नयां पत्रिका
नेपालमा राष्ट्रिय सरकार आवश्यक रहेको राष्ट्रसंघीय महासचिव बान कि मुनको विश्लेषणबाट सरकार असन्तुष्ट भएको र त्यसलाई हस्तक्षेपका रूपमा गम्भीर ढंगले लिएको भन्दै प्रधानमन्त्रीका एक सल्लाहकारको सार्वजनिक टिप्पणी आएकै दिन नेपालका लागि भारतीय राजदूतले प्रधानमन्त्री माधवकुमार नेपाल स्वयं उपस्थित कार्यक्रममा वर्तमान सरकारप्रति भारतको समर्थन मात्र दोहर्याएनन्, यही सरकारले संविधान बनाउने भविष्यवाणी पनि गरे । मुनभन्दा निकै कदम अघि बढेर सुदले गरेको टिप्पणीबारे भने सरकारको मौनताले विदेशी हस्तक्षेपबारे उसको दोहोरो मापदन्ड नै उजागर भएको छ ।
राजनीतिक नेतृत्वको परमुखापेक्षी सत्तालिप्सा र राष्ट्रिय इच्छाशक्तिको अभावका कारण नेपालमा कूटनीतिक नियोगहरू सुरुमा रेप|mी र बिस्तारै खेलाडी भएर नेपाली राजनीतिको मैदानमै ओर्लिसकेका छन् । आफूलाई फाइदा हुँदा त्यसलाई अन्तर्राष्ट्रिय समर्थन र बेफाइदा हुँदा भने हस्तक्षेप ठान्ने नेपाली राजनीतिज्ञहरूको दोहोरो चरित्रले विदेशीहरूलाई नेपालमा खेल्न धेरै सजिलो भएको छ । मुन र सुद प्रकरणमा सरकारको दोहोरो मापदन्ड त्यसका पछिल्ला उदाहरण हुन् । सरकार मात्र होइन, नेपाली राजनीतिका अरु खेलाडी पनि यसका अपवाद छैनन्, केवल मात्रात्मक अन्तर मात्र हो ।
भारतका हकमा नेपालमा हस्तक्षेप शब्द नै अपर्याप्त हुन्छ । नेपालमा भारतको भूमिका सुरुमा प्रभाव, त्यसपछि दवाव, अनि हस्तक्षेप हुँदै अब झन्डैझन्डै पूर्ण नियन्त्रणको तहमा आइपुगेको छ । वर्तमान सरकारको गठन र संरचनामा भारतको सक्रिय पहल एउटा वास्तविकता र भारतीय ँक्षमता’को पछिल्लो उदाहरण हो । नेपाली राजनीतिको हैसियत हेर्दा यतिखेर यहाँको राजनीतिमा भारतले ब्रम्हा, विष्णु र महेश्वर तीनवटैको भूमिका निर्वाह गरिरहेको भान हुन्छ । यो शर्मको विषय हो तर नेपाली राजनीतिको शब्दकोषमा भारतीय हस्तक्षेपका मामिलामा शर्म भन्ने शब्द हम्मेसी भेटिन्न ।
भुटान र नेपाललाई छाडेर दक्षिण एसियामा भारतको वर्चस्व निकै कमजोर भइसकेको छ । पाकिस्तान त परको कुरा, मूलतः भारतीय सैनिक हस्तक्षेपबाटै जन्म भएको वंगलादेशमा समेत भारतको चासोले इज्जत पाउन छाडेको छ । एकसमय भारतको इशारा नभई हावा पनि नचल्ने मानिएको श्रीलंकामा पनि पछिल्ला दिनमा भारतका आग्रहहरूले मूल्य पाउन छाडेका
छन् । तमिल विद्रोहीहरूमाथि सफल दमनले श्रीलंकालाई भारतबाट अझ टाढा लगेको छ । तर, नेपालमा भने भारतले विस्तारै ँभगवान’ को रूप लिन थालेको छ ।
त्यसो त नेपालका हकमा भारतले सुरुदेखि नै कूटनीतिक पोशाकको आवश्यकतासम्म महसुस गरेको देखिन्न । दिल्लीलाई नेपाली राजनीतिकर्मीले मक्का-मदिना मान्ने परम्परा पनि पुरानै हो । तर, भारतीय हस्तक्षेपले यति व्यापक ँराजनीतिक स्वीकृति’ यसअघि यो तहमा कहिल्यै पाएको थिएन । हस्तक्षेप जति डरलाग्दो र निन्दनीय हो, यो ँस्वीकृति’ त्योभन्दा हजारौं गुना डरलाग्दो र विचारणीय पक्ष हो । भूराजनीतिक, सांस्कृतिक र आर्थिक विशेष सम्बन्धका कारण नेपालमा भारतको चासो कूटनीतिक मर्यादाको सीमासम्म अनुचित नहोला तर सरकार टिक्छ कि टिक्दैन, कसको सरकार बन्छ वा कसको बिग्रन्छ, त्यसको आधिकारिक प्रमाणपत्र भारतीय राजदूतले दिने अवस्थाले नेपालको सरकार र राजनीतिज्ञहरूको औकात र औचित्यमाथि नै निणर्ायक प्रश्न उठाएको छ ।
नेपालका लागि मात्र होइन, यो अवस्था भारतका लागि पनि दीर्घकालीन हितमा हुनेछैन । वंगलादेशका संस्थापक नेता शेख मुजिब-उर-रहमानले कुनै बेला ँमेरो छालाको जुत्ता बनाएर दिए पनि इन्दिरा गान्धीको गुन तिरिन्न’ भनेका थिए । भारतमाथि नेताहरूको त्यो अतिनिर्भरता र भारतीय हस्तक्षेपको उत्कर्षले अन्ततः वंगाली राष्ट्रलाई भारतप्रति चरम घृणाका लागि प्रेरित
गर्यो । नेपाल पनि त्यसैको अर्को उदाहरण बन्ने सम्भावना बढी छ । केही वर्षअघिको ऋतिक रोशन काण्डले त्यसको छनक दिइसकेको छ ।
No comments:
Post a Comment