ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 3, 2009

नेपाली उत्पादनलाई सहुलियत दिन माग • डब्लुटिओ मन्त्रीस्तरीय बैठक

गोकर्ण अवस्थी/जेनेभा (स्विट्जरल्यान्ड) (कान्तिपुर) - 

वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले विकसित मुलुकमा नेपाली उत्पादनको सहुलियतपूर्ण र भन्साररहित बजार पहुँच दिन माग गरेका छन् । उनले यो सुविधा दिएर नेपालको शान्ति र विकासमा सहयोग गर्न विश्व व्यापार संगठन (डब्लुटिओ) र सदस्य राष्ट्रलाई आग्रह गरेका हुन् । जेनेभामा बुधबार डब्लुटिओको सातौं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै महतोले दोहा विकास एजेन्डा (डिडिए) सम्बन्धी चाँडै निष्कर्ष निकाली कार्यान्वयन भए अति कम विकसित मुलुक (एलडिसी) हरूलाई आफ्नो व्यापार बढाउन सहयोग पुग्ने बताए । 'व्यापार प्रवर्द्धन जनतामा शान्ति र विकासको लाभ पुर्‍याउन महत्त्वपूर्ण माध्यम हुने हामीले ठानेका छौं,' उनले भने । डिडिए खासगरी व्यापारका लागि आर्थिक सहायता, विकसित मुलुकमा भन्साररहित पहुँच र अन्य सहयोगलगायत विकासोन्मुख मुलुकका चासोसँग सम्बन्धित छ । यसबाहेक डिडिएमा विकसित मुलुकले कृषिमा दिँदै आएको अनुदान र अन्य औद्योगिक उत्पादनको भन्सार घटाउनुपर्ने विवादस्पद विषय छन् । 
यिनै विषयमा भारत, चीन, ब्राजिललगायत विकासोन्मुख मुलुक र अमेरिका तथा युरोपेली युनियनजस्ता विकसित मुलुकबीच सहमति हुन नसक्दा सम्मेलन तार्किक निष्कर्षमा पुग्न नसकेको हो । 

अधिकांश सदस्य राष्ट्र र डब्लुटिओका महानिर्देशक पास्कल लामेले डिडिए कार्यान्वयनका लागि बैठक छिटो तार्किक निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । मन्त्री महतोले पनि डिडिएको छिटो निष्कर्ष हुनुपर्ने औंल्याए । 

यसअघि मंगलबार बंगलादेशका व्यापारमन्त्रीले एलडिसी मुलुकका चासोलाई कडा रूपमा उठाएका थिए । मन्त्रीस्तरीय बैठकमा आफ्ना मुद्दा र चासोबारे बोल्न डब्लुटिओका सदस्य मुलुकका व्यापार तथा वाणिज्य मन्त्रीहरू प्रत्येकलाई तीन मिनेट समय दिइएको थियो । 

लामेले उद्घाटन मन्तव्यमा दोहा राउन्डलाई सफलतापूर्वक र छिटो सम्पन्न गर्नका लागि सबैलाई गम्भीर हुन आग्रह गरेको थिए । 'यो आर्थिक लाभको सवाल मात्रै हैन, बहुपक्षीय व्यापार प्रणालीको सबलीकरण र संरक्षणका लागि हाम्रो सहकार्य र प्रतिबद्धतासँग पनि सम्बन्धित छ,' उनले भने । 

डब्लुटिओका १ सय ५३ सदस्य मुलुकमध्ये दुई तिहाई संख्या विकासोन्मुख र अति कम विकसित मुलुकहरूको छ । दक्षिण एसियाली मुलुकमध्ये भुटान र अफगानिस्तान यसको सदस्यता लिने क्रममा छन् । जेनेभाको यो बैठकमा २ हजार ७ सय प्रतिनिधि र ४ सय सञ्चारकर्मीहरू सहभागी छन् ।

महासंघमा व्यापार केन्द्र 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले काठमाडौंस्थित आफ्नो केन्द्रीय कार्यालयमा व्यापार केन्द्र स्थापना गर्ने भएको छ । 

'वाणिज्य मन्त्रीसँगको परामर्शपछि महासंघले छिटोभन्दा छिटो स्थापना गर्नेछ,' महासंघका अध्यक्ष कुशकुमार जोशीले भने । 

उनका अनुसार यो केन्द्रलाई महासंघको महत्त्वपूर्ण विभागका रूपमा विकास गरिनेछ । 

'हामीले यहाँ आएर थिंकट्यांकको महत्त्व कति छ भन्ने बुझ्यौं,' उनले भने । 

जोशीले निजी क्षेत्र सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बैठकमा सहभागी 

भएका छन् । 

'सरकार र अन्य क्षेत्रलाई व्यापारसम्बद्ध विश्लेषणको व्यवस्था गर्न महासंघ केन्द्रलाई मजबुत थिंकट्यांकका रूपमा विकास गर्न चाहन्छ,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by