्रभावकारी काम भएकै छैन,' उनले भने । 

प्रदर्शनी आयोजना गर्नुको मुख्य लक्ष्य ऊर्जा खपत कम गर्नका लागि जनचेतना जगाउनु रहेको कँडेलले बताए । त्यसका लागि सिएफएललगायत अन्य विकल्प अपनाउन सकिन्छ भन्ने जानकारी प्रदर्शनीबाट सर्वसाधरणले पाउने उनको भनाइ थियो । 

लोडसेडिङ न्यूनीकरणका लागि अल्पकालीन उपायअन्तर्गत पुस १७ गतेदेखि २० मेगावाट विद्युत भारतबाट आयात गरिने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक जीवेन्द्र शाहले बताए । त्यस्तै भारतको कटैयाबाट थप विद्युत आयात गर्नुका साथै मल्टिफ्युलको स्थापनका लागि सरकारले पहल गरिरहेको उनले जानकारी दिए । मल्टिफ्युलका लागि करिब ९ करोड रुपैयाँ लागत लाग्ने पनि उनले बताए । 

बाग्लुङका कुशल केसीले बनाएको सोलार कार र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीद्वारा निर्मित रोबोट मुख्य आकर्षणका रूपमा रहेको प्रदर्शनीमा विद्युत प्रसारण तथा वितरण, हाउस वायरिङ प्रविधि, सिएफएल बल्ब, इलेक्टि्रक हिटर, साइकल, कार, इन्भर्टर, सोलार प्रविधिलगायत राखिएका छन् । 

हरेक दिन बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनी अवलोकनका लागि सामान्य व्यक्तिले २० रुपैयाँ र विद्यार्थीले १० रुपैयाँ खर्च गर्नुपर्नेछ । उद्घाटनकै दिन करिब दस हजारले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by