विज्ञान अधिकारी/काठमाडौं (नागरिक)-
नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकातर्फको निकासी दुई महिनादेखि बन्द भएको छ। एक दशकभन्दा बढीको पोसाकको इतिहासमा यस्तो घटना पहिलो पटक भएको हो। कुनै समय १६ करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निकासी हुने अमेरिकामा गत अक्टोबर र नोभेम्बरमा निकासी भएको छैन। निकासीको मात्रा उल्लेख गर्ने परिमाणमा नभएपछि तयारी पोसाक उद्योग संघले तथ्यांकसमेत राखेको छैन्। संघले अक्टोबर र नोभेम्बरमा निकासीको तथ्यांक नआए पछि सार्वजनिक नगरेको हो। सन् २००० मा अमेरिकातर्फ सबैभन्दा बढी १६ करोड अमेरिकी डलर बरारबरको तयारी पोसाक निकासी भएको थियो। 'यो अवधिमा कुनै माग नआएकाले यस्तो अवस्था आएको हो,' संघका प्रथम उपाध्यक्ष उदयराज पाण्डेले भने, 'तयारी पोसाकको कुनै 'सिपमेन्ट' नभएकाले तथ्यांक आउन नसकेको हो।' उनका अनुसार अमेरिका निकासी हुने तयारी पोसाक उद्योग अहिले लगभग छैनन्।
संघका अनुसार जनवरी, फ्रेबुअरी, मार्च, अप्रिल, मे, जुन, अगस्ट, र सेप्टेम्बरमा तयारी पोसाकको निकासी ठूलो दरले घटेको छ। यो अवधिमा निकासी क्रमशः ७३, ५५, ३२, ५८, ४९, ८०, ६१ र ९६ प्रतिशतले घटेको छ। जनवरीमा ७ लाख ६ हजार डलर बराबरको पोसाक निर्यात भएकोमा सेप्टेम्बरमा ९० हजारमा झरेको छ। सन् २००० मा सबैभन्दा धेरै तयारी पोसाक निकासी भएको थियो। यो बेला १ हजार २ सय उद्योग दर्ता भएका थिए भने ५ सय पूर्ण रुपमा संचालनमा थिए। ९० हजार व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए। यो सँग सम्वन्धित अन्य पचास उद्योग पनि चलेका थिए। अहिले आश्रित सबै उद्योग पनि बन्द भइसकेका छन्।
सन् २००४ पछि अमेरिकामा कोटा खारेजीसँगै त्यसतर्फको निकासी निरन्तर घटिरहेको थियो। कोटा खारेजीपछि अमेरिकामा नेपाली तयारी पोसाकले प्रतिस्पर्धा गर्न नसकेकाले निकासी घटेको थियो। त्यसमा मुलुकको असहज राजनीतिक अवस्था र श्रम समस्याले यसको निकासीमा थप प्रभावित भयो। विश्व आर्थिक मन्दीले अमेरिकामा माग कम भएपछि तयारी पोसाक क्षेत्र संकटग्रस्त बनेको थियो। 'कोटा खारेजी र मुलुकको राजनीतिक अवस्था विग्रिएकाले विदेशी मुद्रा आर्जन गर्ने ठूलो माध्यम सकिने अवस्थामा पुगेको छ,' पाण्डेले भने, 'यसलाई मन्दीले थप संकटमा ल्याइदियो।' पछिल्लो समयमा अमेरिकाका क्रेताले नेपालमा सोधपुछ गर्न समेत छाडेका छन्। यो अवधिमा नेपालले ठूलो क्रेता गुमाइसकेको छ। पाण्डेका अनुसार आगामी फ्रेबुअरीसम्म तयारी पोसाक निकासीको कुनै सम्भावना छैन। अहिलेसम्म कुनै व्यवसायीलाई ठूलो अर्डर आएको थाहा छैन, उनले भने।
'ठूला क्रेताले नेपालबाट सामान लैजान छाडिसकेका छन्,' संघका अध्यक्ष प्रशान्त पोखरेलले भने, 'सामान्य सोधपुछ समेत आउन छाडिसकेको छ।' उनले मुलुकको राजनीतिक अवस्थामा सुधार नआएसम्म क्रेताले नेपालबाट सामान नलैजाने बताए।
'पटक पटकको बन्द हड्तालमा किन यहाँबाट सामान लैजान्छन्, ' उनले प्रश्न गर्दै भने, 'राजनीतिक अस्थिरताले समेत विदेशी क्रेता नेपाल आउन तयार छैनन्।' संघका अनुसार क्रेताले १ सय २० दिनमा तयारी पोसाक अमेरिका पठाउने शर्त राख्छन्। तर, नेपालमा हुने बन्द हडताल र श्रम समस्याका कारण समयमा सामान पठाउन सकिदैन। यहाँ कपडा बनाउन ४० दिन, ट्रान्जिट बस्न मात्र ३० दिन लाग्छ। मुलुकमा एक/ दुई दिन हड्ताल भए मात्र पनि समयमा तयारी पोसाक निकासी गर्न सकिदैन। क्रेताले मुलुक भित्र आन्दोलन र हड्ताल भए हवाई जहाजबाट सामान पठाउने शर्त राखेका हुन्छन्। हवाईजहाजबाट सामान पठाउँदा व्यवसायीले उल्टो घाटा व्योर्होनु पर्छ।
पानीजहाजबाट पठाउँदा एउटा हाफपाइन्टको ४० सेन्ट तिर्नुपर्छ भने त्यही सामान हवाईजहाजबाट पठाउँदा एक अमेरिकी डलर पर्छ। भौगोलिक बनावटले समेत नेपाल प्रतिस्पर्धी बन्न सकेको छैन। बंगलादेशबाट अमेरिकामा तयारी पोसाक ९० दिनमा पठाउन सकिन्छ। बंगलादेश समुन्द्रसँग जोडिएकोले छिटो सामान पठाउन सकिएको हो।
मुलुकको राजनीतिक अवस्थाले अमेरिकाका वालमार्ट, ग्याप,जेसेपेनी, चिल्ड्रेन प्यालेस, किड्स इन्टरनेशनल लगायतका ठूला क्रेता गुमाइसकेको छ। समयमा तयारी पोसाक पठाउन नसकेपछि तीन बर्ष अघि वालमार्टले नेपालबाट तयारी पोसाक लिन छाडेको थियो।नेपालबाट तयारी पोसाक लिने कम्पनी जेसीपेनी आन्तरिक कारणले समस्यामा परेपछि लिन छोडेको थियो। अमेरीकाकै अर्को कम्पनी चिल्ड्रेन प्यालेस र किड्स इन्टरनेशनलले नेपालबाट सामान लिन छाडेका छन्। यी सबै उद्योगले बार्षिक सरदर १ करोड अमेरिकी डलर बराबरको तयारी पोसाक किन्थे। यी कम्पनीको विश्वभरनै सञ्जाल थिए।
अबका विकल्प
उद्योगी व्यवसायी तयारी पोसाकलाई फेरी बजार दिलाउन सरकारले तत्काल तीन कार्य गर्नुपर्ने धारणा राख्छन्। अमेरिकासँग तत्काल निर्यात प्रवर्द्धन , द्धिपक्षीय संम्बन्धका आधारमा भन्साररहित सुविधाका लागि पहल गर्ने र स्वदेशमा जटिल बन्दै गएको श्रम समस्या समाधान गर्ने। कोटा खारेजीपछि सरकारले तयारी पोसाकलाई भन्साररहित सुविधा दिलाउन पहल गर्दै आएको छ। अमेरिकी सिनेटर डायना फाइन्स्टाइनले १४ अल्पविकसित मुलुकका लागि भन्साररहित सुविधाका लागि पहल गर्दै सिनेटमा विधेयक पेस गरेकी छन्। तर, यसमा अहिलेसम्म सफलता पाउन सकिएको छैन। विद्येयक पारित भए १८ प्रतिशत सस्तोमा नेपाली तयारी पोसाकको पहुँच हुनेछ। तर, अमेरिकाका व्यापारीको दबाबका कारण विधेयक पास हुने सम्भावना कम छ। १४ अल्पविकसित मुलुकमा बढी तयारी पोसाक निकासी गर्ने बंगलादेश र कम्बोडिया छन्। कोटा खारेजीपछि यी मुलुकको निकासी थप बढेका छन्।
नेपालले द्धिपक्षीय व्यापारका आधारमा पनि सहुलियतको प्रयास थालेको छ। 'द्धिपक्षीय व्यापारका आधारमा सहुलियत प्रयास गर्नु राम्रो हुन्छ,' पाण्डेले भने, 'यसले छिटो गति पाए तयारी पोसाकले पुर्नजिवित हुनसक्छ।' तयारी पोसाकलाई पुर्नजिवित गर्न यो क्षेत्रका लागि छुटै श्रम ऐन बनाउन आवश्यक भएको व्यवसायी बताउँछन्। 'यो उद्योगलाई पुर्नजिवित गर्न छुटै श्रम ऐन आवश्यक छ,' उनले भने, 'यसलाई अन्य क्षेत्रको जस्तै श्रम ऐनमा बाध्न खोजे उद्योग चलाउन सकिन्न।' काम भएको समयमा काम र तलब र नभएको समयमा विदा दिन मिल्ने प्रकृतिको श्रम ऐन आवश्यक भएको व्यवसायीको धारणा छ। सरकारले तत्काल निर्यात प्रवर्द्धन क्षेत्र स्थापना गरेर तयारी पोसाक उद्योग संचालन गर्न सके यसले केही राहत पाउँनेछ। केन्द्र स्थापना गर्ने लक्ष्य सहितको यो विद्येयक संसदमा विचाराधीन अवस्थामा छ। 'सरकारले यो उद्योगलाई बचाउन चाहेको भए तत्काल विद्येयक पारित गरेर केन्द्र स्थापनाको पहल गर्नुपर्छ,' उनले भने।
No comments:
Post a Comment