ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

माओवादीले शान्ति सम्झौता उल्लंघन गरेको निष्कर्ष/सेना सहित सबै सुरक्षा अंग उच्च सतर्कतामा

काठमाडौ - सरोजराज अधिकारी

माओवादीले बृहत शान्ति सम्झौताको उल्लंघन गरेको निष्कर्ष निकाल्दै सेनासहित सबै सुरक्षा अंगहरुलाई उच्च सतर्कतामा रहन सरकारले निर्देशन दिएको छ ।  मंगलबार मन्त्रिपरिषद्को बैठकमा प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा गुप्तचर विभागका प्रमुखसमेतलाई बोलाएर निर्देशन दिइएकेा हो ।  साथै माओवादीले आन्दोलनको घोषणा गरी स्थानीय निकाय कब्जा गरेर आफै पदाधिकारी घोषणासमेत गरेको अबस्थामा शान्ति प्रकृयाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन (अनमिन) लाई पनि सचेत गर्ने निर्णय मन्त्री परिषद्ले गरेको छ । 

'माओवादीले बृहत शान्ति सम्झौता विपरित कार्यहरु गर्दै गएकोमा सबै सुरक्षा अंगहरुलाइ उच्च सतर्कतामा रहन निर्देशन दिएका छौं' बैठक चलिरहेकै बेला बाहिरिएका सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले संवाददाताहरुसंग भने, 'अनमिनलाई पनि सचेत गराउने निर्णय गर्‍र्यौं ।' 

माओवादीले आइतवारदेखि सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तरगत सोमबार बिभिन्न स्थानीय निकायमा घेराउ गरेको थियो । धनकुटामा नगरपालिका कब्जा गरी पदाधिकारीको चयनसमेत गरेको थियो । माओवादी गणराज्यहरुको घोषणा गर्नेसम्मको कार्यक्रम घोषणा गरी सकेको छ । 

नयाँ सरकार बनेपछि सबै सुरक्षा निकायका प्रमुखहरुसमेत मन्त्रिपरिषद्मै बोलाएर गरिएको यो पहिलो निर्देशन हो । बैठकमा प्रधानसेनापति छत्रमान सिंह गुरुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक सनत बस्नेत, नेपाल प्रहरीका महानिरिक्षक रमेश चन्द ठकुरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोक देव भट्ट सहभागी थिए । 

त्यसैगरी बैठकमा गृह मन्त्रालयका सचिव गोविन्द कुसुम, शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव तथा उपसचिवहरुकोसमेत सहभागिता थियो । मन्त्रीहरुमात्र रहने मन्त्रिपरिषद्को बैठकमा बुधबार राज्य र सहायकमन्त्रीहरुलाई समेत बोलाइएको थियो । 

राज्य र सहायकमन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु तथा गृह मन्त्रालयका अधिकारीहरु बैठकस्थलबाट बाहिरीए पनि मन्त्री परिषद्को बैठक भने जारी रहेको छ । 

उद्योग महेन्द्र यादवले माओवादीले शान्ति सम्झौताको उल्लंघन गरेपनि सरकारले सहमतिको प्रयास जारी राखेको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by