ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 28, 2009

किष्टको 'ड्रिम प्रोजेक्ट’


प्रभात भट्टराई/काठमाडौं (नयाँ पत्रिका)

निजी क्षेत्रका वाणिज्य बैंकहरूमा शाखा र पुँजीको हिसाबले सबैभन्दा ठूलो बन्ने घोषणा गरेको किष्ट बैंकले राजधानीमा १४ तलाको प्रधान कार्यालय (कर्पोरेट अफिस) बनाउन थालेको छ । अनामनगरमा निर्माणाधीन सो कार्यालय ३० करोडको लागतमा पूरा हुने प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीले जानकारी दिए । निजी क्षेत्रका वाणिज्य बैंकमध्ये सबैको भन्दा ठूलो प्रधान कार्यालय निर्माण गर्न लागेको उनले बताए । डेढ लाख वर्गफिट क्षेत्रफलमा सो भवन निर्माण भइरहेको हो । 'अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागेका हौँ,' उनले भने, 'हाम्रो व्यवसाय विस्तार जुन गतिमा भइरहेको छ त्यसअनुसारको सुविधा प्रदान गर्न सकियोस् भन्ने हेतुले डि्रम प्रोजेक्टको रूपमा यसलाई अघि बढाइरहेका छौँ ।' प्रधान कार्यालयअन्तर्गत हुने मुख्य शाखामा २६ वटा टेलर काउन्टर हुनेछन् । गाउँगाउँसम्म शाखा पुर्‍याएर व्यवसाय विस्तार गर्दा हुने ग्राहक चाप सहज गर्न काउन्टर धेरै राख्न लागेको उनले जानकारी दिए । 'सकेसम्म कसैले पनि लाइन झेल्नु नपरोस् भन्ने हाम्रो ध्येय हो,' उनले भने ।


भवनका १४ तलामध्ये सुरुका दुई तलामा पार्किङ हुनेछन् । किष्ट केन्द्रीय कार्यालयमा पाँच सय कर्मचारीले काम गर्ने उनले बताए । 'पाँच सयमध्ये आधा कर्मचारीले चारचक्के सवारी साधन चढेर आउँदा पार्किङ पर्याप्त हुनेछ,' उनले सुनाए । हाल किष्टमा कुल पाँच सय कर्मचारी कार्यरत छन् । त्यसमध्ये प्रधान कार्यालय र मुख्य शाखामा मात्र दुई सयले काम गर्छन् ।

सन् २०१० पछि आउने विदेशी बैंकसँग पनि सहज प्रतिस्पर्धा गर्न आफूहरूले व्यवसाय विस्तारमा जोड दिएको ज्ञवाली बताउँछन् । ४२ शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको कम्पनीले अब तीन महिनाभित्र शाखा संख्या ५० पुर्‍याउने जनाएको छ । 'त्यसपछि मिनीब्रान्च कन्सेप्टमा जाछौँ,' ज्ञवालीले भने, 'तीन/चारजना मात्र कर्मचारी रहने मिनीब्रान्चले भने कर्जा प्रवाह गर्दैनन् । निक्षेप मात्र संकलन गर्छन् ।' गाउँ-गाउँसम्मका जनतालाई बैंकिङ सुविधाभित्र अटाउन सो योजना ल्याएको उनले बताए । मिनीब्रान्चमा कसैले कर्जा माग गरेमा त्यस्तो फायल नजिकको शाखामा पठाइ निर्णय गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए । ५० शाखा पुर्‍याइसकेपछि आउँदो आर्थिक वर्षलाई 'बिजनेस इयर' का रूपमा मनाउने बैंकको लक्ष्य छ ।

हाल दुई अर्ब चुक्ता पुँजी भएको बैंकले चालू आर्थिक वर्षभित्रै त्यसलाई पाँच अर्ब पुर्‍याउँदै छ । १ः२.५ दरमा हकप्रद सेयर बिक्री गरी चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम मापदण्डभन्दा अढाइ गुणा बढी पुर्‍याउन लागेको हो ।

'पाँच अर्ब चुक्ता पुँजी पुर्‍याएपछि कमसे कम १० प्रतिशत नगद लाभांश खुवाउन ५० करोड आवश्यक पर्छ,' उनले भने, 'त्यसका लागि कम्तीमा एक अर्ब सञ्चालन मुनाफा आर्जन गर्नैपर्छ ।' ठूलो उद्देश्य साथ आएकाले ठूला परियोजनामा हात हालेको उनले बताए । 'जनतालाई एक ठाउँबाट अर्को ठाउँमा गएपिच्छे आफूले कारोबार गर्ने बैंक फेर्नुपर्ने झन्जटबाट मुक्त गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,' उनले भने, 'देशको जुन कुनामा पुगे पनि किष्टको सेवाबाट कसैले विमुख हुनु नपर्ने व्यवस्था तयार गर्छौँ ।' पाँच खर्बको बैंकिङ बजारमा कमसे कम २० प्रतिशत हिस्सा लिने लक्ष्य बैंकको छ ।

पाँच अर्ब चुक्ता पुँजी पुगेपछि बैंकले एकै समूह वा व्यक्तिलाई एक अर्ब २५ करोडसम्म कर्जा प्रवाह गर्न पाउँछ । त्यसपछि ठूला व्यावसायिक घरानाको पनि आकर्षणमा आफूहरू हुने उनी बताउँछन् । 'चुक्ता पुँजीको २५ प्रतिशतसम्म ऋण एकै समूह वा व्यक्तिलाई दिन सकिन्छ,' उनले भने, 'अब ठूला व्यवसायीको पनि साझेदार किष्ट बन्नेछ ।'

हाल बैंकमा १४ अर्ब निक्ष्ाेप संकलन भएको छ । त्यसमा दुई अर्ब मात्र संस्थागत निक्ष्ाेपकर्ताको भएको र बाँकी सबै व्यक्तिको नाममा रहेको उनले जानकारी दिए । 'सर्वसाधारण जनताको विश्वास जितेकैले हामीलाई यत्रो आँट गर्ने हौसला मिलेको हो,' उनले भने । बैंकले ४३औँ शाखा काठमाडौंको महाराजगन्जमा स्थापना गर्न लागको छ ।

अनामनगर क्ष्ाेत्रमा मात्र बैंकको ११ रोपनी जग्गा छ । निर्माणाधीन भवनमा सरेपछि हाल प्रधान कार्यालय रहेको स्थानमा पुनः अर्को अत्याधुनिक भवन निर्माण सुरु गर्ने उनले जानकारी दिए । प्रधान कार्यालय मात्र होइन किष्टको बिर्तामोड, विराटनगरलगायत कतिपय शाखा पनि आफ्नै भवनमा रहेका छन् ।

चालू आर्थिक वर्षभित्र देशका विभिन्न स्थानमा ७५ एटिएम मेसिन स्थापना गर्ने किष्टको लक्ष्य छ । आउँदो आर्थिक वर्षमा त्यसलाई १ सय ७५ पुर्‍याउने ज्ञवालीले जानकारी दिए । बैंकका हाल ४७ एटिएम रहेका छन् । 'किष्टको एटिएम वा क्रेडिट कार्ड बोकेर हिँड्नेले आफ्नो खातामा पैसा हुँदाहुँदै कहीँ पनि अभाव महसुस गर्नु नपरोस्,' उनले भने । त्यसबाहेक किष्टले अनामनगरस्थित प्रधान कार्यालयमा सेवाग्राही आफैँले एउटा खाताबाट अर्कोमा पैसा स्थानान्तरण गर्नसक्ने अटोमेटिक मेसिन पनि स्थापना गरेको छ । परीक्ष्ाणका रूपमा रहेको सो मेसिन एयरपोर्टलगायत देशका अन्य भागमा पनि पुर्‍याउने ज्ञवालीले बताए ।

निर्माणाधीन प्रधान कार्यालयभित्र अत्याधुनिक सुविधासहितको लाइभ भिडियो कन्फ्रेन्स हल बन्ने उनले जानकारी दिए । 'अन्तर्राष्ट्रियस्तरका ठूला हवाईजहाजमा रहनेजस्तो भिडियो कन्फ्रेन्स सुविधासहितको एउटा हल हुनेछ,' उनले भने, 'त्यसमा कुनै पनि पिलर हुनेछैनन् । दुई सयजना व्यक्ति क्षमताको सो हल किष्टको आन्तरिक बैठक तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार आयोजना गर्न पनि भाडामा दिइनेछ ।' ६ वटा लिफ्ट रहने बिल्डिङ नेपाली बैंकमाझ आफैँमा एक नमुना हुने उनले जानकारी दिए । डेढ वर्षमा निर्माण पूरा हुने सो भवन दुई वर्ष पछिदेखि प्रयोगमा ल्याउने ज्ञवालीले बताए । भवनमार्फत बैंकिङ कारोबार सुरु गरेपछि २४ घन्टा सेवा प्रवाह गर्ने बैंकको योजना छ ।

'हामी ड्राइभ थ्रु काउन्टरमार्फत पनि सेवा दिनेछौँ,' उनले भने, 'त्यसपछि सेवाग्राहीले नगद राख्न वा झिक्न बैंकको काउन्टरसम्म पुग्न पर्दैन ।' सुरुमा प्रधान कार्यालयनजिकै अनामनगरमै सो काउन्टर स्थापना गर्ने उनले बताए । त्यस्तो काउन्टरमा पुगेर सेवाग्राहीले स्विच दबाउनेबित्तिकै एउटा बट्टाजस्तो भाँडो आउने र त्यसमा नगद वा चेक जे छ राखिदिए बैंकमा पुग्ने तथा त्यहीँबाट भित्र रहेका कर्मचारीसँग भिडियो अनलाइन कुरा गर्न पनि सकिने उनले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by